+
+

चोलेन्द्रलाई महाअभियोग सिफारिस समितिले सोध्ने सम्भावित प्रश्न

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १४ गते २०:०६

१४ भदौ, काठमाडौं । प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले बुधबार प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरासँग महाभियोग प्रस्ताववारे ‘बयान’ लिनेछ ।

समितिका पदाधिकारी, संघीय संसद सचिवालयका कर्मचारीले महाभियोग प्रस्ताव, उजुरीकर्ताहरुले समितिको सचिवालयमा पेश गरेको कागजातका आधारमा प्रश्नावली तयार गरेका छन् । समितिका केही सदस्य, कर्मचारीहरु अनि उजुरीकर्तासँगको कुराकानीका आधारमा हामीले जबरामाथिको सम्भावित प्रश्नावली तयार गरेका छौं :

१. तपाईं विधिको शासन, सवैधानिक सर्वोच्चता एवं निष्पक्ष र जिम्मेवार न्यायपालिकाको जगेर्ना असक्षम हुनुभयो, किन ?

२. न्यायपालिकाभित्र तपाईंको कार्यकालमा अतिसय विकृति भित्रियो । विसंगति र भ्रष्टाचार बढ्यो । विचौलियाले प्रवेश पाए र प्रभाव बढाउदै लगे । तपाईंको भनाई के छ ?

३. संवैधानिक जिम्मेवारीलाई आफ्नो निजी सम्पत्ति सरह स्वेच्छाचारी रुपमा किन दुरुपयोग गर्नुभयो ?

४. तपाईसँग एउटा सफल संविधान र स्वतन्त्र न्यायपालिकाले अपेक्षा गर्ने कुनै कुरा बाँकी रहेन । तपाईंलाई पदमा राखिरहन न्यायिक मूल्य र मर्यादाले उपयुक्त देखिदैन । यसबारे के टिप्पणी छ ?

५. न्यायालयको साख, इज्जत, प्रतिष्ठा, प्रभावकारिता र जनआस्थालाई श्रीवृद्धि गर्ने दायित्वबाट तपाईं विमुख हुनुभयो । तपाईंमाथि महाभियोग लगाउन यो पर्याप्त आधार र कारण होइन र ?

६. न्यायमा विचलन ल्याउनुभयो । न्यायिक अधिकार छिटोछरितो न्यायनिरुपणका लागि हो कि न्यायिक पदाधिकारीको निहित स्वार्थपूर्तिका लागि हो ?

७. संवैधानिक इजलासको काम कारवाही किन अवरुद्ध गर्नुभयो ? संवैधानिक पदाधिकारी विरुद्धको रिट निवेदन एक वर्षसम्म किन अलपत्र प¥यो ? यो न्यायमा गम्भीर अवरोध र विचलन होइन र ?

८. रञ्जन कोइराला विरुद्धको मुद्दाको सुनुवाई किन अवरुद्ध भयो ? किन फैसलाको प्रतिरक्षामा देखिनुभयो ? इजलास बाहिर मुद्दाका विषयमा टीकाटिप्पणी गर्न मिल्छ ?

९. दुई दशकदेखिका भ्रष्टाचार मुद्दा किन रोकियो ? विशेष अदालतमा महिनौंदेखि न्यायाधीश पदपूर्तिमा किन अनिच्छुक देखिनुभयो ?

१०. आफैं संवैधानिक इजलासमा बस्ने, अनि आफ्नै राय विपरीत दर्ता भएको रिट विनेदनलाई इजलासमा पेशीमा चढाई संवैधानिक इजलास अनिश्चितकालसम्म अवरुद्ध पार्ने प्रवन्ध मिलाउन तपाईंको भूमिका देखियो । अधिकारको दुरुपयोग भएन र ?

११. संसदीय सुनुवाइका क्रममा व्यक्त गरेको प्रतिवद्धता किन पूरा गर्नुभएन ?

१२. संवैधानिक आयोग र अन्यत्र आफ्ना परिवारका सदस्यलाई नियुक्तिको सिफारिस गर्नु पदको अपमान र दुरुपयोग भएन र ?

१३. हरिकृष्ण कार्की नेतृत्वको समितिले तयार पारेको प्रतिवेदन विरुद्ध किन अभिव्यक्ति दिनुभयो ?

१४. किन सर्वोच्च अदालतमा गुटउपगुट तयार गरी मनोमानी र अपारदर्शी रुपमा इजलास गठन गर्नुभयो ?

१५. न्यायाधीश नियुक्तिमा किन मनोमानी गर्नुभयो ?

१६. परिवारका सदस्य र नातेदार अनि कतिपय न्यायाधीशलाई किन विचौलियाको रुपमा प्रयोग गर्नुभयो ?

१७. तपाईंमाथि अरु न्यायाधीशले विश्वास गर्न सकेनन् । अनि बिरामी भएर अस्पताल भर्ना भएको बेलामा सर्वोच्च अदालतलाई किन नेतृत्वविहीन बनाउनुभयो ?

१८. तपाईंको नेतृत्वमा सर्वोच्च अदालत सञ्चालन हुन असम्भव छ । होइन र ?

१९. न्यायपरिषद र न्याय सेवा आयोग अवरुद्ध छ । तपाईंले अधिकार दुरुपयोग गरी उच्च र विशेष अदालतमा न्यायाधीशको काज सरुवा गर्नुभएको छ । यो पदको दुरुपयोग होइन ?

२०. मुलुकको कानुनी प्रणालीमा विधिशास्त्रीय योगदान पु¥याउन तपाई असफल हुनुभयो । तपाईंका गतिविधिबाट न्यायपालिकालाई मुक्ति दिलाउन पर्दैन र ?

२१. सरोकारवालाहरु पूर्वन्यायाधीश, नागरिक समाज, बार लगायतले तपाईमाथि गम्भीर अविश्वास गरेका छन् । तपाईंलाई पदमुक्त गर्नुको कुनै विकल्प छ र ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?