+
+

कम्तीमा १२ वर्ष कैद मागिएका शाहमाथि कसरी भयो साढे २ वर्ष कैद सजाय ?

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २१ गते २१:११

२१ भदौ, काठमाडौं । जिल्ला अदालत, नवलपुरले ‘बाल यौन दुरुपयोग’को आरोपमा कलाकार पल शाहलाई दोषी ठहर गर्‍यो । न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले बलात्कारको मुद्दामा सफाइ दिए पनि ‘बाल यौन दुरुपयोग’को कसुर स्थापित हुने ठम्यायो र अनि साढे २ वर्ष कैद र २५ हजार रुपैयाँ जरिवाना सुनायो ।

जिल्ला प्रहरी कार्यालय, नवलपुरले शाहविरुद्ध अभियोग लैजाने क्रममा उनीमाथि १६ वर्षमुनिकी किशोरीमाथि बलात्कार गरेको आरोप लगाएको थियो । जिल्ला अदालतले त्यो अभियोगको साटो अर्को अभियोगमा दोषी ठहर गरेको छ । जिल्ला अदालतका स्रेस्तेदार महेन्द्रप्रसाद पौड्यालले बलात्कारको आरोप पुष्टि हुन नसकेको, तर अर्को अभियोगमा उनी दोषी ठहर भएको बताए ।

‘आरोपितमाथि जबर्जस्ती करणीको आरोप ठहर हुन नसक्ने फैसला भएको छ’ उनले भने, त्यो अभियोगमा सफाइ पाए पनि आरोपित शाहले बाल यौन दुरुपयोग गरेको देखियो, त्यही ठहरका आधारमा कैद र जरिवानाको फैसला भएको हो ।’ बुधबार अबेर फैसला भएकाले पूर्णपाठ तयार भएको छैन ।

मुलुकी अपराध संहिता ऐन, २०७४ मा बलात्कार (जबर्जस्ती करणी) र बाल यौन दुरुपयोगबारे छुट्टाछुट्टै व्यवस्था छ । ऐनको दफा २१९ मा कुनै पनि महिलाको मञ्जुरी नलिएमा वा १८ वर्षमुनिको किशोरीसँग मञ्जुरी लिएरै यौनसम्बन्ध राखेमा जबर्जस्ती करणी हुने व्यवस्था छ । यो मुद्दामा पीडित किशोरी घटना हुँदाका बखत १६ वर्षभन्दा मुनि र १४ वर्षभन्दा माथिकी भएकाले बलात्कार गरेको भए १२ देखि १४ वर्ष कैद सजाय भोग्नुपर्ने थियो ।

तर बलात्कारको आरोपमा कलाकार शाहलाई निर्दोष ठहर गरेका न्यायाधीश आचार्यले बाल यौन दुरुपयोगको आरोपमा भने पललाई दोषी ठहर गरे ।

मुलुकी अपराध संहिता ऐन, २०७४ को दफा २२५ मा बाल यौन दुरुपयोगबारे उल्लेख छ, जसमा बालबालिकालाई यौन सम्बन्धी क्रियाकलाप गराएमा बाल यौन दुरुपयोगको कसुर स्थापित हुने उल्लेख छ । त्यो कसुरमा बढीमा ३ वर्ष कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने उल्लेख छ ।

यौन दुराचार होइन, आरोप बलात्कारकै  थियो

गत चैतमा प्रहरीले सरकारी वकिलमार्फत जिल्ला अदालतमा पेश गरेको आरोपपत्रमा भने कलाकार पलमाथि बलात्कारकै आरोप लागेको थियो । जिल्ला सरकारी वकिलको कार्यालयले कम्तीमा ६ वटा प्रमाण जुटाएर जबर्जस्ती करणी (बलात्कार)को आरोपमा अधिकतम (१४ वर्ष) कैद सजायको माग दावी थियो ।

अभियोगपत्र अनुसार, पीडितको बाबुको जाहेरीका आधारमा अनुसन्धान अघि बढे पनि अन्य प्रमाणहरुले त्यसको पुष्टि गरेको थियो । प्रहरीले ६ फरक प्रमाणले बलात्कारको पुष्टि हुने दाबी गरेको थियो । जाहेरी अनुसार, सुटिङका क्रममा कलाकार पलसहित पीडित र अरु व्यक्तिहरु ७ चैत २०७७ मा गैंडाकोट रिसोर्टमा थिए । त्यहीदिन राति कलाकार पलले पीडितको कोठामा प्रवेश गरेर जबर्जस्ती गरेको प्रहरीमा दर्ता भएको जाहेरीमा उल्लेख थियो ।

रिसोर्टमा भएको त्यो दिनको अभिलेखले समेत कलाकार पल जाहेरीमा उल्लेख गरिएको दिन त्यहाँ पुगेको र पीडित पनि त्यही दिन रिसोर्टमा बसेको पुष्टि हुन्थ्यो ।

त्यसबाहेक सञ्चारमाध्यमहरुमा सार्वजनिक भएको अडियो रेकर्ट समेत अभियोगपत्रका साथमा प्रमाणको रुपमा पेश भएको छ, जसमा कलाकार शाहले ‘शारीरिक सम्बन्ध भएकै कारण पीडितसँग विवाह गर्न आफू बाध्य नहुने’ अभिव्यक्ति दिएका छन् ।

पीडित किशोरी, उनको पक्षमा बयान गर्ने कलाकार दुर्गेश थापा लगायतले बलात्कार भएको भनी प्रहरीमा कागज गरे पनि अदालतमा भने बयान फेरेका (होस्टायल भएका) थिए ।

पीडित किशोरीले आफूमाथि बलात्कार नभएको, बरु प्रहरीले जबर्जस्ती आफूलाई बयानमा सही गर्न लगाएको बताएकी थिइन् । आफूले अरुको उक्साहटमा जाहेरी दिएको बताउँदै उनले पल शाह निर्दोष रहेको दाबी गरेकी थिइन् ।

अभियोगपत्रमा बाल यौन दुरुपयोगको कुनै विवरण र अभियोग उल्लेख नभए पनि जिल्ला अदालतले भने अर्को अभियोगमा दोषी ठहर गरेको छ ।

महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता एवं सहन्यायाधिवक्ता सञ्जिवराज रेग्मीले कुनै आरोपितलाई कसूरदार ठहर गर्न माग दाबी लिइएकोमा अदालतले त्यसैसँग सम्बन्धित, तर कम सजाय हुने अभियोगमा दोषी ठहर गर्ने प्रचलन रहेको बताए ।

‘त्यो आरोप पुष्टि नभए पनि त्यस्तै प्रकृतिको तर कम सजाय हुने आरोपमा दोषी ठहर गर्ने प्रचलन छ’ उनले भने, ‘बलात्कारको मुद्दा लागेकाले त्यसको प्रयास (उद्योग) गरेकोमा दोषी ठहर भएका उदाहरण छन् । अदालतमा यस्तो अभ्यास भएकै देखिन्छ ।’

पीडित र उनका साक्षीहरुले बकपत्र फेरेकै आधारमा कम सजाय गरेको हुने भनेर न्यायाधीश उम्किने अवस्था नभएको सरकारी वकिल कार्यालय स्रोत बताउँछ । पीडितले कलाकार शाहबाट आफूमाथि बलात्कार मात्रै होइन, कुनै दुर्व्यवहार समेत भएको होइन भनी अदालतमा बयान दिएकी थिइन् । अरु साक्षीहरुले पनि त्यसैमा लय मिलाएर बकपत्र गरेका थिए ।

‘बलात्कार ठहर हुँदैन भने बाल यौन दुरुपयोगको आरोप पनि स्थापित हुँदैन । होइन भने बलात्कारकै आरोप ठहर हुन्छ’ एक सरकारी वकिलले भने, ‘बलात्कारको आरोप स्थापित हुँदा कम्तीमा १२ वर्ष कैद सजाय हुन्थ्यो । त्यो चर्को पर्न जाने महसुस गरेर न्यायाधीशले ‘बाल यौन दुरुपयोग’को कसुर स्थापित गरेको हुनुपर्छ । त्यसो हुँदा बढीमा ३ वर्ष कैद सजाय तोके पुग्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?