
हामीकहाँ सरकारले हरेक महिना २० युनिटसम्म मात्र बिजुली खपत गर्ने घर परिवारलाई नि:शुल्क बिजुली उपलब्ध गराउँदै आएको छ । यसबाट गाउँघरका अधिकांश सामान्य परिवारहरुले नि:शुल्क वा निकै सस्तोमा बिजुली बाल्न पाएका छन् ।
तर बेलायतमा भने एकजना महिलाको घरमा एक दिनमै करिब ६० लाख रुपैयाँ बराबरको बिजुलीको बिल आएको छ ।
यो घटना बेलायतको वेस्ट ससेक्समा भएको हो । मिडिया रिपोर्ट अनुसार घरमा एकदिनमै करिब ६० लाखको बिजुलीको बिल आएर झण्डै बेहोस भएकी महिलाको नाम माइल्स प्रायर हो ।
उनको घरमा वर्षौंदेखि जडान भएको बिजुलीको मिटरमा सधैं सामान्य बिल आउने गरेको थियो । उनको घरमा दैनिक रुपमा प्रयोगमा आउने उपकरणहरू मात्र छन् जसले खासै धेरै बिजुली खपत गर्दैनन् ।
यसअघि उनको दैनिक बिजुलीको बिल करिब तीन सयको हाराहारीमा आउने गर्दथ्यो । तर एकदिन अनौठै भयो । उनले जब बिजुलीको मिटरमा हेरिन् तब उनी हैरान भइन् । किनकि उनको एकदिनको बिजुलीको बिल करिब ६०लाख रुपैयाँ आएको थियो । उनको होसहवास उड्यो । उनले अनलाइनमा पनि बिल जाँच गरिन्, त्यहाँ पनि त्यहीँ नै देखियो ।
त्यसपछि उनले विद्युत आपूर्ति गर्ने कम्पनीसँग सम्पर्क गरिन् । बिद्युत वितरक कम्पनी ओभो इनर्जीले उक्त घटनाको छानबिन गर्दा बिजुली मिटरमा प्राविधिक गडबडी भएको पत्ता लाग्यो र तत्कालै उनको बिजुली मिटर मर्मत गरिदियो ।
बिजुली कम्पनीले मिटरको गडबडीले यस्तो अस्वभाविक बिल आएको भए रिपोर्ट गर्न सबै उपभोक्तालाई अनुरोध गरेको छ ।
एजेन्सी
प्रतिक्रिया 4