+
+

किसानलाई वितरण गरिने गहुँको बिउ किराले खायो

शैलेन्द्र महतो शैलेन्द्र महतो
२०७९ असोज १३ गते १६:११

१३ असोज, जनकपुरधाम। धनुषाको बटेश्वर गाउँपालिकामा किसानलाई बाँड्न खरिद गरेर ल्याएको गहुँको बिउँ किराले खाएको छ । ससर्त अनुदान तर्फ २० लाख रुपैयाँ बजेटमा गत पुस महिनामा खरिद गरेको मध्ये ४२ बोरा गहुँको बिउ किराले खाएको हो ।

गाउँपालिका कार्यालयको भवनको एक कोठामा प्रति बोरा ४० किलोको दरले झण्डै १७ क्वीन्टल गहुँ थन्किएको हो । सयममै वितरण गर्न नसक्दा गहुँको बिउ किराले खाएको गाउँपालिका कार्यालयकी कृषि शाखा संयोजक सिर्जना लामाले बताइन् ।

कार्यालयका लेखा अधिकृत सुमन पुरीका अनुसार ससर्त तर्फ दुई चरणमा २० लाखको गहुँ खरिद गरिएको थियो । यधपी कति परिमाणमा कहाँबाट खरिद गरिएको भन्ने जानकारी उनले दिन मानेनन् ।

गहुँ बाली प्रवर्द्धन कार्यक्रम निर्देशिका, पकेट विकास कार्यक्रम अन्तर्गत खरिद गरेको गहुँको बिउ ५० प्रतिशत अनुदानमा किसानलाई वितरण गर्नु पर्ने थियो । तर तत्कालिन गाउँपालिका आध्यक्ष डम्बर बहादुर राउतले पहिलो चरणमा खरिद गरि ल्याएको गहुँको बिउ निर्देशिकाको पालना नगरी मनपरी ढंगले प्रायः आफ्ना निकटलाई बढी परिमाणमा निःशुल्क रुपमै बाँडको कार्यालयका एक कर्मचारीले बताए ।

‘कृषि शाखाले व्यवस्थित तरिकाले गहुँ बाँड्नु पर्ने थियो । तर शाखासँग कुनै समन्वय नगरी तत्कालिन प्रमुख प्रशासकीय अधिकृत रामाजी जोसी र गाउँपालिका अध्यक्ष डम्बर बहादुर राउतले मनपरी ढंगले खरिद गरी मनपरी वितरण गर्नुभयो,’ कार्यालयका ती कर्मचारीले भने, ‘दोश्रो चरणमा गहुँ खरिद गरेर ल्याउँदा गहुँ छर्ने सिजन अफ भइसकेको थियो । त्यतिकै गोदाममा छाडदियो । किरा लाग्यो ।’

सुरुपमा वडाहरुलाई पनि केही मात्रामा गहुँको बिउ बाँड्ने जिम्मा दिएको थियो । केही किसनालाई ५० किलो र केहीलाई १५ किलोको दरले वितरण गरियो । धेरै किसानले गहुँ नै पाएनन् ।

तत्कालीन गाउँपालिका अध्यक्ष राउत ८ लाख घुस काण्डमा मुछिएका छन् । तत्कालीन प्रशासकीय अधिकृत जोसी अन्य एक पालिकामा हुँदा भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेपछि केही महिना अघि निलम्बनमा परेका छन् ।

नवनिर्वाचित गाउँपालिका अध्यक्ष रामअशिष महतोले आफू निर्वाचित भएर आएको केहि महिनापछि मात्र त्यो गहुँ बिउको विषयमा जानकारी भएको प्रतिक्रिया दिए । उनले गहुँ किराले खाएको घटनाको जवाफदेही तत्कालिन गाउँपालिका अध्यक्ष राउत न‌ै हुने बताए ।

लेखकको बारेमा
शैलेन्द्र महतो

महतो अनलाइनखबरका जनकपुर संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?