+
+

दुःख र अभाव पनि सिकाउनुपर्छ बालबालिकालाई

सुमित्रा लुईटेल सुमित्रा लुईटेल
२०७९ भदौ ३१ गते १७:०८

काठमाडौं । कपनकी सुजा कोइराला भन्छिन्, ‘हामीले आफ्नो समयमा कति दुःख, अभाव झेल्नुपर्‍यो । मेरी एउटी छोरी छिन्, उनले चाहिं हामीले जस्तो कुनै पनि दुःख झेल्न नपरोस् भन्ने लाग्छ ।’ त्यसो त उनले एक्ली छोरीलाई आफूले सक्ने सुख-सुविधा दिएर हुर्काइरहेकी छिन् ।

‘एउटी छोरी हो, किन दुःखी बनाउनु भनेर जे माग्यो त्यही पूरा गरिदिएका छौं,’ सुजा भन्छिन्, ‘आफ्नो समस्या लुकाएर पनि उसलाई खुसी राख्ने प्रयास गरेका छौं ।’ सुजाले ४ कक्षामा पढ्दै गरेकी छोरीलाई कहिले पनि बताएकी छैनन्, आफ्नो समस्या, दुःख अनि संघर्षको कुरा ।

पेप्सीकोलाकी सरिता खड्काले पनि एक छोरा हुकाईरहेकी छिन् । आफूले जतिसुकै दुःख-कष्ट गरे पनि छोराले त्यस्तो झेल्न नपरोस् भनेर उनी एकदम सचेत छिन् । ‘बाबुले अहिलेसम्म भोकको अनुभव र दुःख झेलेका छैनन्, किनभने हामीले उसलाई दुःख नहोस् भनेर नै दिनरात मिहिनेत गरिरहेका छौं,’ सरिता भन्छिन् ।

एउटा सिंगो पुस्ता, जो अहिले आमाबुवा बनेका छन् । उनीहरुले आफ्ना बालबच्चालाई सकेसम्म सुख-सयलमा राख्ने गरेका छन् । यी आमाबुवाको एउटै बुझाइ छ, ‘मैले जुन दुःख र अभाव भोगें, मेरो सन्तानले त्यस्तो भोग्न नपरोस् ।’

आफ्ना बालबच्चा खुसी र सुख होस् भन्ने स्वभाविक चाहना हुन्छ, हरेक आमाबुवाको । यद्यपि बालबच्चालाई सधैं सुखैसुखमा हुर्काउने प्रयास र प्रवृत्ति कति उचित होला ? यसले बालबच्चाको भावनात्मक विकासमा कस्तो प्रभाव पार्छ ? मनोविद् करुणा कुँवर भन्छिन्, ‘यो सही अभ्यास होइन । किनभने बालबच्चाले चाहेको सबै कुरा पूरा गरिदिने, सुखैसुख दिइरहँदा त्यसको मात्रा र माग क्रमशः बढ्दै जान्छ । एकदिन यस्तो अवस्था आउँछ कि बुवाआमाको अवस्था र बालबच्चाको आकांक्षाबीच आकाश-जमिन फरक हुन्छ ।’

अभिभावकले आफूले झैं आफ्ना बालबच्चाले दुःख, अभाव झेल्न नपरोस् भन्ने चाहना राख्छन् । साथै त्यही अनुसार उनीहरूलाई सबै कुराले सम्पन्न बनाउने कोसिस गर्छन् । तर बालबालिकालाई दुःखकष्ट झेल्न नपरोस् भनेर केही अभिभावकले भने उसको आवश्यकता भन्दा पनि बढी कुरा दिइरहेका हुन्छन् ।

बालबच्चाले आफ्नो सुखभोगका लागि ठूला-ठूला आकाक्षा राख्न थाल्छन्, जसलाई परिपूर्ति गरिदिने क्षमता बुवाआमासँग हुन्न । यस्तो अवस्थामा आइपुगेपछि आमाबुवा र बालबच्चाबीच नराम्ररी फाटो आउँछ । ‘यतिबेला बच्चा नियन्त्रणबाहिर गइसकेका हुन्छन्,’ कुँवर भन्छिन्, ‘आमाबुवाले न उनीहरुको अपेक्षा पूरा गरिदिन सक्छन्, न सम्हाल्न नै ।’

बच्चालाई हुर्काउने क्रममा उनीहरुलाई आफ्नो दुःख, अभाव, समस्या, संघर्षबारे पनि बोध गराउनुपर्ने उनी सुझाउँछिन् ।

बुवाआमा चाहे जतिसुकै सम्पन्न हुन्, जतिसुकै पुगिसरी हुन् । उनीहरुले आफ्ना बालबच्चालाई अथाह सेवा सुविधा उपलब्ध गराउनु भनेको एकदमै गलत हुने मनोविद् कुवँर बताउँछिन् । ‘जुन बच्चाले अभाव झेलेका छैनन्, दुःख बुझेका छैनन्, भोक सहेका छैनन्,’ मनोविद् कुँवर भन्छिन्, ‘उनीहरुमा सानोतिनो समस्यामा एकदमै विचलित हुने र कुनै पनि कुरामा उत्साहित नहुने स्वभाव विकास हुनपुग्छ ।’

पहिले र अहिले

पहिले-पहिले बालबच्चालाई घरमा मासु पाक्दा उत्सव हुन्थ्यो । नयाँ लुगा लगाउन पाउँदा बेग्लै उमंग छाउँथ्यो । सानो कुराले ठूलो खुसी दिन्थ्यो, तर अहिलेको अवस्था कस्तो छ ?

घरमा अनेकथरी व्यञ्जन बनाएर छोराछोरीको अघिल्तिर राखिन्छ । तैपनि उनीहरु खान रुचि गर्दैनन् । आमाबुवाले नै फकाइफुल्याइ खुवाइरहेका हुन्छन् । नयाँ नयाँ लुगाफाटो किनिदिए पनि उनीहरुलाई त्यसले कुनै उमंग ल्याउँदैन । किनभने आमाबुवाले लुगाफाटोको कुनै अभाव हुनै दिएका हुँदैनन् ।

‘अहिलेका बालबच्चाले अभाव र दुःख बुझ्नै पाएनन्,’ मनोविद् कुँवर भन्छिन्, ‘यो उनीहरुको गल्ती होइन, हाम्रो हुर्काउने शैलीमा भएको त्रुटि हो ।’ बालबच्चालाई सबैकुरा पुगिसरी बनाइदिएपछि उनीहरुले अभाव अनुभूति गर्न पाउँदैनन् । दुःख महसुस गर्न पाउँदैनन् । भोक र थकान अनुभव गर्न पाउँदैनन् ।

‘यसले गर्दा उनीहरुलाई कुनै पनि कुराको प्राप्ति आफैंमा ठूलो र महत्वपूर्ण लाग्दैन,’ मनोविद् कुँवर भन्छिन्, ‘सबैकुरा मामुली लाग्छ ।’

सुख-सुविधा धेरै पाएका बालबालिका कम मिहिनेती

सबै सेवा सुविधा दिएर हुर्काएको बच्चा र केही दुःख, अभावमा हुर्किएका बच्चाबीच केही फरक हुने नामग्याल माध्यमिक विद्यालयकी शिक्षिका मुना घिमिरे बताउँछिन् ।

जो बालबालिका पर्याप्त सेवा सुविधा र सुखमा हुर्किएका हुन्छन्, उनीहरू सानोतिनो कुरामा खुसी हुन जान्दैनन् । ‘यस्ता बालबालिकाको जिद्दी गर्ने बानी हुन्छ,’ शिक्षिका घिमिरे भन्छिन्, ‘किनकि जिद्दी गर्ने बित्तिकै चाहेको कुरा पाइन्छ भन्ने लाग्छ ।’ कुनै कुरा पाउनका लागि उनीहरु संघर्ष, मिहिनेत गर्दैन, धैर्यता पनि राख्दैनन् । त्यसैले उनीहरु कम मिहिनेती हुने घिमिरेको अनुभव छ ।

केही दुःखकष्टमा हुर्किएका बालबालिकाले अभिभावकको संघर्षबाट पनि धेरै कुरा सिकिरहेका हुन्छन्, जसले गर्दा उनीहरूले सानो कुरामा पनि खुसी हुन्छन्् । ‘दुःखमा हुर्किएका बालबालिकाहरू साथीभाइ र शिक्षकप्रति पनि झुकाव बढी हुने गर्छ, उनीहरू सबैसँग मिल्ने र मिहिनेती स्वभावका हुन्छन् ।’

बालबच्चाको चाहना होइन, आवश्यकता हेरौं

अभिभावकले आफूले झैं आफ्ना बालबच्चाले दुःख, अभाव झेल्न नपरोस् भन्ने चाहना राख्छन् । साथै त्यही अनुसार उनीहरूलाई सबै कुराले सम्पन्न बनाउने कोसिस गर्छन् । तर बालबालिकालाई दुःखकष्ट झेल्न नपरोस् भनेर केही अभिभावकले भने उसको आवश्यकता भन्दा पनि बढी कुरा दिइरहेका हुन्छन् ।

आफूले धेरै दुःख गरेर भए पनि बालबालिकाको हरेक इच्छा पूरा गर्दिन्छन् । जसले उनीहरू अनावश्यक कुराको पनि माग गर्न थाल्छन् र मैले जे माग्यो त्यही पाउँछु भनेर सोच्न थाल्ने मनोविद् करुणा कुँवर बताउँछन् । ‘बालबालिकालाई केही व्यावहारिक ज्ञान पनि दिनुपर्छ जसले गर्दा उसले आवश्यकताभन्दा बढी पैसा खर्च नगरोस्, आवश्यक भएको कुरा मात्र माग गरोस्,’ उनी भन्छिन् ।

प्रायः अभिभावकले आफ्ना बालबच्चाको अगाडि आफ्नो दुःख, घरको अभाव लुकाउने गर्छन् । त्यो गलत हो किनकि घरको दुःखकष्ट देखेका बालबालिकाले परिवारबाट पनि धेरै कुरा सिकेका हुन्छन् । त्यसैले उनीहरूलाई घरको दुःख र अभावबारे पनि सुनाउनुपर्ने र उनीहरूको अत्यावश्यक माग पनि पूरा गर्नुपर्ने कुँवर बताउँछिन् ।

बालबच्चाले सानो कुरा नै किन नहोस् आवश्यकता नै नभएको कुरा माग गर्छन् भने हुन्न भन्नुपर्छ । उसले माग गरेको कुरा आवश्यकता होइन भने होस् न त एक पटकलाई पूरा गरिदिन्छु भन्नु हुँदैन । हुन्न भनेपछि हुन्न नै भनेर सिकायो भने उनीहरूले केही कुरामा समायोजन गर्न पनि सिक्ने उनी बताउँछिन् । ‘हामी प्रायः उनीहरूलाई आवश्यकताभन्दा बढी लुगाफाटो दिन्छौं, अनेकथरी परिकार दिन्छौं यो तरिका सही होइन जति जरुरी छ त्यति मात्र दिनुपर्छ,’ कुँवर भन्छिन् ।

बालबच्चाले चाहेको वा खोजेको हरेक कुरा पूरा गरिदिंदा उनीहरूले मैले चाहेको हरेक कुरा पूरा हुन्छ भनेर बुझ्छन् । तर कुनै बेला वा कुनै कारणले उसले चाहेको कुरा पूरा भएन भने उसलाई चिडचिडाहट हुने, रिस उठ्ने, परिवारदेखि रिस उठ्ने, घरमा नै बस्न मन नलाग्ने र गुनासो गर्ने लगायतका प्रवृत्ति तथा मनोविज्ञानको विकास हुने कुँवर बताउँछिन् ।

लेखकको बारेमा
सुमित्रा लुईटेल

अनलाइनखबरकी संवाददाता लुईटेल स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?