+
+

ब्राजिलमा राष्ट्रपतीय चुनावमा धाँधलीको आरोप, ट्रम्पको बाटोमा बोल्सोनारो

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज १६ गते १९:४६

१६ असोज, काठमाडौं । ब्राजिलका नयाँ राष्ट्रपति चयनका लागि मतदान भइरहेको छ । राष्ट्रपतीय निर्वाचनका लागि जारी मतदानको नतिजाले वर्कर्स पार्टीका लुला दा सिल्भा र सोसल लिबरल पार्टीका नेता तथा ब्राजिलका वर्तमान राष्ट्रपति जायर बोल्सोनारोमध्ये एकलाई विजयी घोषणा गर्नेछ । प्रायः सबै सर्वेक्षणले बोल्सोनारोको हारको भविष्यवाणी गरिरहेको छ ।

अक्टोबर १ शनिबारको अन्तिम मतदानमा बोल्सोनारोले ३९ प्रतिशत र उनका प्रतिद्वन्द्वी लुला दा सिल्भाले ५४ मत पाउने प्रक्षेपण गरिएको छ । यो भिन्नता अझै बढ्न सक्छ ।

हारको डरले बोल्सोनारोले आफ्ना समर्थकहरूलाई हिंसाका लागि उक्साउन थालेका छन् । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थक बोल्सोनारोले उनकै शैली पछ्याइरहेका छन् । उनको कदमले २२ करोड जनसंख्या भएको ब्राजिललाई अप्ठेरोमा पार्नेछ । यसले २२ करोड जनसंख्या भएको ल्याटिन अमेरिकाको सबैभन्दा ठूलो देश ब्राजिललाई युद्धस्थलमा परिणत गरिदिएको छ । 

नतिजा आउन केही दिन कुर्नुपर्ने हुनसक्छ । जितका लागि पहिलो राउण्डमा ५० प्रतिशत मत प्राप्त गर्न आवश्यक छ । यसो हुन नसके शीर्ष दुई उम्मेदवारलाई पुनः मतदान गर्नुपर्ने हुन्छ र अन्तिम नतिजा आउन समय लाग्न सक्छ ।  

निर्वाचन समितिका पदाधिकारीहरू आफ्ना प्रतिद्वन्द्वी लुइज इन्सियो लुला दा सिल्भाका समर्थक रहेको बोल्सोनारोको आरोप छ । उनले लुला पक्षधरले षड्यन्त्र गरेर भोटिङ मेसिन बिगारेको आरोप लगाइरहेका छन् । ब्राजिलमा सन् १९९६ देखि विद्युतीय भोटिङ मेसिनबाट मतदान हुँदै आएको छ । तर, यसअघि भोटिङ मेसिनको बारेमा कहिल्यै शंका उठाइएको थिएन ।

राष्ट्रपति पदका उम्मेदवार वर्कर्स पार्टीका लुला डा सिल्भा भ्रष्टाचार अन्त्यको अभियानमा सक्रिय छन् । बोल्सोनारोको पालामा भ्रष्टाचार बढेको उनको आरोप छ । त्यसो त, लुला पनि यसअघि राष्ट्रपति भइसकेका व्यक्ति हुन् र उनले भ्रष्टाचारका कारण राजीनामा दिनुपरेको थियो ।

यस पटक ब्राजिलमा राजनीतिक घृणा यति बढ्यो कि बोल्सोनारो र लुला दुवै बुलेट प्रुफ ज्याकेट लगाएर चुनावी अभियानमा सक्रिय हुनुपर्‍यो । हालै लुलाका एक समर्थकलाई राष्ट्रपति बोल्सोनारोका समर्थकले छुरा प्रहार गरी हत्या गरेका थिए । बोल्सोनारोमाथि पनि चुनाव प्रचारका क्रममा आक्रमण भएको थियो ।

ब्राजिलमा गुण्डागर्दीमा सक्रिय गिरोहका कारण अपराध बढ्ने गरेको छ । यस्ता गिरोहलाई चुनावका क्रममा राजनीतिक दलहरूले प्रयोग गर्छन् र हिंसा फैलन्छ । चुनावका बेला ठूला राजनीतिक दलहरूले हिंसा फैलाउन र मतदातालाई आफ्नो पक्षमा पार्न यी गिरोहहरूलाई परिचालित गर्छन् । यो निर्वाचनको प्रचारप्रसारका क्रममा २५० भन्दा बढी राजनीतिक हिंसाका घटना भएका छन् र यसक्रममा २ हजारभन्दा बढी पक्राउ परे ।

भास्करबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?