+
+

शैक्षिक सुधारका लागि आवश्यक काम अघि बढाएका छौं : मन्त्री पौडेल

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २३ गते १६:३०

२३ भदौ, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले शैक्षिक सुधारका लागि गर्नु पर्ने कामको पहिचान गरी काम अघि बढाएको बताएका छन् ।

५६ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा शिक्षा तथा मानवस्रोत विकास केन्द्रले गरेको कार्यक्रममा मन्त्री पौडेलले भौतिक पूर्वाधारमा सुधार, कानुनी सुधार र शिक्षण सिकाइसम्बन्धी सुधारका काम भइरहेको बताए ।

शैक्षिक गुणस्तरका लागि कानुनी सुधार (नीति नियम) आवश्यक देखिएकोले सात वटा ऐन तयार भइरहेको समेत मन्त्री पौडेलले बताए । उनले भने, ‘मेडिकल शिक्षा सुधारका लागि कानुनी सुधार आवश्यकता छ । अर्बौं लगानी गरेर गेटा बनाए पनि कुन मोडलमा चलाउने भन्ने स्पष्ट नहुँदा अलपत्र अवस्थामा छ ।’ मन्त्रालयले प्रतिष्ठान सम्बन्धी ऐनको काम अन्तिम चरणमा पुगेको जनाएको छ ।

कार्यक्रममा केन्द्रको प्रवक्ता दिल्लीराम लुईंटेलले मधेश प्रदेशका सबै जिल्ला र साविकको कर्णाली अञ्चलका सबै जिल्ला गरी १५ जिल्ला मात्रै साक्षर घोषणा हुन बाँकी रहेको र आगामी वर्षभित्र सकिने अपेक्षा लिएको बताए । उनले भने ‘अब बाँकी १५ जिल्लालाई आगामी वर्ष साक्षर घोषणा गर्न सकियो भने साक्षर नेपाल बन्नेछ । आगामी वर्ष हामी साक्षर घोषणा गर्न सक्छौं भन्ने अपेक्षा छ ।’

कक्षा ९–१२ को प्राविधिक धार र सीटीईभीटीको पाठ्यक्रम एउटै हुने

अब विद्यालय तह ९–१२ को प्राविधिक धारका विषयहरुको र प्राविधिक तथा व्यवसायीक तालिम परिषद (सीटीइभीटी) को प्रि–डिप्लोमाको पाठ्यक्रम एउटै हुने भएको छ ।

हालसम्म ९–१२ को प्राविधिक धारका पाठ्यक्रम पाठ्यक्रम विकास केन्द्रले र प्रि–डिप्लोमाको पाठ्यक्रम परिषद्ले फरक फरक रुपमा गर्दै आएको थियो । शिक्षा सैद्धान्तिक कुराको अध्ययन गर्ने मात्रै नभएर बजारसँग, रोजगारसँग जोडेर लानको लागि पाठ्यक्रम एउटै बनाउने तयारी भइरहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?