+
+
चुनाव २०७९ :

काठमाडौं-४ मा गगन-राजनकै टक्कर : राप्रपा र नयाँ मतदाताले के गर्लान् ?

प्रमुख दुई पार्टीबाट एउटै क्षेत्रमा एकल सिफारिसमा थापा र भट्टराई परेका छन् । दुई नेताको नाम ती दलबाट एकल सिफारिस हुनुले दुवै ‘हेभिवेट’ भएकोमा सन्देह छैन ।

लिलु डुम्रे लिलु डुम्रे
२०७९ भदौ ३१ गते २०:३५

३१ भदौ, काठमाडौं । एक दशकदेखि काठमाडौंको क्षेत्र नम्बर ४ सबैको ध्यान आकर्षित गर्ने निर्वाचन क्षेत्र बनेको छ । मूलधारका प्रमुख पार्टीबाट शीर्ष भूमिकामा रहेका नेताहरू प्रतिस्पर्धा गर्ने हुँदा यो क्षेत्र पछिल्ला निर्वाचनमा चर्चाको चुलीमा रहँदै आएको छ ।

२०७४ को निर्वाचन र आसन्न निर्वाचनमा यस क्षेत्रमा प्रमुख प्रतिस्पर्धी उनै अनुहार देखिएका छन् । कांग्रेसका महामन्त्री गगन थापा र एमालेका विदेश विभाग प्रमुख राजन भट्टराईको दोस्रो भिडन्त ४ मंसिरमा यसै क्षेत्रमा देखिनेछ । प्रमुख दुई पार्टीबाट एउटै क्षेत्रमा एकल सिफारिसमा थापा र भट्टराई परेका छन् । दुई नेताको नाम ती दलबाट एकल सिफारिस हुनुले दुवै ‘हेभिवेट’ भएकोमा सन्देह रहेन ।

थापासँग तीन पटक सांसद भएको अनुभव छ । उनी दुवैपल्ट संविधानसभामा सदस्य थिए । साथै, उनीसँग संसदीय समितिको सभापति र मन्त्री बनेको अनुभव पनि छ । कांग्रेसको महामन्त्रीमा १४औं महाधिवेशनबाट निर्वाचित भएपछि उनको वरीयता पार्टीमा थपिएको छ ।

थापाले पार्टी भित्र र बाहिर शक्ति विस्तार गरिरहँदा त्यही स्तरमा नभए पनि भट्टराईले पनि पार्टीभित्र पकड बलियो बनाउँदै लगेका छन् । भट्टराईसँग पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र केपी शर्मा ओलीको परराष्ट्र सल्लाहकार भएको अनुभव छ । उनी एमालेको विदेश विभाग प्रमुख समेत हुन् ।

दुई दलका पुरानै अनुहार प्रतिस्पर्धामा उत्रने भएसँगै थापा र भट्टराईले विगतमा निर्वाह गरेको भूमिकाको लेखाजोखा सुरु भएको छ । विकास निर्माणका कार्य, संसद्मा भूमिका, क्षेत्रका कार्यक्रममा सहभागी, नागरिकका जनगुनासो लगायतमा काठमाडौं–४ का सांसद गगन पहिलो नम्बरमा रहेको कांग्रेसका क्षेत्रीय नेताहरूको दाबी छ । तर यसमा एमाले कार्यकर्ताहरूको तर्क अर्कै छ । उनीहरू ‘गगन सांसद भएको तीनपटक भयो र यो १५ वर्षमा काठमाडौं–४ ले के पायो ?’ भनेर प्रश्न गर्छन् ।

कपनको बाढी : आरोप–प्रत्यारोप

सामान्य वर्षा हुँदा समेत काठमाडौंको कपन क्षेत्रमा बाढी आउँछ । बूढानीलकण्ठ वडा नम्बर ११ र त्यसै पालिकाको वडा नम्बर १२ हुँदै वडा नम्बर १० तिर यो बग्छ । खोलामा बग्नुपर्ने पानी बाटो नपाएपछि बस्तीमा पस्छ । बस्तीमा पसेको भेल र यस क्षेत्रका सांसद गगनको फोटो भाइरल बन्छ ।

यही मेसोमा आम सर्वसाधारणको आक्रोशलाई पुट दिन एमालेका स्थानीय नेता कार्यकर्ताहरू समेत लाग्ने गरेको स्थानीय केशव पाठक बताउँछन् । त्यसो त कपनमा बाढी नियन्त्रण नहुनुमा कांग्रेसले एमालेलाई र एमालेले कांग्रेसलाई दोष लगाउने गरेका छन् ।

२०५४ सालमा कपन गाउँ विकास समितिको अध्यक्ष एमालेबाट निर्वाचित भएसँगै बाढी बस्तीमा पस्ने गरी नीति बनाइएको आरोप स्थानीय कांग्रेसहरू लगाउँछन् । एमालेबाट तत्कालीन समयमा मिठाराम अधिकारी कपन गाविसको अध्यक्ष निर्वाचित भएका थिए । हाल अधिकारी बूढानीलकण्ठको मेयर छन् ।

तत्कालीन समयमा गाविस अध्यक्ष र उपाध्यक्षसहित एमालेले चार वडा जितेको थियो । कांग्रेसबाट पाँच वडाध्यक्ष विजयी भएका थिए । कांग्रेसबाट तत्कालीन समयमा वडाध्यक्ष जितेका केशव पाठक भन्छन्, ‘गाविस अध्यक्षलाई प्लटिङ गर्नेहरूले खोलामा ढल हालेर बाटो निकालेर विकास गर्नुपर्ने जुक्ति दिए । अनि खोलालाई नै बाटो बनाउने निर्णय अध्यक्षले गरे ।’ पाठक हाल कांग्रेसबाट राजिनामा दिएर राजनीतिबाट निष्क्रिय छन् । ‘खोलामा ढल हाल्नुहुँदैन भनेर हामीले प्रतिवाद गर्‍यौं । हाम्रो कुरा सुनेनन्’, पाठकले भने ।

खोलोलाई सडक बनाउनेहरूले नै आफूलाई गाली गरिरहेको बताउँदै यसै क्षेत्रका सांसद गगन थापा भन्छन्, ‘क्षेत्रवासीको समस्यामा गाली खान तयार छु ।’

तर, यो काममा तत्कालीन समय अनुसार निर्णय लिइएको एमालेको तर्क छ । घर बनाएकालाई बाटो वा ढल बनाइदिन्न भनेर जनप्रतिनिधि उत्तरदायित्वविहीन हुन नमिल्ने एमालेको जिकिर छ । तत्कालीन समयानुसार त्यो यथोचित निर्णय भएको सो क्षेत्रका एमाले उम्मेदवार राजन भट्टराई बताउँछन्।

‘जग्गा किनबेच गर्न दिने/नदिने निर्णय गराउने अधिकार स्थानीय तहलाई हुँदैन । कि त्यो क्षेत्रमा बस्ती बस्नै नदिनुपथ्र्यो’ भट्टराई भन्छन्, ‘जग्गा खरिद गरेर घर बनिसकेपछि बाटो र ढलको व्यवस्थापन त गर्नै पर्‍यो नि !’ त्यसैले बाढीको समस्या कपनमा मात्रै भएको जसरी प्रचार गरिनु अनुचित रहेको उनको भनाइ छ ।

यो समस्या समाधान गर्न बाढी नियन्त्रणका लागि ‘बक्स कल्भर्ट’ बनाउने गरी नयाँ योजना अघि बढे पनि त्यसले अन्तिम रूप पाएको छैन । आनी गुम्बामा १६ फिटको ‘बक्स कल्भर्ट’ बनाइएको छ । बाढीको समस्या समाधान गर्न उक्त बक्स कल्भर्ट आनी गुम्बादेखि साततलेसम्म बन्नुपर्दछ । माथिल्लो भागमा बक्स कल्भर्ट बन्ने प्रक्रिया सुरु भए पनि तल्लो भागतिर निर्माणले गति लिएको छैन । एमाले नेता भट्टराई बक्स कल्भर्ट नै समस्या समाधानको उपयुक्त विकल्प हुने बताउँछन् ।

बाढी नियन्त्रणका लागि चरण–चरण गरी एक अर्ब रुपैयाँ बढी बजेट विनियोजन भइसकेको छ । तर, दीर्घकालीन समाधान निस्केको छैन । दीर्घकालीन समस्या समाधान गर्ने गरी कांग्रेस महामन्त्री थापाले ‘धोबिखोला कोरिडोर कपन–बूढानीलकण्ठ डुवान नियन्त्रण आयोजना’ को प्रस्ताव अघि बढाएका छन् ।

शहरी विकासमन्त्री मेटमणि चौधरीले डुबानको समस्या समाधान हुने गरी धोबिखोला कोरिडोर एकीकृत गुरुयोजना मन्त्रिपरिषद्बाट पारित गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

‘पटक–पटकको प्रयास खुद्रे भएकाले दीर्घकालीन समाधान निस्किएन । सधैंका लागि समस्या समाधान हुने गरी आयोजनाको प्रयास गरिएको हो’, थापाले भने ।

विकासमा आ-आफ्नो दाबी

प्रतिनिधिसभाका सांसदको मुख्य भूमिका संसदमा नीतिनिर्माण गर्ने हो । सांसदको भूमिका नागरिकलाई बुझाउन नसक्दा मतदाताले स्वाभाविक विकासको आशा गर्छन् । चुनावी प्रचारका क्रममा बाँडिने आश्वासनले पनि मतदाताले सांसदप्रति प्रश्न गर्छन् ।

कांग्रेसका क्षेत्रीय नेताहरू थापाले दर्जनौं विकासका कार्य गरेको दाबी गर्छन् । काठमाडौं–४ का कांग्रेस क्षेत्रीय सभापति बद्री भट्टराई भन्छन्, ‘कपनको ढुंगेन चोकबाट चुनिखेल हुँदै बूढानीलकण्ठ घुम्ती जाने बाटो हेर्नुस् । धोबिखोला कोरिडोर सरर्र हिंड्ने बाटो र गोपीकृष्ण हलबाट चुनिखेलसम्मको बाटो गगनकै कारण बनेको हो ।’

एमालेबाट भट्टराईले अघिल्लो पटक जितेनन् । तर, शक्ति केन्द्रमा भने पुगे । उनी केपी शर्मा ओली नेतृत्वको सरकारको विदेश मामिला सल्लाहकार थिए । मेलम्चीको पानी रिङरोडभन्दा बाहिर पुर्‍याउने कार्य आफ्नै पहलमा भएको भट्टराईले बताए ।

रिङरोड बाहिर रहेका काठमाडौं–४ का स्थानका लागि साढे पाँच अर्ब बजेट आफ्नो पहलमा सम्भव भएको उनको भनाइ छ । ‘रिङरोड भन्दा बाहिर मेलम्चीको पानी नपुर्‍याउने गरी आयोजनाको काम भइरहेको थियो । मेरै बलमा रिङरोड बाहिर पनि पानी पुग्ने अवस्था बनेको छ’ भट्टराईले अनलाइनखबरसँग भने, ‘मेलम्ची आउँदा कपन र बूढानीलकण्ठ क्षेत्रका जनताले पनि पानी खान पाउँछन् ।’

सडक निर्माण, ढलको व्यवस्थापन, पार्क, प्राकृतिक सम्पदाको संरक्षण, शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र, हेरिटेज वाक् लगायत दर्जनौं काम थापाको बलमा सम्भव भएको कांग्रेसको दाबी छ । तर, ती कामहरूको एक्लो जस कांग्रेसले नपाउने एमाले नेता भट्टराई बताउँछन् । धोबिखोला कोरिडोरसहित त्यस क्षेत्रमा बनेका बाटो निर्माण तथा सम्पदा संरक्षणमा आफ्नो पनि योगदान रहेको भट्टराईले बताए ।

तर कांग्रेसको भनाइ अर्कैै छ । ‘एमालेले नगरेको कामको पनि प्रचार गर्छ । हामीले गरेको काम पनि प्रचार गर्न सकेका छैनौं’ कांग्रेसका क्षेत्रीय सभापति बद्री भट्टराई भन्छन्, ‘काठमाडौं–४ मा नपर्ने स्थानको फोटो हालेर पनि एमालेले कांग्रेसलाई बदनाम गराउने गरी प्रचार गर्ने गरेको छ ।’

विगतको चुनावी अंकगणित

कांग्रेस नेता थापा २०७० सालमा प्रत्यक्षतर्फ पहिलोपटक भिडेका थिए । दोस्रो संविधानसभा निर्वाचनमा उनले सहजै जित निकालेका थिए । थापाले अन्य एमाले उम्मेदवारलाई फराकिलो अन्तरले हराएका थिए ।

थापाले २२ हजार ३३६ मत ल्याएर विजयी हुँदा एमालेका उम्मेदवार निर्मल कुइँकेलले ९ हजार २८ मत ल्याएका थिए । माओवादीका नन्दकिशोर पुन पासाङको पक्षमा ६ हजार ४६२ मत खसेको थियो ।

एमाले र माओवादी केन्द्रको गठबन्धन हुँदा २०७४ सालको निर्वाचनमा राजन भट्टराई पहिलो पटक प्रत्यक्ष उम्मेदवार बनेका थिए । गगनले २१ हजार ५५८ मत प्राप्त गरी विजयी भए । राजनको पक्षमा १८ हजार १४० मत खसेको थियो । २०७० सालको जस्तो मतान्तर भने गगनले कायम राख्न सकेनन् ।

स्थानीय तहको मतको आधार लिने हो भने यो क्षेत्रमा गठबन्धन उम्मेदवारको अवस्था थोरै बलियो देखिन्छ । काठमाडौं–४ मा पर्ने वडाहरूमा एमालेले पाएको कुल मत १६ हजार ९८१ छ । दोस्रो स्थानमा रहेको कांग्रेसले १६ हजार ८४ मत पाएको छ ।

एकीकृत समाजवादीले पाएको मत २ हजार ६८८ छ । माओवादी केन्द्रले छैटौं स्थानको मत ८७३ पाएको थियो । सत्ता गठबन्धनका तीन दलले पाएको मत जोड्दा १९ हजार ६४५ पुग्छ । यस क्षेत्रमा राप्रपाले २ हजार ३७६ मत पाएको थियो । एमाले र राप्रपाको तालमेल भयो भने दुई गठबन्धनको मत करिब बराबर जस्तै हुन पुग्छ ।

यसरी वडाको मत केलाउँदा थापा र भट्टराईलाई भर पनि छ, डर पनि । काठमाडौं महानगरका वडातर्फ हेर्दा थापा बलियो देखिन्छन् । तर, बूढानीलकण्ठतिरका वडाको तथ्यांकले भट्टराईलाई बलियो देखाउँछ ।

महानगरका वडा नं. १, ७, ८, ३० र बूढानीलकण्ठ नगरपालिकाका १, २, ८, ९, १०, ११, १२, १३ वडा यस क्षेत्रमा पर्दछन् । यस क्षेत्रमा पर्ने कुल १२ वडामध्ये काठमाडौंको ७, ८ र ३० मा मात्रै कांग्रेसका वडाध्यक्ष विजयी भएका छन् । क्षेत्रमा पर्ने ९ वटा वडामा एमालेका वडाध्यक्ष निर्वाचित भएका छन् ।

वडा तहमा एमालेबाट निर्वाचितको संख्या बढी भए पनि महामन्त्री थापालाई जित निकाल्न कठिन नहुने कांग्रेसको बुझाइ छ । ‘२०७४ सालमा दुई कम्युनिस्ट मिल्दा त गगनजीले जित्नुभएको हो । उहाँलाई व्यक्तिगत मत पनि धेरै आउँछ । गठबन्धनको शक्ति छ’, स्थानीय केशव पाठक भन्छन् ।

तर, भट्टराईको बल स्थानीय जनप्रतिनिधि र एमालेको संगठनमा छ । त्यसैको बलमा चुनाव जित्ने उनी बताउँछन् । सांसदको भूमिकामा नरहे पनि क्षेत्रसँग जोडिएका काममा सधैं नजिक रहेको उनले सुनाए । तथापि, भट्टराई बन्धुहरूलाई पार्टी कमिटी तथा उम्मेदवार बनाउँदा बढी प्राथमिकता दिएको आरोप उनीमाथि छ ।

काठमाडौं–४ मा पर्ने वडाहरू बूढानीलकण्ठको वडा नम्बर १० मा नवराज भट्टराई र १२ शम्भु भट्टराई तथा काठमाडौं महानगरको वडा नम्बर ७ मा कृष्णमणि भट्टराई राजनकै बलमा वडाध्यक्षको उम्मेदवार बनेको स्थानीय कांग्रेस नेताहरू बताउँछन् ।

काठमाडौं महानगरको वडा नम्बर ७ मा उठेका कृष्णमणि पराजित भए भने अन्य दुईले जित निकाले । तर यो भनाइमा कुनै सत्यता नरहेको एमाले उम्मेदवार राजन बताउँछन् । ‘क्षमताका आधारमा उनीहरू टिकट पाएर उम्मेदवार भएका हुन्’, राजनले भने ।

एमालेमा आएको पछिल्लो विभाजनले भट्टराईलाई असर गर्ने कतिपयको बुझाइ छ । स्थानीय तहका केही एमाले कार्यकर्ता एकीकृत समाजवादीमा गएका छन् । तर भट्टराई यो मान्न तयार छैनन् । उनी भन्छन्, ‘केही साथीहरूको असन्तुष्टि थियो । उहाँहरूलाई एमालेमा फर्काइएको छ । अहिले त हाम्रो शक्ति अरू बढेको छ । काठमाडौं–४ मा म यसपटक जित्छु ।’

यो क्षेत्रमा डेरावाललाई फर्जी मतदाता बनाएको भनेर एकअर्काबीच आरोप–प्रत्यारोप चल्ने गरेको छ । एमालेले हजार भन्दा बढी फर्जी मतदाता बनाएको कांग्रेसको आरोप छ । ‘डेरामा बस्नेलाई मतदाता बनाइएको छ । हामीले निर्वाचन आयोगमा उजुरी दिएका छौं ।’ काठमाडौं–४ का सांसद थापाको कार्यालयमा कार्यरत शंकर कुईंकेलले भने, ‘स्थानीय चुनाव पछि फर्जी मतदाता संख्या झन् बढ्यो ।’ तर, कांग्रेसले अनावश्यक हल्ला गरेको एमाले उम्मेदवार भट्टराईको भनाइ छ । उनी भन्छन्, ‘यो चुनावको मुखमा उचालिएको फण्डा मात्रै हो ।’

कांग्रेस महामन्त्री थापाले प्रधानमन्त्रीको दाबी गर्ने घोषणा गरेका छन् । उक्त घोषणाले पनि चुनावको बेला थापालाई बल पुग्ने स्थानीय कांग्रेस कार्यकर्ताको बुझाइ छ । ‘गगनले जिते यो क्षेत्रका जनप्रतिनिधिले मन्त्री वा प्रधानमन्त्री पाउने अवसर बन्छ’ कांग्रेसका क्षेत्रीय सचिव बद्री भट्टराई तर्क गर्छन्, ‘राजनजी निर्वाचित भए उहाँ हुने सांसद मात्रै हो ।’

तर, स्थानीय एमाले नेताहरू भट्टराईले पनि भावी सरकारमा महत्वपूर्ण ठाउँ पाउने बताउँछन् । एमाले काठमाडौंका उपसचिव तेज ढकाल भन्छन्, ‘२०७४ को निर्वाचनमै अध्यक्ष ओलीले चुनाव जिताएर पठाए राजनलाई मन्त्री बनाउँछु भन्नुभएको थियो । त्यसैले आगामी सरकारमा उहाँ महत्वपूर्ण हैसियतमा हुनुहुन्छ भन्नेमा विवादै छैन ।’

लेखकको बारेमा
लिलु डुम्रे

लिलु डुम्रे अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?