+
+
इतिहासमा ११ असोज २०१९ :

पञ्चायतविरुद्ध बझाङ काण्डका ६० वर्ष

बझाङमा ओमजंजबहादुर सिंहले विद्रोह गरेको ६० वर्ष पुगेको छ । पञ्चायतविरुद्ध विद्रोह गरेका उनलाई राजा महेन्द्रले मार्न लगाएका थिए । ओमजंगबहादुरको ११ असोज २०१९ मा सेनाले हत्या गर्‍यो ।

सागर चन्द सागर चन्द
२०७९ असोज ११ गते २०:५२
Photo Credit : नेपाल फोटो हिस्ट्री प्रोजेक्ट, पिस क्रप फोटो हिस्ट्री, टिम मेकर ।
बुवा रामजंगको साथमा ओमजंगबहादुर सिंह र रामजंगबहादुर सिंह ।

३ असोज २०७८ मा सरकारले बझाङका ओमजंगबहादुर सिंहलाई ‘प्रबल जनसेवाश्री’ पदवी दिने घोषणा गर्‍यो । सिंह तिनै हुन्, जसलाई राजा महेन्द्रले राज्यद्रोहको आरोपमा मार्न लगाएका थिए ।

पञ्चायती व्यवस्था ओमजंगसँग कति रिसाएको थियो भने उनलाई खाना खुवाएकोमा चन्द्रदेव जोशीहरूले देश छाडेर भाग्नुपर्‍यो ।

‘रातारात भागेर पिथौरागढ पुगें’, ६० वर्ष अगाडिको घटना सम्झिंदै पूर्वमन्त्री जोशी भन्छन्, ‘दोहोर्‍याएर आएको शाही फौजले मलाई फेला नपारेपछि मेरी आमा, हजुरआमा सबैलाई यातना दिए ।’

कांग्रेससँग दुश्मनी, पञ्चायतमा विद्रोह

इतिहासकारले ‘बझाङ काण्ड’ नाम दिएको त्यो घटनाको जड थियो- राजारजौटा उन्मूलन ऐन । २०१७ असोज अगाडिसम्म बझाङसहित देशभरका ८ रजौटासँग अदालती कामकारबाही गर्ने अधिकार पनि थियो, जसलाई नेपाली कांग्रेसका बीपी कोइराला प्रधानमन्त्री भएपछि ऐन बनाएर १ जेठ २०१७ बाट हटाइयो ।

त्यसबेला रामजंगबहादुर सिंह बझाङका रजौटा थिए । इतिहासकार डा. राजेश गौतमका अनुसार काठमाडौंको त्रिचन्द्र कलेजमा पढेका रामजंगका एकमात्र छोरा ओमजंगबहादुर सिंह बझाङको प्रशासनिक र अदालती काम सम्हाल्थे । आफ्नो राजकीय अधिकार खोसिएपछि राजकुमार ओमजंगले बझाङमा समानान्तर सरकार घोषणा गरे ।

गौतमको ‘नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेस भाग-३’ अनुसार, समानान्तर सरकार घोषणा गरेपछि उनी नेपाल सरकारको चुनौती बने ।

कोइराला सरकारले रजौटाहरूको राज्य अदालत हटाएर इलाका अदालत स्थापना गरेको थियो । सरकारले धमाधम न्यायाधीश पठाउन पनि थालेको थियो । बझाङ इलाका अदालतमा खटिने न्यायाधीश उत्तमकुमार पोखरेल थिए । तर, काठमाडौंले पठाएका न्यायाधीशलाई ओमजंगले काम गर्न दिएनन् ।

‘साउन १४ गते (२०१७) का दिन ओमजंगबहादुर सिंहको घर बझाङकोटबाट एक जमात बाजागाजासहित नारा लगाउँदै आएर न्यायाधीशसँगको कागज तामाखानी बस्ने भरत बोगटीको घरबाट लुटिलगे र लगेका कागजपत्र ओमजंगबहादुर सिंहलाई बुझाए’ गृष्मबहादुर देवकोटाको ‘नेपालको राजनीतिक दर्पण भाग-२ आम निर्वाचन र त्यसपछि’ शीर्षकमा उल्लेख छ ।

अदालतका कागजपत्र सहजै खोसेपछि हौसिएका ओमजंगले बझाङकै धनलाल सिंहलाई न्यायाधीश नियुक्त गरेर २०१७ भदौ २ गते न्यायाधीश पोखरेललाई नियन्त्रणमा लिए । २१ जेठमा बझाङ पुगेका न्यायाधीश पोखरेल करिब एक महिना ओमजंगको नियन्त्रणमा रहे ।

वनको राष्ट्रियकरण विरुद्ध रहेका ओमजंगले ८ भदौमा सरकारी वनपाले र फरेष्टरलाई समेत पक्राउ गरेको देवकोटाको किताबमा उल्लेख छ ।

न्यायाधीश पोखरेलले सीधै डोटी गएर ओमजंगविरुद्ध उजुरी गरेपछि बडाहाकिम बद्रीप्रसाद थपलिया प्रहरी, मिलिसिया र कर्मचारीको दलबलसहित २१ भदौमा बझाङको झुतेडा पुगे । उनलाई ओमजंग र उनका समर्थकले २९ भदौमा ११ बुँदे मागपत्र थमाए ।

‘बझाङ काण्ड’मा १६ जना मारिए । २५ जनाभन्दा बढी पक्राउ परे । पक्राउ पर्नेमा राजा महेन्द्रले विघटन गरेको संसद्का सदस्य नजराज जोशी पनि थिए । पक्राउ गरिएकामध्ये रामचन्द्र हमाल, लालबहादुर सिंह, धनबहादुर विष्ट र बमजंगबहादुर सिंहलाई जेलमै मारियो

बडाहाकिमले त्यसबारे छलफल नै नगरी पक्राउ गर्न खोजेपछि स्थिति झन् बिग्रियो । आक्रोशित बझाङीहरूले ढुंगामुढा गरे । प्रहरीले गोली चलाएर चार जनालाई घाइते बनायो । त्यस झडपमा १५० जनाभन्दा बढी घाइते भएको गृष्मबहादुर देवकोटाले उल्लेख गरेका छन् ।

झुतेडामा त्यो घटना भएपछि चैनपुरमा लुटपाट मच्चियो । त्योसँगै बझाङमा सरकारी दमन बढ्यो । देवकोटाका अनुसार, त्यसक्रममा युवराज बमको घर लुटियो, नरबहादुर वलीको पसल लुटियो, उनकी श्रीमती कुटिइन् । देवभक्त जोशीको पनि सम्पत्ति लुटियो । त्यसपछि पुगेका पुलिसको दुर्व्यवहार रोकथाम भएन ।

त्यसपछि ओमजंग र उनका समर्थकहरू भागेर भारतको लखनऊ गए । ओमजंगका बुबा रामजंगले लखनऊबाटै बझाङ स्वायत्त राज्य भएको दाबी गर्दै राजा महेन्द्र र तत्कालीन प्रधानमन्त्री बीपी कोइरालालाई चुनौती दिए ।

त्यसपछि केन्द्र सरकार बझाङी राजाप्रति झनै कठोर भयो । २२ असोज २०१७ मा गृहमन्त्री सूर्यप्रसाद उपाध्यायले ‘प्रतिगामीले प्रजातन्त्र सहन गर्न नसकेको’ भन्दै बझाङ घटनाको टिप्पणी गरे । उनले ‘यस्तो प्रतिगामी कदमलाई सरकारले दबाएरै छाड्ने’ पनि बताए ।

२०१७ मंसिरमा रामजंग काठमाडौं आएर ‘कोइराला सरकारको निर्णय कार्यान्वयन नगर्न’ राजा महेन्द्रसँग अनुरोध गरे । डा. गौतमका अनुसार, महेन्द्रलाई आफ्नो राज्य कायम राख्न अनुरोध गरेर १५ मंसिर २०१७ मा पारस होटलमा पत्रकार सम्मेलन गर्न लागेका उनलाई पक्राउ गरेर नजरबन्दमा राखियो ।

त्यसको दुई हप्तापछि १ पुस २०१७ मा महेन्द्रले सत्ता पलट गरेर शासनाधिकार एकलौटी पारे । त्योसँगै कांग्रेसको विरोधमा रहेका राजारजौटालाई आफ्नो पक्षमा पार्ने प्रयास थाले । त्यसक्रममा महेन्द्रले रामजंगलाई बझाङ राज्य यथावत् राख्ने र सानातिना मुद्दा हेर्ने, मालपोत उठाउन दिने अधिकार दिए ।

तर, महेन्द्रले एक वर्ष नबित्दै ‘देशमा एउटा मात्र राजा हुन्छ, शाहवंशका राजा हामी हौं, तिमीलाई भत्ता दिन्छौं’ भन्ने खबर बझाङ पठाए । त्योसँगै रामजंगबहादुर सिंहले पाएको राजा उपाधि र वार्षिक १५०० रुपैयाँ खान्की समेत बन्द गरिदिए ।

अनि बझाङी राजा रामजंग पञ्चायत विरोधी हुन पुगे । महेन्द्र र पञ्चायत विरुद्ध संघर्ष गरिरहेको कांग्रेससँग मिल्न गए । त्यसक्रममा उनले नेपाली कांग्रेसको सदस्यता नै लिएको जीतसिंह भण्डारीको ‘सुदूरपश्चिमाञ्चलको संक्षिप्त राजनैतिक इतिहास’मा उल्लेख छ ।

राज्यको अधिकार गुमेसँगै बझाङी राजा कांग्रेससँग मिलेर पञ्चायत विरोधी खेमामा उभिए । रामजंग र ओमजंगले कांग्रेस नेता सुवर्णशमशेरलाई भारतमा भेटेर बझाङ आक्रमण गर्ने आफ्नो योजना सुनाए ।

पञ्चायत विरुद्ध सशस्त्र संघर्षको घोषणा २६ कात्तिक २०१८ मै गरिसकेको कांग्रेसले सहयोगको वचन दियो । सुवर्णशमशेरले सुदूरपश्चिम क्षेत्रमा आक्रमणको योजना बनाउन सरोज कोइरालालाई खटाए ।

डा. गौतमका अनुसार, सरोज कोइरालाले पिथौरागढमा रामजंगसँग सल्लाह गरेको खबर सुवर्णशम्शेरलाई पठाए । ओमजंग भने त्यसअघि नै सैनिक र हतियार जम्मा गरेर बझाङतिर हिंडिसकेका थिए । कांग्रेसले डोटी र डडेल्धुरा आक्रमणको योजना बनाउन थाल्यो ।

महाकाली तरेर बझाङतिर लागेका ओमजंग सिंहको टोलीलाई दार्चुलाको शंकरपुर हाईस्कुलका शिक्षक चन्द्रदेव जोशीले शंकरपुरमै भेटेका थिए ।

चन्द्रदेव जोशी ।

‘हाम्रो स्कुलको वाषिर्कोत्सव कार्यक्रम सकिएको साँझ २०/२५ जना साथमा लिएर ओमजंग आइपुगे’ उनी सम्झन्छन्, ‘उनीहरूलाई बास र खानपिनको व्यवस्था हामीले गर्‍यौं । बझाङ क्याप्चर गर्ने भए भनेर पनि हामीले उनीहरूको स्वागत गर्‍यौं ।’

जोशीका अनुसार ओमजंगको टोलीमा भारतीय सेनाका अवकाशप्राप्त सिपाहीहरू थिए । साथमा ११ नाल बन्दुक थिए । टोलीलाई खीर, पुरी र तरकारी खुवाएको सम्भिmन्छन् पूर्वभूमिसुधार मन्त्री जोशी ।

‘बिहान हिंड्नु अगाडि पनि बाटोमा खानु भनेर पुरी-तरकारीको पोको दिएर बिदा गर्‍यौं’ उनी भन्छन्, ‘सैन्य टोलीका कमाण्डरले मलाई पनि सामेल हुन अनुरोध गरेका थिए, तर ओमजंगले सरकारी मान्छे, स्कुलका मास्टरलाई नलगौं भने ।’

तर, ओमजंगले बझाङ आक्रमण गर्न पाएनन् । उनको टोली बैतडी हुँदै सेती नदी तरेर बझाङ छिरेर सदरमुकाम नपुग्दै सरकारी सेनाले पछ्याइहाल्यो । ओमजंग हातहतियारसहित बझाङ हिंडेको सूचना पाएपछि पञ्चायती सरकारले सुदूरपश्चिम क्षेत्रमा रहेको श्रीनाथ गणलाई परिचालन गरिसकेको थियो ।

घेरामा पर्न लागेको भेउ पाएपछि सुरक्षित बाटो खोज्न थालेको टोली ११ असोज २०१९ को बिहानै आक्रमणमा पर्‍यो । इतिहासकार डा. गौतमले लेखेका छन्- ओमजंगको टोलीसँग राम्रा हतियार थिएनन् । ओमजंगको टोली पहाडको टुप्पोतिर भए पनि फेदतिर भएको सेनाको टोलीमा क्षति भएन । ओमजंगको टोलीका दुई जना मारिए ।

ज्यान जोगाउन दार्चुलाको लेकतिर लागेको ओमजंगको टोलीलाई सरकारी सेनाले लखेट्न थाल्यो । डा. गौतमका अनुसार, स्थानीय महिलाहरूले टोली लुकेको ओढारबारे खबर दिएपछि सेना त्यहाँ पुग्यो ।

ओडार नजिकै सैनिकलाई देख्नेबित्तिकै ओमजंग र अर्को एकजना क्रान्तिकारीले ढुंगाको कापबाट गोली चलाउँदा नेपाली सेनाका सिपाही भीमबहादुरले जवाफी प्रहार गरेको कलकत्ताबाट प्रकाशित ‘नेपाल टुडे’ पत्रिकालाई उद्धृत गर्दै गौतमले लेखेका छन् । त्यसरी २०१९ असोज ११ गते बिहान ११ बजे ओमजंगको हत्या भयो । उनी २९ वर्षका थिए ।

रामजंगबहादुर सिंह । तस्वीर : नेपाल फोटो हिस्ट्री प्रोजेक्ट, पिस क्रप फोटो हिस्ट्री, टिम मेकर ।

नेपाली सेनाका पूर्व जर्नेल प्रेमसिंह बस्न्यातले ‘नेपालमा तिब्बती शरणार्थीको प्रवेश तथा खम्पा विद्रोह’मा लेखेअनुसार ओमजंगको विद्रोह परास्त गरेर फर्किएको सैनिक टोलीलाई अञ्चलाधीश सत्यनारायण झाले अबिरमालाले स्वागत गरे । सैन्य टोलीका कमाण्डर केशरबहादुर गड्तौलालाई सह-सेनानीमा बढुवा भए भने ओमजंगलाई गोली दाग्ने सिपाही भीमबहादुरले प्यूठमा बढुवासँगै २५० नगद पुरस्कार पाए ।

बझाङ कब्जा गर्न हिंडेको टोलीका केही मारिए, बाँचेकाहरू दार्चुलाको बाटो हुँदै भारत छिरे । ओमजंग मारिएको एक महिनापछि २३ कात्तिक २०१९ मा नेपाली कांग्रेसले पनि पञ्चायत विरुद्धको सशस्त्र संघर्षको नीति फिर्ता लियो ।

ओमजंगलाई सघाएको निहुँमा शाही सेनाले यता बझाङ, दार्चुला, बैतडी लगायत क्षेत्रका गाउँलेमाथि यातनाको कहर बर्सायो । त्यही यातनाको शिकार भएका थिए, चन्द्रदेव जोशीको परिवार पनि ।

‘पंचायती सरकारले चारैतिर मिलिट्री अप्रेशन चलायो, गाउँ-गाउँमा सैनिक पस्यो’ जोशी भन्छन्, ‘हामीलाई स्कुलमै बाँधेर भकुर्‍यो ।’

त्यसबेला शंकरपुर हाईस्कुलमा भारतबाट आएका शिक्षक रामदत्त तिवारी पनि थिए । सैनिकहरूले बाँधेर पिट्न थालेपछि उनले रुँदै ज्यान बचाइदिन आफूलाई आग्रह गरेको सम्झँदै जोशी भन्छन्, ‘उनले मलाई हेर्दै चन्द्रदेव मुझे मारने से रोको, मेरा एक हि लड्का हैं भने ।’

त्यस घटनामा बँचेका तिवारी र जोशी दुवै भारत पसे । तिवारी आफ्नो घर गए, जोशी पिथौरागढ पुगेर नेपाली कांग्रेसको पञ्चायत विरोधी आन्दोलनमा होमिए । र, पछि मन्त्री भए ।

‘बझाङ काण्ड’मा १६ जना मारिए । २५ जनाभन्दा बढी पक्राउ परे । पक्राउ पर्नेमा राजा महेन्द्रले विघटन गरेको संसद्का सदस्य नजराज जोशी पनि थिए । पक्राउ गरिएकामध्ये रामचन्द्र हमाल, लालबहादुर सिंह, धनबहादुर विष्ट र बमजंगबहादुर सिंहलाई जेलमै मारियो ।

जीतसिंह भण्डारीले आफ्नो पुस्तक ‘सुदूरपश्चिमको संक्षिप्त राजनीतिक इतिहास’मा सिद्धु कडायत, भीमबहादुर सिंह, शेरबहादुर थापा र बलदेव भट्टलाई डोटी लैजाने भन्दै शाही सेनाले बैतडीको जंगलमा मारेर ठूलो गुफामा फालेको उल्लेख गरेका छन् ।

डा. गौतमको ‘नेपालको प्रजातान्त्रिक आन्दोलन र नेपाली कांग्रेस भाग-३’ अनुसार, सेनाले रामबहादुर योगी, भीमबहादुर खत्रीलगायत ६ जनालाई डोटीको खप्तडमा उनीहरूलाई नै खाल्डो खन्न लगाई जिउँदै पुरेको थियो ।

भण्डारीका अनुसार, शाही सेनाले बझाङका गाउँमा पसेर लुटपाट समेत मच्चाएको थियो । बझाङमा पुगेजतिका सेनाका जवान र पुलिसले स्वास्नी मान्छेको हात, कानका हजारौं तोला सुनचाँदीका गहना र इज्जत समेत लुटेको चर्चा-परिचर्चा चलेको उनले उल्लेख गरेका छन् ।

बझाङी राज्यको लडाइँ कि प्रजातान्त्रिक संघर्ष ?

कुनै समय राज्यले विद्रोही करार गरेर मारेको ओमजंगबहादुर सिंहलाई करिब ६० वर्षपछि राज्यले नै सम्मानस्वरुप पदक दिने निर्णय गर्‍यो, जुन गृह मन्त्रालयको दराजमा छ

डा. राजेश गौतमका अनुसार, बझाङी राजाहरू २००७ सालदेखि नै प्रजातन्त्रको पक्षमा थिए । अदालती अधिकार खोस्ने कानुन आएपछि उनीहरू बीपीभन्दा बढी राजासँग रिसाएका थिए ।

गृष्मबहादुर देवकोटाले भने यो घटनाको मुख्य कारण बडाहाकिम थपलियाको अदूरदर्शी निर्णयलाई मानेका छन् । स्थानीय जनतालाई उद्धृत गर्दै उनले लेखेका छन्-‘शान्तिपूर्ण तरिका अपनाई उपस्थित जनसमूहलाई सम्झाउन-बुझाउनमा भन्दा गोली प्रहार गरी भीडलाई तितरवितर पार्ने नीति बडाहाकिमद्वारा अपनाइयो । जुन अदूरदर्शितापूर्ण नीतिले यो एउटा चुटाइको काण्ड मात्र बन्यो ।

बझाङ घटनाको स्वामित्व नेपाली कांग्रेसले लिएको बताउँदै डा. गौतमले लेखेका छन्- ओमजंगको आफ्नै कारण भए पनि यो घटनालाई कांग्रेसले चलाएको सशस्त्र संघर्षभन्दा बाहिर राखेर हेर्न मिल्दैन । त्यसमाथि अन्तर्राष्ट्रिय जगत र भारतले पनि यो घटनालाई महेन्द्रको दमनका रूपमा लिए । त्यसकारण यो प्रजातन्त्रका लागि नै भएको संघर्ष र बलिदानी हो ।

ओमजंग मारिएको दुईदिनपछि १३ असोज २०१९ मा अमेरिकाको ‘न्यूयोर्क टाइम्स’मा प्रकाशित समाचार पेश गर्छन्, गौतम । जसमा राजा महेन्द्रले शासनसत्ता हत्याएपछि विरोधमा उत्रिएकालाई मारेको उल्लेख थियो ।

छोराको हत्यापछि रामजंगसिंहले कांग्रेसको झण्डामुनि रहेर संघर्ष गर्ने घोषणा गरेका थिए । यो कारण पनि बझाङ घटनालाई प्रजातन्त्रिक संघर्ष मान्नुपर्ने गौतमको तर्क छ । रामजंगले देशमा प्रजातन्त्रको पुनस्र्थापनाका लागि छोराले मृत्युवरण गरेकोमा गर्व मानेको र अब कांग्रेसको झण्डामुनि रहेर संघर्ष गर्ने वक्तव्य ६ कात्तिक २०१८ मा लखनऊमा जारी गरेका थिए ।

उनले वक्तव्यमा लेखेका थिए- छोराको मृत्युमा जुन एउटा धक्का लाग्न गएको छ र हृदयमा जुन गहिरो घाउ बन्न गएको छ त्यो कहिल्यै पुरिने त छैन तैपनि देशमा एककोटि नेपालीलाई अधिकार र स्वतन्त्र दिलाउने पवित्र कार्यमा छोरा शहीद भएकोमा गर्व छ ।

डा. गौतमका अनुसार, ओमजंगलाई निर्वासित कांग्रेसी नेताहरूले मात्र नभई भारतीयले पनि सहयोग गरेका थिए । उत्तराखण्डको पिथौरागढ स्नातकोत्तर महाविद्यालयमा राजनीतिशास्त्रका प्राध्यापक रहिसकेका प्रभात उप्रेतीले आफ्नो एक संस्मरणमा ओमजंगलाई हातहतियार बनाउन फलाम सहयोग गरेको भनेर लेखेका छन् ।

‘त्यतिखेर ओमजंग नेपालमा बागी राजाका रूपमा थिए । उनका साथी मलाई केही न केही काम अह्राइरहन्थे । एक रात मैले पनि रोमाञ्चित हुँदै गाडीका पट्टा र अरू सामान बोकेको छु’ उप्रेतीले आफ्नो संस्मरण ‘मेरा पिथौरागढ’मा लेखेका छन् ।

ओमजंगले आफूविरुद्ध विद्रोह गरेपछि राजा महेन्द्रले उनका भतिज दीपकजंगलाई बझाङको राजा घोषित गरे । महेन्द्रले आफ्नी छोरी अधिराजकुमारी शान्ति राज्यलक्ष्मी र दीपकजंगको विवाह पनि गराए ।

महेन्द्रको परिवारमा भतिजाको वैवाहिक सम्बन्ध जोडिएपछि भारत निर्वासनमा रहेका रामजंग पनि नेपाल फर्किए । नेपाली सेनामा पूर्वबलाध्यक्ष रथी बनेका रामजंग खलकका तोरणजंगबहादुर सिंहका अनुसार २०२७ सालको अन्त्यतिर राजा महेन्द्रसँग माफी मागेर रामजंग नेपाल फर्किएका थिए ।

एकमात्र छोरा मरेको र राज्य पनि गुमेपछि निराश भएका रामजंग नेपालमै मर्ने भन्दै महेन्द्रसँग माफी मागेर फर्किएको बताउँछन् सिंह । ‘नेपाल फर्केपछि काठमाडौंमै बस्नुभएको उहाँ २०३६ सालमा दिवंगत हुनुभयो’, उनले भने ।

कुनै समय राज्यले विद्रोही करार गरेर मारेको ओमजंगबहादुर सिंहलाई करिब ६० वर्षपछि राज्यले नै सम्मानस्वरुप पदक दिने निर्णय गर्‍यो, जुन गृह मन्त्रालयको दराजमा छ ।

लेखकको बारेमा
सागर चन्द

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?