+
+

पीरो भनेकै अकबरे खुर्सानी

मनिषा थापा मनिषा थापा
२०७९ असोज १० गते १६:२०

काठमाडौं । अभिनेत्री नम्रता श्रेष्ठ अकबरे खुर्सानी भनेपछि हुरुक्कै हुन्छिन् । उनी भन्ने गर्छिन्, ‘भातसँग अकबरे खान एकदमै मन पर्छ । प्रायजसो त म अकबरे खुर्सानी बोकेरै हिंड्थें ।’

त्यसो त गायक उदय सोताङ पनि अकबरे खुर्सानी असाध्यै रुचाउँछन् । उनी भन्छन्, ‘अकबरे छ भने खानाको स्वाद दोब्बर बढ्छ ।’ उनी अक्सर खानामा अकबरे छुटाउँदैनन् ।

फुटबलर विमल घर्ती मगरलाई अकबरेको कुरा गर्नासाथ मुखमा पानी आउँछ । रायोको साग मिसाएर पकाएको सुँगुरको मासु र भातसँग त उनलाई अकबरे खुर्सानी नभई हुन्न ।

यी प्रतिनिधि पात्र हुन्, जसको जिब्रो अकबरे खुर्सानीको स्वादले लोभ्याएको छ । अकबरे भनेपछि हुरुक्कै हुने उनीहरुजस्तै अरु कति छन् कति । कति त यस्ता पनि छन्, जसलाई अकबरे बिना गाँस नै रुच्दैन । हुन पनि नेपाली खाना दाल, भात, तरकारीसँगै अकबरे खुर्सानी खान पाए स्वाद दोब्बर हुन्छ । त्यही कारण त अधिकांशको भान्सामा अकबरे खुर्सानीको माग छ ।

होटल-रेस्टुरेन्टको परिकारमा अकबरे

त्यसो त यतिबेला बजारमा कतिपय उत्पादनले अकबरे खुर्सानीलाई ब्रान्डिङ गरिरहेको छ । सामान्यदेखि पाँचतारे होटेलहरुमा समेत अकबरे खुर्सानीको माग बढिरहेको होटल सोल्टीका किचेन एक्ज्युकेटिभ राम बुढाथोकी बताउँछन् ।

‘पहिले रैथाने परिकारको साथमा अचारमा मात्र अकबरे पिसेर राखिन्थ्यो । अहिले मुस्ताङे आलु, चिकेन परिकार, अचार जस्ता परिकारमा अकबरे खुर्सानी मिसाउन थालिएको छ,’ उनी भन्छन् ।

अन्य खुर्सानीको तुलनामा अकबरेको स्वाद विशेष हुने उनी बताउँछन् । ‘होटल-रेस्टुरेन्टका कतिपय खानेकुरामा अकबरे अनिवार्य जस्तै भइसकेको छ,’ बुढाथोकी भन्छन्, ‘त्यसैले बाह्रैमास अकबरे प्रयोग गर्नका लागि यसलाई भण्डारण गरेर राख्न थालिएको छ ।

अकबरे खुर्सानीको माग बढ्दै जाँदा यसको व्यावसायिक खेती पनि हुन थालेको छ । यद्यपि पछिल्लो समय पहिलेको जस्तो अकबरेको स्वाद तिक्खर नभएको बुढाथोकी बताउँछन् । ‘अहिलेको मौसम र पहिले जस्तो मलजल नभएकाले होला पहिलेको जस्तो स्वाद छैन,’ उनी भन्छन् ।

अकबरेको गुण

आयुर्वेदका अनुसार हाम्रो शरीरले विभिन्न ९ वटा स्वाद खोज्ने गर्छ । त्यसैमध्येमा एक हो, पीरो पनि । धेरैजसोलाई पीरो खुर्सानीले खानामा थप रुचि जगाउँछ । पीरो खानाले शरीरमा स्फूर्ति जगाउने कतिपयको अनुभव छ । अकबरेमा खासगरी भिटामिन ए पाइने पोषणविद् उमा कोइराला बताउँछिन् ।

मुटुरोग विशेषज्ञ डा. माधव विष्टले भने अकबरे जस्ता खुर्सानीबाट पाइने तत्वले  मुटुको रगतको नसालाई अवरोध हुनबाट बचाउन मद्दत गर्न सक्ने बताउँछन् । पोषणको हिसाबले यसको कुनै मूल्य नहुन सक्छ, तर यसमा पाइने तत्वले मुटुको रगतको नसालाई अवरोध हुनबाट बचाउन मद्दत गर्ने विभिन्न अध्ययनले देखाएको छ ।

खुर्सानीमा पाइने पीरो तत्वले कामशक्ति पनि बढाउने बताइन्छ । खुर्सानीले रक्त प्रवाहमा सुधार ल्याउन मद्दत गर्ने भएकाले त्यसले प्रत्यक्ष रुपमा यौनक्रियाका लागि सक्रियता बढाउने गर्छ ।

के भन्छ अध्ययन ?

इटालीको एक अध्ययनमा खुर्सानी खाने मानिसलाई घातक हृदयघात वा स्ट्रोकबाट मर्ने सम्भावना कम हुने देखाएको छ । कहिले पनि खुर्सानी नखानेको तुलनामा हप्तामा कम्तीमा चार पटक खुर्सानी खाने मानिसमा कोरोनरी हृदयरोगबाट मृत्यु हुने सम्भावना ४४ प्रतिशत कम र स्ट्रोकबाट मृत्यु हुने सम्भावना ६१ प्रतिशत कम रहेको पाइएको अध्ययनको दाबी छ  ।

यसबारे टिप्पणी गर्दै वरिष्ठ आहार विशेषज्ञ ट्रेसी पार्करले भनेका छन्, यो अध्ययन मसालेदार खानाका प्रशंसकहरूका बीचमा तातो विषय हुने निश्चित छ । यद्यपि यो अध्ययनले नियमित रूपमा अकबरे जस्ता खुर्सानी खाँदा हृदयघात वा स्ट्रोकको जोखिम कम गर्न सक्छ भने पनि तिनीहरूले वास्तवमै स्वस्थ हृदयको लागि महत्त्वपूर्ण हुनसक्छ भनेर पुष्टि गर्न थप अनुसन्धान आवश्यक देखिन्छ ।’

डेली मेलमा प्रकाशित एक अनुसन्धानले खुर्सानीले मुटुलाई मद्दत गर्छ भनेर ठोस तथ्यसहित प्रमाणित नगरेको उल्लेख गरेको छ ।

लेखकको बारेमा
मनिषा थापा

अनलाइनखबरकर्मी संवाददाता थापा स्वास्थ्य र जीवनशैली विषयमा लेख्छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?