+
+

किमा नुडल्सको पारखी हुनुहुन्छ ? यी हुन् काठमाडौंका लोकप्रिय रेस्टुरेन्ट 

सुमित्रा लुईटेल सुमित्रा लुईटेल
२०७९ भदौ २० गते १८:३९

काठमाडौं । धेरै समय बितेको छैन, नेपालको मेनुमा ‘किमा नुडल्स’ भित्रिएको । तिक्खर पीरो, चट्ट अमिलो अर्थात् नेपाली जिब्रोले खोज्ने स्वाद ।

किमा नुडल्समा खासगरी किशोरपुस्ता झुम्मिएको छ । मुखको स्वाद फेर्न किमा नुडल्स खोज्दै हिंड्ने जमात बढ्दो छ । त्यसैले त यतिबेला काठमाडौंका ठाउँठाउँमा किमा नुडल्स उपलब्ध हुन थालेका छन् ।

यी त्यस्तै रेस्टुरेन्ट हुन्, जहाँ किमा नुडल्स खानका लागि ग्राहकको ताँती लाग्छ ।

बौद्ध किमा नुडल्स : खवा कार्पो स्वादिष्ट नुडल्स कारखाना, बौद्ध

सम्पर्क : ९८०८४१७०८९

काठमाडौंको बौद्धमा रहेको खवा कार्पो स्वादिष्ट नुडल्स कारखानाको किमा नुडल्सको स्वाद किमा नुडल्स पारखीलाई मन पर्छ । यहाँ बफ, चिकेन, अण्डा र भेज किमा नुडल्स पाइन्छ ।

मीठो किमा नुडल्स सस्तो मूल्यमा पाइनु यहाँको विशेषता हो । यहाँ बफ किमा नुडल्सको १८० रुपैयाँ, चिकेन किमा नुडल्सको २३० रुपैयाँ, अण्डा किमा नुडल्सको २३० रुपैयाँ र भेज किमा नुडल्सको मूल्य १४५ रुपैयाँ पर्छ ।

सस्तोमा अघाउञ्जेल किमा नुडल्स खान मन पराउनेका लागि बौद्ध किमा नुडल्स उपयुक्त ठाउँ हो ।

बटुवा कर्नर, वसुन्धरा

सम्पर्क : ९८६११९५७०१

किमा नुडल्सको लागि अर्को लोकप्रिय रेस्टुरेन्ट बटुवा कर्नर पनि हो । काठमाडौंको वसुन्धरामा रहेको बटुवा कर्नरमा किमा नुडल्स खानेको भीड लाग्छ । यहाँ ललितपुर र भक्तपुरबाट पनि किमा नुडल्सका पारखीहरु आउने गर्छन् ।

बटुवा कर्नरमा किमा नुडल्सको सम्पूर्ण भेराइटी बफ, चिकेन, अण्डा, पोर्क र भेज पाइन्छ । यहाँ बफ किमा नुडल्सको मूल्य २०० रुपैयाँ, चिकेनको २२० रुपैयाँ, भेजको १५० रुपैयाँ, अण्डाको १८० र पोर्कको २३० रुपैयाँ पर्छ ।

वसुन्धारा चौकीको अगाडि गोधुली फुडल्याण्डबाट टोखा जाने बाटोमा रहेको बटुवा कर्नर किमा नुडल्स मन पराउनेले एकपटक जानै पर्ने ठाउँ हो ।

केटीएम हङ्गर स्टेसन, सुकेधारा

सम्पर्क : ९८१८२११२४२

किमा नुडल्सको लागि अर्को लोकप्रिय रेस्टुरेन्ट केटीएम हङ्गर स्टेसन हो । सुकेधारा पेट्रोल पम्प नजिकै रहेको यो रेस्टुरेन्टमा किमा नुडल्सको साथै अन्य फास्टफुड पनि पाइन्छ । यहाँको सबैभन्दा धेरै रुचाइएको डिस किमा नुडल्स नै हो ।

केटीएम हङ्गर स्टेसनमा चिकेन किमा नुडल्स मात्र उपलब्ध छ र त्यसको मूल्य ३१० रुपैयाँ हो । चिकेन मन पराउनेका लागि चिकेन किमा नुडल्स पाइने यो रेस्टुरेन्ट राम्रो विकल्प हुन सक्छ ।

बियोन्ड ग्रान्डलाइन, बौद्ध

सम्पर्क : ९८६२५०२६४४

बौद्धमा रहेको बियोन्ड ग्रान्डलाइन पनि किमा नुडल्सको एकदमै राम्रो विकल्प हो । यहाँ बफ, चिकेन, पोर्क र भेज किमा नुडल्सको सम्पूर्ण भेराइटी उपलब्ध छ ।

बौद्ध क्षेत्रमा पाइने किमा नुडल्स भन्दा यहाँको किमा नुडल्स अलि फरक छ । किमा र सागसब्जी राखेर हल्का ग्रेभी राखेर यहाँको किमा तयार पारिन्छ । बियोन्ड ग्रान्डलाइनमा बफ किमा नुडल्सको २५० रुपैयाँ, चिकेनको २८० रुपैयाँ, पोर्कको ३०० रुपैयाँ र भेजको २०० रुपैयाँ पर्छ ।

यहाँको एक प्लेट किमा नुडल्सले दुई जनाको पेट टन्न हुने भएकाले यहाँ हाफ प्लेट किमा नुडल्स पनि उपलब्ध गराइन्छ । सबै हाफ किमा नुडल्सको मूल्य भने १५० रुपैयाँ पर्छ ।

फेमस लाफिङ हाउस, बालकुमारी

सम्पर्क : ९८६७०९०४६६

ललितपुरको बालकुमारीमा रहेको फेमस लाफिङ हाउसको किमा नुडल्स पनि लोकप्रिय छ । यहाँ बफ, चिकेन र भेजमा किमा नुडल्स पाइन्छ ।

फेमस लाफिङ हाउसमा बफ किमा नुडल्सको मूल्य १३० रुपैयाँ, चिकेनको १४० रुपैयाँ र भेजको १०० रुपैयाँ पर्छ । दुई वर्षअघि खुलेको फेमस लाफिङ हाउसले छोटो समयमा नै धेरै लोकप्रियता कमाएको छ । यहाँको किमा नुडल्स अन्य रेस्टुरेन्टको तुलनामा सस्तो र मीठो भएकाले विशेषगरी विद्यार्थीको रोजाइमा यो रेस्टुरेन्ट पर्छ ।

लेखकको बारेमा
सुमित्रा लुईटेल

अनलाइनखबरकी संवाददाता लुईटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?