+
+

‘जबराले आरोपको खण्डन गर्ने पूरै अवसर पाउनुहुन्छ’

रामबहादुर विष्ट, जेष्ठ सदस्य, महाभियोग सिफारिस समिति रामबहादुर विष्ट, जेष्ठ सदस्य, महाभियोग सिफारिस समिति
२०७९ भदौ १४ गते २०:१६

महाभियोगको प्रस्ताव मार्फत संगीन आरोप लागेपछि हामीले निलम्बित प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबरालाई सफाइको मौका दिनुपर्छ । त्यसैले समितिमा उहाँलाई आफ्नो भनाइ राख्न बोलाउने निर्णय गरेको हो ।

महाभियोग सिफारिस समितिले उहामाथि लागेको आरोपका बारेमा संकलन गरेका प्रमाणहरु सबै सदस्यहरुले अध्ययनका लागि लिएर जानुभएको छ । जबराले महाभियोगको प्रस्तावमा लागेका आरोपहरुको बारेमा कसरी जवाफ दिनुहुन्छ र सदस्यहरुले कस्तो प्रश्न सोध्नुहुन्छ भन्ने आधारमा प्राप्त हुने तथ्यबाट कस्तो प्रतिवेदन तयार हुने भन्ने तय हुनेछ ।

हामीहरु सबैले उहाँमाथि प्रश्न सोध्ने मनस्थितिका साथ तयारी गरेका छौं । उहाँमाथि लागेको प्रमुख आरोप भ्रष्टाचारको हो । भ्रष्ट्राचार गरेको र त्यसको आडमा गैर कानुनी रुपमा सम्पत्ति आर्जन गरेको आरोपबारे हामीले प्रश्न सोध्ने तयारी गरेका छौं ।

जबरामाथि कार्य क्षमताको अभाव रहेको भन्ने अर्को आरोप छ । न्यायाधीशहरुको बीचमा समन्वय नगरेको/गर्न नसकेको आरोप उहाँमाथि छ । त्यसबारे उहाँले स्पष्ट पार्नुहोला । सबै न्यायाधीशहरुलाई समन्वयमार्फत मिलाएर न्यायपालिका सञ्चालन गर्ने दायित्व किन पूरा हुन सकेन, हामी सोध्छौं । रञ्जन कोइरालाको मुद्दामा उहाँ संलग्न इजलासले गरेको फैसला पनि कार्य क्षमताको अभाव भएको अर्को उदाहरण हो, यसबारे उहाँले बताउनुहोला ।

उहाँमाथि न्यायमा विचलन ल्याएको अनि इमानदारिताको अभाव भएको आरोप छ । इमानदारीपूर्वक पदीय कर्तव्य निर्वाह गर्न सक्नुभएन भन्ने छ । आचारसंहिताको पालना भएन । स्वेच्छाचारी रुपमा काम गर्नुभयो । के काम गर्दा व्यक्तिगत लाभ हुन्छ भनी छानीछानी काम गरेको देखियो । मुद्दामा चलखेल भयो भन्ने छ । यो महाभियोगको संवैधानिक आधार पनि हो ।

हामीले महाभियोग प्रस्तावमा उल्लेखित विषयमा उहाँलाई लिखित रुपमै प्रश्नहरु पठाएका छौं । उहाँले लिखित नै जवाफ लिएर आउनुहुन्छ भन्ने आशा छ । तर उहाँलाई जे सहज हुन्छ, त्यही रुपमा जवाफ दिने मौका दिनुपर्छ । उहाँले लिखित दिएर छलफल अगाडि बढोस् भन्न पनि सक्नुहुन्छ । सहयोगी चाहिन्छ भन्ने भयो भने त्यो सुविधा पनि दिनुपर्ला ।

जवाफ दिने क्रममा उहाँलाई एक दिनले पुगेन भन्नुभयो भने अर्को दिन पनि दिनुपर्छ । ती प्रश्नहरुमा कुन तरिकाबाट जवाफ दिनुहुन्छ त्यसमा छुट पाउनुहुन्छ । आफैं लेख्छु भन्न पनि पाइयो । कर्मचारी मार्फत लेख्छु भन्न पनि पाइयो । आफू बोल्छु कोहीले लेखिदिनुस् भन्न पनि पाइयो । जुन तरिकाबाट भए पनि बयान लिपिबद्ध हुन्छ ।

समितिले प्रश्नावली तयार पारेको छ । त्यसबाहेक सांसदहरुका व्यक्तिगत प्रश्नहरु पनि हुनसक्छन् । महाभियोगको प्रस्तावमा २१ बुँदे आरोप लगाएपछि त्यससँग सम्बन्धित आरोप त हुने नै भए । बाँकी अरु प्रमाण र तथ्यका आधारमा थप प्रश्न सोधिनेछ ।

उहाँमाथिको महाभियोगको आरोप कतिपय मुद्दा र फैसलासँग सम्बन्धित छन् । कुनै फैसला उपर प्रश्न उठेको छ भने दिनभरि लगाएर जवाफ दिन सक्नुहुन्छ । यसो हो यसो हो भनेर बुझाउन पाउनुहुन्छ । यो कारणले विगतमा गरेका फैसला गलत होइन भन्न पाउनुहुन्छ । मैले गरेको फैसला ठीक छ, सर्वोच्च अदालत वा न्यायपरिषदबाट मगाएर हेर्नुहोस् भन्न पनि सक्नुहुन्छ, त्यसो भएमा हामीले पनि मगाएर हेर्नुपर्ने हुन्छ ।

महाअभियोग लगाउँदाका २१ बुँदे आरोप भएपछि प्रमाण संकलनका क्रममा थप आरोपहरु पनि भेटिएको छ । सर्वोच्च अदालत बार एशोसिएसन र नेपाल बार एशोसिएसनले मुद्दा नम्बर नै उल्लेख गरेर प्रमाण पठाएको छ ।

अधिवक्ता रुद्र पोखरेल जोडिएको अर्को प्रमाण आएको छ । सर्वोच्च अदालतका न्यायाधीश डा. मनोज शर्मा र उच्च अदालतका न्यायाधीश नवराज थपलियामाथिको छानबिनको अर्को विवरण आएको छ । अरु व्यक्तिगत मुद्दाहरु र फैसलाहरु पनि प्रमाणका रुपमा आएका छन् ।

भोलिको छलफलबाट एउटा बाटो तय हुन्छ । कंक्रिट कुरा निकाल्नुभयो । फैसला मागेर हेर्नुस्, न्याय परिषदबाट मागेर हेर्नुस् भन्नुभयो भने मागेर हेर्नुपर्‍यो । यसकारण यही बाटोबाट जान्छ भन्ने कुरा भोलिको बयानबाट थप प्रष्ट हुनेछ ।

उहाँमाथि कार्यपालिकासँग साँठगाँठ गरेर अनुचित लाभ लिएको अर्को आरोप छ । संवैधानिक निकायमा भागवण्डा गर्नुभयो भन्ने छ । उहाँले जवाफ दिने क्रममा सबै स्पष्ट पार्नुहोला । उहाँलाई आफ्नो भनाइ राख्ने पुरापुर अवसर दिनुपर्छ । त्यतिले नपुगे हामीले उहाँलाई अन्तिममा ‘तपाईंको थप केही भन्नु छ ?’ भनेर सोध्छौं ।

(कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?