+
+

केन्याविरुद्ध शानदार जित : कप्तानी डेब्यूमा रोहितलाई बर्थडे गिफ्ट

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७९ भदौ १७ गते २१:४५

काठमाडौं । आसिफ शेखको शतक, अर्जुन साउदको अर्धशतक र केन्याविरुद्ध शानदार जित । कप्तानमा डेब्यू गरेका रोहितकुमार पौडेलले क्रिकेट करियरकै अविस्मरणीय ‘बर्थ डे गिफ्ट’ पाएका छन् ।

नेपालका नियमित कप्तान सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न वेष्ट इन्डिज गएपछि रोहितकुमारले नेपालको सिनियर टिमको कप्तानी गर्ने अवसर पाएका थिए ।

कप्तानी डेब्युमै रोहितले जितको स्वाद चाखे, त्यो पनि आफ्नै जन्मदिनको ।

केन्या भ्रमणमा रहेको नेपाली टोलीले शुक्रबार पहिलो एकदिवसीयमा आसिफ र अर्जुनले क्रमश: पहिलो शतक र अर्धशतक प्रहार गरे । भलै यसले अन्तर्राष्ट्रिय मान्यता पाउने छैन । फास्ट बलरद्वय सोमपाल कामी र करण केसीको उत्कृष्ट बलिङमा नेपालले केन्यालाई २१८ रनमा अलआउट गरेको थियो । आसिफको ११० र अर्जुनको ६१ रन मद्दतमा नेपालले १४ बल अगावै ३ विकेट गुमाएर लक्ष्य पूरा गर्दै ७ विकेटको शानदार जित निकाल्यो ।

खेलपछि रोहितकुमारले सबैको प्रदर्शनले जित सम्भव भएको बताए । साथै उनले फास्ट बलर, आसिफ अनि अर्जुनको प्रशंसा गरे । ‘कन्डिसन अनुसार करण र सोमपाल दाइले राम्रो प्रदर्शन गर्नभुयो । डगबउटमा बसेर आसिफ र अर्जुनको खेल हेर्दा ब्रिलियन्ट देखियो,’ रोहितले भने, ‘मग्रमा सबैलै राम्रो खेले ।’

अघिल्ला क्रमका ब्याट्सम्यानहरू चलेका कारण रोहितले शुक्रबार ब्याटिङमा खासै काम गर्नुपरेन । आसिफ शेख आउट भएपछि ४४औं ओभरमा ब्याटिङ गर्ने क्रिज पुगेका रोहितले ६ बल मात्रै खेलेर अविजित ३ रन बनाए ।

फिल्डिङमा भने उत्कृष्ट प्रदर्शन गरे । उनले केन्याका कोलिन्स अबुयालाई रनआउट गरे भने एक क्याच गरे ।

आसिफ र अर्जुनको जमेको जोडी

केन्याविरुद्ध सुरुको दुई टी-२० अन्तर्राष्ट्रियमा आसिफले पबन शर्राफसँग ओपनिङ गरेका थिए । तेस्रो खेलबाट  आसिफलाई आराम दिइयो, अर्जुनले अवसर पारे ।तेस्रो तथा चौथो खेलमा पवनसँग ओपनिङ गरेका उनले अन्तिम टी-२० मा ज्ञानेन्द्र मल्लसँग साझेदारी गरे । अन्तिमको साझेदारी सफल नै थियो ।

एकदिवसीयमा भने आसिफ र अर्जुन बन्यो । युवा विकेटकिपर अर्जुन साउदले टी-२० अन्तर्राष्ट्रिय डेब्यु गर्दै ओपनिङ गरेका थिए । यो जोडीले पहिलो विकेटका लागि आसिफ र अर्जुनले ३१.१ ओभरमा १४१ रनको साझेदारी गरे, जुन ५० ओभरको खेलमा नेपालका लागि अहिलेसम्मकै सर्वाधिक साझेदारी हो ।

यसअघि गत चैतमा पपुवा न्युगिनीविरुद्ध देव खनाल र दीपेन्द्रसिंह ऐरीले तेस्रो विकेटका लागि १२९ रनको साझेदारी गरेका थिए । यद्यपि केन्याको एकदिवसीय मान्यता नभएका कारण यो खेलको एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाउने छैन ।

आसिफले १२० बल खेल्दै १२ चौका र २ छक्का मद्दतमा ११० रन बनाए । नेपालको लागि कुनै पनि फर्म्याटमा आसिफको यो पहिलो शतक हो । यस्तै नेपालका लागि ५० ओभरको खेलमा डेब्यु गरेका १९ वर्षीय अर्जुनले ९७ बल खेल्दै ५ चौका र १ छक्कासहित ६१ रन बनाए । आशिफले दोस्रो विकेटका लागि ज्ञानेन्द्र मल्लसँग ५७ रनको साझेदारी गरेका थिए । ज्ञानेन्द्र मल्लले २३ रन बनाए । दीपेन्द्र सिंह भरीले ११ बलमा अविजित १५ रन जोडे ।

बलिङमा चम्केको सोमपाल-करणको जोडी

सोमपाल कामी र करण केसी नेपाली टिमका दुई मुख्य फास्ट बलर हुन् । यो जोडीले शुक्रबार नयाँ बलमा जस्तो सुरुवात चाहिने हो, त्यस्तै प्रदर्शन गर्‍यो । दुबै मिलेर ६ विकेट लिँदै केन्याको इनिङ्स धरासायी बनाए । कप्तान रोहितले पनि करण र सोमपाल दुबैको प्रशंसा गरेका छन् ।

सोमपालले केन्यका ओपनर सुखदिप सिंहलाई पहिलो ओभरमै कट एण्ड बोल्टै गर्दै सुखद सुरुवात दिलाएका थिए ।चौथो ओभरमा करणले अर्का ओपनर एलेक्स ओबान्डालाई विकेटककिपर अर्जुन साउदबाट क्याचआउट गराए । त्यसपछि नवौँ ओभरमा सोमपालले नेल्सन ओडिएम्बोलाई एलबीडब्लु धरापमा पारे । सोम र करणले आधार बनाएपछि पवन सर्राफ इर्फान करिमलाई बोल्ड गरे ।

४९ रनमा ४ विकेट गुमाएपनि राकेप पटेल र कोलिन्स ओबुयाले केन्याको इनिङ्सलाई अघि बढाए । दुवैले अर्धशतक बनाउँदै पाँचौ विकेटका लागि १३० रनको साझेदारी गरे । तर आदिल आलमले यो पार्टनरसिपलाई ब्रेक गर्दै ४२औं ओभरमा नेपाललाई पाँचौ सफलता दिलाए । आदिलले राकेप पटेललाई रोहित पौडेलबाट क्याचआउट गराए । राकेपले सर्वाधिक ६७ रन बनाए ।

त्यसपछि नेपालले खेलमा पकड बनायो । कप्तान रोहितले कोलिन्स ओबुयालाई ४५औं ओभरमा रनआउट गरे । ओबुयाले ६२ रन बनाए । सोही ओभरमा सोमपालले केन्याका कप्तान शेम गोचेलाई शुन्यमा एलबीडब्लु धरापमा पारे । त्यसपछि केन्याले लगातार विकेट गुमायो । करण केसीले एमानुएल बुन्डी र एलिजाह ओटिएनोलाई आउट गरे ।

२६ रन बनाएका सचिन बुडिअलाई दीपेन्द्र ऐरी र अर्जुन मिलेर रनआउट गरे । खेलपछि सोमपालले राम्रो खेलिरहेका खेलाडीलाई रनआउट गर्दा फाइदा भएको बताए । ‘दुई रनआउट राम्रो भयो । उनीहरुले राम्रो खेलेका थिए । रोहितले राम्रो काम गरे । यसले हामीलाई सहयोग गर्‍यो ।’

नेपाली टिम युवा रहेकाले अहिले टिममा उर्जा भएको र त्यसले प्रदर्शन गर्न प्रेरित गर्ने उनी बताउँछन् ।

नेपाली टिमको फिल्डिङ राम्रो भएको पनि उनले बताए । सोमपाल १० ओभरमा १ मेडन राख्दै २९ रन तथा करणले ९.१ ओभरमा ३ मेडन राख्दै ३८ रन खर्चेर ३ विकेट लिए । यसमा पवन र आदिलले विकेट लिएर सहयोग गर्दा फिल्डिङमा पनि नेपालले राम्रो प्रदर्शन गर्‍यो ।

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?