+
+

सिट बाँडफाँट : काठमाडौंमा ६ क्षेत्र कांग्रेसको पक्का, २ मा गलफत्ती

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २२ गते २२:२३

२२ भदौ, काठमाडौं । सत्तारुढ पाँचदलीय कार्यदल प्रतिनिधिसभाको सिट बाँडफाँटमा सहमति नजिक पुगेका छन् । कार्यदलका सदस्यहरुका अनुसार भोलि विहान ९ बजे बसेर प्रतिवेदन तयार पार्ने र शीर्ष नेताहरुलाई बुझाउने तयारी छ ।

नेपाली कांग्रेसले १००, माओवादीले ६०, एकीकृत समाजवादीले ४०, जनता समाजवादी पार्टीले ३२ र राष्ट्रिय जनमोर्चाले २ सिट दाबी गरेको थियो । सिट संख्या टुंग्याएर क्षेत्रगत छलफल गर्ने योजना थियो । तर त्यसमा सहमति नजुटेपछि कार्यदलमा निर्वाचन क्षेत्रअनुसार छलफल चलिरहेको छ ।

एक सदस्यका अनुसार मंगलबार दलहरुको एकल दाबी रहेको क्षेत्रहरु टुंगिएका थिए । बुधबार दुई वा दुईभन्दा बढी दलको दाबी रहेका क्षेत्रहरुमध्ये केहीको सहमति जुटेको छ ।

काठमाडौंको १० वटा क्षेत्रमध्ये २ मा टुंगिएको छैन । कांग्रेसले १,३, ४, ६, ९ र १० पाउने पक्का भएको छ । एकीकृत समाजवादीले ८ लिने छ भने ७ जसपाको हुनेछ । क्षेत्र नम्बर २ मा कांग्रेस र एकीकृत समाजवादीको दाबी छ । क्षेत्र नम्बर ५ मा भने कुनै पनि दलको खास रुची देखिएको छैन ।

ललितपुरको ३ वटै क्षेत्रको बाँडफाँट टुंगिएको छैन । माओवादी केन्द्रले क्षेत्र नम्बर ३ मा दाबी गरेको छ । माओवादीका नेता पम्फा भुसाललाई यो क्षेत्र छाड्न कांग्रेस नेताहरु सकारात्मक छन् ।

तर एकीकृत समाजवादीले एउटा क्षेत्र पाउनुपर्ने दाबी गरेको छ । कांग्रेस नेताहरु भने यसमा सहमत छैन । एउटा क्षेत्र समेत छाड्न गाह्रो भएको बेला अर्को क्षेत्र पनि छाड्न नसकिने नेताहरुले बताएका छन् ।

मधेसको ३२ सिटमध्ये १६ मा कांग्रेसको दाबी छ । कांग्रेस र जसपाको दाबी भएका केही क्षेत्रमा सहमति जुटेको छैन ।

दाङमा कांग्रेस, माओवादी र एकीकृत समाजवादीले एकएक सिट लिने लगभग सहमति जुटेको छ । माओवादी उपाध्यक्ष कृष्णबहादुर महराको क्षेत्र नम्बर २ माओवादीको पक्का छ । बाँकी दुबै सिटमा कांग्रेस र एकीकृत समाजवादीको दाबी थियो । बुधबार १–१ सिट लिने सहमति भएको छ ।

तर १ र ३ क-कसले लिने भन्ने टुंगिएको छैन । एक नेता भन्छन्, ‘एकभन्दा बढी दाबी रहेको क्षेत्रहरुमा यसरी नै सहमति खोज्ने प्रयास भएको छ । भोलि विहान सहमति भएका र एकभन्दा बढी दाबी रहेको क्षेत्रहरु छुट्याएर प्रतिवेदन तयार पार्छौं ।’

यो प्रतिवेदन भोलि बिहीबार नै शीर्ष नेताहरुलाई बुझाइने छ ।  ‘नेताहरु भनेर २/५ सिट छाड्ने हो भने सहमति जुट्न गाह्रो छैन’ कार्यदलका एक सदस्य भन्छन्, ‘तर सहमति जुटाउन एकदमै गाह्रो पनि त्यही १०/२० सिटमा हो ।’

स्रोतका अनुसार १०० सिट दाबी गरेको कांग्रेस ९०/९२ मा झर्ने मन बनाएर बसेको छ । ६० सिट दाबी गरेको माओवादी ४५/४७ मा झर्न तयार देखिएको छ । शीर्ष तहमा हुने छलफलमा  एकीकृत समाजवादी र जसपा पनि लचिलो हुने हो भने सिट बाँडफाँटमा सहमति जुट्न पनि सक्ने नेताहरु बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?