+
+

दशैंमा हजुरबुबालाई नातिनीको चिठी

प्राञ्जली पौडेल प्राञ्जली पौडेल
२०७९ असोज १४ गते १२:३९

यदि कसैको सम्झनामा बगेका आँशुहरु सम्हालेर भर्‍याङ बनाउन सकिने भए म त्यो भर्‍याङ स्वर्ग जाने बाटोमा राख्ने थिए । जतिबेला तपाईंको अभाव खट्किन्छ, न्यास्रो लाग्छ त्यहीबेला सुटुक्कै कसैले थाहै नपाई  धीत मरुञ्जेल तपाईंको काखमा बसेर फर्किन्थे ।

मेरो प्यारो हजुरबुबा स्वर्गका दूतहरु पृथ्वीमा आउन लागेको बेला खबर पठाउनु, मेरो नातिनीले मेरो लागि लेखेको चिठी लिएर आउनु भनेर …।  म यहाँ सुखी छु, चाहेको कुराहरु लगभग पुगेका छन् । तपाईंले भने जस्तै यहाँ मलाई माया गर्नेहरु प्रशस्तै छन् । जिन्दगीदेखि निराश, दु:खी छैन म । तर तपाईंलाई भन्नैपर्छ तपाईबिना खुसी पटक्कै छैन म । तपाईंले आफ्नो  सबैभन्दा मूल्यवान सम्पत्ति जसरी जतन गरेर मलाई माया गर्नुभयो । सायद त्यही मायाको अभाव खट्किदो हो  बेलाबेला । पैतालामुनि हत्केला राखेर हुर्काएको भन्ने वाक्य कसैलाई भन्नुपर्दा त्यो पहिलो  श्रेय तपाईंलाई जान्छ मेरो प्यारो हजुरबुबा ।

तपाईंले मलाई आफूलाई आउने सबै कुरा सिकाएर जानुभयो ।  जनै काट्न,  गीता, देवीभगवत्, कृष्णचरित्र, रामायण पढ्न । संस्कृतको श्लोक उच्चारण गर्न । घरवरिपरि फूलहरु रोप्न, गोड्न । गाई, कुकुर, बिरालो अनि बाख्राको पाठालाई माया गर्न । थर्मामिटरबाट पारो नाप्न, प्रेसर नाप्न, घाउमा ब्यान्डेज बान्न, हात खुट्टा मर्किंदा काम्रो बान्न, गुन्द्रुकको तरकारी र अमिली भ्यान्टाको अचार मीठो बनाउन ।  तपाईंले जानेका, तपाईंले गरेका सबै कुरा मलाई सिकाएर जानुभयो । जुन अझै पनि म धेरथोर जान्दछु । मरेर जानेहरुले आफ्ना सन्न्ततिलाई छोडेर जाने कुरा यस्तै हुदाँ हुन् आफूले जानेका सिकेका कुराहरु ।

तर मैले तपाईबाट यति कुरा मात्रै सिकिन, तपाईंले भोगेको पूरा जिन्दगीबाट मैले सङ्घर्ष गर्न, हिम्मत नहार्न र मिहिनेती बन्न सिकें । म कहिलेकाहीं सोच्छु कसरी तपाईले २० वर्षसम्म आफ्नो प्यारालाइज भएर कुजो शरीर लिएर पनि मुस्कुराउन सक्नुभयो होला ? आमा कहिलेकाहीं छोरा, नातिको कुरा लिएर चिन्तित हुँदा सम्झाएको सम्झन्छु, तपाईंमा कतिधेरै आत्मबल थियो । परिस्थितिलाई सहजै स्वीकार गर्न सक्ने क्षमता थियो ।

मलाई  कहिले मेरो हजुरबुबा रिसाउनु हुन्छ, झर्किनु हुन्छ भन्ने ज्ञान भएन, यसबाट तपाईं कति धेरै सहनशील हुनुहुँदो रहेछ भन्ने लाग्छ अहिले । मेरो जिन्दगीले २१ वर्षको यात्रा गर्दैछ । मैले १९ वर्ष तपाईंको काखमा बसेर पूर्ण जिन्दगी बिताएँ । मेरो पहिलो बोली पनि बुबाबाट नै सुरु भएको रे । मैले पहिलोपल्ट कलम समाउन पनि तपाईंबाटै सिकें । क, ख, ग घ…… सानो खालको a, b, c, d….. ठूलो खालको A, B, C, D ….. दुनोट, भाग, जोड, घटाउ सबै तपाईंबाटै सिकें । पहिलोपल्ट आफ्नो नाम लेख्न र भन्न पनि । मलाई अझै याद छ कसरी दलानको खाटमा तपाईंको काखमा बसेर लेघ्रो पसारीपसारी लेखनाथ पौडेलको ‘उपकारी गुणी व्यक्ति निहुरन्छ निरन्तर, फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ  ?’ भन्दै भट्याएको ।

मलाई अल्छी लाग्दा तपाईं मलाई आफ्नो बाल्यकालको आफ्नी हजुरआमाको प्यारो नाति भई खाएको, तिम्रो उमेरमा त, म झाँक्री ओडारमा गाईवस्तु लिएर एक्लै बसेको, कसरी दोभानको दहमा बाकटे हानेकोदेखि  लिएर, आफू सेना हुँदाको जागिरे जीवनसम्मको कुरा सुनाउनुहुन्थो । मलाई तपाईंको जागिरे जीवनको कथा सुन्न साह्रै रमाइलो लाग्थो । नेपालगञ्जको गर्मी खप्न नसकेको कुरा, अनि महेन्द्र सरकार (त्कालीन राजा महेन्द्र शाह) सिकार खेल्न आउँदा, उहाँसँगै जङ्गल घुमेको कुराहरु । कसरी आर्मी ब्यारेक  छेउछाउको मान्छे बिरामी हुँदा पनि औषधि खान नमान्दा मलाई झारफुक पनि गर्न आउँछ भन्दै फुकेजस्तो गरे औषधि खुवाई ठीक बनाएका कुराहरु….।

कति धेरै कुरा छन्, तपाईंलाई सुनाउनुपर्ने, कति खुसीका कुरा पनि छन् । सुनेर तपाईं पनि पक्कै खुसी हुनुहुने छ ।  सबै सुनाउन मन थियो  तर स्वर्गका दूतहरु चिठी लामो भयो भनेर लैजान मान्दैनन् कि भन्ने डर लागेर चिठी छोट्याउँदै छु । अहिले दशैं लाग्यो हिजोबाट घटस्थापना सुरु भयो तपाईंले पनि थाहा पाइसक्नुभयो होला ? यसरी दशैं नजिकिंदै गर्दा तपाईं झन् धेरै यादमा आइराख्नु हुन्छ । घटस्थापनादेखि दशैंसम्म सँगै मनाएका दिनहरु । अरुहरुले दशैंमा तास खेलेको देख्दा मलाई पनि तपाईंसँगै बसेर चलिफलास खेल्न मन लाग्छ ।

थाहा छ, नफर्किने बाटो गएकाहरु फर्किएर आउने छैनन् । हाम्रा सबै कुराहरु प्रारब्धमै निर्धारित भएका हुन्छन् । सबैकुरा थाहा भएर पनि कहिलेकाहीं यस्तो नभइदिए, भेट्न पाउने भए जस्तो लागिरहन्छ । हुन त यी मनका भावनाहरु, एकैछिनमा यथार्थको धरातलमा उभिएर विचार गर्नुपर्छ । तर पनि तपाईंलाई मेरो बिन्ती छ, सपनामै किन नहोस्  यो दशैं फेरि सँगै मनाउँ हामी पहिलेको जस्तै । अनि जाँदाजाँदै तपाईंसँग मेरो गुनासो पनि छ, आजकाल सपनामा भेट नभएको धेरै भयो, लगभग महिनौं जस्तो फुर्सद छैन कि कसो ?

अन्त्यमा उही तपाईंकी प्राणभन्दा प्यारी नातिनी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?