+
+

दुःखको कारण नबनोस् मदिरा र मासु

डा. देवेन्द्र आचार्य डा. देवेन्द्र आचार्य
२०७९ असोज १७ गते ६:५८

कैलाली लम्कीका ४५ वर्षीय एक पुरुषले आफ्नो परिवारको दैनिक खर्च अटो रिक्साबाट हुने कमाइले चलाउँदै आएका थिए । गत वर्ष त्यही अटो रिक्सा लिएर उनी श्रीमती र छोरासहित दशैंको टीका थाप्न ससुराली गए । आफन्तहरु सँगै बसेर खानपिन गरे । उनले मदिरा पनि सेवन गरे । साँझ घर फर्किने क्रममा आफैंले अटो रिक्सा चलाए । तर सन्तुलन गुमाउँदा अटो रिक्सा अनियन्त्रित हुँदै विपरीत दिशाबाट आइरहेको ट्रकसँग ठोक्कियो । उनलाई गम्भीर अवस्थामा कोहलपुर मेडिकल कलेजको इमर्जेन्सी कक्षमा ल्याइयो । उनको पेटमा ठूलो चोट लागेको थियो । अन्ततः उपचारको क्रममा मृत्यु भयो । दशैंको खुसीको माहोल एकाएक शोकमा बदलियो । परिवारको एउटा बलियो खम्बा नै ढल्यो ।

****

बर्दियाका एक जना ५५ वर्षीय पुरुषले पनि दशैंको दिन रातिको समयमा आफन्तको घरमा टीका थाप्न गएको बेला मदिरा सेवन गरे । पैदल हिँडेर फर्किंदै गर्दा बाटोमा पर्ने कल्भर्टबाट तल खसे । उनलाई स्थानीयले उद्धार गरेर अस्पताल ल्याए । उनको मेरुदण्ड पूर्णरुपमा भाँच्चिएको थियो । उनको ज्यान त जोगियो तर कम्मर मुनिको भाग जिन्दगीभर नचल्ने भयो ।

****

त्यस्तै दाङमा गत वर्ष तिहारको बेला देउँसी खेल्ने क्रममा मदिरा सेवन गरेर मातेका समूहबीच झगडा हुँदा एक जना २४ वर्षीय युवकको टाउकोमा गम्भीर चोट लाग्यो । उपचारको लागि अस्पताल पुर्याउन नपाउँदै बाटोमा उनको ज्यान गयो ।

****

डा. देवेन्द्र आचार्य

चाडबाडका बेला हाम्रै असावधानीले हुने मानवीय क्षतीका यी प्रतिनिधि उदाहरण हुन् । चाडबाडका बेला यस्ता थुप्रै घटनाहरु हामीले हाम्रो समाजमा देख्दै र सुन्दै आएका छौं । यी घटनाका पछाडि कुनै न कुनै रुपमा हाम्रो खानपान नै जिम्मेवार छ । चाडबाडमा रमाइलो गर्ने भन्दै मदिरा सेवन गर्दा निमेषभरमै जिन्दगी उजाडिएका उदाहरण प्रशस्तै छन् ।

मेडिकल रिपोर्ट र ट्राफिक प्रहरीको तथ्यांकलाई हेर्ने हो भने पनि धेरै दुर्घटना चाडपर्वकै बेला हुने गरेको देखिन्छ । र, यसमा एक प्रमुख कारण मदिरा सेवन नै देखिन्छ ।

दुई वर्ष अगाडि भाइ टीकाको दिन राति नेपालगञ्ज मेडिकल कलेजको इमरजेन्सी कक्षमा उपचारका लागि ल्याइएका ६० जनाको २४ घण्टाको अवधिमा सिटीस्क्यान गराइएको थियो । तीमध्ये ९० प्रतिशतले मदिरा सेवन गरेको पाइएको थियो ।

मदिरा सेवन गरेकै कारण कलेजोले काम गर्न छाड्ने (सिरोसिस अफ लिभर) जस्ता घटनाहरु पनि हुने गरेको छ । ठूला अस्पतालको तथ्यांक हेर्दा कलेजोका बिरामीको संख्या पनि चाडबाड वरपर नै धेरै देखिन्छ ।

त्यसैले मानवजीवन र समाजमा चाडपर्व मनाउने सही तरिका जानेमा त्यसले सामाजिक मिलन, उत्साह, उमंग र खुशीयाली ल्याउँछ भने नजानेमा त्यही चाडबाड दुःख र भयको रुपमा देखापर्छ । त्यसैले खानपानको विषयमा मनलाई नियन्त्रणमा राख्न जरुरी छ । खासगरी दीर्घ रोगी र मुटुका बिरामीले खानपिनमा लोभ नगरेकै राम्रो ।

हामीले दशैंमा खाने मासु लगायतका परिकार कति स्वस्थकर छन् ? पशु बध गरिएको स्थान र मासु भण्डारण गरेको स्थान कति सफा छ ? खाने कुरामा चिल्लो र नुनको मात्रा कति छ ? भन्ने कुरालाई ध्यान दिऔं । ताकि त्यही खाने कुरा दुःखको कारण नबनोस् । विशेषगरी अघिपछि भन्दा अलि बढी मासुका परिकारहरु यति बेला बढी सेवन गर्नाले विशेषत उच्च रक्तचाप, मधुमेह र युरिक एसिडका बिरामीहरुलाई अझ बढी स्वास्थ्यमा जोखिमहरु बढ्ने गर्छ ।

हामीले खानेकुरा दुई–चार दिनसम्म राख्ने र पटक–पटक तताउँदै खाने गर्छौं, जसले गर्दा खाने कुराहरुमा संक्रमणको सम्भावना बढ्ने गर्दछ र फुड पोइजन भएर खानाले हाम्रो शरीरलाई उल्टो असर गरी खाना विषादी सरह हुने गर्दछ । किनभने कुनै पनि खानेकुरा लामो समय भण्डारण गरी पटक–पटक तताउँदा त्यसको पोषक तत्व नष्ट त हुन्छ–हुन्छ, त्यसमा भएको किटाणुहरुको संक्रमणले शरीरको सामान्य स्वास्थ्यचक्रमा विशाक्त पनि बनिदिन्छ । यसले स्वास्थ्यमा उल्टै जोखिम ल्याइदिन्छ ।

महान चाड विजया दशमी तथा दीपावली परिवार, साथीभाइ अनि आफन्तहरु भेला भएर सुखदुःख साट्दै एकापसमा सद्भाव र स्नेह बाँडेर मनाउने हो । तर, जसरी पछिल्लो समय चाडपर्वमा जुवातास खेल्ने, मदिरा सेवन गर्ने, चिल्लो र मसलादार खाना पेट अटसमटस हुने गरी खाने गरिन्छ, त्यसले दुःख निम्ताउँछ । यस्ता कुराहरुले व्यक्तिगत रुपमा तपाईंलाई असर गर्छगर्छ, त्यससँगै घर, परिवार र समाजसँगै सिंगो राष्ट्रका लागि दुःखद र भयानक बनिदिन्छ । त्यसैले वर्षमा एक पटक आउने र मनाइने महान चाड दशैंलाई स्वस्थ, सुरक्षित र मदिरा रहित तरिकाले मनाऔं । सबैलाई महान चाड विजयादशमी र आउँदै गरेका दीपावली, नेपाल सम्बत् र छठ पर्वको सुस्वास्थ्य एवम् दीर्घायुको कामना ।

(डा. आचार्य नेपालगञ्ज मेडिकल कलेज कोहलपुर, बाँकेमा कार्यरत छन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?