+
+

सीमापारि दसैँको रौनक, वारि सुनसान

रासस रासस
२०७९ असोज ८ गते १९:५७

८ असोज, कपिलवस्तु (बुद्धभूमि) । दसैँ जति नजिकिँदै छ किनमेल पनि त्यति बढ्दै छ । व्यापार चम्कँदै छ । तर नेपालमा होइन सीमापारि ।

दसैंको मुखमा पनि कपिलवस्तुका मुख्य बजारहरु सामान्य सरह छन् । सदरमुकाम तौलिहवा, कृष्णनगर, चन्द्रौटा, गोरुसिङ्गे, जितपुर, गोरुसिङ्गे, पकडीलगायतका मुख्य बजारमा दसैँको कुनै रौनक छैन् ।

दसैंलाई सस्तो, राम्रो र आकर्षक सामग्री खरिदका लागि भन्दै नेपालीहरु सीमावर्ती भारतीय बजारमा ओर्लिएपछि पुनः नेपाली व्यापारीको समस्या विगतका वर्षभन्दा कम छैन यतिखेर । सीमापारिका बढ्नी, खुनुवा, अलिगढवा लगायतका भारतीय बजारमा यतिखेर नेपालीको बाक्लो चलहपहल देखिन्छ ।

दसैँका लागि अत्यावश्यक वस्तुदेखि विलाशिताका सामग्री किन्न नेपाली भारतीय बजारमा निर्भर देखिन्छन् । यसपालिको दसैंमा नेपालमा हरेक सामानमा मूल्य बढेको छ । त्यसैले पनि भारतीय बजारमा नेपाली उपभोक्ताको आकर्षण बढेको हो ।

मुख्यगरी नेपाली उपभोक्ताहरु लत्ताकपडा, जुत्ता चप्पल, चिनी, दाल, तेल तथा टिभी, फ्रिजसम्म किन्न भारतीय बजार धाउँछन् । सीमापारिका बजारमा पाइने वस्तु नेपाली बजारमा महँगो हुने भएकाले आफू भारतीय बजारतर्फ आकर्षित भएको बुद्धभूमि नगरपालिका–९ की मनिषा भाटले बताए ।

‘नेपाली बजारमा ६ हजार पर्ने कुर्ता सुरुवाल भारतीय बजारमा दुई हजार बढी पर्दैन, दसैं खर्चिलो छ, बचत त गर्नैपर्‍यो’,  इमिलियाबाट बढनी किनमेलका लागि गएकी भाटले भनिन् ।

खाद्यान्न वस्तुहरु पनि सस्तो भएकाले उपभोक्ताहरु भारतीय बजारमा आकर्षित हुने गरेको देखिन्छ ।  जिल्लाका प्रत्येक क्षेत्रमा सरकारले सस्तो पसल सञ्चालन गरेमा उपभोक्ता भारतीय बजारमा कम जाने उपभोक्ता हकहित संरक्षण मञ्चले जनाएको छ ।

भारतीय बजारभन्दा पनि सस्तोमा लत्ताकपडा दिए पनि उपभोक्ताले गुणस्तरीय नभएको आरोप लगाउने गरेको कृष्णनगरमा कपडा पसल सञ्चालन गरेर बस्नुभएकी सीता घिमिरेले बताइन् । भारतीय कपडा आयात गर्दा लाग्ने भन्सार महसुल, कर तथा ढुवानी खर्चका कारण स्वतः नेपालमा कपडा महँगो हुन जाने उनको भनाइ छ ।

कृष्णनगर र मर्यादापुर भन्सार कार्यालयका अनुसार एक सातामा जिल्लाका विभिन्न सीमानाकाबाट कपडा र उपभोग्य वस्तुको आयात बढेको छ । दैनिक उपभोग्य र व्यक्तिगत प्रयोजन भन्दै उपभोक्ताले ती वस्तुहरुको भन्सारसमेत नतिर्दा राज्यलाई समेत लाखौँ राजश्व घाटा लाग्ने गरेको छ ।

कपिलवस्तु व्यापार सङ्घका अध्यक्ष महादेव पोख्रेलले भारतीय बजारमा नेपाली उपभोक्ता ठगिने गरेको आरोप लगाए । केही वस्तु सस्तोमा दिएर अन्य वस्तुहरुमा चर्को मूल्य लिएर नेपाली उपभोक्ता ठगिने गरेको उनले बताए । ‘नेपालीको मानसिकता सीमापारि सस्तो सामान पाइने भन्ने छ, त्यसैको फाइदा उठाउँदै व्यापारीले ठग्ने गर्दछन्’, उनले भने ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?