+
+

चितवनको वीपी कोइराला क्यान्सर अस्पतालमा ७० जिल्लाका बिरामी

सुवास पण्डित सुवास पण्डित
२०७९ असोज ११ गते ६:३८

११ असोज, चितवन । चितवनको भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा देशका कूल ७७ जिल्लामध्ये ७० जिल्लाका बिरामीले सेवा लिएको पाइएको छ । अस्पतालले २३ औं वार्षिकोत्सवका अवसरमा सार्वजनिक गरेको विवरणमा ७० जिल्लाका बिरामी अस्पतालमा आएर उपचार गरेको देखिएको छ ।

गत वर्ष अस्पतालमा आएर उपचार सेवा लिएका १ लाख ६४ हजार ५ सय ९५ जनामध्ये सबैभन्दा बढी चितवनका २३ हजार ४ सय २४ जना छन् । चितवन पछि रुपन्देहीका ९ हजार २ सय ७७, नवलपुरका ६ हजार ८ सय ८८ र धनुषाका ५ हजार १ सय ६९ जना छन् ।

अस्पतालको ओपीडी सेवा लिएका मध्ये १ लाख ६२ हजार ६ सय २२ जना नेपालका र १ हजार ९ सय ७३ जना भारतबाट आएर सेवा लिएको अस्पतालका कार्यकारी निर्देशक डा.देजकुमार गौतमले जानकारी दिए ।

अस्पतालको ओपीडीमा आएका मध्ये ६ हजार ६३ जना नयाँ क्यान्सरका बिरामी थपिएका छन् । तीमध्ये पुरुष २ हजार ७ सय २ जना र महिला ३ हजार ३ सय ६१ जना छन् । अस्पतालमा गत वर्ष ९ हजार २ सय ४९ जना बिरामी भर्ना भएर उपचार लिएका थिए भने ३ हजार ९ सय ७५ जनाको मेजर अप्रेशन गरिएको कार्यकारी निर्देशक डा. गौतमले बताए । अस्पतालमा औसत दैनिक ३० वटा अप्रेशन हुने गरेको उनको भनाइ छ ।

अस्पतालले चलाएको डे केयरमा १४ हजार ७ सय ६१ जनाले सेवा लिएका छन् । विपन्नको सुविधा ६ हजार ८ सय ५० जनाले लिएका छन् । यस बराबर १६ करोड ७६ लाख ८९ हजार ९ सय ३४ रुपैयाँ खर्च भएको छ । अस्पतालले १५ वर्षभन्दा तल र ७० वर्षभन्दा माथिको उमेर समूहका क्यान्सरका बिरामीको निःशुल्क उपचार गर्दै आएको छ ।

क्यान्सरका धेरै बिरामी ५० देखि ७० वर्ष उमेर समूहका

क्यान्सर अस्पतालले दिएको तथ्यांक अनुसार अस्पतालमा आएर क्यान्सर रोगको पहिचान भएका बिरामी मध्ये सबैभन्दा बढी ५० देखि ७० वर्ष उमेर समूहका बिरामी छन् । गत वर्ष क्यान्सर रोग लागेको पुष्टि भएका ६ हजार ६३ जना बिरामी मध्ये २ हजार ७ सय २८ जना यो उमेर समूहका छन् । यो भनेको कूल क्यान्सर बिरामीको झण्डै ४५ प्रतिशत हुन आउँछ । सबैभन्दा कम चार वर्षसम्मका बालबालिकाहरुमा पनि क्यान्सर पुष्टि भएको छ । गत वर्षको तथ्यांक अनुसार ०.६९ प्रतिशत बालबालिकामा क्यान्सर भएको पुष्टि भएको थियो ।

अस्पतालमा १५ वर्ष मुनिका ३०५ बालक र १८२ बालिका गरी ४८६ जना र ७० वर्षभन्दा माथिका १४३ पुरुष र १०९ महिला गरी २६२ जना नयाँ क्यान्सरका बिरामी थपिएका छन् ।

सुविधा र सेवा थप गरेको अस्पतालको दावी

क्यान्सर अस्पतालले अत्याधुनिक उपकरणसहितको सेवा विस्तार गरेको दावी गरेको छ । अस्पतालका कार्यकारी निर्देशक डा. गौतमका अनुसार अस्पतालले सीओटु माईक्रोस्कोप लेजर मेसिन खरिद गरी मुखको तथा श्वासनलीमा भएको क्यान्सरको अत्याधुनिक माध्यमबाट अप्रेसन सेवा नियमित गरेको छ । शल्यक्रिया कक्षमा भएको शल्यक्रियाको अवस्थाबारे बिरामीका कुरुवाले कक्षबाहिर टिभीमार्फत् प्रत्यक्ष रुपमा हेर्न मिल्ने व्यवस्था गरिएको छ ।

यस्तै खाना नली र श्वास नलीमा रहेको समस्याको इन्डोस्कोपी र युएसजी गरी क्यान्सर रोगको निदान गर्ने ईबीयुएस÷ईयुएस उपकरणबाट काम हुँदै आएको डा. गौतमले बताए ।
विगत तीन वर्षदेखि अवरुद्ध रहेको गामा क्यामरा मर्मत गरी पूर्णरुपमा सञ्चालन आएको डा. गौतमको भनाइ छ । सिटी स्क्यानका बिरामीहरुको अत्याधिक चाप भएपछि १२८ स्लाइसको थप एक थान सिटी स्क्यान मेसिन खरिद गरी सञ्चालनमा ल्याएको छ ।

आकस्मिक कक्षमा सेवा सहज हुने गरी पुनर्निर्माण गरिएको अस्पतालले जनाएको छ । अस्पतालको एउटा प्रयोगशालाले धान्न नसक्ने अवस्था आएपछि इन्डोर प्रयोगशाला स्थापना गरी सञ्चालनमा ल्याई २४ सै घण्टा रिपोर्ट आउन सक्ने व्यवस्था गरिएको छ । प्रयोगशालाको रिपोर्ट मोबाइलमा हेर्न सकिने व्यवस्था गरिएको अस्पतालका उपकार्यकारी निर्देशक डा. कृष्णसागर शर्माले बताए । बिरामीलाई समय सापेक्ष आधुनिक सेवा दिन ५० शय्याको इलेक्ट्रिक आईसीयू बेडसँगै अत्याधुनिक प्यासेन्ट मनिटर जडान गरिएको छ ।

शैक्षिक कार्यक्रम अन्तर्गत चिकित्सा शिक्षा आयोगबाट दुई जना विद्यार्थीलाई सर्जिकल अंकोलोजी विषयमा सुपरस्पेशियालिटी अध्यापन गराइरहेको कार्यकारी निर्देशक डा. गौतमले बताए । नर्सिङतर्फ २० जनाको कोटामा बीएन अंकोलोजी कार्यक्रम चलेकोमा यसलाई बढाएर ४० पुर्याएको डा. गौतमले जानकारी दिए ।

अस्पतालको आम्दानी पनि बढ्दै गएको छ । विगतको वर्षको तुलनामा करिब १० करोड रुपैयाँ आयमा वृद्धि भएको छ भने खर्चमा ३० प्रतिशतले कमी आएको आर्थिक शाखा प्रमुख पिताम्बर शर्माले जानकारी दिए ।

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?