
बेलुकापख भएको थियो । त्यसदिन घरमा म र आमा मात्रै थियौं । पल्लाघरे काकी टुप्लुक्क आइपुग्नुभयो ।
हर्षित अनुहारसहित भन्नुभयो, ‘रामेको कागज आयो, अब उड्ने भो !’
सायद मैले काकीलाई त्यति धेरै खुसी देखेको त्यही दिन होला । एकैक्षणको भलाकुसारीपछि उहाँले भन्नुभयो, ‘कागज त आयो, मलाई अलि अप्ठ्यारो पर्या छ, अलिकति सहयोग गर्दिनु न है दिदी !’
यति भन्नासाथ आमाले भन्नुभयो, ‘तेरो छोरा मेरो पनि छोरा, टापनटिपन पारेर सकेको गरिहाल्छु नि !’
यो वचन सुनेर काकी प्रफुल्लित हुनुभयो । आमा भित्र जानुभयो । एकैक्षणपछि भित्रबाट भन्दै आउनुभयो, ‘धेरै त रहेनछ । टापनटिपन गर्दा गोडा पन्ध्र हजार भयो, यति नै सकें है !’
काकीले पनि ‘हुन्छ’ भन्दै टाउको हल्लाउनुभयो । चिया खाएर काकी घरतिर लाग्नुभयो ।
दाइको उड्ने दिन पनि आयो । काका र काकी दाइलाई पुर्याउन काठमाडौं जानुभयो । दाइलाई कतार उडाएर काका, काकी घर फर्किनुभयो । त्यसदिन काकी बेलुकापख आउनुभयो । काकीका दुवै आँखा रसाएका थिए ।
एउटा आँखामा हर्षका र अर्र्काे आँखामा छोरो टाढा भएका आँसु होलान् सायद । काकीले भन्नुभयो, ‘अब त मेरा पनि दुःखका दिन सकिने भए दिदी !’
आमाले भन्नुभयो, ‘अहिलेसम्म यत्रो दुःख गरिस्, अब त फल पनि त पाउनुपर्यो !’
दुई दौंतरीको त्यो दिन निकै बेरसम्म गफ भयो । म चाहिं गफ सुन्दासुन्दै निदाएछु । त्यस दिनपछि काकी गाउँमा गर्वका साथ हिंड्नुहुन्थ्यो । दिन बित्दै गए, महिना बित्दै गए तर कतार गएका राम दाइको खबर आएन ।
काकीको मुख निन्याउरो हुन थाल्यो । त्यतिबेला हाम्रो गाउँ नै चिन्तित थियो । दाइ उडेको करिब दश महिनापछि माथ्लो गाउँको एक जनाले दाइले कतारबाट ‘राम दाइ रहनुभएन’ भन्ने खबर ल्याए । पूरै गाउँ शोकमग्न भयो ।
काका, काकी दुई दिनसम्म त मूर्छा नै परे । मूर्छाबाट ब्युँझिएपछि काकीले आमालाई आएर भन्नुभयो, ‘मलाई अलि अप्ठ्यारो पर्या छ, अलिकति पैसा दिनुहुन्छ कि !’
प्रतिक्रिया 4