+
+
भैरहवाको भुईंबाट-६ :

नेपालीको कमाइ घट्दा सुनौलीमा चिन्ता

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०७९ भदौ २२ गते १९:२०
सुनौली नाकाबाट सामना लिएर फर्किंदै नेपाली उपभोक्ता ।

२२ भदौ, रुपन्देही । भैरहवाको बेलहिया नाका पारि भारतीय बजार सुनौलीमा किनमेल गर्ने नेपालीको भीडभाड छ । वारी नेपालतर्फको भागमा यात्रु कुरेर बसेका इलेक्टि्रक रिक्सा र अटोको संख्या पनि कम छैन ।

सुनौलीमा बाह्रैमास नेपाली ग्राहकको भिड लाग्छ । यही भिडमा छन्, स्याङ्जाका अशोक घर्ती । काम विशेषले भैरहवा झरेको बेला सुनौलीमा किनमेल गर्ने मौका छोपेको उनले बताए ।

झोलाभरी समान हालेर सुनौलीबाट र्फकन लागेका अशोकले ठट्टौली पारामा भने, ‘दशैंका लागि टन्न कपडा किनियो । यसपटक दुईदिन ढिलो गरेर घर पुगेपनि श्रीमतीजीले कराउने चान्स छैन ।’

भैरहवामा माइती आएका बेला दशैंका लागि कपडा किन्न सुनौली पुगेकी पाल्पाकी समीता दवाडीले भनिन्, ‘यहाँ किन्दा धेरै मध्येबाट राम्रो छान्न पाइन्छ, सस्तो पनि पर्छ ।’

यसपटक भने सुनौलीमा पनि महँगी बढेको अनुभव उनले गरिन् । रुस-युक्रेन युद्धलाई कारण देखाएर भारतीय बजारमा पनि महँगी बढेको उनले सुनाइन् । ‘तर पनि धेरैजसो सरसामान यहाँ सस्तै पाइन्छ’, दवाडीले भनिन्, ‘नेपालमा अनेक बहानामा केही चिज किन्न नसकिने गरी भाउ बढाएका छन्, जेमा पनि बजेटले कर बढायो भन्छन् ।’

सुनौली निकै चल्तीको पुरानो सीमावर्ती बजार हो । यसको स्वरुप र व्यापार शैली पनि खासै बदलिएको छैन । करिब ३ किलोमिटर सडकमा लम्बिएको यो बजारमा खास भिडभाड सीमाको मुखतिर हुन्छ । केही गल्ली र सडकको दुईतर्फ हेर्दा स-साना देखिने करिब ६०० पसलले दैनिक ठूलो व्यापार गर्छन् ।

भारतको उत्तरप्रदेश, महाराजगञ्ज जिल्लामा पर्ने सुनौली बजारमा नपाइने चिज बिरलै हुन्छ । विवाह, व्रतबन्ध र चाडपर्वमा चाहिने चिजबिचदेखि दैनिक उपभोगका बस्तुसम्म किन्न यहाँ नेपालीको ओइरो लाग्छ ।

नेपालीहरु लत्ताकपडा, भाँडाकुडा, जुत्ता-चप्पल, इलेक्ट्रोनिक्स, खाद्यान्न, तेल, चिनी, बिस्कुट, नमकिन, भुजिया, काजु, किसमिसदेखि कुर्ता-सलवार, साडी, थानका कपडासम्म किन्न सुनौली जान्छन् । साबुन, सेम्पु, कापी-कलम, कस्मेटिकका सामान, तार, बल्ब, साइकल, टायर, ट्युब, पंखा, पानी तान्ने मोटर, टीभी लगायतका सामान पनि सुनौलीमा बढी बिक्छन् ।

नेपालीको आय घट्दाको चिन्ता

कोरोना महामारीपछि भने सुनौलीमा नेपालीको चाप केही घटेको छ । यस्तो किन भयो भन्ने अनलाइनखबरको प्रश्नमा व्यापारीहरुले फरक-फरक विश्लेषण सुनाए ।

३ दशकदेखि किराना व्यापार गरिरहेका इस्तफुर रहमानले सीमाको बजारप्रति दुवैतर्फको सरकारी नीतिले सुनौलीमा व्यवसाय फैलिन नपाएको बताए । ‘दुवैतर्फका अधिकारीहरुको दिमागमा सीमा बजारमा कालो बजारी मात्र हुन्छ भन्ने भ्रमले राज गरेजस्तो छ’, उनले भने, ‘यसले गर्दा सहजता, सुविधा बढाउनेभन्दा कडिकडाउ गर्ने, कस्ने नीति मात्र आयो ।’

सीमाको बजार भएकाले नेपालको सबै चाडपर्व आफूहरुलाई लाग्ने उनले बताए । ‘तीज नेपालमा जति लाग्छ, हामीलाई पनि त्यति नै लाग्छ । दशैंमा त हामीलाई खाना खाने फुर्सद हुँदैन’, रहमानले भने, ‘अबको १५ दिनपछि तपाईं आउनुभयो भने सुनौली बजारमा खुट्टा राख्ने ठाउँ पाउनुहुन्न । अरु बेला चाहिँ पहिलोजस्तो रहेन ।’

कस्मेटिक्स व्यापारी सुरवीर मेहेताले महामारीपछि व्यापार सुस्ताएको बताए । ‘रोगको डरले होला, आय घटेर पनि होला, महामारीअघि जस्तो नेपाली ग्राहक अहिले छैनन्’, उनले भने, ‘महामारीका कारण नेपालीको आम्दानी घट्दा हाम्रो व्यापार चौपट भएको छ ।’ कोरोना महामारीपछि नेपालबाट वैदेशिक रोजगारीमा जानेहरुको संख्या पनि घटेको भन्ने सुनेको मेहताले बताए ।

नेपाली ग्राहककै कारण गुल्जार बनेको सुनौली बजारका व्यापारीहरु मजाले नेपाली बोल्छन् । नेपाली रुपैयाँ सहजै चल्छ । बजार चाहिँ अव्यवस्थित छ । जथाभावी पसल राखिएको सडकमा पैदलयात्रुका लागि फुटपाथ छैन । त्यहीँ ठूला मालबाहक गाडीहरु आउ-जाउ गरिरहन्छन् । सवारी व्यवस्थापन नहुँदा सीमादेखि नै जाम र भीडभाड हुन्छ ।

यद्यपि दैनिक सुनौली पुग्ने नेपालीको संख्या ठूलै छ । कपडा स्टोर ‘उत्तमश्री कलेक्सन’का सञ्चालक नन्द गोपालका अनुसार सुनौली बजारको ९० प्रतिशत ग्राहक नेपाली हुन् । ‘वारी र पारीको मूल्य अन्तरका कारण धेरै नेपाली सुनौली आउनुहुन्छ’, उनी भन्छन्, ‘यहाँबाट सामान किनेर नेपाल लैजान कुनै दिक्कत पनि छैन ।’

नेपालीहरु रुपन्देही, पश्चिम नवलपरासी, चितवन मात्र नभई अर्घाखाँची, गोरखा, कास्की, बागलुङ, पाल्पा, स्याङ्जा, गुल्मी लगायत पहाडी जिल्लाबाट पनि खरिदारीका लागि सुनौली आउने गरेको ‘सुनौली कपडा सोरुम’का सञ्चालक सञ्जय मोरिया बताउँछन् । ‘भारतमा उत्पादित सामान नेपालमा किन्दा भन्सार शुल्कका थपिदा महंगो पर्न जान्छ’, उनी भन्छन्, ‘त्यही सामान नेपालमा भन्दा करिब आधा सस्तोमा पाइने हुनाले नेपाली ग्राहकहरु यता आउनुहुन्छ ।’

ग्राहकलाई फाइदा, भैरहवालाई बेफाइदा

 

किनमेलका नेपालीहरु सुनौली, रक्सौल धाउँदाको असर भैरहवालाई परेको छ । सुनौलीकै कारण भैरहवामा मूल बजारबाहेक अन्यत्र बजार फस्टाउनै सकेको छैन ।
आर्थिक केन्द्रका रुपमा लम्किरहेको भैरहवालाई सीमापारीको बजार चुनौती भएको व्यवसायी बसिर मोहम्मद बताउँछन् । ‘प्रहरी र भन्सारले नियम मिचेर ल्याएको सामान दिनदिनै समात्छ,’ उनी भन्छन्, ‘त्यति नगर्ने हो भने त भैरहवाका सबै सटर बन्द हुने अवस्था आउँछ ।’

भैरहवाबाट बेलहिया जाने रिक्सा, अटो र बस चल्ने भएकाले सुनौली पुग्न कुनै असुविधा छैन । सुनौलीबाट एक हजार रुपैयाँ बराबरका घरायसी समान लिएर आउँदा भन्सारमा रोकावट गरिंदैन ।

हजार रुपैयाँभन्दा बढीको सामान ल्याउँदा भन्सारमा सामान्य प्रज्ञापनपत्र भर्नुपर्ने नियम छ, जसमा कडाइ गरिएको छैन । यसले गर्दा पनि धेरै नेपाली खरिदारीका लागि सुनौली, नौतन्वा, रक्सौल पुग्छन् । उनीहरुले दैनिक कति मूल्यका सामान ल्याउँछन् भन्ने पनि यकिन तथ्यांक कसैसँग छैन ।

‘नेपालीको महत्व महामारीले थाहा दियो’

सुनौलीका व्यापारीहरुले नेपाली ग्राहकको क्रयशक्ति राम्रोसँग बुझेका छन् । त्यसैअनुसारका सामानहरु राखेका छन् । नेपालीलाई आकषिर्त गर्न पसलको नामसमेत नेपालसँग जोडेर राख्ने गरेका छन् ।

व्यवसायी सलमान आलमका अनुसार सुनौलीका कतिपय पसलमा फिक्स्ड प्राइस छ, जहाँ मूल्यमा बार्गेनिङ गर्ने झन्झट हुँदैन । धेरैजसो पसलमा भने बार्गेनिङ नगरे ठगिने जोखिम हुन्छ । ‘भारतीयमाभन्दा नेपालीमा ‘सपिङ कल्चर’ राम्रो छ’, आलम भन्छन्, ‘अच्छा सामान छान्न र बार्गेनिङ गर्नमा नेपालीहरु पोख्त छन् ।’

भाँडावर्तन व्यापारी सुकविन्दर शर्माले नेपाली ग्राहकबारे भावनात्मक कुरा गरे । ‘मेरा पिताले पञ्जाबबाट आएर यहाँ पसल थापेपछि नेपालीसँग हाम्रो चिनजान र संगत सुरु भएको हो’, उनले भने, ‘निरन्तरको कारोबार, सम्पर्क र सम्बन्धले हाम्रो पनि रहनसहन नेपालीको जस्तै भइसक्यो ।’

महामारीमा सीमा नाका बन्द हुँदा नेपालतर्फको बजारमा व्यापार बढेको उनले बताए । त्यसको नराम्रो असर सुनौलीलगायत भारतीय बजारमा पर्दा नेपाली ग्राहकको महत्व बुझेको शर्माले बताए ।

‘नेपालीहरु नआए यो बजारको हालत के हुन्छ भन्ने कुरा महामारीका बेला सबैलाई थाहा भयो,’ उनले भने, ‘त्यसो त नेपालमा केही समस्या भएर सीमा बन्द हुँदा पनि हाम्रो व्यापार पनि बन्द नै हुन्छ ।’

तस्वीर : आर्यन धिमाल/अनलाइनखबर

 

भैरहवाको भुईंबाट–१

भैरहवाको भुईंबाट–२

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?