+
+
ब्लग : राष्ट्रपतिलाई खुला पत्र :

बिन्ती, नागरिकता विधेयक पास गर्दिनुस् !

अञ्जलीकुमारी झा अञ्जलीकुमारी झा
२०७९ भदौ २६ गते १८:०४

राष्ट्रपतिज्यू, प्रतिनिधिसभा र राष्ट्रियसभाले दोस्रो पटक नागरिकता विधेयक पारित गरेर प्रमाणीकरणको लागि तपाईंको हातमा पठाएको छ । सुनेकी थिएँ, तपाईं नागरिकता विधेयक प्रमाणीकरण नगरी राजिनामा दिने योजनामा हुनुहुन्छ । अस्ति भर्खर तपाईंले पूर्व सुरक्षाकर्मीसँगको बैठक गरेपछि थप सशंकित भएकी छु ।

राजिनामा दिने नदिने तपाईंको राजनीतिक अधिकार हो । तर यो विधेयक प्रमाणीकरण नगरेर हामी जस्ता हजारौंको जिन्दगीसँग खेलबाड नगरिदिनुहोला । यो पत्र तपाईंलाई त्यही सम्बन्धमा निवेदन गर्न लेखेकी छु ।

पछिल्लो पटक तपाईंले नागरिकता विधेयक प्रमाणीकरण नगरी त्यसै फिर्ता गर्दा म कति निराश भएकी थिएँ, त्यो भनिसाध्य छैन । तपाईंमाथि कति रिस उठेको थियो त्यो पनि शब्दमा भन्न सक्दिनँ । तर मजस्ता अदनाले के नै गर्न सक्छु र ?

रिस र पीडा मिसिएको आँशु चुपचाप पिएँ । तर आज दोस्रो पटक नागरिकता विधेयक प्रमाणीकरणको लागि तपाईंको हातमा पुग्दा तपाईंलाई फेरि बिन्ती गर्नुको विकल्प छैन । त्यसैले यो पत्र लेख्दैछु ।

सायद म यो संसारको सबैभन्दा अभागीमध्येकी एक हुनुपर्छ, त्यसैले त म हरेक पटक पास हुने–हुने जस्तो हुँदाहुँदै फेल हुने गर्छु । पहिले त आफ्नो परिवारबाट ठगिएँ । त्यसपछि राज्यबाट र राष्ट्रपतिज्यू, तपाईंबाट ।

राष्ट्रपतिज्यू, तपाईंबाट ठगिंदा मैले सबैभन्दा बढी पीडाबोध गरें । असाध्यै भोकाएको बेला थालीमा खाना पस्किएर पुनः खोसे जस्तै लाग्यो । पछिल्लो पटक राष्ट्रिय सभाले नागरिकता विधेयक पास गर्दा अब प्रमाणीकरण होला र जिल्ला प्रशासन कार्यालयहरूले नागरिकता बाँड्न सुरु गर्ला भन्ने विश्वास बढेको थियो ।

काठमाडौंमा बसेर अर्को वर्षको लागि गरिरहेको तयारी छोडेर गाउँ गएँ । मेरा कान रेडियोमा र आँखा समाचारपत्रहरूमा हुन्थे । म कति खुशी थिएँ, कसरी व्यक्त गरूँ ? तपाईंको कार्यालयमा विधेयक प्रमाणीकरणको लागि गएको दोस्रो हप्तापछि तपाईंले प्रमाणीकरण नगर्ने गाईंगुईं सुनेपछि मनमा चिसो पस्यो । र, अन्ततः भयो त्यही, जुन नहुनुपर्ने थियो ।

राष्ट्रपतिज्यू, नागरिकताको लागि आमाले भाकल गर्नुभयो । मलाई पनि पूजापाठ, व्रत गर्न लगाउनुभयो । तर केही पनि काम लागेन । हाम्रो परिवार पूरै निराश भएको छ ।
राष्ट्रपतिज्यू, नागरिकता सम्बन्धी बहस एक दुई दिनभित्र सुरु भएको बहस होइन ।

यो पहिलो संविधानसभाबाटै सुरु भएर संविधान निर्माण भइसकेर संसदको एउटा कार्यकाल सकिन लाग्दासम्म भई नै रहेको बहस हो । यो विषयमा कुन राजनीतिक दलको के धारणा छ भन्ने कुरा तपाईं जस्तो राजनीतिकर्मीलाई थाहा नहुने कुरै होइन । तर यतिका बहस हुँदा तपाईंलाई अधिकांशतः मौन नै देखें । तर नागरिकता विधेयक प्रमाणीकरण गर्न लाग्दा तपाईंमा कुन यस्तो विचार प्रवाह भयो कि प्रमाणीकरण नगरी संसदमै फिर्ता पठाइदिनुभयो ? मैले बुझ्न सकेकी छैन ।

तपाईंले चाहनुभयो भने फेरि दर्जनौं राजनीतिक जालझेल गरेर यो विधेयक रोक्न सक्नुहुन्छ । केही नभए राजिनामा दिएर जानुहुन्छ । त्यसबाट कुनै राजनीतिक दलको कहीं मत तल–माथि होला/.नहोला तर हामी हजारौं अनागरिकको भविष्यको हत्या हुन्छ ।

तपाईंले उठाएका सवालहरूमा मेरो विमति छैन । त्यो जायज हो । यो नागरिकता सम्बन्धी प्रावधान जुन छ त्यो लैंगिक समानताको दृष्टिकोणले, महिलाको अस्मिताको दृष्टिकोणले तथा महिलालाई वंशको अधिकारको सवालमा विभेदपूर्ण छ । तर यी विषयहरू अचानक आएका होइनन् । यो त संविधान निर्माण हुँदै गर्दा निक्र्योल गर्नुपर्ने विषय हो ।

अस्ति यही संविधानमा सही गर्ने बेलामा यी विषयमा एकपटक पनि बोल्नुभएन तर आज त्यही संविधानको परिणति यो विधेयक प्रमाणीकरण गर्न लाग्दा तपाईंको कस्तो ब्रह्म जाग्यो ? मैले उत्तर पाउन सकेकी छैन ।

गत वर्ष तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सत्ता डगमगाउँदा उहाँले जारी गर्नुभएको नागरिकता अध्यादेश मध्यरातमा सही गर्ने तर संसदले विधिपूर्वक पठाएको विधेयक प्रमाणीकरण नगरी १५ दिनपछि फिर्ता गर्दा तपाईंले हजारौं युवाको भविष्यमाथि खेलबाड गरिरहनुभएको जस्तो लागेन ? मलाई त तपाईं हाम्रो भविष्यप्रति रत्तिभर संवेदनशील भएको जस्तो लागेन ।

हुन त तपाईंले उत्तर दिनुभएको छ कि तपाईंलाई अध्यादेश रोक्ने अधिकार छैन, सही हो । तर तपाईंको पूर्व प्रम केपी ओली शर्मासँगको राजनीतिक सम्बन्धले पनि अध्यादेशमा के कस्तो कुरा आउँदैछ थाहा थियो होला । अध्यादेश आउनु भन्दा अगाडि नै त्यसलाई प्रभावित गर्न सक्ने तपाईंको सामर्थ्य छ । नागरिकता अध्यादेश लैंगिकमैत्री हुनुपर्छ भन्ने साहस त्यतिबेला गरेको भए यो सरकारले पनि विभेदयुक्त विधेयक ल्याउन साहस गर्दैनथ्यो होला । तर तपाईंले त्यति विवेक त्यहाँ प्रयोग गर्नुभएन ।

हुनत कसैको राजनीतिक बैसाखी बन्नमै खुसी मान्ने व्यक्तिले आफ्नो विवेक प्रयोग गर्छ भन्ने सोच्नु त मेरै गल्ती हो । माफ गर्नुहोला, राष्ट्रपतिज्यू तर तपाईंको भूमिका कुनै अमूक पार्टीको राजनीतिक हित साध्ने बैसाखीको भन्दा बढी देखिएन । तपाईंको पछिल्लो कदमले कुनै एउटा राजनीतिक दललाई हित गर्छ तर सबै नेपाली खास गरेर नागरिकता पीडित नेपालीको समेत अभिभावक बन्ने अवसर समाप्त भएको छ ।

यो नागरिकता विधेयक प्रमाणीकरण भइसकेर कानुन बन्दा हामीमध्ये कोही वंशजको आधारमा, कोही आमाको नामबाट वंशजको आधारमा त कोही आमाको नामबाट अंगीकृतको आधारमा नागरिकता पाउनेछन् । कतिपयलाई स्व–घोषणा गर्नुपर्ला । तर जे भए पनि नागरिकता त पाउँछन् । तपाईं यो देशका शासक वर्गले थाहा पाउनुहुन्न नागरिकताको महत्व कतिसम्म छ भनेर ।

किनभने तपाईंलाई नागरिकता नहुँदाको पीडा भोग्नु परेको छैन । हामीजस्ता अनागरिकलाई सोध्नुस्– नागरिकता नहुँदाको पीडा के हुन्छ भनेर । नागरिकता नहुँदा आफ्नो नाममा मोबाइलको सिमकार्ड लिनसकेको छैन ।

बैंकमा खाता खोल्नु, उच्च शिक्षा लिनु, मोटर चलाउन लाइसेन्स लिनु सबैको लागि नागरिकता चाहिन्छ । यहाँसम्म कि त्यत्रो रहर हुँदा पनि नागरिकता नभएकोले प्लेन चढेको छैन । नागरिकता भनेको हाम्रो लागि सामान्य परिचयपत्र मात्र होइन, जीवन जिउने लाइसेन्स हो ।

विना लाइसेन्सको मोटर चलाउँदा चालकलाई जसरी सधैंभरि ट्राफिक प्रहरीको डर हुन्छ त्यसैगरी हामी अनागरिकलाई राज्यबाट डर लाग्छ । आफ्नो भविष्यको योजनासम्म पनि गर्नको लागि नागरिकता नै चाहिने अवस्थामा अनागरिक भएर त्यत्रो वर्षसम्म बस्दाको पीडा तपाईं बुझ्नु हुन्न ।

यस्तो अवस्थामा बल्लतल्ल पास भएको नागरिकता सम्बन्धी विधेयक रोकेर तपाईंले दिनुभएको पीडा कति असह्य रह्यो, कसरी भनूँ ? राष्ट्रपतिज्यू, छोराछोरीलाई भोक लागेको बेला आमाले जस्तो खाना भेटे पनि ल्याएर दिन्छन् । त्यो बेलामा प्रतिष्ठा र आत्मसम्मान जस्ता यावत् कुराहरू छायाँमा पर्छन् । हामीलाई नागरिकताको भोक लागेको बेला हाम्री आमालाई स्व–घोषणा जस्तो अपमानजनक कार्य गर्नुपर्दा पनि उहाँहरू पछि पर्नुहुन्न ।

सन्तानको भविष्यको लागि आमाले जस्तो सुकै अपमान पनि सहन तयार हुन्छन् । एउटी आमा भएर तपाईंले यतिका कुरा त बुझ्नुहुन्छ होला ? नागरिकता विधेयक कुनै ढुंगाको लकिर होइन । यो संशोधन हुने कुरा हो । तपाईंले उठाएका सवालहरूमा तपाईं साँच्चै प्रतिबद्ध हुनुहुन्छ भने अबको जीवन त्यसमै लगाउनुस् ।

म वाचा गर्छु, तपाईंको अभियानमा सधैंभरि मन, वचन र कर्मले साथ दिउँला । तर तपाईंको पछिल्लो कदम एउटा राजनीतिक ‘स्टन्ट’ मात्र हो भने त तपाईंले इतिहास बनाउने अवसर खेर फाल्नु बाहेक के नै होला र !

राष्ट्रपतिज्यू, अब फेरि विधेयक तपाईंकोमा पुगेको छ । तपाईंले चाहनुभयो भने फेरि दर्जनौं राजनीतिक जालझेल गरेर यो विधेयक रोक्न सक्नुहुन्छ । केही नभए राजिनामा दिएर जानुहुन्छ । त्यसबाट कुनै राजनीतिक दलको कहीं मत तल–माथि होला/नहोला तर हामी हजारौं अनागरिकको भविष्यको हत्या हुन्छ ।

त्यसैले राष्ट्रपतिज्यू, म हजारौं अनागरिकहरूको तर्फबाट आग्रह गर्दछु– कृपया विधेयक प्रमाणीकरण गर्दिनुस् । बिन्ती !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?