+
+
ब्लग :

आध्यात्मिकता, सद्गुरुहरू र सरहरू

प्रकृति मैनाली प्रकृति मैनाली
२०७९ भदौ २७ गते १८:०३

‘मन, वचन र कर्मले एउटै सोच्नु, हुनु’ व्यावहारिक रूपमा मैले बुझेको आध्यात्मिकता यही हो। मेरो कल्पनाको गुरुको भौतिक स्वरूप सद्गुरुसँग मिल्छ।लामो दाह्री, लामो कपाल, उहाँको लवाइ मलाई सिकाइएको गुरुको आकृतिसँग ठ्याक्कै मेल खान्छ।

यसैभन्दा म सर्ट पेन्ट लगाएको, लामो कपाल र दाह्री नभएको विद्वानलाई गुरु भन्दा पनि सर भनेको सुहाएको जस्तो मान्छु। अनि मेरो कल्पनाको गुरुको आकृति बाहेक अरु सबै आकृतिलाई गुरु नमान्ने वस्तुगत जोखिममा मैले निश्चित लवाइ लगाएका व्यक्तित्वहरूलाई अनायासै गुरु भनी सम्बोधन गर्ने गल्ती पनि गरेको छु।

गुरुको तात्विक महत्व बुझेपछि भने मैले सर जस्ता देखिनेहरूलाई पनि गुरु भनी सम्बोधन गर्ने गरेको छु।सद्गुरुको नेपाल भ्रमण भर्खरै सकियो। ‘माटो बचाऊ अभियान’ अन्तर्गत उनले नेपाल आउनु अघि विश्वका २४ देश, १०० दिनमा ३० हजार किमी यात्रा गरिसके ! त्यसै क्रममा विश्वका प्रभावशाली व्यक्तित्वहरूलाई ‘सेभ सोइल’ अभियानमा अनुबन्धित गराइसके।

सेभ सोइल अभियान सद्गुरुको मौलिक विचार भने होइन। उनी संयुक्त राष्ट्रसंघको अभियानको एउटा हिस्सा हुन्। उनी एक लेखक, व्यापारी, योग साधक, ध्यान साधक, अभिनेता, प्रखर वक्ता हुन्। उनी सेलिब्रिटी हुन्। उनी अध्ययनशील छन्। र उनको पछिल्लो चिनारी अभियन्ताको हो !

यही १०० दिने उनको भ्रमणको दौरानमा एउटा कार्यक्रममा उनले युएनएफपीओको तथ्य पेश गरेका छन्। ‘हामी अहिले आफ्नो भाग खाइसकेर जन्मिन बाँकी पुस्ताहरूको भाग खाँदैछौं। ती नजन्मिएका भ्रूणहरूको लागि भए पनि हामीले माटो जोगाउनुपर्छ। किनकि अब विश्वमा केवल ६० वर्षको लागि मात्र माटो पर्याप्त छ।’

वर्तमानमा बाँच्न सिकाउने गुरुहरूमध्येको भीडमा यी एक यस्ता गुरु छन् जो भविष्यको चिन्तन मात्र होइन चिन्ता पनि उत्तिकै गर्छन्। हात्तीको वासस्थान मिचेर बनाएको भनिएको उनको आश्रमबारे जब उनीमाथि प्रश्न गरिन्छ, उनी जनावर अधिकार क्षेत्रमा काम गर्ने अभियन्ताप्रति असन्तुष्ट अनि क्रोधित हुन्छन् ! आफूलाई सद्गुरु भन्छन् ! योगी, रहस्यमयी र दूरदर्शी उनका उपनामहरू हुन् !

जलवायु परिवर्तनको क्षेत्रमा काम गर्ने विश्वको अर्का सबैभन्दा कान्छी अभियन्ता हुन् ग्रेटा थनबर्ग। उनी अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा हवाईजहाज नचढेर, त्यसको विकल्पमा कार्बन न्यूट्रल पानीजहाज चढेर कार्यक्रममा सम्बोधन गर्न पुग्छिन्। उनको व्यवहारले नै आफ्नो विचारप्रतिको इमानदारी झल्काएको टिप्पणीहरूले उनलाई जलवायु परिवर्तनको प्रखर अभियन्ता बनाएको छ।

ग्रेटा अरुलाई परिवर्तन गर्नुअघि आफू परिवर्तन भएकी छिन्। उनी अरुलाई परिवर्तन गर्ने आवाज मात्र होइन आफू अनि आफ्नो विचारप्रति कटिबद्ध अनि अनुशासित छिन्। आफ्नो पदचापप्रति सजग छिन्।

तर के ग्रेटाले जसरी सद्गुरुले सोचेका छन् ? आफू परिवर्तन भएका छन् ? के माटो बचाउन ३० हजार किमी यात्रा आवश्यक थियो ? सद्गुरु विश्व भ्रमणमा एक्लै त पक्कै निस्किएका छैनन् होला ! के उनले १०० दिन, २४ देश, ३० हजार किलोमिटर यात्राको अंकगणितमा आफू चढेको सवारी साधनको पेट्रोल खपतको हिसाब निकालेका छन् ?

कति कार्बन मोनोअक्साइड प्रत्युत्पादन गरेका छन् केही हिसाब राखेका छन् ? ‘सेभ सोइल’ लेखेको पोस्टरहरू टाँगेर राष्ट्रप्रमुखहरूसँग खिचाएका फोटोहरू अनि तत्पश्चात् उत्पादन भएका ती फोहोरहरू कहाँ कसरी विसर्जन हुन्छ, प्रश्न उठ्ने गरेका छन् ? माटो बचाउने अभियानले कति ट्रक पोस्टर माटो मुनि पुरियो, सद्गुरुले हिसाब निकालेका छन् ?

सद्गुरुको इसा फाउन्डेसनमा ४.५ हजार प्रत्यक्ष स्वयंसेवक छन्। विश्वभरि १ करोड दश लाख स्वयंसेवक छन्। नतिजा मात्र उनको अर्जुनदृष्टि हो भने उनको स्वयंसेवक परिचालन प्रमुख कर्म हुन्थ्यो, र कर्ता द्वितीय। तर उनको अभियानमा कर्ता प्रमुख र कर्म द्वितीय बनेको छ।

आध्यात्मिकता चिकेन खानेहरूको लागि होइन भन्न खोजेको हुँदै होइन, तर जब तपाईं खानुहुन्छ भने ‘आई लभ एनिमल’ भन्न अनि सोच्न छोड्नु आध्यात्मिकता हो !

उनको भविष्यवादी चिन्तनले उनी सद्गुरु कम अभियन्ता बढी बनेका छन्। तथ्यपरक जानकारी दिनु, सद्गुरुका सबल पक्ष हुन्। तर त्यो सँगै आफू अनुकूल तथ्यहरूको प्रयोग गर्नु, आफ्नो तर्क खण्डन हुने तर्कहरूलाई स्थान नदिनु, उनमा भएको आन्तरिक सेन्सरसिप अनि ‘चयनात्मक धारणा पूर्वाग्रह’ ले स्थान पाएको देखिन्छ। यसको मतलब उनी ती चिजहरू मात्र देख्दैछन् जुन उनी देख्न चाहिरहेका छन्।

यसको प्रमाणीकरण उनलाई जनावर उद्योग र त्यसको प्रत्यक्ष जलवायु परिवर्तन सम्बन्धको बारेमा गरिएको प्रश्न अनि उनको उदासीन प्रतिक्रियाले गर्छ।घ्यु, दूध मनपर्ने सद्गुरुलाई जनावरपालन र त्यसको सम्भावित खर्चको हिसाब सुन्न मन लाग्दैन। १/२ किलो मासु उत्पादन गर्न कति ग्यालिन पानी खपत हुन्छ? अनि एउटा गाई पाल्न दिनमा कति लिटर पानी लाग्छ ? उनले केही अनुमान गरेका छन् ?

सेभ सोइल भन्दा अगाडि नदी बचाऊ अभियानमा जोडिइसकेका उनी उनका विचार विपरितका तथ्यहरूलाई नजरअन्दाज गरिदिन्छन्। सोधिएका सबै प्रश्नको उत्तर दिने उनी गूगल गुरु बनेका छन्। गूगल र सद्गुरुमा फरक यो मानेमा छ कि, गूगलले दिएको सूचनामा स्रोत उद्धरण गरिएको हुन्छ जुन सद्गुरु गर्दैनन्।

सम्भवत: सद्गुरु यस्ता एक्ला गुरु हुन्, जसलाई इनर इन्जिनियरिङदेखि आउटर इन्जिनियरिङसम्मको ज्ञान छ। विज्ञान, चार वेद, वेदभित्रका उपनिषद्, युक्रेन, रसिया युद्ध, विश्व शान्ति, परमाणु बम र त्यसका रसायन शास्त्र र ती बन्ने देश, देश मात्र नभई ती बन्ने निश्चित स्थानको किटान गरी ठेगाना दिन सक्छन्। अनुहार हेरेर भूत, भविष्य सबै बताइदिन सक्छन्।

उहाँ मात्र एक त्यस्तो व्यक्तित्व हुनुहुन्छ जसले विज्ञान, प्रविधि, तन्त्र साधना, पूजापाठ, भक्ति साधना, योग साधना, ध्यानको कुरा एकैपटक गर्न सक्नुहुन्छ। त्यस्तै, सम्बन्ध, मित्रता, परिवारसम्मको कुरा गर्न भ्याउनुहुन्छ।

अलिकति अध्ययनशील व्यक्तिले उनको प्रवचन सुनेर उनले उद्धरण गर्न बिर्सेका व्यक्तिको नाम बताइदिन सक्छ। पाँच दशकमा १ करोड रुख रोपेका उनकै देशका अभियन्ता- दरिपाल्ली रमैया छन्। त्यस्तै, अर्का अभियन्ता यादव पयांग जसले मरूभूमिलाई जंगल बनाएर ‘फरेस्ट म्यान’ को उपाधि पाएका छन् !

माटो जोगाउने एक से एक अभियन्ताहरू सद्गुरुका मातृभूमिमा छन्। तर के सद्गुरुलाई त्यस्ता असाधारण कर्मशील व्यक्तिहरू साधारण अनि उच्च ओहोदामा बसेका साधारण व्यक्तिहरू असाधारण लागेको हो र ? होइन भने घामको मुनि टुकी बाल्ने चेष्टाको के अर्थ?

मेरो बुझाइमा सद्गुरुहरू चिर आधुनिकतावादी हुन्, वर्तमानवादी हुन्। मौलिक अनि क्रान्तिकारी हुन्। तथ्यमा आधारित बहस गर्ने बौद्धिक वर्ग जस्तो बहस गर्ने वर्ग होइनन्। तथ्य भन्दा माथि सत्य छ भने सद्गुरुहरू सत्यवादी हुन्। सत्य प्रमाणित गर्ने तथ्यको अभावमा सद्गुरुहरू मौनतावादी हुन्।

सद्गुरुको वास्तविक नाम जग्गी वासुदेव हो। यिनी ईश्वरीय होइनन् कि यिनको चरण स्पर्श गरेर ‘रिसिभ्ड डिभाइन ब्लेस्सिंग भन्नुपर्ने, ड्रिमकम ट्रु को अवस्थामा पुग्नुपर्ने। शिर निहुराएका फोटाहरू सामाजिक संजालमा टाँस्नुपर्ने।’

अर्थशास्त्री हुनु, योगी हुनु, ध्यानी हुनु, सूचीकार हुनु, कुचीकार हुनु, कुक हुनु, सेफ हुनु, वेटर हुनु, साहित्यकार हुनु, गायक हुनु, कलाकार हुनु, वैज्ञानिक हुनु, अभियन्ता हुनु चिकित्सक हुनु, लेखक हुनु, इन्जिनियर हुनु, कार्य क्षेत्रगत भिन्नता बाहेक केही होइन, श्रमको विस्तृतीकरण तपाईंको कर्मप्रतिको एकात्मक भावले गर्छ ! मन, वचन र कर्मले एउटै हुन सकियो भने ईश्वरीय अनुभूति आफैंमा हुन थाल्छ !

हाम्रो आध्यात्मिकताको प्रमुख बाधक हामी हाम्रो अनुभूतिप्रति इमानदार हुन नसक्नु हो! आई लभ एनिमल भन्दै चिकेन ससेज खाने बानीको अर्थ नबुझ्नु हो ! आध्यत्मिकता चिकेन खानेहरूको लागि होइन भन्न खोजेको हुँदै होइन, तर जब तपाईं खानुहुन्छ भने आई लभ एनिमल भन्न अनि सोच्न छोड्नु आध्यात्मिकता हो !

द्वैधता आध्यात्मिकताको बाधक हो, मन, वचन र कर्मको एकता जब स-साना कर्महरूमा सन्तुलित हुन्छ, तपाईं अध्यात्मको साक्षी बन्न थाल्नुहुन्छ। बुद्ध भन्नुहुन्थ्यो- तिमी मेरो उपस्थिति अनि अनुपस्थिति दुवै अवस्थामा ध्यान गर्न सक्छौ। समाधि सवितर्क र निर्विकर्ता दुवै अवस्थामा हुन्छ। आध्यात्मिकताको उच्च अनुभूति मन, वचन अनि कर्मको एकता हुँदा घटित हुन्छ।

यो लेख टुङ्ग्याउँदै गर्दा फेसबुकले एक वर्ष अगाडिको पोस्ट रिमाइन्ड गरायो-
खोजेको गुरु दृष्टिमा आउँदैनन् !! देखिएका गुरुहरू सद्गुरु लाग्दैनन् !!

सायद ध्यानी गुरुहरू मोबाइल चलाउँदैनन् कि, सामाजिक संजालमा आउँदैनन् कि, सद्गुरुको अभियान सेभ सोइलको कर्ता बनेर रुख पो रोप्दैछन् कि, जंगलतिर पो ध्यानमग्न छन् कि ?

अनि सामाजिक संजाल खोजेर के भेट्टाउनु सद्गुरुहरूलाई ! तपाईंहरूले भेट्टाउनु भो भने भन्नुस् है!

जीवनमा कुनै दिन सर जग्गी वासुदेवसँग भेट भयो भने एउटा प्रश्न अवश्य सोध्छु- फोटो खिचाउन चाहिं को अघि सर्दा रै’छन् ? राष्ट्रप्रमुखहरू कि सद्गुरुहरू ?

लेखकको बारेमा
प्रकृति मैनाली

राष्ट्रिय युवा प्रतिभा पुरस्कार २०२१ बाट सम्मानित लेखक सामाजिक उद्यमशीलताको क्षेत्रमा क्रियाशील छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?