+
+

‘आईएमई पे’ : सेवा प्रवाहमा बैंकलाई नै चुनौती बन्न सक्ने वालेट

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ १५ गते १२:३७

१५ वैशाख, काठमाडौं । रेमिट्यान्स र ब्याज पाइने सुविधासहित ‘आईएमई पे’ ले वालेटमा सबै प्रकारका सेवा विस्तार गरेको छ । सबै बैंकिङ सेवा वालेटबाट मिल्ने अवधारणा बमोजिम यो वालेट निर्माण गरेको आईएमई डिजिटल सोलुसन प्रालिले बताएको छ ।

वालेटमा रहेको रकममा ब्याज र विदेशबाट पठाइने पैसा सिधैं पाईने सुविधा भएको वालेट सेवा नेपालमा ‘आईएमई पे’ नै पहिलो र एक्लो रहेको कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) आमोद भट्टराई बताउँछन् ।

‘आईएमई पे’ ले भर्चुअल तथा फिजिकल भिसा कार्ड सेवा पनि ल्याएको र छिट्टै वालेटबाटै ऋण लिन सकिने सम्मको फिचर घोषणा गरिने उनले बताए ।

‘अब रेमिट्यान्सका लागि बैंक धाइरहनु पर्दैन, आईएमई पेबाटै प्राप्त गर्न सकिन्छ,’ निमित्त सीईओ भट्टराई भन्छन्, ‘नेपालमा पहिलो पटक वालेटमा ब्याज दिने सेवा प्रदायक ‘आईएमई पे’ हो ।’

वालेटमा पाइने ब्याजदर हाललाई ६.०३ प्रतिशत रहेको उनले बताए । उनका अनुसार, वालेटबाट आन्तरिक रेमिट्यान्स पनि पठाउन र पाउन सकिन्छ । मेरो सेयर नवीकरण, दोस्रो बजारमा सेयर खरिद बिक्री भुक्तानी, टीएमएसमा कोल्याटर लोडसम्मका सुविधा वालेटमा थप गरिएका छन् ।

यसबाहेक अन्तर बैंक आवद्धता, वालेटबाटै सहकारीमा निक्षेप, सरकारी शुल्क भुक्तानी, स्थानीय तहका शुल्क भुक्तानी, सम्पूर्ण युटिलिटी पेमेन्ट (पानी, बिजुली, मोबाइल रिजार्ज, टेलिफोन) र आन्तरिक हवाई टिकट खरिदमा अधिकत्तम क्यासब्याक सुविधा पनि वालेटमा समावेश रहेको भट्टराईले बताए ।

‘आईएमई पे’ मा कसरी जोडिने ?

‘आईएमई पे’मा अहिलेसम्म उपलब्ध फिचरअनुसार यसबाट ऋण लिनबाहेक बैंकहरुले दिने सबै आधारभूत सेवा पाइने निमित्त सीईओ भट्टराई बताउँछन् ।

‘यसअघि वालेटअनुसारको सेवाहरु थिए, हाम्रो वालेट सम्पूर्ण बैंकिङ सेवासहितको वालेट भएको छ,’ भट्टराईले भने, ‘केही समय पछि ऋणको काम पनि वालेटबाटै हुन्छ ।’

‘आईएमई पे’ वालेट गुगलको प्ले स्टोर र आईओएसको एप स्टोरमा उपलब्ध छ । यसलाई सहजै मोबाइलमा डाउनलोड गर्न सकिन्छ । त्यसपछि व्यक्तिगत विवरण फारम भरेर मोबाइलबाटै एउटा आधिकारीक परिचय खुल्ने सरकारी डकुमेन्ट र व्यक्तिगत सेल्फी खिचेर पोष्ट गरेपछि वालेट सेवा सुरु हुन्छ ।

वालेटमा रकम कसरी भर्ने ?

अहिले प्रचलनमा रहेको वालेटमा रकम भर्न बैंकबाट वालेटको विवरण भरेर रकम पठाउनु पर्छ । हरेक पटक रकम ट्रान्सफरमा वालेटको विवरण बैंकको प्रणालीमा भरिरहनुपर्छ । ‘आईएमई पे’ मा भने आफ्नो बैंक खाता वालेटमा लिंक गरेपछि जति पनि रकम एपमा पठाउन र एपबाट बैंक खातामा पुनः हाल्न सकिन्छ ।

दिनमा जति पटक रकम लोड गरे पनि कुनै शुल्क लाग्दैन । वालेटमा पैसा छैन भने बैंकबाटै पनि वालेटको पेमेन्ट गर्न सकिन्छ । भिसा वा मास्टर कार्डबाट पनि एपमा रकम लोड गर्न सकिन्छ । आफूसँग भएको नगद वालेटमा लोड गर्नपरे आईएमई पेको देशभरका ३५ हजारभन्दा बढी एजेन्टबाट लोड गर्न सकिने निमित्त सीईओ भट्टराई बताउँछन् ।

आईएमई पेमै पाइन्छ रेमिट्यान्स

नेपालमै पहिलो पटक ‘आईएमई पे’ ले बाह्य र आन्तरिक दुवै खाले रेमिट्यान्स सेवा सुरु गरेको छ । नागरिकता बोकेर रेमिट्यान्स लिन र पठाउन बैंकमा लाइन लाग्ने झन्झट यो सुविधाले अन्त्य गर्ने भट्टराई बताउँछन् ।

आईएमई पे एप्स प्रयोगकर्ताले आफ्नै वालेटमा विदेशबाट पठाइने रकम प्राप्त गर्न सक्नेछन् भने देश भित्रै एक ठाउँबाट अर्को ठाउँमा पैसा पठाउने आन्तरिक रेमिट्यान्स सुविधा पनि एप्सबाटै पाइन्छ ।

विदेशबाट पठाइएको पैसा लिन एप्समा रेमिट्यान्स कन्ट्रोल नम्बर राखेर बाँकी विवरण भरियो भने रकम सिधै वालेटको खातामा जम्मा हुन्छ । यस्तो रकम वालेटबाटै बैंक खातामा पनि पठाउन मिल्छ ।

आन्तरिक रेमिन्ट्यान्सका लागि पैसा पाउने व्यक्तिको फोन नम्बर भए हुन्छ । पैसा पाउने व्यक्तिको मोबाइल नम्बर राखेर वालेटबाट रकम पठाएपछि देशभरका आईएमई रेमिट्यान्स एजेन्ट काउण्टरबाट निकाल्न मिल्छ ।

यस्तो रकम पठाउँदा प्रापकको मोबाइल नम्बरमा कोड नम्बर जान्छ र त्यसैको आधारमा रकम लिन सकिन्छ । बाह्य रेमिट्यान्सको लागत शुल्क पैसा पठाउनेले पहिल्यै तिरेको हुन्छ भने आन्तरिक रेमिट्यान्सको खर्च कस्ले तिर्ने भन्ने पहिल्यै निर्क्यौल गर्न सकिन्छ ।

वालेटमा ब्याज

आईएमई पे वालेटमा रहेको रकममा बचत खातामा जस्तै ब्याज पाइन्छ । वालेटको खातामा एक हजार रुपैयाँ राखेपछि खाता स्वतः सुपर वालेटमा कन्भर्ट हुन्छ र ब्याज सुरु हुन्छ ।

निमित्त सीईओ भट्टराईका अनुसार, आईएमई पेले तत्कालका लागि ६.०३ प्रतिशत ब्याज निर्धारण गरेको छ । वालेटमा भएको पैसा खर्च नहुँदा सित्तैमा होल्ड हुने भन्दै लिइने चिन्ता यो सुविधाले अन्त्य गर्ने उनले बताए ।

कुनै निश्चित भुक्तानीका लागि मात्रै बैंकबाट वालेटमा पैसा सार्नुपर्ने स्थिति पनि अब आईएमई पेले अन्त्य गरेको दाबी उनले गरे ।

वालेटको आफ्नै भिसा कार्ड

हालसम्म बैंक तथा वित्तिय संस्थाहरुले मात्र दिंदै आएको भिसा कार्ड सेवा अब आईएमई पेले पनि सुरु गरेको छ । बैंकहरुमा यस्ता कार्ड लिन कैयौं हप्ता लाग्छ । आईएमई पेले भने मिनेटमै यस्तो कार्ड जारी गर्ने व्यवस्था मिलाएको छ, त्यो पनि निःशुल्क ।

निमित्त सीईओ भट्टराईका अनुसार, भिसा कार्ड सेवा देशभरका सबै ऐजन्ट काउण्टरबाट लिन सकिन्छ । कार्ड डिजिटल र भौतिक दुवै हुन्छ । आईएमई पेको एप डाउनलोड गरेर फर्म भरेपछि एप सुरु हुन्छ । त्यसपछि कुनै पनि ‘आईएमई एजेन्ट काउण्टरबाट प्राप्तहुने यस्तो भिसा कार्डलाई एपमा क्वीआर मार्फत जोडिएपछि त्यो कार्ड तत्काल सञ्चालनमा आउँछ ।

वालेटमा भएको पैसा भिसा नेटवर्कका अन्य कार्डसरह प्रयोग गर्न सकिन्छ । उक्त कार्ड कुनै पनि भिसा नेटवर्कको पोस, अनलाइन मर्चेन्ट र एटीएममा प्रयोग गर्न सकिन्छ ।

क्यूआरमा अफर/को–अपरेटिभमा भुक्तानी सुविधा

आईएमई पेले विभिन्न नगद फिर्ताको योजनासहित ‘स्यान एनी क्यूआर’ अवधारणामा पनि अघि सारेको छ । नेपालका सबै खाले क्युआर स्क्यान गर्ने यो वालेट निकै रुचाइएको निमित्त सीईओ भट्टराई बताउँछन् ।

उनका अनुसार, हरेकदिन १० देखि १०० रुपैयाँसम्म क्यास ब्याकको अफर यसमा छ । क्यूआर पेमेन्टमार्फत कारोबार डिजिटल बनाउन यस्तो सुविधा दिएको उनले बताए ।

यस्तै विभन्न को–अपरेटिभ डिपोजिटका सेवा पनि आईएमई पे वालेटमा छ । एक सयभन्दा बढी मुलुकका सहकारीका खातामा यो वालेटमार्फत सिधै रकम पठाउन सकिन्छ ।

सेयर खरीद बिक्री/डिजिटल इन्स्योरेन्स

अहिलेसम्म सेयर खरीद बिक्रीका लागि बैंक खाता अनिर्वाय थियो । तर, आईएमई पेमार्फत अब यस्तो भुक्तानी पनि गर्न सकिन्छ । मेरो सेयर नवीकरण, कोल्याटर डिपोजिट र ब्रोकर रकम भुक्तानी पनि अब एपबाटै गर्न सकिन्छ ।

यस्तै अहिलेसम्म एजेन्टमार्फत हुने बीमा पोलेसी बिक्री पनि अब आईएमई पे वालेटबाट हुनेछ । अहिले नै आईएमईको शाखामा पुगेको अवस्थामा घर, परिवार र आफन्तको इन्स्योरेन्स गर्न सकिन्छ । आईएमईको एजेन्ट नेटवर्कबाट तेस्रो पक्ष इन्स्योरेन्स केही मिनेटमै गर्न सकिने छ । इन्स्योरेन्सको प्रिमियम पनि वालेटबाटै तिर्न सकिन्छ ।

मोबाइल रिचार्जमा ५ प्रतिशत पैसा फिर्ता

वालेटले युटिलिटी पेमेन्टलाई अन्य वालेटले जस्तै आफ्नो चुस्त दुरुस्त सेवा बनाएको छ । बत्ति, खानेपानी, रिचार्ज, इन्टरनेट, फोन, सिनेमाको टिकट जस्ता शुल्कहरु यस अन्तर्गत तिर्न सकिन्छ । आफ्नै मोबाइल रिचार्ज गर्दा ५ प्रतिशतसम्म रिचार्ज रकमको क्यास ब्याक पाइन्छ ।

वालेटमा सरकारी भुक्तानीहरु ट्राफिक जरिवाना, पासपोर्ट, आन्तरिक राजस्व जस्ता शुल्क पनि तिर्न सकिन्छ ।

स्थानीय तहका करहरु पनि यो वालेटबाट भुक्तान गर्न सकिन्छ । चन्द्रागिरि नगरपालिकाबाट यस्तो सेवाको सुरु भएको छ । चन्द्रागिरि केवल कारको टिकटमा ५ प्रतिशत क्यास ब्याक सुविधा छ ।

यस्तै आन्तरिक हवाईजहाजको टिकटमा अधिकतम् क्यासब्याक उपलब्ध छ । यो नगद फिर्ता नेपाली वालेटहरुमध्ये कै धेरै भएको निमित्त सीईओ भट्टराई बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?