+
+

अनुगमन टोली पुग्दा व्यापारीले सटर लगाएपछि…

महानगर मूकदर्शक

अमृत चिमरिया अमृत चिमरिया
२०७९ असोज १२ गते २०:१३

१२ असोज, काठमाडौं । बुधबार उपमेयर सुनिता डंगोलको नेतृत्वमा काठमाडौं महानगरपालिकाको टोली कालीमाटी-कुलेश्वर क्षेत्रको बजार अनुगमनमा पुग्दा अनौठो दृश्य देखियो । अनुगमन टोली कालीमाटी क्षेत्रमा पुग्दा-नपुग्दै ‘जय दुर्गा स्टोर्स’मा हतार-हतार सटर लाग्यो र ताल्चा ठोकियो । मुकेश खाद्य स्टोर्स पनि त्यसैगरी बन्द भयो ।  कतै आधा सटर तानेर व्यवसायीहरु चिहाइरहेका थिए ।

अनुगमन टोली आएको थाहा पाएलगत्तै यही शैलीमा धेरै पसलका सटरहरु बन्द भए । तर, रोचक के देखियो भने धमाधम सटर लाग्दा पनि अनुगमन टोली मूकदर्शक बन्यो । कुनै एक्सन लिन अघि सरेन ।

काठमाडौं महानगरपालिकाले मंगलबारदेखि चाडपर्व लक्षित बजार अनुगमन गरिरहेको छ । तर, महानगरको अनुगमन कर्मकाण्डी मात्रै देखिएको छ । कालीमाटीस्थित फलफूल तथा तरकारी बजार र खाद्यान्न पसलहरुमा अनुगमन गर्दा पनि अनुगमन टोलीअघि व्यापारीहरू हाबी देखिए ।

अनुगमन टोलीकै अघि हाक्काहाक्की सटर लाग्दा पनि  तत्काल कारबाही गर्न महानगरको टोली अग्रसर देखिएन ।  महानगरकी उपमेयर डंगोलको नेतृत्वमा बजार अनुगमन भइरहँदा व्यापारीहरु नै सटर बन्द गरेर रमिता हेरिरहेका थिए ।

‘यो महानगरको एक दुई दिनको रमिता हो, वर्षेनि दशैं अगाडि अनुगमन गर्छन्,  हामीलाई दु:ख दिनको लागि मात्रै गर्छन्’ अनुगमन टोली आएपछि हत्तपत्त सटर बन्द गरेका एक व्यवसायीले भने,’तनाव मात्रै दिने भएकाले सटर बन्द गरेर हिंडेको हुँ ।’

अनुगमन टोलीकैअघि सटर बन्द गर्दा पनि कुनै ‘एक्सन’ नलिएकोबारे सञ्चारकर्मीले सोधेको जिज्ञासामा उपमेयर डंगोलले ‘कारबाही गर्ने’ बताएर टारिन् ।

‘कतिपय ठाउँमा महानगरपालिका अनुगमनमा आयो भनेपछि गोदामहरु सटर लगाएर भागेको देखियो’ उनले थपिन् ‘उहाँहरु आज भागेर केही हुन्न । हामी निरन्तर अनुगमन गर्छौं, गलत गर्नेलाई कारबाहीको दायरामा ल्याउँछौं ।’

भेटियो खान नहुने खाद्यान्न र तेल

महानगरको टोलीले बुधबार चार ठाउँमा अनुगमन गरेको छ । अनुगमनको क्रममा महानगरले ‘डी एन्ड डी खाद्य सप्लायर्स’को ७७ बोरा सामान जफत गरेको छ  ।

सप्लायर्सबाट म्याद गुज्रेको  मस्यौरा, चामल, सुप,  तेल, साबुन, चना गरी ७७ बोरा जफत गरिएको महानगरका अनुगमन अधिकृत पुष्कर खड्काले जानकारी दिए ।

उनले सप्लायर्सले म्याद सकिएको, ड्यामेज भएको सामान गोदाममा राखे पनि बिक्री वितरण भने नगरेको पाइएको बताए । जफत भएका सामग्रीहरुलाई ल्यान्डफिल साइटमा लगेर नष्ट गर्ने महानगरको तयारी छ ।

यस्तै कालीमाटीकै संगम स्विट्सलाई महानगरले चेतावनी दिएर छोडेको छ । अनुगमनमा भान्सामा प्रयोग भएको तेल अशुद्ध भेटिएको थियो ।

महानगरको विज्ञसहितको खाद्यको टोलीले भान्सामा प्रयोग भएको तेल अनुगमनस्थलमै परीक्षण गरेको थियो । महानगरपालिकाका अनुसार परीक्षण गर्दा प्रयोग नै गर्न नमिल्ने तेल प्रयोग भएको छ । टोलीको नेतृत्व गरेकी उपमेयर डंगोलले अब आइन्दा यस्तो प्रयोग गरे कारबाही गर्ने चेतावनी दिएकी थिइन् ।

दुई दिनदेखि भएको अनुगमनमा महानगरले गल्ती भेटिए पनि कारबाही गर्न सकेको छैन भने अनुगमन प्रभावकारी नदेखिएको अनुगमनमै सहभागी सदस्यहरु बताउँछन् ।

नेपाल उद्योग वाणिज्य संघ बागमती प्रदेशका उपाध्यक्ष दुर्गाराज श्रेष्ठ हुल लगाएर हिंड्दैमा अनुगमन प्रभावकारी नहुने बताउँछन् ।

‘अनुगमन गर्दा प्राविधिक टोली र महानगरको टोली मिश्रित भएर शान्तसँग गर्नुपर्नेमा एउटै पसलमा १० वटा क्यामेरा तेर्साएर अनुगमन हुँदैन’ श्रेष्ठ भन्छन्,’अहिले त व्यापारीलाई आतंकित गराउने शैलीमा अनुगमन भइरहेको छ ।’

तस्वीरः शंकर गिरी

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?