+
+
‘स्वतन्त्र’को भेला :

बालेनको लौरो कसरी पुग्यो सायमीको हातमा ?

गौरव पोखरेल गौरव पोखरेल
२०७९ भदौ १६ गते २१:१६

१६ भदौ, काठमाडौं । गएको स्थानीय तह निर्वाचनमा लौरो चुनाव चिह्न सबैभन्दा चर्चित रह्यो ।

लामो राजनीतिक इतिहास बोकेका पार्टीका चिह्नलाई पनि लौरोले उछिनेपछि यसको लोकप्रियता बढेको थियो । यही चिह्न बोकेर चुनावी मैदानमा उत्रिएका बालेन शाह काठमाडौं महानगरको मेयर चुनिए । धरानमा विजयी हर्क साम्पाङले पनि लौरोकै साहारा लिएका थिए ।

३० वैशाखमा भएको स्थानीय निर्वाचनमा बालेन र हर्कको जितबाट उत्साही स्वतन्त्र अभियन्ताहरुले लौरो चिह्न लिन पाए चुनावी अभियानका लागि सहज हुने सोचेका थिए । धेरैको नजर लौरोमा परिरहेका बेला बिहीबार ललितपुरस्थित एक होटलमा भेला भएका केही स्वतन्त्र उम्मेदवारहरु एकाएक लौरोसहित देखा परे ।

नारा पनि उही पुरानै थियो, ‘लौरो–बुढाबुढीलाई टेकाउन मिल्ने, भ्रष्टाचारीलाई सेकाउन मिल्ने ।’ विगतमा काठमाडौंका मेयर बालेनले प्रयोग गरेको नारा यहाँ उल्लेख भएकाले धेरैले यसमा बालेन पनि जोडिएको हुनसक्ने अनुमान गरे ।

तर भेला आयोजकहरुका अनुसार बालेनको यसमा कुनै संलग्नता छैन । स्थानीय निर्वाचनमा बालेनसँगै काठमाडौंमा प्रतिष्पर्धा गरेर १३ हजार ७७० मत ल्याउने सुमन सायमीको नेतृत्वमा लौरो अभियानको घोषणा भएको हो ।

सायमीको नेतृत्वमा जम्मा भएका मुलुकका विभिन्न निर्वाचन क्षेत्रका आकांक्षीले हातमा लौरो बोकेका थिए । स्थानीय चुनावमा बालेन र हर्कझैँ उनीहरुले राष्ट्रिय झण्डा ओढेका थिए । यो दृश्य देख्ने धेरैलाई चासो लाग्न सक्छ, सायमीले कसरी लौरो चुनाव चिह्न हात पारे ?

सुमन सायमी

यो जान्न केही महिना अघितिर फर्किनुपर्छ । काठमाडौं महानगरमा विजयी भएपछि बालेनलाई स्वतन्त्र अभियन्ता बताउनेहरुले सहयोग गरिदिन भन्दै भेट्न थालिसकेका थिए । जानकारहरुका अनुसार त्यहीबेला उनका सहयोगीहरु लौरो चिह्नमा पार्टी दर्ता गर्न भन्दै निर्वाचन आयोग पुगेका थिए ।

तर उनीहरुले त्यो चिह्नमा पहिल्यै दल दर्ता भइसकेको थाहा पाए । खोजविन गर्दा २९ असार २०७९ मा अनन्तराज घिमिरेको अध्यक्षतामा ‘हाम्रो नेपाली पार्टी’ नामक दल निर्वाचन आयोगमा दर्ता भएको थियो । त्यही दललाई लौरो चिह्न प्रदान गरिएको भेटियो । लौरोको महत्व राम्रोसँग बुझेका घिमिरेले त्यसबेला सुटुक्क आयोग पुगेर दल दर्ता गराएका थिए ।

जानकारहरुका अनुसार सायमी प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–८ बाट लड्ने निर्क्यौल भएपछि चुनावी ‘ब्रान्डिङ’का लागि छलफलमा थिए । सामाजिक सञ्जाल परिचालनमा असक्षम भएका कारण आफू विगतमा चुकेको उनको निष्कर्ष थियो । त्यहीक्रममा उनको नजर लौरोमाथि परेको थियो ।

तर अरु नै व्यक्तिको नाममा दर्ता भइसकेकाले त्यो पाउन असम्भव रहेको उनले जानकारी पाएका थिए । एक स्वतन्त्र अभियन्ताका अनुसार त्यसबारे छलफल गरिरहेका बेला राष्ट्रिय स्वतन्त्र उम्मेदवारी अभियानका डम्बर साहुले लौरो चिह्न घिमिरेको नाममा रहेको उनलाई बताएका थिए । त्यसपछि सायमीले उनलाई भेटेर चिह्नबारे छलफल गरेका थिए । पछि सायमीको नेतृत्वमा देशभरका स्वतन्त्र उम्मेदवार एकठाउँमा हुने स्थिति आए आफू चिह्न दिन तयार रहेको घिमिरेले बताए ।

घिमिरे आफूलाई चिह्न दिन भन्दै विभिन्न खाले अफरहरु आएको निकटस्थहरुलाई बताउने गरेका छन् । सायमीलाई उनी किन चिह्न दिन तयार भए भन्ने स्पष्ट भइसकेको छैन ।

सायमीले चाहिँ भविष्यमा घिमिरेले दर्ता गरेको ‘हाम्रो नेपाल पार्टी’कै अध्यक्षको जिम्मेवारी आफूलाई दिने गरी सहमति भएको निकटस्थहरुलाई बताउने गरेका छन् । यसपछाडि घिमिरे र सायमीबीच के–के सहमति छन् भन्ने खुलेको छैन ।

बिहीबारको उम्मेदवारी घोषणासभा कार्यक्रममा बोल्दै इञ्जिनियरसमेत रहेका पार्टी अध्यक्ष घिमिरेले सबै स्वतन्त्र व्यक्ति र वैकल्पिक शक्ति एकठाउँमा उभिएर ‘बा’ हरुविरुद्ध विद्रोह गर्नुपर्ने बताए । तर उनी कार्यक्रममा पार्टी अध्यक्षका रुपमा चिनिएनन्, अभियन्ताकारुपमा कार्यक्रमको सुरुवातमा स्वागत मन्तव्य राखे ।

‘बाहरुले राजनीतिलाई पेशा बनाइदिनु भयो, खासमा आ–आफ्नो पेशामा अब्बल भइसकेकाले देश बनाउनुपर्ने हो,’ घिमिरेले भने, ‘मंसिर ४ मा नेपालीले बाहरुलाई एकमुष्ठरुपमा विदाइ गर्नेछन् ।’

उनले आफूहरुको ध्यान सम्पदा र संस्कृतिको संरक्षण गर्ने भएको बताए । ‘खासमा यसपालिको चुनाव नेता होइन, जनता सच्चिने दिन हो’ उनले भने, ‘पार्टी परिवर्तन गर्नु भनिरहेका छैनौं, भोट परिवर्तन गर्नु भनेका हौं ।’

अनन्त घिमिरे

कार्यक्रममा कसैले पनि ‘हाम्रो नेपाल पार्टी’को नाम लिएनन् । तर निर्वाचन आयोगको विवरणमा ललितपुर–२, सानेपा मुख्य कार्यालय रहने गरी लौरो चिह्नसहित घिमिरेको अध्यक्षतामा हाम्रो नेपाल पार्टी दर्ता भएको विवरण छ ।

स्वतन्त्रलाई एकठाउँमा उभ्याउने भन्दै स्वतन्त्र अभियानमा भाषण गरेका अध्यक्ष घिमिरे स्वयम् चाहिँ विवादास्पद व्यक्ति हुन् । मध्यपश्चिम विश्वविद्यालयमा इञ्जिनियरिङ संकायको डीन रहेका बेला घिमिरेले अध्ययन बिदा लिएर राजनीतिक नियुक्ति लिएका थिए ।

विदा लिएर ऊर्जा मन्त्रालय अन्तरगतको विद्युत उत्पादन कम्पनी लिमिटेडको म्यानेजिङ डाइरेक्टर (प्रबन्ध निर्देशक) पदमा राजनीतिक नियुक्ति लिएको भेटिएको थियो । सो कम्पनीको अध्यक्ष ऊर्जा मन्त्रालयका सचिव हुने व्यवस्था छ ।

घिमिरेले दोहोरो सुविधा उपभोग गरेको देखिएको भन्दै विश्वविद्यालयले ऊर्जा सचिवलाई पत्र लेखेर नियुक्तिबारे आधिकारिक जानकारी गराइदिन पनि भनेको थियो । पछि उनले विद्युत उत्पादन कम्पनी लिमिटेडको पद गुमाउनु परेको थियो ।

तर उनी फेरि लुम्बिनी प्रदेशको पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतका रुपमा नियुक्त भए । लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवन निर्माणका लागि भएको ठेक्कामा मिलेमतो भएको पुष्टि भएपछि उनले १४ चैत २०७८ मा राजीनामा बुझाएका थिए ।

ठेक्कामा मिलेमतो गरेर फर्जी प्रतिष्पर्धीमार्फत अस्पताल बनाउन लागेको खुलेपछि नयाँ भवनको टण्डर रद्द भएको थियो ।

९ उम्मेदवार सार्वजनिक

चुनाव चिह्न दलको नाममा सुरक्षित गरिएको भए पनि कार्यक्रममा ‘स्वतन्त्र तथा वैकल्पिक शक्तिको लौरो अभियान’का नाममा प्रतिनिधिसभाका ९ उम्मेदवार घोषणा गरिए । जसअनुसार काठमाडौं –५ मा मधुसुदन पाठक ‘सीते बा’, काठमाडौं –८ मा सुमन सायमी र काठमाडौं –९ मा विद्या श्रेष्ठको नाम घोषणा गरेको छ ।

भक्तपुर –२ मा दरोस्तभ लोकेन्द्र, कास्की –२ मा शिरीष गुरुङ, रौतहट–१ मा राहुल मिश्र, रुपन्देही –५ मा भिष्म राना र उदपयुरमा गजेन्द्र महतलाई उम्मेदवारका रुपमा अघि सारेको छ । कार्यक्रममा बोल्दै सायमीले विगतमा स्थानीय तह निर्वाचनमा पाएको जनताको साथबाट उत्साहित बनेर आफू निर्वाचनमा होमिएको बताए ।

‘विगतमा रणनीतिगत रुपमा केही त्रुटि भए, अहिले त्यसलाई विचार गर्दै बलियो अभियान सुरु गरिसकेका छौं’ सायमीले अनलाइनखबरसँग भने, ‘हिजो सडक विस्तारविरुद्धको आन्दोलनमा होस् या गुठी विधेयकविरुद्धमा आन्दोलन गर्दा मलाई समर्थन गर्नेहरुको साथमा निर्वाचन जित्नेमा ढुक्क छु ।’

विगतमा बुबा पनि राजनीतिक पृष्ठभूमिबाट आएकाले आफू व्यापार छोडेर अभियन्ता बनेको र अभियन्ताबाट अब संसद पुगेर परिवर्तनका लागि आवाज उठाउने दौडमा लागेको उनले बताए ।

लेखकको बारेमा
गौरव पोखरेल

पोखरेल अनलाइनखबरका लागि राष्ट्रिय सुरक्षा एवं समसामयिक विषयमा रिपोर्टिङ गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?