+
+

राइफलको सट्टा इँटाले गर्दैछन् सुटिङ खेलाडीले राष्ट्रिय खेलको तयारी

खेल सामग्रीको अभावमा दाङका खेलाडीले इँटाले राष्ट्रिय खेलको तयारी गरिरहेका छन् । सुटिङ खेलका लागि राम्रा खेलाडी भए पनि आवश्यक राइफल र पेस्तोल लगायतका सामग्री नहुँदा खेलाडीले अभ्यास गर्न नपाएको जिल्ला सुटिङ संघ दाङका अध्यक्ष केशव चौधरी बताउँछन् ।

आभास बुढाथोकी आभास बुढाथोकी
२०७९ असोज ६ गते १३:४५

६ असोज, दाङ । दाङ तुलसीपुर–६ का अर्नभ घिमिरे सुटिङका गोल्ड मेडलिष्ट हुन् । आठौं र सातौं राष्ट्रिय खेलकुदमा स्वर्ण जितेका उनी नवौंमा पनि स्वर्ण जितेर ह्याट्रिक गर्ने लक्ष्यमा छन् । तर उनी लक्ष्य पूरा हुनेमा विश्वस्त छैनन् ।

एशियाली खेलकुद सागमा समेत सहभागिता जनाइसकेका राष्ट्रिय च्याम्पियन यसपालि स्वर्णको लक्ष्यमा विश्वस्त हुन नसक्नुको कारण हो– कमजोर तयारी ।

गण्डकी प्रदेशमा हुन लागेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा रहेका उनको हातमा अहिले बन्दुक छैन, उनी बन्दुकको सट्टा इँटाले अभ्यास गरिरहेका छन् ।

दाङमा सुटिङका लागि भएका दुई वटा राइफल पनि बिग्रिएका छन् । ‘निशाना लगाउन र सुट गर्न राइफल चाहिन्छ’, उनले भने, ‘तर हामीसँग चल्ने राइफल छैन । इँटा उठाएर होल्डिङको अभ्यास मात्र गरिरहेका छौं ।’

निशाना नै लगाउन नपाएका उनले आफ्नो स्तर बुझ्न सकेका छैनन् । ‘सुट गर्न पाएको भए कमजोरी कहाँ छ भन्ने थाहा पाउन सकिन्थ्यो’, घिमिरेले भने, ‘आफ्नो तयारी कस्तो भइरहेको छ भन्ने बुझ्न बन्दुक नचलाई हुँदैन ।’ राष्ट्रिय खेल प्रतियोगिताका लागि होल्डिङको अभ्यासले मात्र नपुग्ने उनी बताउँछन् ।

सुटिङको पेस्तोलतर्फ तयारी गरिरहेकी अर्की खेलाडी हुन्, दाङ तुलसीपुर उपमहानगरपालिका–६ कै जानकी रोका । उनी पनि पेस्तोलविनै नवौ राष्ट्रिय खेल प्रतियोगितको सुटिङको अभ्यास गरिरहेकी छन् । प्रतियोगिताको तयारीका लागि चल्ने पेस्तोल नै नभएपछि उनी पनि कहिले इँटा त कहिले बिग्रिएको पेस्तोल उचाल्ने गरेकी छन् ।

सातौं र आठौं राष्ट्रिय खेलमा पनि सहभागिता जनाएकी उनले त्यतिबेला पनि बिग्रिएकै पेस्तोलबाट अभ्यास गरेकी थिइन् । गतिलो अभ्यास नभएकै कारण पदक जित्न नसकेको बताउने उनी भन्छिन्, ‘पहिला पनि बन्दुक चलाउन नपाई प्रतियोगिता सहभागी भएँ, यो पटक पनि यस्तै भयो । यसरी त के जित आउला र खै ?’

निशाना लगाउनै नपाई अभ्यास गर्दा उनी पनि आफ्नो खेल राम्रो होला भन्नेमा विश्वस्त हुन सकिरहेकी छैनन् ।

पोखरामा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुटिङ खेलको प्रदेशस्तरीय छनोट असोज ९ र १० गते नेपालगञ्जमा हुँदैछ । त्यसका लागि दाङबाट ६ जना महिला र ६ जना पुरुष गरी १२ जना छनोट भएका छन् ।

सुटिङ खेलका लागि राम्रा खेलाडी भए पनि आवश्यक राइफल र पेस्तोल लगायतका सामग्री नहुँदा खेलाडीले अभ्यास गर्न नपाएको जिल्ला सुटिङ संघ दाङका अध्यक्ष केशव चौधरीले बताए ।

‘जिल्लामा दुईवटा मात्र राइफल छन्, ती पनि चल्दैनन्’, उनले भने, ‘बिग्रिएको बन्दुक उचालेर होल्डिङ गर्नै मात्र काम भएको छ ।’ उनले बन्दुक नहुँदा खेलाडीले निशाना लगाउने अभ्यास गर्न नपाएको बताए । उनले धेरै खेलाडीलाई अभ्यास गराउन सामग्री नभएपछि बन्दुकै नाप अनुसारको इँटाबाट समेत अभ्यास गराउनुपरेको सुनाए ।

निशाना लगाएर अभ्यास गर्न नपाउँदा खेलाडी पनि खिन्न छन् । ‘बन्दुक नै चलाउन नपाएपछि खेलाडीको खेलबारे समेत थाहा पाउन पाउन सकिँदैन’ उनले भने, ‘बन्दुक चले पो कसको के कमजोरी छ थाहा पाउन सकिन्थ्यो । तर अहिले केही पनि छैन ।’

राम्रो खेलाडीलाई पनि अभ्यास गराउन नसक्दा उनीहरुमा थप निखारता ल्याउन नसकेको अध्यक्ष चौधरी बताउँछन् । ‘सुट गर्न नपाई सिधै प्रतियोगितामा खेल्न पठाउँदा खेलाडी निराश छन्’ उनले थपे, ‘यस्तो तयारीले खेलाडीले कसरी राम्रो खेल खेल्न सक्लान् ?’

अभ्यासका लागि चाहिने खेल सामग्री (राइफल र पेस्तोल) पटक पटक माग गरे पनि कतै सुनुवाइ नभएको उनले बताए । ‘राइफल–पेस्तोल चाहियो भनेर सुटिङ संघलाई भनिरहेका छौं तर सुनेको छैन’, चौधरीले भने ।

बन्दुक नभएको ठाउँमा सुटिङका लागि अभ्यास गर्ने थलो हुने कुरै भएन । खेल अभ्यासका लागि ठाउँ नपाउँदा बाहिर आएर खुल्ला आकाशमुनि अभ्यास गरिरहेको उनले बताए । यसअघि ब्याडमिन्टन कभर्ड हलमा अभ्यास गर्दै आए पनि अहिले अभ्यासका लािग ठाउँ खाली नभएको उनले सुनाए ।

नेपाल सुटिङ संघका अध्यक्ष पुष्पदास श्रेष्ठले खेलाडीहरुले इँटाबाट अभ्यास गरेको सुने पनि कुरा बझ्न नपाएको बताए । ‘अहिलेसम्म राम्रै रिपोर्टिङ आएकाले यसबारे बुझ्न सकेका थिएनौं’ उनले भने, ‘हल्ला त सुनेको छु तर पूरा के हो बुझ्न पाएको छैन ।’

उनले संघसँग पनि सामग्री कम भएकाले यस्तो समस्या भएको बताए । यद्यपि भएका खेल सामग्री सहित संघका सदस्यलाई उनीहरुकै क्षेत्रमा खटाएको उनले बताए । ‘हामीसँग पर्याप्त सामग्री छैन’, उनले भने, ‘चाहेर पनि सबै ठाउँ पुर्‍याउन सकेका छैनौं ।

लेखकको बारेमा
आभास बुढाथोकी

बुढाथोकी अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?