+
+

जब तेन्जिङ र हिलारीको सगरमाथा आरोहणको खबर रानीलाई गोप्य राखियो …

शुभज्योति घोष शुभज्योति घोष
२०७९ भदौ ३० गते १७:००
Photo Credit : PRINT COLLECTOR

३० भदौ, काठमाडौं । सन् १९२२ मा सगरमाथा आरोहणको लागि सुव्यवस्थित र व्यावसायिक अभियान सुरु भएको थियो अर्थात् आजभन्दा ठ्याक्कै एक सय वर्ष अगाडि । तर विश्वको यो सर्वोच्च शिखर आरोहणको पहिलो सफल अभियान पूरा गर्न थप ३१ वर्ष लाग्यो।

तर, सन् १९५३ मे २९ मा न्युजिल्यान्डका नागरिक एडमन्ड हिलारी र नेपालका शेर्पा तेन्जिङ नोर्गेले सगरमाथा आरोहरण अभियानमा सफल भएको बारेमा बाँकी विश्वलाई जसरी थाहा दिइयो त्यो इतिहास पनि कम रोमाञ्चक छैन ।

सबैभन्दा अचम्मको कुरा के छ भने यति महत्वपूर्ण खबरलाई पाँच दिनसम्म अत्यधिक गोप्य रूपमा सारा संसारबाट लुकाएर राखिएको थियो ताकि लण्डनमा महारानी एलिजाबेथ द्वितीयको राज्याभिषेकको बिहानै घोषणा गर्न सकियोस् ।

आजको युगमा सायद यो कुरा कल्पना पनि गर्न सकिंदैन । त्यसो त, त्यतिबेला पनि यो काम सहज रहेन । त्यतिबेला द टाइम्सका संवाददाता जेम्स मोरिसले यसका लागि धेरै पापड बेल्नुपरेको थियो।

महारानीको लागि विशेष उपहार

मोरिस सगरमाथा आरोहण कभर गर्न ‘आधिकारिक संवाददाता’ थिए । ब्रिटिश सरकारको आर्थिक सहयोगमा यो पूर्णतया ब्रिटिश सगरमाथा आरोहण थियो। यस अभियानको एउटा उद्देश्य महरानीलाई उनको राज्याभिषेकको अवसरमा विशेष उपहार दिनु थियो। र, त्यो विशेष उपहार सगरमाथा सफल आरोहणको खबर थियो।

जेम्स मोरिसले पछि यस अभियानमाथि ‘कोरोनेसन एभरेस्ट’ नामक पुस्तक लेखे। उनले उक्त पुस्तकमा यो अचम्मको घटनाको बारेमा विस्तृत रूपमा उल्लेख गरेका छन् । ‘द टाइम्स’ म्यागजिनले पछि लेख्यो, ‘सांकेतिक शब्द वा कोडको प्रयोग गरेर तयार गरिएको हाम्रो उक्त स्कूपले रानीलाई राज्याभिषेकको आनन्द कयौं गुणा बढाइदिएको थियो ।’

तेन्जिङ नोर्गेका छोरा जमलिङ तेन्जिङ आफैँ पनि पर्वतारोही हुन् र सगरमाथा आरोहण गरेका छन् । उनले बीबीसी बंगलालाई भने, ‘सम्पूर्ण विषय निकै गोप्य राखिएको थियो। रानीको राज्याभिषेकअघि युनियन ज्याक (बेलायतको झण्डा) सगरमाथामा फहराइदिने बेलायतको चाहना थियो। यो एउटा अद्भुत उपहार थियो ।’

यद्यपि उनका बुबा बेलायतको मात्रै राष्ट्रिय झण्डा नभई संयुक्त राष्ट्रसंघ, नेपाल र भारतको झण्डा फहराउँदै सगरमाथा पुगेका थिए ।

समाचार पठाउने हतारो

जेम्स मोरिस मात्र नभई अन्य दुई वरिष्ठ पत्रकार पनि त्यसबेला नेपालको खुम्बु क्षेत्रमा सगरमाथा आरोहणको खबर पठाउन घुमिरहेका थिए ।

पर्वतारोहण इतिहासकार मार्क होरेल भन्छन्, ‘यद्यपि जेम्स मोरिसलाई त्यो अभियान कभर गर्नको लागि ठेक्का दिइएको थियो, डेली मेलका राल्फ इजार्ड र रोयटर्सका पिटर ज्याक्सन पनि त्यसबेला त्यहाँ शिविरमा थिए । ती मानिसहरू पनि गाइड र भरियाहरू राखेर र अभियान कत्तिको अगाडि बढ्यो वा निराश भएर फर्किए जस्ता सबै जानकारीहरू जम्मा गरेर यता-उता भौंतारिइरहेका थिए ।’

कुनै पनि आरोहणको अलिकति सफलता वा असफलतामा त्यो खबर सगरमाथा आधार शिविरबाट नै ‘धावक’ मार्फत तलको नाम्चे बजार भन्ने पहाडी गाउँमा पठाइन्थ्यो । नजिकैको टेलिग्राफ अफिस त्यहीँ थियो।

प्रहरीको सेवामा रहेका तिवारी नामका एकजना मानिस त्यही टेलिग्राफ अफिसमा सञ्चालकको रूपमा कार्यरत थिए । तर कुनै गोप्य खबर पठाएमा त्यो धावक वा तिवारीलाई सोधपुछ गर्दा खुलासा हुने खतरा थियो । यसबाहेक टेलिग्राफबाट पठाइएका सूचना जो कोहीले सुन्न सक्थे ।

त्यसैले जेम्स मोरिसले गोप्य संकेत वा कोडमार्फत काठमाडौं हुँदै लन्डनमा अभियानको खबर पठाउने निर्णय गरे । जेम्स मोरिसबाहेक यो गोप्य कोड काठमाडौंस्थित ‘द टाइम्स’का अर्का पत्रकार आर्थर हचिन्सनलाई मात्र थाहा थियो। लन्डनमा समाचार पठाउनको लागि हचिन्सन जिम्मेवार थिए। तर, पछि इच्छा नभए पनि तिवारीलाई पनि यसबारे बताउनुपर्ने भयो ।

‘एड्भान्स बेस एबन्डन्ड’

एड्मण्ड हिलरी र तेन्जिङ नोर्गे

सांकेतिक शब्दहरूबाट बनाइएको कोडहरू वास्तवमै रहस्यमय पजल जस्तै थियो । एडमन्ड हिलारीको सट्टा ‘एडभान्स्ड बेस्ड एब्युडन्ट’ र तेन्जिङ नोर्गेलाई ‘वेटिङ इम्प्रुभमेन्ट’ भनिने निर्णय गरियो। मौसम सुध्रिन्छ कि भनेर पर्खिएजस्तो लाग्थ्यो । यस्ता धेरै शब्द थिए ।

अर्कोतर्फ, लन्डनस्थित टाइम्सको सम्पादकीय टोलीलाई पनि सगरमाथा आरोहण गरेको अवस्थामा मात्रै यो कोड प्रयोग गरिने बताइएको छ । जेम्सले बाँकी समाचारहरू सरल शब्दहरूमा मात्र पठाउँथे ।

हिलारी र तेन्जिङको सगरमाथा आरोहण सफल भएको भोलिपल्ट बेस क्याम्पमा बसेका जेम्स मोरिसले आफ्नो टाइपराइटरमा यस्तो सन्देश टाइप गर्नुको कारण यही थियो- ‘स्नो कन्डिसन्स ब्याड स्टफ एडभान्स्ड बेस एबन्डन्ड यस्टर्डे स्टप अवेटिङ इन्प्रुभमेन्ट अल वेल ।’

यो वाक्यलाई सरसर्ती पढ्दा अभियान रद्द भएको महसुस हुनु स्वाभाविक हो। तर यसको वास्तविक अर्थ थियो … पछिल्लो दिन (२९ मे) एडमन्ड हिलारी र तेन्जिङ नोर्गेले सगरमाथाको चुचुरो चुमेका छन् । सबै राम्रै चलिरहेको छ।

‘हिउँको अवस्था खराब’ अर्थात् स्नो कन्डिसन ब्याड भनेको सगरमाथा आरोहण पूरा भएको थियो।

यो सन्देश लिएर एक धावक नाम्चे बजारतिर दौडे । त्यहाँबाट तिवारीले उक्त सन्देश आफ्नो रेडियोबाट काठमाडौंमा आर्थर हचिन्सनलाई पठाए। यो जानकारी हचिन्सनको माध्यमबाट सोही दिन दिउँसो लन्डनस्थित टाइम्सको कार्यालयमा पुग्यो।

भोलिपल्ट रोयटर्सका पिटर ज्याक्सनसँग जेम्स मोरिसको नाम्चे बजारमा अचानक भेट भयो । त्यसपछि मोरिसले बेलायती अभियान असफल भएको जस्तो नाटक गरे । अर्को वर्ष सगरमाथा आरोहणको अनुमति फ्रान्सले किनेको थियो। उनीहरूलाई औंल्याएर मोरिसले भने, ‘तपाईंलाई थाहा छ फ्रान्सेलीहरूले सफल हुन्छन् ।’

पिटर ज्याक्सनको मनमा केही आशंका जन्मिएको थियो तर उनले साथीलाई केही भनेनन् ।

यसरी भयो घोषणा

जुन २ को बिहान, ‘द टाइम्स’ को शीर्षक थियो- एभरेष्ट कन्कर्डः हिलारी एण्ड तेन्जिङ रीच द समिट । अर्थात् सगरमाथा विजय – हिलारी र तेन्जिङ शिखरमा पुगे ।

त्यसको ठीक छेउमा त्यो दिन रानीको राज्याभिषेक हुने खबर पनि आयो । जसमा राज्याभिषेकका लागि तोकिएको रुटमा हजारौं मानिसले लण्डनका सडकमा कसरी रात बिताएका छन् भन्ने जानकारी दिइएको थियो ।

जेम्स मोरिस त्यो दिन नाम्चे बजारबाट करिब छ माइल दक्षिणमा ओर्लिएका थिए। दूधकोशी नदीको छेउमा रहेको आफ्नो पाल भित्र बसेर बीबीसी रेडियोमा अन्ततः सगरमाथामा मानिसको पाउ परेको खबर सुने । महारानी एलिजाबेथलाई पनि अभिषेक हुनुअघि नै यो खुसीको खबर दिइएको थियो ।

त्यस दिन संवाददाताले पनि सगरमाथा विजयको खबर पहिलो पटक द टाइम्सबाट प्राप्त भएको बताए । यो खबर सुनेपछि जेम्सको अनुहार र आँखामा सन्तुष्टिको आनन्द फैलियो । उनले यो कुरा पछि ‘कोरोनेसन एभरेस्ट’ नामक पुस्तकमा लेखेका थिए ।

यो समाचारले रानीको राज्याभिषेकको ऐतिहासिक क्षणलाई नयाँ उचाइ दिएको बेलायती सञ्चारमाध्यममा पनि साझा बुझाइ रह्यो । यो खबर चार–पाँच दिन लुकाएर राख्दा सार्थक भएको उनको भनाइ थियो ।

के रानी एलिजाबेथ द्वितीय आफैं यो खबरबाट खुसी थिइनन्?

यो भव्य कथाको पात्र आजकल कहाँ छन् ?

यो सास रोकेर पढ्नुपर्ने कथाका लगभग सबै पात्रहरू अब यो संसारमा छैनन्। पत्रकार जेम्स मारिस एक ट्रान्सजेन्डर थिए। उनी पछि आफ्नो लिंग परिवर्तन गरी महिला बनिन् र जेन मोरिस नाम राखिन्। उनी ट्राभल लेखकका रूपमा पनि निकै चर्चित थिइन् । उनको नोभेम्बर २०२० मा ९४ वर्षको उमेरमा वेल्समा निधन भएको थियो ।

एडमन्ड हिलारीलाई सन् १९५३ मा सगरमाथा विजयको वर्षमा नाइटहुड प्रदान गरिएको थियो। उनको ८८ वर्षको उमेरमा न्यूजिल्याण्डको अकल्याण्डमा निधन भयो ।

उनका आजीवन साथी तेन्जिङ नोर्गे पछि भारतको दार्जिलिङमा बस्न थाले। उनको ७२ वर्षको उमेरमा ९ मे १९६८ मा मृत्यु भएको थियो ।

तेन्जिङका छोरा जमलिङ तेन्जिङ आफै पनि एक दक्ष पर्वतारोही हुन् र सगरमाथा आरोहण गरेका छन् ।

तेन्जिङ नोर्गेका छोरासँग महारानीको भेट

जामलिङले विश्व सगरमाथा दिवसको अवसरमा मे २९, २०१३ मा एलिजाबेथ द्वितीयलाई भेटेका थिए।

बेलायतको रोयल जियोग्राफिकल सोसाइटीले सगरमाथा आरोहणको ६०औँ वर्षगाँठको उपलक्ष्यमा त्यस वर्ष मे २९ मा लन्डनमा भव्य समारोहको आयोजना गरेको थियो। जसमा विश्वभरका चर्चित पर्वतारोहीहरूको सहभागिता रहेको थियो ।

एलिजाबेथ द्वितीय समारोहको प्रमुख अतिथि थिइन् । उक्त समारोहमा तेन्जिङ नोर्गेका छोरालाई पनि निमन्त्रणा गरिएको थियो ।

एलिजाबेथको सन्दर्भमा जामलिंग नोर्गेले बीबीसी बंगलालाई भने, ‘उनी धेरै विनम्र र सम्मानित महिला थिइन्। व्यक्तिगत कुराकानीको क्रममा उनले मेरो बुबाबारे उल्लेख गरिन् र राज्याभिषेक दिवसको सम्झनाहरू सुनाइन् ।’

र, जसको राज्याभिषेकको पललाई अझ अविस्मरणीय र रमाइलो बनाउन यति धेरै काम भए, सोही रानी पनि सेप्टेम्बर ८ मा स्कटल्याण्डको बालमोरल प्यालेसमा ९६ वर्षको उमेरमा यस संसारबाट सदाका लागि बिदा भइन् ।

बीबीसी हिन्दीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?