
५ असोज, काठमाडौं । केन्द्रीय तथ्यांक विभाग अब ‘राष्ट्रिय तथ्यांक कार्यालय’का रुपमा रुपान्तरण भएको छ । सरकारले तथ्यांक ऐन २०७९ कार्यान्वयनमा ल्याएको छ । २८ भदौमा राजपत्रमा प्रकाशित भएको यस ऐन अनुसार अब कार्यालय प्रधानमन्त्री तथा मन्त्रिपरिषद् मातहत पुगेको छ । यसअघि विभाग राष्ट्रिय योजना आयोग मातहत रहेको थियो ।
ऐनले भने अब प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको मातहत रहने गरी राष्ट्रिय तथ्यांक कार्यालय रहने प्रावधान ल्याएको छ । विभागको नेतृत्व सहसचिव स्तरका महानिर्देशकले गर्दै आएका थिए । अब भने कार्यालयको प्रकाशकीय प्रमुखका रुपमा सचिव रहने छन् । उनलाई ‘प्रमुख तथ्यांक अधिकारी’ भनिने छ । यो ऐनले तथ्यांक ऐन २०१५ लाई विस्थापित गरेको छ ।
राष्ट्रिय तथ्यांक कार्यालयलाई सहजीकरण गर्न राष्ट्रिय योजना आयोगका उपाध्यक्षको अध्यक्षता रहने गरी राष्ट्रिय तथ्यांक परिषद्को व्यवस्था गरिएको छ । परिषद्मा आयोगका तथ्यांक विषय हेर्ने सदस्य, नेपाल राष्ट्र बैंकका गभर्नर, नीति अनुसन्धान प्रतिष्ठानका कार्यकारी अध्यक्ष, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव, अर्थ मन्त्रालयका सचिव, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव परिषद्को सदस्य रहने छन् ।
साथै, गृह मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव समेत सदस्य रहने गरी तोकिएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिवलाई समेत परिषद्को सदस्य तोकिएको छ ।
प्रदेश मन्त्रालयका ७ जना प्रतिनिधि, त्रिभुवन विश्वविद्यालयको केन्द्रीय तथ्यांक विभागका प्रमुखलाई पनि सदस्य राखिएको छ । प्रमुख तथ्यांक अधिकारीले सदस्य सचिवको भूमिका निर्वाह गर्ने भएका छन् ।
कार्यालयको भूमिका
राष्ट्रिय तथ्यांक कार्यालयले तथ्यांक सम्बन्धी नीति, योजना तथा रणनीतिको मस्यौदा बनाएर परिष्दमा पेश गर्ने छ । तथ्यांक संकलनका लागि गणना, सर्वेक्षणलगायत अन्य क्षेत्रगत तथ्यांक सम्बन्धी कार्य सञ्चालन कार्ययोजना बनाउने काम पनि यसै निकायले गर्ने भएको छ ।
नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहलाई चाहिने तथ्यांक अब यस कार्यालयले उपलब्ध गराउने भएको छ । तथ्यांक अभिलेखको सुरक्षा गर्ने, तथ्यांक विवरण प्रकाशन तथा वितरण गर्ने काम समेत यसै निकायले गर्ने भएको छ । केन्द्रीय तथ्यांक बैंकका रुपमा कार्यालयले काम गर्ने छ ।
प्रतिक्रिया 4