+
+

‘स्टारडम’ सम्हाल्न नसकेका क्रिकेटर

अनलाइनखबर अनलाइनखबर
२०७९ भदौ २३ गते २१:५५

२३ भदौ, काठमाडौं । किशोरावयमै सफलताको शिखरमा पुगेका राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेको सबैथोक गजब चलिरहेको थियो । उनले करिब एक दशकको क्रिकेट करिअरमा एकपछि अर्को व्यवसायिक सफलता पाएका थिए । टी–२० लिगमा नेपालको ग्लोबल स्टारकै रुपमा छाएका उनले पछिल्लो समय नेपालकै राष्ट्रिय टोलीको कप्तानी सम्हाल्ने अवसर पाए ।

तर एकाएक उनको करियर संकटमा देखिएको छ । कारण हो, प्रहरीमा नाबालिग बलात्कारको अभियोग दर्ता हुनु ।

हाल क्यारेवियन प्रिमियर लिगका लागि जमैकामा रहेका सन्दीपविरुद्ध नाबालिग बलात्कार आरोपमा उजुरी परेको छ । पक्राउ पुर्जी नै जारी भएपछि नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार साँझ उनलाई राष्ट्रिय टिमबाट निलम्बन गरेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को आधिकारिक उमेरमा उनी २२ वर्षका हुन् । १५ वर्षको उमेरमै राष्ट्रिय टिमबाट डेब्यू गरी ६ वर्षको अन्तरालमा कप्तान बन्नु सन्दीपको आश्चर्यजनक सफलता र क्षमताको नतिजा थियो ।

स्याङ्जामा जन्मिए पनि भारतमा क्रिकेट सिकेका सन्दीप सन् २०१५ मा चितवनको क्याम्पाचौरमा राष्ट्रिय टिमका तत्कालीन प्रशिक्षक पुबुदु दासानायकेबाट पहिचान भएका प्रतिभा हुन् । त्यतिबेला सन्दीप राष्ट्रिय टिमका पूर्वकप्तान राजु खड्कासँग क्रिकेट सिक्दै थिए ।

राष्ट्रिय टिमको सफलता हुँदै विश्वकै प्रतिष्ठित फ्रेन्चाइज क्रिकेट इण्डियन प्रिमियर लिग (आईपीएल)मा अवसर पाएका सन्दीपले विश्वभरका प्रायः फ्रेन्चाइज लिगमा आफूलाई स्थापित गरेका छन्, जसले उनलाई करिअरमा अनुभवी बनायो भने आर्थिक रुपले सम्पन्न ।

सफलताको सिँढी चढ्दै गर्दा सन्दीपमाथि बेलाबेला स्टारडमलाई सम्हाल्न नसकेको आरोप लागेको थियो । राष्ट्रिय टिमकै सदस्यहरुमाथि फरक व्यवहार गर्नेदेखि तत्कालीन कप्तान पारस खड्कालाई सामाजिक सन्जालमा अनफलो गरेको प्रकरणबाट सन्दीप नेपाली समर्थकमाझ पनि आलोचित भइरहेका थिए । तर मैदानमा गर्ने प्रदर्शनले उनका तमाम कमजोरीलाई छोपिदिन्थ्यो ।

तर अहिले सन्दीपमाथि जघन्य आरोप लागेको छ । ५ भदौमा सन्दीपले आफूलाई एक होटलमा लगेर पटक पटक बलात्कार गरेको भन्दै १७ वर्षकी किशोरीले उजुरी दिएकी छन् । अब यो केसमा प्रहरीले अनुसन्धान गर्छ भने अदालतले निर्णय लिन्छ ।

यो केसमा फैसला आउन निश्चित समय लिन्छ । अर्थात सन्दीप तत्काल निश्चित समय टिममा हुने छैनन् । सन्दीपको अनुपस्थिति नेपालका लागि एउटा ठूलो क्षति भने पक्कै भएको छ । ‘पछिल्ला केहि वर्षदेखि उनी नेपालको प्रमुख बलर थिए । नेपालका लागि आवश्यक समयमा विकेट लिएर उद्दार गरिरहेका थिए,’ राष्ट्रिय टिमका पूर्वकप्तान पवन अग्रवाल भन्छन्, ‘आशा गर्छु कि उनलाई प्रतिस्थापन गर्ने क्षमताका क्रिकेटर छिट्टै भेटिउन् ।’

सानै उमेरमा ठूलो सफलता हासिल गरेका सन्दीपमाथि लागेको आरोप सुन्दा उनमा असल अभिभावकत्वको कमी रहेको अनुमान गर्छन् पूर्वकप्तान अग्रवालले । ‘घटनाक्रमको विकास यसरी हुन्छ भनेर हामीले कहिल्यै सोचेका थिएनौं,’ अग्रवालले अनलाइनखबरसँग भने, ‘उनी भनेको आईपीएलजस्तो प्रतियोगितामा तीन सिजन विताएका खेलाडी हुन् । विश्वभर एक्स्पोजर पाइसकेको खेलाडीको अवस्था र दबावलाई नियन्त्रणमा राख्ने उपाय जानेको हुन्छ । यस्तो अवस्था आउनुलाई पक्कै पनि राम्रो मान्न सकिन्न ।’

प्रहरीले भदौ ५ गते सन्दीप बन्द प्रशिक्षण क्याम्पको होटलबाट निस्किएर बाहिरै रात विताएको पुष्टि गरेको छ । बन्द प्रशिक्षणका लागि होटेलमा बसेका खेलाडी साथी भेट्न रातारात बाहिरिएको पुष्टि हुँदा क्यान व्यवस्थापन र स्वयम् कप्तान सन्दीप गैरजिम्मेवार देखिन्छन् ।

खेलकुदमा सफलता पाएका खेलाडीलाई स्वयम् नियन्त्रणमा राख्नका लागि मनोसामाजिक परामर्शको जरुरी हुने एकाथरिको तर्क छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका उपाध्यक्ष रहेका ब्याडमिन्टनका पूर्व अन्तर्राष्ट्रिय अम्पायर दीपक थापाले खेलाडीमा स्टारडम संहाल्नका लागि क्लिनिकल मनोविज्ञान कक्षा अत्यावश्यक हुने बताउँछन् । त्यसका लागि परिवार, खेल संघ र सरकारी निकायको भूमिका हुन्छ ।

‘खेलाडी भनेको समाजको रोलमोडल हो । एउटा सफल खेलाडी सामाजिक रुपमा प्रभाव पार्नसक्ने हुन्छ । त्यसो हुँदा उसले सार्वजनिक रुपमा प्रस्तुत हुने, बोल्ने, खाने र मानिसहरुसँग गर्ने व्यवहार धेरैका लागि प्रेरणा हुन्छ,’ थापाले थपे, ‘दुई किसिमका समर्थक हुन्छन् । एउटा क्रेजी समर्थक, अर्का समझदार समर्थक हुन्छन् । त्यसैले खेलाडीले आफूलाई जहाँ प्रस्तुत हुँदा पनि आकर्षित गर्ने व्यक्तित्व विकास गर्नुपर्छ ।’

लगातारको सफलता, अचानक पतन

स्याङ्जामा जन्मिएका लेगस्पिनर सन्दीप व्यक्तिगत रुपमा नेपालका सर्वाधिक सफल खेलाडी हुन् ।

सन्दीपले नवलपुरमा बसेर चितवन क्रिकेट एकेडेमीमा प्रशिक्षण गरेका थिए । तत्कालीन प्रशिक्षक दासानायकेले चितवनबाट काठमाडौं ल्याएपछि उनले आफूलाई परिस्कृत बनाउन सके । सन् २०१६ जनवरीमा बंगलादेशमा भएको यू-१९ क्रिकेट विश्वकपमा ह्याट्रिक विकेद लिँदै सन्दीपले सनसनी मच्चाएका थिए । त्यसपछि उनको अष्ट्रेलियन महान बलर शेन वार्नसँग तुलना भएको थियो ।

अप्रिलमा विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत त्रिवि मैदानमा भएको नामिवियाविरुद्धको खेलमा नेपालको सिनियर टिमबाट डेब्यू गरेयता उनको करिअर ग्राफ उकालो लागिरहेको छ ।

त्यसयता नेपालले पाएको हरेक सफलतामा सन्दीपको योगदान छ । उनी नेपालका लागि अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक विकेट लिने खेलाडी हुन् । नेपालले सन् २०१८ मा एकदिवशीय अन्तर्राष्ट्रिय मान्यता पाएयता ३० एकदिवशीय अन्तर्राष्ट्रिय खेलमा सन्दीपले ६९ विकेट लिएका छन् । त्यस्तै ४४ टी–२० अन्तर्राष्ट्रियमा ८५ विकेट लिएका छन् । एउटा फर्स्टक्लास खेलेका उनले त्यसमा ३ विकेट लिएका छन् । ११५ लिष्ट ए र १९३ टी–२० विकेट सन्दीपको नाममा छ ।

उनले सबैखाले फर्म्याटमा गरी अहिलेसम्म ३०८ विकेट लिइसकेका छन् भने नेपाली टिमबाट दुई सयभन्दा बढी विकेट लिइसकेका छन् ।

गत वर्ष मंसिरमा सन्दीप राष्ट्रिय क्रिकेट टिमको कप्तान नियुक्त भएका थिए । सन् २०१८ को मेमा इण्डियन प्रिमियर लिगमा तत्कालीन दिल्ली डेयरडेभिल्सका लागि डेब्यू गरेसँगै उनी विदेशी फ्रेन्चाइज लिग खेल्ने पहिलो नेपाली खेलाडी बने । उनी दिल्लीका लागि आईपीएलमा ३ सिजन रहे ।

त्यसयता लगभग विश्वभर थुप्रै फ्रेन्चाइज क्रिकेटमा सन्दीपले अवसर पाए र आफूलाई प्रमाणित पनि गर्दै लगे । उनले अस्ट्रेलियाको विगबास लिग र क्यारेवियन प्रिमियर लिगमा नियमित खेलिरहेका छन् । क्यानडाको ग्लोबल टी–२० लिग, बंगलादेश प्रिमियर लिग, युएईमा टी–टेन लिग खेलिसकेका छन् । पछिल्लो समय उनी श्रीलंका प्रिमियर लिगका लागि  समेत छनोट भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?