+
+

साबा महिला च्याम्पियनसिप : नेपालको गुमेको अवसर

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७९ असोज १४ गते १७:०७

१४ असोज, काठमाडौं । दक्षिण एसियाको बलियो टोली भारत सहभागी नभएपछि नेपाली महिला बास्केटबल टिमलाई यस पटक साबा महिला च्याम्पियनसिपको उपाधि जित्ने राम्रो अवसर थियो ।

माल्दिभ्स हुने प्रतियोगिताका लागि तीन महिना तयारी गरेको नेपालले स्वर्ण जित्ने लक्ष्य राखेको थियो । तर यस पटक पनि नेपाल उपविजेता बन्यो ।

बिहीबार माल्दिभ्सको मालेमा सम्पन्न दोस्रो संस्करणको च्याम्पियनसिपमा श्रीलंकाले उपाधि रक्षा गर्‍यो भने नेपाल दोस्रो पटक पनि उपविजेता बन्यो ।

दक्षिण एसियाका चार राष्ट्र सम्मिलित साबा महिला च्याम्पियनसिपमा नेपालले तीन खेल खेल्दा दुई खेल जित्यो भने एक खेलमा पराजित भयो ।

तर नेपालले पराजित गरेको टिम श्रीलंका भने च्याम्पियन भयो । नेपाल पहिलो खेलमा माल्दिभ्ससँग पराजित हुनु नै उपाधिबाट वञ्चित हुनुको मुख्य कारण बन्यो ।

दुई खेल नै जितेको श्रीलंका भने च्याम्पियन भयो । समान दुई जित र एक हारको नतिजा निकालेको नेपाल र श्रीलंकाको समान चार अंक नै थियो । तर धेरै अंक स्कोर गरेको कारण श्रीलंका च्याम्पियन बन्यो ।

श्रीलंकाले लगातार दोस्रो पटक उपाधि जित्दा नेपाल लगातार दोस्रो पटक उपविजेता बन्यो ।

यसअघि सन् २०१६ मा नेपालमै भएको पहिलो संस्करणमा पनि भारत सहभागी थिएन भने पाँच टिम सम्मिलित च्याम्पियनसिपमा श्रीलंका चार खेल जित्दै च्याम्पियन बनेको थियो । त्यतिबेला श्रीलंकासँग मात्र पराजित भएको नेपाल उपविजेता बनेको थियो ।

पहिलो पटक सिनियर टिममा परेका अमिसा घले र विनामणि योन्जनले यसै च्याम्पियनसिपमा मार्फत डेब्यु गरे । यस्तै १३औं सागमा थ्री बाई खेलेकी गरिसा सिलवाल र मिना गुरुङले पनि फुलकोर्टमा यही च्याम्पियन सिपमा डेब्यु गरिन् । नयाँ खेलाडीको आगमन नेपालको लागि सुखद संकेत देखिएको छ । उनीहरुले यस पटक अनुभव बटुलेका छन् । जुन आउने अन्तर्राष्ट्रिय प्रतियोगितामा काम लाग्नेछ ।

तर न्यून लगानी र छोटो समयको तयारीमा पनि नेपाल दोस्रो हुनु चानचुने कुरा होइन । नेपालले श्रीलंका जस्तो टिमलाई पराजित गर्‍यो । तर नेपाल अभागी बन्दा त्यही श्रीलंका च्याम्पियन बन्यो ।

झण्डै तीन वर्षपछि अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको नेपालले यस पटक मिश्रित अनुभव हासिल गरेको मुख्य प्रशिक्षक विकास शाहीले बताए ।

‘तीन वर्षपछिको यो भ्रमण राम्रो भयो । हाम्रो लागि यस पटक मिश्रित अनुभव रह्यो । किनकि हामीले पहिलो पटक श्रीलंकालाई हरायौं । माल्दिभ्ससँग आफ्नै गल्तीहरुले गर्दा पराजित भयो’, शाहीले माल्दिभ्सबाट भने ।

माल्दिभ्सिसँग हारले धक्का

भारतले अन्तिम समयमा नाम फिर्ता लिएपछि साबा महिला च्याम्पियनसिपमा नेपाल, श्रीलंका, माल्दिभ्स र भुटान गरी चार टिमले मात्र सहभागी थिए । सिंगल राउण्ड रोविनका आधारमा भएको प्रतियोगितामा शीर्ष स्थानमा रहने टिम नै च्याम्पियन बन्ने प्रावधान थियो ।

सन् २०१६ को साबाको उपविजेता अनि २०१९ मा नेपालमै भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा ऐतिहासिक रजत जितेको नेपाली टिम यसपटक स्वर्ण जित्ने लक्ष्य राखेका थिए ।

माल्दिभ्स जानुअघि कप्तान सदिना श्रेष्ठले पनि यसअघि रजत जितिसकेकोले पनि यस पटक जसरी पनि स्वर्ण नै जित्ने गरी खेल्ने बताएका थिए ।

२०१९ सागमा नेपालले माल्दिभ्सलाई नै सेमिफाइनलमा हराएर फाइनल पुगेको थियो । तर भारतसँग फाइनलमा पराजित भएको थियो । त्यसैले यस पटक भारत नहुनु र बाँकी विपक्षी नेपालकै स्तरको हुनुले पनि नेपालले ठूलो आश राखेको थियो ।

तर पहिलो खेलमै नेपाल माल्दिभ्ससँग पराजित भयो । रोमाञ्चक खेलमा नेपालले अग्रता बनाउँदै लगेपनि अन्तिम तिर चुक्यो । नेपालले ४७-४६ को अग्रता लिएको बेला अन्तिम समयमा माल्दिभ्सले कमब्याक गर्दै ५ अंक जोड्यो । माल्दिभ्सका लागि थ्री प्वाइन्ट स्कोर गर्दै नेपालमाथि अग्रता बनाएको थियो ।

च्याम्पियनसिपको पहिलो खेलमै पराजित भएपछि नेपाललाई धक्का लाग्यो । त्यसपछि नेपालले उपाधि जित्न बाँकी दुई खेल जित्दै अरु नतिजामा पनि भर पर्नुपर्ने थियो । नेपालले दोस्रो खेलमा श्रीलंकालाई ५५-४९ ले हराएको थियो ।

यस्तै तेस्रो खेलमा भुटानलाई ६५-२६ ले सहजै हराएको थियो । यस्तोमा नेपालले उपाधि जित्न श्रीलंकाले माल्दिभ्सलाई हराउनुपर्ने थियो भने स्कोर पनि कम हुनुपर्ने थियो । तर श्रीलंकाले माल्दिभ्सलाई ७२-५९ ले पराजित गर्दा नेपाललाई झन् घाटा लाग्यो ।

समान अंक भएपनि धेरै अंक स्कोर गरेको आधारमा श्रीलंका नेपाललाई पछि पार्दै विजेता बन्यो । नेपालले नै पराजित गरेको टिम श्रीलंका च्याम्पियन बन्दा नेपाल भने पेरि एक पटक अभागी सावित भयो ।

‘माल्दिभ्ससँग पराजित हुँदा हाम्रो स्वर्ण पदक गुम्यो’, प्रशिक्षक शाहीले भने ।

प्रशिक्षक शाहीले कुनै प्रतियोगिता नै नखेली ठूलो प्रतियोगिता खेल्दा म्याच अभ्यासको कम् महसुस भएको बताए । ‘मैले पहिले नै भनेको थिएँ कि श्रीलंका, माल्दिभ्स र नेपाल हामी सबै लगभग समान छौं । तर हाम्रा खेलाडीहरूले कुनै प्रतियोगिता खेलेनन् । हामीलाई म्याच अभ्यासको कमीका भयो ।’

प्रशिक्षक शाहीले अनुशा मल्ल र प्रतिक्षा मगर र नयाँ खेलाडीले पनि राम्रो खेलेको बताए । ‘युवा खेलाडीहरूले राम्रो खेले अनुशा मल्ल र प्रतिक्षा मगरले वास्तवमै राम्रो खेले’, शाहीले भने ।

फेरि दोस्रो भएपनि नेपाली टिमकी सदस्य अनुशा मल्लले यस पटक स्वर्ण जित्ने अवसर भएपनि अभागी भएको बताए ।

लगानी र तयारी खै !

नेपालमा बास्केटबलमा लागनी खासै छैन । नेपाली खेलकुदकै समस्या नै हो प्रतियोगिता आएपछि तात्ने र केही समय तयारी गरेर फल खोज्ने । बास्केटबलमा पनि त्यस्तै भयो । गत वर्ष मात्रै नेपालको पुरुष टिमले बंगलादेशमा भएको साबा च्याम्पियनसिपमा भाग नै लिएन ।

अहिले कम्तीमा महिला टिमले तीन महिना तयारी गरेर प्रतिस्पर्धा गर्दै रजत पदक जित्न सफल भएको छ । लगानी र तयारीको हिसावले हेर्ने हो भने यो नेपालको स्तर भन्दा धेरै राम्रो हो ।

पहिलो खेलमै माल्दिभ्ससँग पराजित हुनु नेपालका लागि दुर्भाग्य नै रह्यो । नत्र नेपालले श्रीलंकामाथि पनि सानदार जित निकाल्यो । भुटानलाई सहजै हरायो । माल्दिभ्ससँग हार्नु नै उपाधिबाट टाढिनुको कारण बन्यो ।

तर उपाधि जित्नका लागि यति लगानीले मात्र पुग्दैन ।

‘सुविधा छैन । लगानी शून्यजस्तै छ । प्रतियोगिताअघि मात्र तयारी गरेर नतिजा खोजेर मात्र हुँदैन’ खेलाडीहरुको यस्तै गुनासो हुने गर्छ ।

प्रशिक्षक शाहीले भनेजस्तै नेपालले झण्डै तीन वर्षपछि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नुअघि जम्मा तीन महिनाको तयारी गरेको थियो । अनि कुनै अभ्यास खेल पनि खेल्न पाएन । खेलाडी र प्रशिक्षकको मिहिनेतले नै नेपालले रजत पदक जित्न सफल भएको हो ।

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?