+
+

गठबन्धनमा सिट बाँडफाँट : ६० निर्वाचन क्षेत्रमा कांग्रेसको मात्र दाबी

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २१ गते २१:३९

२१ भदौ, काठमाडौं । सत्तारुढ पाँचदलीय गठबन्धनको कार्यदलले केही सिटको बाँडफाँट टुंग्याएको छ । तर धेरै सिटमा एकभन्दा बढी दलको दाबी रहेका कारण मंगलबार पनि सहमति जुट्न नसकेको कार्यदलका सदस्यहरुले बताएका छन् ।

सिट संख्या टुंगो लगाउन नसकेपछि शीर्ष नेताहरुले निर्वाचन क्षेत्रअनुसार सहमति खोज्न कार्यदललाई जिम्मा दिएको थियो । कार्यदलका एक सदस्यका अनुसार मंगलबार साँझसम्म कांग्रेसले लिन चाहेको ६० सिटमा अरु दलले दाबी गरेका छैनन् ।

माओवादी केन्द्रले दाबी गरेको १२/१३, एकीकृत समाजवादीले दाबी गरेको ७/८ र जनता समाजवादी पार्टीले दाबी गरेको ६/७ सिटमा अरु दलको दाबी छैन । ‘बाँकी सिटमा दुई वा दुईभन्दा बढी दलको दाबी छ,’ कार्यदलका एक सदस्य भन्छन्, ‘अब सम्बन्धित दलहरुबीचमा पनि कहाँ छोड्ने र कहाँ लिने भनेर छलफल हुन्छ । आफ्नो दलभित्र पनि आन्तरिक छलफल हुन्छ ।’

कांग्रेसले १०० सिट दाबी गरेको छ भने माओवादीले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३२ र राष्ट्रिय जनमोर्चाले २ सिट दाबी गरेको थियो । शीर्ष तहमा भएको छलफलमा कांग्रेस ९० मा झर्न सहमत भए पनि माओवादीले आधा कांग्रेसले लिएर आधा अरुलाई छाड्नुपर्ने बतायो भने एकीकृत समाजवादीले कांग्रेसलाई ७० सिटमा मात्र लड्न आग्रह गरेको थियो ।

सिट संख्या तोकेर निर्वाचन क्षेत्रबाट छलफल गर्ने प्रयास सफल नभएपछि कार्यदलमा क्षेत्रअनुसार भइरहेको छ । कार्यदलका एक सदस्य भन्छन्, ‘प्रगति भएको छ, तर जति सिटमा मिल्न बाँकी छ, त्यसमा मिलाउन सहज पनि देखिएको छैन ।’

भोलि (बुधबार)साँझ ५ बजे फेरि कार्यदलको बैठक बसेर सहमति जुटेका विषयमा प्रतिवेदन तयार पार्ने सहमति भएको छ र पर्सि बिहीबार ९ बजेका लागि शीर्ष नेताहरुको बैठक बोलाइएको छ । कार्यदलका सदस्य ज्ञानेन्द्रबहादुर कार्की भन्छन्, ‘करिब करिब लिपिवद्ध गर्ने चरणमा पुगेका छौं । भोलि ५ बजे कार्यदलको बैठक बस्छ र अन्तिम निष्कर्ष निकालेर हाम्रो प्रतिवेदन शीर्ष नेताहरुसमक्ष प्रस्तुत गर्छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?