+
+
ब्लग :

दलितलाई गरिब बनाइरहने दुश्चक्र

हिरा विश्वकर्मा हिरा विश्वकर्मा
२०७९ असोज ४ गते १६:४६

डडेल्धुराको गन्यापधुरा प्रधानमन्त्री शेरबहादुर देउवाको जन्म ठाउँ । उनका समकालीन वा धेरै गाउँलेले त्यो ठाउँ छोडिसके । स्वयं देउवाको पैतृक घर खण्डहरमा परिणत भएको धेरै भइसकेको छ ।

विकासको क्रमसँगै सो गाउँमा मोटर बाटो पुगिसकेको छ । स्वास्थ्य चौकी पनि छ, बच्चाहरूले पढ्ने स्कूल पनि छ तर त्योभन्दा बाहेक विकासका काम खासै भएका छैनन् । अन्य नेताहरूको पैतृक घर खण्डहर भएको देखिंदैन । त्यस्तो अवस्थामा देउवाले आफ्नो जन्मघरलाई बेवास्ता गरेको देखिन्छ ।

गाउँमा केवल वृद्धवृद्धा, महिला र केही बालबालिका देखिन्छन् । जब देशमा पाँच पटक प्रधानमन्त्री भएका व्यक्तिको घरको हालत यस्तो छ भने उनका अन्य गाउँको हालत कस्तो होला जो कोहीले अनुमान लगाउन सक्छन् । गन्यापधुराबाट करीब ५/६ किलोमिटर उत्तरपट्टि रहेको अमरगढी नगरपालिकाको वडा नं. ६ दुमड गाउँमा दलितहरू त्यसमा पनि ताम्राकारहरूको ठूलो बस्ती छ ।

भन्दा नगरपालिका भनिएतापनि एउटा दुर्गम गाउँका दलित बस्ती भन्दा खासै फरक देखिंदैन । एउटा जीपसम्म जाने बाटोको ट्रयाक त पुगेको छ, त्योभन्दा बाहेक आहा भन्न सकिने अरू संरचना केही छैनन् । केही भट्ट थरका घरहरू बाहेक ८६ घरधुरी ताम्राकारहरूको रहेको छ ।

हीरा विश्‍वकर्मा

अधिकांश जस्तापाताले छाएको दुई तीन कोठाका घरहरू जहाँ गोठ र मान्छे बस्ने संरचना बनाएको छ, त्यस्तो बस्ती रहेको छ । दलितहरूमा परिवार नियोजनको सोच कम भएको हुँदा देशभरको सरदर परिवार संख्या ५ हुँदा त्यहाँ ७/८ रहेको छ । अतः जनसंख्याको हिसाबले ७०० भन्दा बढी छन् ।

उनीहरूको जग्गा–जमिन एकदेखि डेढ रोपनी हुने धेरै छन् । ८/१० परिवारको जग्गा ३ रोपनीसम्म रहेको छ, राम्रो उब्जनी भएको अवस्थामा पनि तीन महिना भन्दा बढी खान नपुग्ने भएको हुँदा खानकै लागि पैसा कमाउनुपर्ने बाध्यता छ ।

त्यसमाथि शिक्षा, स्वास्थ्य तथा अन्य घरायसी खर्च जुटाउन त झन् कमाउनै पर्‍यो । अन्य दलित बस्तीहरूमा दलितहरूको पुख्र्यौली पेशा छोडिसकेको वा लोप भएको देखिन्छ तर यहाँ भने प्रायः सबै परिवारले पुर्ख्यौली पेशालाई नै कमाइको माध्यम बनाएका छन् ।

उद्योगबाट निकालिएका सस्ता प्लास्टिक वा आल्मुनियमका सामानले सबैतिर पिटेको अवस्थामा पनि परम्परागत रूपमा तयार गरिने तामाका भाडा बनाई बेचेर त्यसबाट गुजारा चलेको देख्दा दलितका परम्परागत पेशा अझै पनि जीवित मात्र नभइकन जीविकोपार्जनको माध्यम पनि बन्न सकेको देख्दा अचम्म र खुसीलाग्दो रहेछ ।

खासगरी नेपालका सबै १२५ जातजातिहरूमध्ये विश्वकर्मा मात्र यस्तो जात हो जसले सबैभन्दा धेरै पेशा–व्यवसाय गरेको देखिन्छ । यसमा धातुका काम गर्ने सुनार, कामी र तामा–पित्तलको काम गर्ने टमटादेखि लिएर घर बनाउने ओढ तथा सिकर्मीको काम गर्ने चुनारा समेत रहेका छन् । आग्री भन्ने जातले सुरुङ खन्नेसम्मको काम गथ्र्यो तर त्यो लोप भइसकेको छ । आग्री थर भएका विश्वकर्माहरू भने प्रशस्तै छन् ।

धातुको काम गर्ने सुनार र कामीको पेशा तुलनात्मक रूपमा सजिलो छ किनभने प्रायःजसोले घरमै आरन राखेर काम गर्छन् । यी ताम्राकारको पेशा भने अत्यन्त दुःखदायी छ । त्यहाँ गाउँमा बुझ्दा एकजना ४५ वर्षका व्यक्ति काम गर्नको लागि पर्वत र बागलुङसम्म पुगेको बताए ।

दुई वर्षसम्म लगातार देखिएको कोभिडको असरले खान पनि धौ–धौ भएपछि एक जनाले चारवटा लघुवित्तबाट समेत ऋण लिएको पाइयो ।

अहिले पनि त्यहाँका सीप भई काम गर्न सक्ने युवाहरू सुदूरपश्चिमका सबै जिल्लाहरू मात्र नभएर भारतको उत्तराखण्डको पनि सबै ठाउँमा फिजिएर रहेका छन् र त्यहाँ आफूले बनाएका खासगरी ताउला र गाग्रीहरू बेचेर गुजारा चलाउने बताए ।

एकदमै राम्रो व्यापार गर्न सक्नेले वर्षमा ५/६ लाखसम्मको कमाइ गर्ने र बाँकी सबैले २/३ लाखमा चित्त बुझाउनुपर्ने बताए । उनीहरूले नेपालगञ्ज वा धनगढीबाट ४० हजार रुपैयाँको तामाको पाता ल्याए भने त्यसबाट दुइटा ताउला बन्ने र त्यसलाई गाउँ–गाउँ डुलाएर बेच्दा ६० हजार पाउने अर्थात् २० हजार बच्ने बताए तर त्यसमा उनीहरूले बनाउन लाग्ने श्रम, सीप, घुमाई पनि जोडिने बताए ।

यी सबै हेर्दा रु.२० हजार बच्नुलाई ठूलो रकम भन्न मिल्दैन । धन्न गाउँहरूमा अहिले पनि तामा वा पित्तलको भाँडा प्रयोग गर्ने चलन रहेको र त्यसलाई सम्पत्तिकै रूपमा लिइने भएको हुँदा ढिलोचाँडो ती सामानहरू बेच्न सकिरहेका छन् ।

श्रमको दृष्टिकोणबाट हेर्दा दुइटा वा तीनवटा ठूल्ठूला भाँडाहरू कम्तीमा पनि ५०/६० किलो हुन्छ । पहाडको उकालो ओरालोमा पिठ्युँमा बोकेर हिंड्दा कम्ती गाह्रो हुँदैन । त्यसैले उनीहरूमध्ये ४०/४५ वर्षको उमेर नहुँदै रोगको शिकार हुने वा काम गर्न नसक्ने भइसक्दा रहेछन् ।

जग्गा अत्यन्तै कम भएतापनि घरमा बस्ने महिला तथा वृद्धवृद्धाहरूले खेतीपाती पनि गरिरहेका छन् तर त्यो खेतीपाती जीवन धान्न त पर्याप्त थिएन । त्यसमा पनि जंगली बँदेल तथा बाँदरहरूको आतंकले गर्दा आलु र अन्य तरकारी फलाएर केही आम्दानी हुने बाटो पनि बन्द भएको गुनासो गरे । जसरी सुँगुरले एक पटकमा ९÷१० वटा बच्चा पाउँछ, बँदेलले पनि त्यसैगरी सन्तान वृद्धि गर्छ ।

नेपाली सेनाको संरक्षणमा वन क्षेत्र भएको र त्यहाँका जनावरहरूलाई मार्न वा नियन्त्रण गर्न नपाइने हुँदा बजार क्षेत्र नजिक भएर गर्न सकिने तरकारी खेतीबाट पनि वञ्चित भएको देखियो । सरकारको तर्फबाट जंगल क्षेत्रमा तिनीहरूलाई रोक्न तारबार लगाइएको छ तर बँदेलले अति छिटो खाल्डो खनेर आफ्नो बाटो बनाउने हुँदा त्यसले केही गर्न नसकेको बताए ।

उनीहरूलाई क्षतिपूर्ति दिन भनी पटक–पटक निवेदन लिएर गए पनि अहिलेसम्म कुनै क्षतिपूर्ति नपाएको बताए । त्यहाँ रहेका दलितहरूको जग्गा बाँझो नदेखिएतापनि अन्य जातहरूको जग्गा भने प्रशस्तै बाँझो देखियो । त्यसमा जंगली बँदेलको आतंकको साथै खेती गर्ने मान्छे नभएर भन्ने मूल कारण देखियो ।

बाँदर, बँदेललगायतका जंगली जनावरको आतंक सिंगो देशभरि हुँदा त्यसबाट पूरै मानव बस्ती नै विस्थापित हुने अवस्था पनि सिर्जना भइरहेको समाचार आइरहेकै छ । त्यसमा दुमड गाउँ पनि एउटा थपियो । बाँदर धपाउन प्रयोग गरिने प्लास्टिकको आवाज निकाल्ने बन्दुक पनि अब निष्प्रभावी रहेको बताए ।

सो ताम्राकार बस्तीमा प्लस टुसम्म पढ्ने १२÷१३ जना देखियो भने स्नातकोत्तर गर्ने एकजना रहेछन् । उनी अहिले युएनको राम्रो जागिर पाएर गाउँ छोडिसकेका छन् । त्यसदेखि बाहेक सरकारी वा निजी क्षेत्रमा काम गर्ने कोही भेटिएका छैनन् ।

यसले गर्दा पढाइप्रति खासै आकर्षण छैन । त्यहाँ चारवटा भन्दा बढी लघुवित्तको कार्यक्रम पनि सक्रिय रहेको देखियो । दुई वर्षसम्म लगातार देखिएको कोभिडको असरले खान पनि धौ–धौ भएपछि एकजनाले चारवटा लघुवित्तबाट समेत ऋण लिएको पाइयो ।

१८ प्रतिशत ब्याजमा लिइएको ऋण कुनै उत्पादनशील क्षेत्रमा भन्दा पनि उपभोगमा प्रयोग भएको हुँदा तामाको भाँडाको व्यापार गरी ल्याएको रकमबाट ब्याज तिरेको तर मूलधन तिर्न सक्ने अवस्थामा अधिकांश परिवार नरहेको हुँदा उनीहरू गरिबीको दुश्चक्रमा नराम्ररी फसेको देखिन्छन् ।

एकातर्फ तामाको भाडाको व्यापारले खान मात्रै ठिक्क र लघुवित्तको ब्याजसम्म तिर्न सकेको अवस्थामा कृषिबाट हुने आम्दानी शून्य जस्तै रहेछ । अन्य आम्दानीको स्रोत नहुँदा उनीहरू अन्योलपूर्ण भविष्यमा बाँच्न बाध्य भइरहेका छन् । सो क्षेत्रमा आलु सुपर जोन, तरकारीको पकेट क्षेत्र जस्ता कार्यक्रमहरू संचालनमा रहेछन् ।

सरकारले अनुदान दिए पनि अधिकांश दलित परिवारको जमिन पनि थोरै र उब्जनी पनि जंगली जनावरले सखाप पारेर सास्ती दिने रहेछन् । यी सबै दुश्चक्रबाट जोगाउन विशेष कार्यक्रम तथा रणनीति बनाउन जरूरी छ ।

पाँच पटक प्रधानमन्त्री भइसकेका देउवाले यी निरीह दलितहरूको अवस्थामा पनि ध्यान दिन सके अबको निर्वाचनमा पनि उनी सफल हुने थिए !

लेखकको बारेमा
हिरा विश्वकर्मा

लेखक विगत चार दशकदेखि सामाजिक विकास, दलित अधिकार तथा लघुवित्तको क्षेत्रमा क्रियाशील छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?