+
+

अबको वीरेन्द्रनगर यस्तो बनोस्

यज्ञ खत्री यज्ञ खत्री
२०७९ असोज ९ गते १९:४८

९ असोज, सुर्खेत । साइकल लेनसहित हरियालीयुक्त चिल्ला, फराकिला सडक । सफा फुटपाथ । व्यवस्थित ट्राफिक व्यवस्थापन । हरिया खुला चौरहरू । घरहरुमा एकरुपता, बस्तीमा सघनता ।

केही सडक यस्ता छन्, जहाँ ‘नो हर्न, नो फ्यूल’को व्यवस्था गरिएको छ । अर्थात त्यहाँ यातायातका साधन प्रतिबन्ध लगाइएको छ । मात्र मान्छेहरुको मनोरञ्जन स्थल । त्यही सडकमा देखिन्छन्, प्राचीन खस सभ्यता झल्किने संरचनाहरु । कर्णालीको पहिचान झल्किने गीतसहित ‘स्ट्रिट कन्सर्ट’मा युवा रमेका हुनेछन् । फरक फरक स्वादका कर्णालीकै अर्गानिक परिकारहरु त्यही सडकमै खाना पाइनेछ ।

शहर आसपासका डाँडाकाँडामा व्यवस्थित पदमार्ग । ठाउँठाउँमा खानेपानीका स्टेशन र सार्वजनिक शौचालय । व्यवस्थित ल्याण्डफिल साइट । प्लास्टिक प्रतिबन्धित शहर । वीरेन्द्रनगर देशकै उत्कृष्ट नगर, साँच्चिकै ‘वाह वीरेन्द्रनगर !’

वीरेन्द्रनगर गरपालिका–८ कि १४ वर्षीया अपेक्षा गुरूङ, सिम्रन विश्वकर्मा र १३ वर्षीया गरिमा पुलामीले गरेको वीरेन्द्रनगरको परिकल्पना हो, यो । उनीहरु चाहन्छन्, अबको वीरेन्द्रनगर यस्तै बनोस् ।

शनिबार ‘क्लिन सुर्खेत, ग्रिन सुर्खेत’ अभियानमार्फत वीरेन्द्रनगरमा ‘सरसफाइ उत्सव’ सुरु गरिएको छ । प्रत्येक वर्ष सञ्चालन हुने उत्सव उद्घाटन गर्न आएका थिए, वीरेन्द्रनगरका मेयर मोहनमाया ढकाल र उपमेयर नीलकण्ठ खनाल । त्यही मौका छोपेर अपेक्षा र उनका साथीले आफूहरुले परिकल्पना गरेको वीरेन्द्रनगरको पेन्टिङ उपमेयर खनाललाई उपहार दिए । र भने, ‘उपमेयर साब हामी यस्तो वीरेन्द्रनगर चाहन्छौं, हाम्रो पुस्ताको लागि पनि काम गर्दिनुस है ।’

अपेक्षा र उनका साथीहरु एसओएस स्कुलमा कक्षा ९ मा पढ्छन् । चित्रकलामा रुची राख्ने उनीहरु विश्वका उत्कृष्ट शहरहरुबारे इन्टरनेटमा खोज्छन् । अनि आफू बस्दै आएको सहरसंग दाँज्छन् । ‘हामीले विश्वका विकसित शहरहरु गुगल गर्‍यौं, अनि हाम्रो वीरेन्द्रनगर यस्तो हुनुपर्छ भनेर पेन्टमा उतार्न थाल्यौं’, अपेक्षा भन्छिन् ।

सिमेन्ट प्रयोगबाट ठूला–ठूला भवन बन्नु मात्रै विकसित शहर नभएको उनीहरुको बुझाइ छ । ‘शहर भूगोल सुहाउँदो हुनुपर्ने रहेछ, शहरमा कला, संस्कृति र सभ्यता झल्किनुपर्ने रहेछ । शहरलाई आफ्नै मौलिकता दियो भने मात्रै उत्कृष्ट बनाउन सकिदो रहेछ’ सिम्रन भन्छिन्, ‘विश्वकै उत्कृष्ट भनिएका शहरहरुले यस्तै गरेका रहेछन् ।’

‘वीरेन्द्रनगरलाई कस्तो बनाउने ?’ अक्सर विकासे योजना र सार्वजनिक छलफलमा यो मुद्दा व्यापकताका साथ उठ्छ । वीरेन्द्रनगरलाई सिंगापुर, संघाइ जस्तो होएन, वीरेन्द्रनगर नै रहन दिनुपर्ने उनीहरुको बुझाइ छ ।

भौगोलिक रुपमा वीरेन्द्रनगर आफैंमा रहरलाग्दो छ । प्राचीन खस सभ्यताको झल्को दिने काँक्रेबिहार, देउती बज्यै मन्दिर । सुन्दर बुलबुले ताल । वरपरका हरिया डाँडापाखाले घेरिएको छ, वीरेन्द्रनगर । ‘तर हिजोआज वीरेन्द्रनगरलाई बनाउने नाममा झन् बिगार्ने काम भइरहेको उनीहरुलाई लागेको छ । वीरेन्द्रनगर, कोलाहल र प्रदूषणको शहर भन्दै गएको छ । भौतिक गतिविधिले पो कुरुप बनाउँदै लगेको रहेछ, वीरेन्द्रनरलाई’ गरिमा भन्छिन् ।

अबको पुस्ताले आफ्नो शहरबारे चिन्ता र चासो लिनुपर्ने उनीहरु बताउँछन् । प्राचीन विरासत बोकेको विशाल खस साम्राज्य कर्णालीको राजधानी हो, वीरेन्द्रनगर । राजधानी भएसंगै वीरेन्द्रनगरको जनसंख्या बढ्दो क्रममा छ । अव्यवस्थित संरचना धमाधम बन्न थालेका छन् । ‘हाम्रा अनियन्त्रित भौतिक गतिविधिलाई राज्यले व्यवस्थित गर्न आवश्यक छ । राज्यले सुनेन भने युवाले झकझक्याउनुपर्छ । हामीले पेन्टिङ मार्फत झकझक्याउने प्रयास गरेका हौं’ अपेक्षाले भनिन् ।

शहर व्यवस्थापनमा समयमै ध्यान नदिए वीरेन्द्रनगर प्रदूषित शहरको रुपमा सूचीकृत हुनेछ । हावामा हानिकारक कण भेटिनेछन् । वीरेन्द्रनगरमा पट्यारलाग्दो सडक जाम, त्यसमाथि गाडीहरूको हर्नको चर्को ध्वनि, नाक पोल्ने धुलो, धुँवा र राप । हिलो र फोहोरको लेदो मिसिएको दुर्गन्धित ढल बग्ने छ ।

अनि हामी हुनेछौं, विश्वकै फोहोरी शहरका नागरिक । ‘भोलिका दिनमा यस्तो स्थिति आउन नदिन पनि हामी यूवाहरुले शहरी विकासमा चासो दिनुपर्छ । आवाज उठाउनुपर्छ । विरोध मात्रै हैन, राज्यलाई साथ पनि दिनुपर्छ’ उनीहरु भन्छन् ।

उनीहरु चाहन्छन् वीरेन्द्रनगरले मान्छेलाई मात्र हैन, चराचुरुङ्गीदेखि किराफट्यांग्रासम्मलाई आश्रय दिएको होस् । खुला स्थानहरूमा अतिक्रमण बन्दै गरौं । सुन्दर बुलबुले ताललाई पौडी पोखरी बन्नबाट बचाऔं । काँक्रेबिहार जंगललाई वन्यजन्तुको आश्रयस्थल बनाऔं । शहरमा बन्दै गरेका र बन्ने भनिएका संरचनाहरु मान्छेलाई आकर्षित गर्ने र सन्तुष्टि दिने खालका बनाऔं ।

सुन्दर वस्तुले मानिसलाई आकर्षित गर्छ, आनन्दित तुल्याउँछ । सबै मिलेर वीरेन्द्रनगरलाई सुन्दर शहर बनाऔं । अपेक्षा, सिम्रन र गरिमाले परिकल्पना गरेको वीरेन्द्रनगर शहर, यस्तै हो । नयाँ पुस्ताले चाहेको शहर, कला, संस्कृति र सभ्यता झल्किने शहर हो । आफ्नै भूगोल र माटो सुहाउँदो मौलिक शहर हो ।

लेखकको बारेमा
यज्ञ खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?