+
+
विचार :

एक्लिंदै गएका प्रचण्ड र ख्रुश्चेव

एउटा दलाल पूँजीवादी संसदवादी जत्थाको रूपमा त अदालती माओवादी केन्द्रको स्थान छ नै, परन्तु वैज्ञानिक समाजवादतर्फ डोर्‍याउने श्रमिक वर्गीय तत्वको रूपमा भने त्यसले सकारात्मक योगदान किमार्थ गर्न सक्दैन।

गोपाल किराती गोपाल किराती
२०७९ असोज २ गते १८:४५

प्रचण्ड एक्लिंदै जानुको मुख्य कारण स्वयं हुन् भने सहायकमा किरण तथा बाबुराम भट्टराई जिम्मेवार छन्। वाम विसर्जनबाट सुरु भएको माओवादी विघटन मुख्यत: दक्षिणपन्थी विसर्जनमा पुगेर थन्कियो।

संविधानसभाबाट गणतन्त्रको संविधानको कार्यनीति त्यागेर औचित्यहीन पार्टी विभाजन किरणहरूको वामपन्थी विसर्जनवाद थियो। जसले, प्रथम संविधानसभाको अधिकतम प्रगतिशील संविधान निर्माण कार्यलाई बलात् रोक्यो। महान् जनयुद्धको पृष्ठभूमिमा आजको भद्रगोल परिस्थितिको जिम्मेवार यसर्थ वाम विसर्जनवादी किरण प्रवृत्ति हो।

दक्षिणपन्थी विसर्जनको प्रारम्भ बाबुरामबाट भयो। दोस्रो संविधानसभाबाट जब न्यूनतम प्रगतिशील संविधान जारी गरियो, माओवादी परित्याग गर्दै बाबुराम पलायन भए। अझै पनि माओवादी पुनर्निर्माणको जमर्को र सम्भावना विद्यमान थियो। परन्तु, २०७४ मा आएर माओवादको क्रान्तिकारी सिद्धान्त त्याग तथा माओवादी पार्टी विघटन गर्दै प्रचण्डहरू एमालेतर्फ विलयमा लागे। यसरी प्रचण्ड स्वयं दक्षिणपन्थी विसर्जनको प्रमुख नाइके बने।

परिणाम, माओवादको सिद्धान्त र पहिचान मुद्दा रक्षार्थ प्रचण्डसँगको १५ वर्ष लामो राजनीतिक सम्बन्ध विच्छेद गर्न हामीहरू बाध्य बनेका थियौं। उत्पन्न परिस्थितिमा हामीले पार्टी पुनर्गठन गर्‍यौं। पुनर्गठित पार्टीको आठौं महाधिवेशन फागुन २०७५ मा गरियो। उक्त महाधिवेशनको प्रतिवेदनमा प्रचण्ड विसर्जनको निम्न ६ बुँदे कारणहरू किटान गरियो-

१. मार्क्सवादको वैचारिक विकास गर्नुको सट्टा माओवाद नै त्याग्न पुग्नु,
२. शान्ति-सम्झौता यता एउटा पनि वैचारिक स्कुलिङ नगर्नु,
३. कार्यकर्ताको संस्थागत व्यवस्थापन योजना निर्माण नगर्नु,
४. पार्टी हैसियत दुरूपयोग गरेर धन-सम्पत्ति लुटपाट गर्ने नेताहरूलाई खुलेआम छुट दिनु,
५. रक्तसम्बन्ध (परिवार) प्राथमिकतामा राख्नु र

६. सर्वहारा दृष्टिकोण, वर्गपक्षधरता र नैतिकता विरोधी भ्रष्ट आचरणमा लम्पट बन्नुले प्रचण्डको दक्षिणपन्थमा विसर्जन भयो।

हुन त देशव्यापी ६ दिने हड्तालको असफलतादेखि नै माओवादी कार्यकर्ताको क्रान्तिकारी आत्मा घोटेर मारिएको थियो। केन्द्रीय सत्ता कब्जा गर्न भनेर आयोजना गरिएको त्यस हड्तालको मुख्य नारा ‘कठपुतली सरकार राजिनामा दे’ भन्ने जस्तो कमजोर हुनुले सत्ता कब्जाका निमित्त त्यो हड्ताल थिएन भन्ने कुरा पछिल्लो समय स्पष्ट भयो।

परन्तु, सैद्धान्तिक रूपमा हेर्दा माथि उल्लेखित ६ बुँदे विश्लेषण नै माओवादी विघटन र प्रचण्ड अवसानका मुख्य कारकतत्व हुन्।

पार्टी पथप्रदर्शक सिद्धान्तका आधारमा हेर्दा प्रचण्डहरू विना कुनै समीक्षा छैटौं महाधिवेशनको राजनीतिक कार्यदिशा विरुद्ध एमालेतर्फ हामफाल्न पुगे। छैटौं महाधिवेशनको प्रतिवेदनमा भनिएको थियो- ‘आजको युगमा माओवाद ग्रहण नगरी कोही पनि सच्चा कम्युनिस्ट बन्न सक्दैन।’ अत: माओवादको पथप्रदर्शक सिद्धान्त त्यागेर एमाले-विलयमा हामफालेका प्रचण्डहरू त्यस उप्रान्त औपचारिक ढंगले कम्युनिस्ट रहेनन्।

हामीहरूको अडान माओवाद कहींकतै अथवा कहिल्यै छोड्न मिल्दैन भन्ने जडसूत्रमा आधारित थिएन। मुख्य कुरा त्यसबारे संस्थागत एवं विहङ्गम समीक्षा हुनुपर्दछ। माओवादभन्दा अझ क्रान्तिकारी सिद्धान्त हात लागेको स्थितिमा स्वत: पुनर्विचार गर्न सकिन्छ। यहाँ विशेष स्मरणीय तथ्य के हो भने पार्टी पथप्रदर्शक सिद्धान्तको सम्बन्धमा लेनिनले प्रस्ट भनेका छन्- ‘क्रान्ति गर्नलाई सर्वप्रथम क्रान्तिकारी सिद्धान्त चाहिन्छ।’

तर, नयाँ सिद्धान्त विकास गर्न पनि नसक्ने, भइरहेको पुरानो पनि त्यागेर संसदवादी एमालेमा हामफाल्ने प्रचण्डवादी कर्म नि:सन्देह क्रान्तिकारी कार्यदिशा विरुद्ध थियो। ६ बुँदाको किटानीभित्रकै माओवाद त्यागेर एमालेमा विलय वस्तुत: दक्षिणपन्थी विसर्जनवादको जघन्य अपराध थियो।

पछिल्लो समय प्रचण्ड एक्लिंदै जानुको मुख्य सैद्धान्तिक कारण यो हो। घटनाक्रमले प्रचण्डको स्थितिले निकिता ख्रुश्चेवको स्मरण गराउँछ। सोभियत समाजवादका निर्माता स्टालिनको मृत्युसँगै सत्ता हत्याउन पुगेका ख्रुश्चेवले घोर प्रतिक्रान्तिको नेतृत्व गरे। त्यस विरुद्ध माओत्सेतुङको नेतृत्वमा चिनियाँ कम्युनिस्ट पार्टीले महान् बहस सञ्चालन गर्‍यो।

बहसक्रममा चिनियाँ प्रधानमन्त्री तथा माओका अभिन्न सहयोद्धा चाओ अनलाय र ख्रुश्चेवबीच भेटवार्ता भए। ऐतिहासिक दस्तावेजहरू अनुसार एक वार्तामा ख्रुश्चेवले प्रश्न गर्दै भने- ‘हेर्नुस चाओ महोदय, म मजदुर वर्गस्रोतबाट आएको हुँ भने तपाईं त पूँजीपति वर्गस्रोतबाट आउनुभएको हो नि! मलाई कसरी संशोधनवादी भन्न सक्नुहुन्छ ?’

जवाफमा चाओले भने, ‘त्यसैले त हामी दुवैले आफ्नो वर्गप्रति गद्दारी गर्‍यौं। त्यसैले त तपाईं संशोधनवादी र म मार्क्सवादी हुन पुग्यौं।’चाओ अनलायको उपरोक्त जवाफ शतप्रतिशत भौतिकवादी थियो र बेजोड पनि।

तत्कालीन अवस्थामा नेकपा (माओवादी) निर्माण, जनयुद्धको उठान र सञ्चालन गर्दै गणतन्त्रको संविधानसम्म प्रचण्डहरूले उल्लेखनीय क्रान्तिकारीको योगदान गरेकै हुन्। जसले, सामन्ती राजतन्त्रको सट्टा पूँजीवादी गणतन्त्र स्थापनाबाट समाजलाई एक प्रगतिशील कदम अघि बढायो। त्यस उप्रान्त भने उनीहरू ख्रुश्चेव समान प्रतिक्रान्तिको सेवातर्फ लागे।

अझ खराबी यो कि अन्यत्र क्रान्तिको नेतृत्व गरेका नेताहरूको मृत्युपछि प्रतिक्रान्तिहरू भए। तर, यहाँ क्रान्तिको नेतृत्व गरेका नेताहरूबाटै प्रतिक्रान्तिको नेतृत्व भइरहेको छ।
एक समय थियो, जुन समय माओवादीको चरित्र क्रान्तिकारी थियो, माओवादी कार्यकर्ता एमाले-कांग्रेसमा जाने कुरालाई जघन्य ठहर्‍याइन्थ्यो। तर, आज सराबरी बन्न पुगेको छ। यस्तो सिद्धान्तहीन विचलनको अगुवाई मुख्यत: प्रचण्डले नै गरेका हुन्।

खड्गप्रसाद ओलीको पाउमा बादलहरूलाई पुर्‍याइदिने काम प्रचण्डले नै गरेका हुन्। अत: एउटा दलाल पूँजीवादी संसद्वादी जत्थाको रूपमा त अदालती माओवादी केन्द्रको स्थान छ नै, परन्तु वैज्ञानिक समाजवादतर्फ डोर्‍याउने श्रमिक वर्गीय तत्वको रूपमा भने त्यसले सकारात्मक योगदान किमार्थ गर्न सक्दैन।

लेखकको बारेमा
गोपाल किराती

पूर्वमन्त्री समेत रहेका लेखक माओवादी कम्युनिस्ट पार्टी, नेपालका संयोजक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?