+
+
रचना रिमालको दशैं सम्झना :

‘नयाँ जामा लगाएर दौडिन्थें’

रचना रिमाल रचना रिमाल
२०७९ असोज ११ गते १४:४२

लहलह झुलेको धानको बाला, त्यसमा टप्किएको शीतको थोपा, खुला मौसम अनि शीतल हावा । दशैं भन्नासाथ मेरो स्मृतिमा त्यही दृश्यहरु ताजा भएर आउँछन् । बिहानीपख खेतमा अनन्तसम्म देखिने धान र त्यो शीतको थोपा मेरो लागि खास हो ।

दशैं मलाई एकदमै मनपर्ने पर्व हो । अहिलेभन्दा पनि बाल्यकालको दशैं धेरै रमाइलो हुन्थ्यो । बिहान उठ्नासाथ हामी पिङ भएतर्फ दौडन्थ्यौं । तर हामी पुग्दा पिङ खेल्ने केटाकेटीको भीड जम्मा भइसकेको हुन्थ्यो । आफ्नो पालो आउनै गाह्रो । अरुलाई धकेलेर, लडाएर नै पिङ खेल्ने तँछाडमछाड चल्थ्यो ।

असोज महिना सुरु भएदेखि नै हामी कहिले दशैं आउँछ भनेर अधैर्यसाथ पर्खिन थाल्थ्यौं । क्यालेन्डरमा दशैंको मितिमा रातो घेरा लगाइएको हुन्थ्यो । क्यालेन्डरको त्यो अंक हेरेरै पनि हामी खुसी हुन्थ्यौं । अनि कति दिनपछि दशैं आउँछ भनेर गन्ती गर्न थाल्थ्यौं ।

दशैं बिदामा गृहकार्य पनि धेरै दिइन्थ्यो । त्यसैले दशैंमा विन्दास रमाउनका लागि भनेर हामी विद्यालयमै हतारहतार गृहकार्य सक्थ्यौं । दशैंको बेला त परिवार, इष्टमित्रसँग रमाउने हो नि, किन गृहकार्य दिइएको होला ?

विद्यालयले दशैं बिदा दिएको दिन फुरुंग हुँदै घर आइन्थ्यो । अब हाँस्ने, खेल्ने, रमाउने समय भएकाले हामी बेपर्वाह मनोरञ्जनमा लाग्थ्यौं । जहाँ भन्यो, त्यही जान पाइने, रमाइलो गर्न पाइने, डाइस खेल्ने । त्यसबेलाको दशैंको मौसम नै रमाइलो थियो जस्तो लाग्छ । अहिले त त्यस्तो लाग्दैन ।

प्रायजसो दशैंमा घरमा टीका लगाएर मामाघर जाने गर्छन् । तर हामी भने पहिले मामाघरमा दशैं मनाएर घर आउने गर्थ्यौं । मेरो घर, झापाको चन्द्रगढीमा । अनि मामाघर पहाडमा । पहाडमै हजुरआमा, हजुरबा बस्ने भएकाले हामी पहिले त्यहाँ टीका थाप्न जान्थ्यौं । मामाघरबाट फर्किएपछि बल्ल घरमा टीकाको मेलोमेसो हुन्थ्यो ।

दशैं आउनुअघि नै कसले कस्तो लुगा किन्यो भन्ने कुरा सबैलाई चासो हुन्थ्यो । धेरैजसो बजार गएर लुगाफाटो किनेर आउँथे । अनि ‘मेरो लुगा यस्तो’ भन्दै देखाउन आउँथे । म भने उनीहरुले लुगा किनेको सुनेर खिन्न हुन्थें । किनभने त्यसबेलासम्म हाम्रो लागि नयाँ लुगा किनिएिकै हुँदैनथ्यो ।

साथीहरुले नयाँ लुगा देखाउन थालेपछि म घरमा गएर कराउँथें । किन हाम्रो लागि अहिलेसम्म लुगा नकिनेको ? किन ढिला गरेको भनेर गुनासो गर्थें । बल्लतल्ल लुगा किनिन्थ्यो । दशैं अगाडिदेखि हामी यस्तो लुगा किन्ने, उस्तो किन्ने भनेर बसेका हुन्थ्यौं । तर पछि त्यस्तो लुगा नै पाइँदैनथ्यो ।

बाल्यकालमा आफूले भनेजस्तो नपाए पनि नयाँ लुगा भएकाले हामी फुरुंग हुन्थ्यौं । दशैंमा मलाई ममीले धेरैजसो जामा किनिदिनुहुन्थ्यो । नयाँ जामा लगाएर म खुसीले गद्गद् हुँदै दौडिन्थें । अरुको घरघरमा पुगेर आफ्नो लुगा देखाउँथें । सबैले फुर्काउँथे, ‘आहा, कस्तो राम्री देखिएकी ।’ म मख्ख पर्थें । आफूलाई साँच्चै राम्री देखिएको छ भनी मन खुसी हुन्थ्यो ।

नयाँ लुगा मात्र होइन, टीका लगाउन पाउँदा पनि बेग्लै खुसी लाग्थ्यो । दक्षिणा पनि विशेष लाग्थ्यो । जति धेरै घरमा टीका लगाउन गयो, उत्ति नै बढी दक्षिणा हुने । त्यही भएर हामी सकेसम्म कुनै पनि घर नछुटाई टीका लगाउन जान्थ्यौं ।

टीका लगाइरहँदा हाम्रो ध्यान दक्षिणामा हुन्थ्यो । कसले कति दक्षिणा पाउँछ भनेर हेथ्र्यौं । मान्छे अनुसार दक्षिणा पनि फरकफरक हुन्थ्यो । सबैलाई किन बराबर दक्षिणा नदिएको होला भनेर हामी चित्त दुखाउँथ्यौं ।

ठूलाहरुलाई दक्षिणा धेरै दिने र हामीलाई थोरै दिने भएकाले म दक्षिणा पुगेन भनेर पनि घुर्की लगाउथें । तर दशैंमा पाएको दक्षिणा म जथाभावी भने खर्च गर्दिनथें । जतन गरेर राख्थें र पछि कापी, पेन्सिल किन्ने गर्थें । तर बेलुन मनपर्ने हुँदा त्यो चाहिं किन्थें ।

त्यो बेलाको दशैं कति रमाइलो हुन्थ्यो । अहिले किन त्यस्तो रमाइलो नभएको होला ?

(रचनासँग मनिषा थापाले गरेको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?