+
+
एक डाक्टरको अनुभव :

बिरामी बाँच्यो, मेरो आँसु बग्यो

डा. देवेन्द्र आचार्य डा. देवेन्द्र आचार्य
२०७९ भदौ २९ गते १०:१९

सधैंझै भदौ १६ गते इमर्जेन्सी वार्डमा साँझको डियुटीको जिम्मेवारी सम्हालिरहेको थिएँ । भाइ डा. सन्जिव यादवले इमर्जेन्सी वार्डको बेड नं. ५ को फाइल मलाई दिंदै भने, ‘दाइ, यो ओपीडीबाट आएको केस (बिरामी) हो । सर्जरी, मेडिसिन र ईएनटी विभागले हेरिसक्यो अब मानसिक विभागले हेर्न बाँकी छ । अहिलेसम्म केही पनि रोग देखिएको छैन ।’

बढैयाताल-५ बर्दियाका २२ वर्षीय शंकर थारु नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको इमर्जेन्सीमा पेट दुखेर र बोल्न अप्ठ्यारो भएर आएका थिए । झट्ट बिरामी हेर्दा मदिराले लठ्ठ परेको जस्तै देखिन्थ्यो । बिरामीको त्यस्तो कुनै पुरानो रोग (हिस्ट्री) थिएन । सबै विभागका डाक्टर साबहरुले हेरिसक्नु भएको थियो । उनमा देखिएको समस्याको कारण पत्ता लागिसकेको थिएन । तर, बिरामीको स्वास्थ्य अवस्था बिग्रदै गइरहेको थियो ।

घाँटी उचालेर छाडें, बिरामीको शरीरमा कुनै नियन्त्रण थिएन । त्यसपछि बिरामीका आफन्तलाई बोलाएर उनी बसेको ठाउँ र वरपरको वातावरणबारे जानकारी लिएँ । बिरामीको आफन्तले भने अनुसार शंकर थारु एउटा फ्याक्ट्रीमा काम गर्थे, उनी बाहिर टिनको छानो मुनि सुतेका थिए, उनी सुत्ने ठाउँ वरिपरि घाँसे मैदान छ, अघिल्लो दिन रातभर पानी पनि परेको थियो ।

यी सबै जानकारी लिएपछि म यो सर्पले डसेको केस हो भन्नेमा ढुक्क भएँ । डा. पारस पाण्डे र डा. राजेश कुमार मण्डलले भेरी अस्पतालमा तालिम दिने क्रममा भन्नु भएको थियो कि सर्पले डस्यो भने त्यसको विषको असर आँखाबाट सुरु हुँदै क्रमशः घाँटीसम्म पुग्छ । बिरामीको बोली बन्द हुन्छ, शरीर लठ्ठ हुन्छ, बिरामी गहिरो निद्रामा सुतेको जस्तो देखिन्छ ।

तालिमको क्रममा बुटवलबाट आउनु भएका प्रशिक्षक कमल देवकोटा सरले पनि विषालु सर्प र अविषालु सर्पहरु चिन्ने र तिनका केही विशेषताहरुबारे सिकाउनु भएको थियो । उहाँले भनेअनुसार करेट सर्पले डसेको धेरैजसो बिरामीलाई थाहै हुँदैन । यो सर्प रातिमा धेरै सक्रिय हुन्छ । यो सर्पले डसेका ठाउँमा कुनै चिह्न वा दुखाइ पनि हुँदैन । त्यसैले कतिपय बिरामीलाई करेट सर्पले डसेको थाहै हुँदैन । एक्कासी बिहानबाट बिरामी गम्भीर बन्दै रोग पत्ता नलाग्दै मृत्यु हुने गर्दछ । तर, गोमन अर्थात कोब्रा सर्पले डसेको ठाउँमा दुख्ने, रगत आउने र सुन्निने जस्ता लक्षणहरु देखिने गर्दछन् ।

मैले हालसम्म कति बिरामी बचाएँ थाहा छैन तर, यो बिरामी बचाउनुमा मलाई निकै खुसीको अनुभूति भइरहेको थियो

शंकरको रोग पत्ता नलागेको, सर्पले डसेको निशान नभएको तर लक्षणहरु सर्पले डसेजस्तै रहेको, बिरामीको श्वासप्रश्वासमा सक्रिय हुने मासंपेशीहरु बिस्तारै प्यारालाइज्ड हुँदै गएर बिरामीको अवस्था झन्-झन् खस्किंदै गएकाले म निश्चित थिएँ कि यो करेट सर्पले नै डसेकै हो ।

तर मैले काम गर्ने नेपालगञ्ज मेडिकल कलेज प्राइभेट अस्पताल भएकाले यहाँ सर्पदंश सम्बन्धी उपचार हुँदैन । त्यसैले सर्पले डसेका बिरामीलाई कोहलपुरबाट १५-२० किलोमिटर टाढा रहेको भेरी अस्पतालमा रिफर गर्नुको विकल्प थिएन । बिरामीलाई त्यतिकै रिफर गर्दा बाटैमा श्वासप्रश्वास बन्द भएर ज्यान जाने सम्भावना थियो । त्यसैले बिरामीलाई उनको बुवाको अनुमति लिएर मुखमा पाइप हालेर कृत्रिम स्वासप्रश्वास प्रदान गरियो । डाक्टरी भाषामा भन्नुपर्दा इन्टुबेसन गरियो ।

त्यसअघि भेरी अञ्चल अस्पतालका प्रमुख एनेस्थेसिओलोजिस्ट डा. पारस पाण्डे दाइलाई फोन गरें र बिरामीकोबारे विस्तृतमा बताएर रिफर गर्न लागेको जानकारी गराएँ । उहाँले जतिसक्दो छिटो पठाऊ भन्नुभयो । त्यति बेलासम्म एनेस्थेसियाका रेजिडेन्ट डा. विवेक पनि इमरर्जेन्सी वार्डमा आइपुग्नु भएको थियो । मैले आफूले निर्णय गर्नुपूर्व त्यहाँ उपस्थित रेजिडेन्ट साथीहरू डा. अर्जुन र डा. कविरलाई यो कुरा बताएँ र बिरामीलाई तुरुन्तै भेरी अस्पतालमा रिफर गरियो ।

भोलिपल्ट ह्वाट्स एपको घण्टी बज्यो । त्यो डा. पारसको म्यासेज आयो । त्यसमा लेखिएको थियो बिरामीको अवस्था सुधारोन्मुख छ । म हर्षित भएँ । अर्को दिन बिरामीको फोटोसहित म्यासेज आयो । त्यसमा लेखिएको थियो- बिरामी आफैंले सेल्फ याक्टुबेट अर्थात पाइपको सहाराले नभई प्राकृतिक रुपमै श्वास फेरिरहेको छ । तीन दिनपछि बिरामी होसमा आयो ।

बिरामीलाई सर्पले नै डसेको हो भन्ने मेरो निष्कर्ष सही थियो र त्यही अनुरुप उपचार गर्दा बिरामी ठीक भएको थियो । मैले हालसम्म कति बिरामी बचाएँ थाहा छैन तर, यो बिरामी बचाउनुमा मलाई निकै खुसीको अनुभूति भइरहेको थियो । किनकि मृत्युको मुखमा पुगिसकेको बिरामीलाई नयाँ जीवन दिने मेरो प्रयास सफल भएको थियो । म भेरी अस्पतालमै गएर बिरामीलाई र बिरामीका आफन्तलाई भेटें । बिरामीको बुवा राकेश कुमार थारुले मलाई धन्यवाद भन्नुभयो । मेरा आँखाबाट हर्षका आँसु बगे ।

बिरामी भेटेर फर्कने बेलामा सर्पदंश सम्बन्धी तालिम दिने मध्यका एक भेरी अञ्चल अस्पतालका मेडिसिन विभागका फिजिसियन डा. राजेश दाइ भेटिनु भयो । मैले बिरामीको बारे र म भेरी अस्पताल आएको कारणबारे भनेपछि उहाँले अलि बढी चासो दिनुभयो । अर्को दिन डा. राजेश दाइले बिरामी डिस्चार्ज भैइसकेको र पूर्णतया सामान्य जीवनयापन गर्न थालेको जानकारी गराउनुभयो । बिरामी ५ दिनपछि अर्थात भदौ २१ गते डिस्चार्ज भयो । त्यसपछि बिरामी र बिरामीका आफन्तको अनुमति लिएर मैले मेरो सानो अनुभव यहाँ साटें ।

मैले सर्पले डसाइसँग सम्बन्धित भेरी अस्पतालमा लिएको तीन दिनको तालिम यहाँ काम लागेको थियो । एक डाक्टरले सही समयमा सही निर्णय गर्दाको परिणाम कति महत्वपूर्ण हुन्छ भन्ने सिकाइ हो यो ।

त्यसैले यो तालिम लिन मलाई प्रेरित गर्ने मेरो गुरु डा. सुमित पाण्डे सर, मलाई तालिम लिन आऊ भनेर बोलाउने भेरी अञ्चल अस्पतालका प्रमुख एनेस्थेसिओलोजिस्ट डा. पारस पाण्डे दाइ, नेपालगञ्ज मेडिकल कलेजको प्रशासन कक्षका रोशनी दिदी र निर्पेन्द्र सरप्रति कृतज्ञ छु ।

माथि मैले उल्लेख गरेको घटनाबाट मलाई के लाग्यो भने सर्पदंशसँग सम्बन्धित तालिम हरेक डाक्टर र स्वास्थ्यकर्मीहरुले पाउनुपर्छ । यो तालिमलाई स्थानीय तहसम्मै पुर्याउनुपर्छ । विशेषत, म स्वास्थ्यकर्मी साथीहरुलाई अझ बढी गम्भीरताका भन्न चाहन्छु कि सर्पले डसेको निशान देखिएन भने पनि गर्मी र वर्षाको समयमा घरभित्र अथवा घरबाहिर राम्रोसँग झुल लगाएर सुतेको छैन, बिहान उठ्दा बिरामीको होस हराउँदै गएको छ, आँखा खोल्न गाह्रो हुँदै गएको छ, जिभ्रो बाहिर निकाल्न गाह्रो भएको छ, बोल्न गाह्रो भएको छ, बिरामी लठ्ठीएको जस्तो देखिएको छ, शरीर नियन्त्रणमा छैन, विना कारण पेट दुखिरहेको छ भने सर्पले डसेको हुन सक्छ भनेर सतर्क रहनुहोला । हामी सबैको सोच र विवेकले कसैको ज्यान बच्न सक्छ भने त्यसको लागि गम्भीरताका साथ सोच्नुहोला र उपचारमा सक्रिय हुनुहोला ।

हामीले सबैले ख्याल राख्नुपर्ने अर्को कुरा के हो भने सबै सर्पहरु विषालु हुँदैनन् । सर्पले आफू असुरक्षित महसुस गर्यो भने मात्र आत्मसुरक्षाका लागि मानिसलाई डस्छ । सर्पको डसाइबाट जोगिने उपायहरु अपनाऔं । त्यसैले सर्प देख्यो भने त्यसलाई मार्न नतम्सियौं । किनकि त्यही सर्पको विषबाट नै तपाईं-हामीलाई सर्पले डसेको बेला उपचार गर्न चाहिने औषधि बन्छ ।

(डा. आचार्य नेपालगञ्ज मेडिकल कलेज कोहलपुर, बाँकेमा कार्यरत छन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?