२० मंसिर, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले विदेशिएका युवाहरूलाई स्वदेश फर्काउन शक्तिशाली कम्युनिस्ट पार्टीको आवश्यकता रहेको बताएका छन् ।
जनकपुरधाममा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले देशमा अझै पनि भ्रष्टाचार व्याप्त रहेको र शिरदेखि तीरसम्म नै भ्रष्टाचार व्याप्त रहेको जिकिर गरे ।
‘आज देशमा जुन प्रकारको भ्रष्टाचार भइरहेको छ । देशभर नै भ्रष्टाचार छ, शिरदेखि तीरसम्म भ्रष्टाचार छ । भ्रष्टाचारीहरूले देशलाई नराम्रो ढंगले डसिरहेको छ । त्यसलाई अन्त्य गर्ने व्यवस्था भनेको समाजवाद हो,’ नेता खनालले भने ।
भ्रष्टाचारीहरूले देशलाई नराम्रोसँग डसिरहेको भन्दै त्यसको अन्त्य गर्ने समाजवाद नै एक मात्र विकल्प रहेको बताए । उनले देशमा रोजगारी सिर्जना नहुँदा ठूलो संख्यामा युवाहरू विदेश पलायन भइरहेको बताए ।
‘हामीलाई समाजवाद चाहियो । देशभर नै बेरोजगार नै बेरोजगार छ । १८ देखि ४० वर्ष समूहका युवाहरूको ठूलो संख्या खाडीमा छ । श्रमजीवि जनता बाहिर गइरहेका छन्,पेशा व्यवसाय सिर्जना नहुँदा उनीहरू बाहिर पुगेका छन् । उनीहरूलाई देश फर्काउन एउटा ठूलो शक्तिशाली कम्युनिष्ट पार्टीको आवश्यक छ,’ उनले भने ।
प्रतिक्रिया 4