+
+

देशभर सुपथ मूल्य पसलको व्यवस्था गर्न संसदीय समितिको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ४ गते १८:२८

४ असोज, काठमाडौं । संसदीय समितिले दशैं, तिहार, छठजस्ता पर्वहरुका लागि देशभर सुपथ मूल्य पसलहरुको आवश्यक व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।

संघीय संसद राष्ट्रियसभा अन्तरगतको दिगो विकास तथा सुशासन समितिको मंगलबार सिंहदरवारमा बसेको बैठकले सरकारलाई यस्तो निर्देशन दिएको हो ।

दशैं, तिहारजस्ता चाडपर्वको बेला बजार अनुगमनको कामलाई थप प्रभावकारी बनाउन र सुपथ मूल्य पसलको आवश्यक व्यवस्था देशभर मिलाउन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र वाणिज्य विभागलाई निर्देशन दिइएको समितिका सभापति प्रकाश पन्थले जानकारी दिए ।

‘दशैं, तिहार, छठजस्ता चाडपर्वका बेला थप जनशक्ति उपलब्ध गराएर, प्रविधिलाई पनि जुटाएर बजार अनुगमन गर्ने कुरालाई थप प्रभावकारी बनाउनु पर्दछ । त्यसैगरी सुपथ मूल्यका पसलको पनि कुरा उठेका छन । त्यसलाई चुस्तदुरुस्त र थप प्रभावकारी बनाउन सकिन्छ । यी तमाम विषयमा आवश्यक व्यवस्था मिलाउन सम्बन्धित मन्त्रालय र विभागलाई समिति निर्देशन दिन्छ,’ उनले भने, ‘त्यसैगरी बस काउन्टरहरुको आवश्यक व्यवस्था मिलाउन, बसको भाडादरलाई व्यवस्थित बनाउन पनि सरकार समिति निर्देश गर्दछ ।’

समितिले सवारी साधनको भाडादर जथाभावी लिन नपाउने गरी अनुगमनको काममा कडाइ गर्न पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई भनेको छ । उनले भने, ‘शान्ति, सुरक्षाको आवश्यक व्यवस्था मिलाउन र काला बजारी नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न गृह मन्त्रालयलाई पनि समितिले निर्देशन दिएको छ ।’

बैठकमा समितिका सदस्यहरुले चाडबाडको बेला दुर्घटना हुन नदिने गरी ट्राफिक प्रहरी परिचालन गर्न सरकारलाई सचेत गराएका थिए । सांसद एवम् पूर्वगृहमन्त्री बामदेव गौतमले शान्ति सुरक्षा र सवारी दुर्घटना हुनै नदिने गरी राजमार्गहरुमा प्रहरी परिचालन गर्न सरकारको ध्यानाकर्षण गराए छन् ।

समितिकी अर्का सदस्य नन्दा चपाईले सवारी दुर्घटनाबाट नागरिकको जीवन जोगाउनका लागि सरकारले गाडी चालकहरुलाई आवश्यक तालिमको व्यवस्था गर्नुपर्ने बताइन् ।

समितिका सदस्यहरुले कालाबजारी नियन्त्रण गर्न सरकारले अनुगमनको कामलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?