+
+

अब विदेशी ठेकेदार कम्पनीलाई १.५ प्रतिशत आयकर

सरकारले विदेशी निर्माण तथा खरिद (ठेकेदार) कम्पनीका लागि आयकरको दर तोकेको छ । कुल ठेक्का सम्झौता रकमलाई कुल आय मानेर त्यसमा १.५ प्रतिशतका दरले आयकर तिर्नु पर्ने छ ।

अच्युत पुरी अच्युत पुरी
२०७९ भदौ २९ गते १८:३१

२९ भदौ, काठमाडौं । सरकारले विदेशी निर्माण तथा खरीद (ठेकेदार) कम्पनीका लागि आयकरको दर तोकेको छ । यस अनुसार कुनै पनि आयोजनाको मूर्त सम्पत्ति वा संरचनाको आपूर्ति र जडान तथा निर्माण लगायत काम गर्न सम्झौता गरेको कुल ठेक्का रकमलाई कुल आय मानेर त्यसमा १.५ प्रतिशतका दरले आयकर लाग्ने निर्णय आन्तरिक राजस्व विभागले गरेको हो ।

विभागका प्रवक्ता राजुप्रसाद प्याकुरेलका अनुसार अन्तर्राष्ट्रिय कम्पनीको नेपालमा काम गर्न खडा गरिएको निकायलाई स्थायी संस्थापन मानेर सोही कम्पनीलाई १.५ प्रतिशतका दरले आयकर असुल गर्ने निर्णय भएको हो । विभागले गत सोमबार यस्तो निर्णय गरेको हो ।

विभागको निर्णय अनुसार मूर्त सम्पत्ति वा संरचनाको आपूर्ति र जडान तथा निर्माण कार्य गर्न छनोट भएको अन्तर्राष्ट्रिय कम्पनीको नेपालमा कार्य सम्पादन गर्न खडा गरिएको निकाय नै आयकर ऐन २०५८ अनुसार स्थायी संस्थापन हुन्छ । त्यस्तो निकायले नेपालमा एउटै बोलपत्र/खरिद सम्झौता मार्फत कुनै आयोजनाका लागि मूर्त सम्पत्ति वा संरचनाको आपूर्ति र जडान तथा निर्माण लगायत काम गर्न सम्झौता गरेको कुल ठेक्का रकम नै उक्त स्थायी संस्थापनको आय मानिने भएको छ । सो आयबाट सिर्जना भएको व्यावसायिक मुनाफामा आयकर ऐन अनुसार नेपालमा कर तिर्नुपर्छ ।

सोही कारण अब ठेक्का सम्झौता वापतको रकम भुक्तानी गर्ने व्यक्तिले १.५ प्रतिशतका दरले आयकर कट्टी गरेर मात्र भुक्तानी गर्नुपर्ने भएको छ । यस्तो रकम तोकिएको अवधि भित्र राजस्व खातामा दाखिला गर्नुपर्ने गरी विभागले निर्णय गरेको छ । यस्तो रकम अनिवार्य रुपमा करदाताको स्थायी लेखा नम्बर राखी विद्युतीय माध्यमबाट कर कट्टी विवरण पेश गर्नुपर्ने गरी विभागले निर्णय गरेको छ ।

विभागका प्रवक्ता प्याकुरेलका अनुसार नेपालका बासिन्दा सबैले आफ्नो आयमा तोकिए अनुसारको आयकर तिर्नुपर्छ । अन्तर्राष्ट्रिय निर्माण तथा आपूर्तिकर्तालाई समेत नेपालमा सेवा दिने अवधिसम्म नेपालकै बासिन्दा मानेर आयकरको दायरामा ल्याउने निर्णय भएको हो ।

‘उदाहरणका लागि भारतीय कम्पनीले नेपालमा काम गर्ने अवसर पायो भने उसले नेपालमा काम गरुन्जेल नेपालकै स्थायी संस्थापन मानिन्छ, सोही अनुसार उसको आयमा अग्रिम करकट्टी गर्ने निर्णय भएको हो’ उनले भने ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?