+
+

दाङका बस्ती जलमग्न : प्रहरी चौकी पनि डुबानमा, सडक अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २१ गते १२:२२

२१ असोज, दाङ । अविरल वर्षाका कारण दाङको जनजीवन प्रभावित भएको छ । देउखुरी क्षेत्रमा वस्ती जलमग्न भएका छन् भने ठाउँ-ठाउँमा सडक अवरुद्ध भएका छन् ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवम् डिएसपी राजन गौतमका अनुसार देउखुरी क्षेत्रमा पर्ने राप्ती गाउँपालिका वडा नम्बर १, २, ३, ४ र ५ नम्बर वडाका वस्तीमा जलमग्न भएका छन् ।

सिसहनियामा दोलई खोलाको बाढी पसेर इलाका प्रहरी कार्यालय पनि डुबानमा परेको छ । डीएसपी गौतमका अनुसार इलाका प्रहरी कार्यालयमा ३-४ फिटसम्म पानी जमेको छ ।

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टका अनुसार कालापानी, पहरुवा, पिपरखुट्टी, बगरापुर, सगरापुर लगायतका गाउँमा बाढीले क्षति भएको छ । राप्ती गाउँपालिका–५ को लठ्ठहवा गाउँमा पनि बाढी पसेको छ ।

जमेको पानीलाई निकास दिने र डुबानमा परेका घर परिवारलाई उद्धार गर्ने काम जारी रहेको प्रहरीले जनाएको छ। देउखरी क्षेत्रमा प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुख सहितको टोली स्थलगत अनुगमनमा गएको छ ।

पत्रकार दशरथ घिमिरेका अनुसार गढवा गाउँपालिका–५ को लोखरपुर, लालपुर र बोधिपुरका बस्ती पनि डुबानमा परेका छन् । त्यहाँ सिक्रहवा खोला र राप्ती नदीको बाढी वस्तीमा पसेको छ ।

प्रहरीका अनुसार बेलदमार भन्ने स्थानमा पहिरो जाँदा लमही-घोराही सडकखण्ड अवरुद्ध भएको छ । कालाकाटे-भालुबाङ, भालुबाङ-प्युठान र अमेलिया-लमही सडकखण्ड पनि पहिरोले अवरुद्ध भएको प्रहरीले जनाएको छ । कालाकाटे-गढवा सडक खण्डमा पर्ने ठाडो खोलाहरुमा आएको बाढीका कारण यात्रा कष्टकर भएको छ ।

पानीको उचित निकास नहुँदा सदरमुकाम घोराहीको ट्राफिक चोक नजिकको साई मन्दिर क्षेत्रका केही घर जलमग्न भएका छन् । स्थानीय जनप्रतिनिधिको सहयोगमा पानीको निकास दिने काम भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?