+
+
कास्कीमा कांग्रेसका प्रदेश उम्मेदवार :

खड्कालाई उछिन्दै बिन्दुकुमारले पाए टिकट, वडा सदस्यमै पराजितले पनि बाजी मारे

अमृत सुवेदी अमृत सुवेदी
२०७९ असोज २३ गते ११:३४

२३ असोज, पोखरा । नेपाली कांग्रेसबाट कास्की क्षेत्र नम्बर २ (क) को टिकट विन्दुकुमार थापाले पाएका छन् ।

टिकटका लागि कानुन, सञ्चार तथा प्रदेश सभा मामिलामन्त्री थापासँगै भौतिक पूर्वाधारमन्त्री कुमार खड्का दौडमा थिए । दुई मन्त्री आरोप प्रत्यारोपमै उत्रिएका थिए ।

पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार ढालेर कांग्रेस नेतृत्वको सरकार बनाउने क्रममा खड्का हावी भएका थिए । उनले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी पाए । निर्वाचन उठ्ने तयारीका साथ उनले निर्वाचन क्षेत्रमा करोडौंको बजेट हालेका थिए ।

विन्दुकान्त भने सञ्चारमन्त्री भए । प्रतिकूल अवस्थामा चुनाव जितेर आएकाले राम्रो मन्त्रालय आफूले पाउनुपर्ने उनको दाबी थियो । विन्दुकुमार २०७४ मा कास्कीबाट चुनाव जित्ने एक जनामात्रै कांग्रेस उम्मेदवार थिए । उनले माओवादी र एमालेको वाम गठबन्धनका उम्मेदवार राजकाजी गुरुङ ‘करण’लाई पराजित गरेका थिए ।

राम्रो मन्त्रालय कसले लिने भन्नेबाट सुरु भएको टकराव टिकटमा पनि देखिएको थियो ।

पोखरा उद्योग वाणिज्य संघको नेतृत्व गर्दै कांग्रेसको सक्रिय राजनीतिमा होमिएका हुन्, व्यवसायी विन्दुकुमार । २०७४ मा चुनाव लड्दा पैसाकै भरमा टिकट ल्याएको आरोप लागेको थियो । सांसद र मन्त्री हुँदा भने उनले कहिल्यै विवादित भने भएका थिएनन् ।

दीपक गुरुङ

नेपाल विद्यार्थी संघको राजनीति गरेका खड्का भने लामो समय युरोप बसेका थिए । युरोपबाट नेपाल फर्किएर क्षेत्री समाजको नाममा आदोलन चलाएका उनले अखण्ड पार्टी नेपाल खोलेका थिए । त्यही पार्टीबाट दोस्रो संविधानसभामा समानुपातिक सांसद बनेका उनी २०७४ को चुनावअघि कांग्रेसतिर लागेका थिए । गण्डकीमा समानुपातिक सांसद बनेका उनी मन्त्रीसम्म भए ।

टिकटमा भने बिन्दुकुमारले बाजी मारेका छन् । उनको प्रतिस्पर्धा एमालेकी मीनाकुमारी गुरुङसँग हुनेछ । उनी यसअघि कास्कीबाट समानुपातिक सांसद बनेकी थिइन् ।

वडा सदस्यमै पराजितले पनि बाजी मारे

कास्कीमा क्षेत्र नम्बर १ को प्रदेश सभा ‘ख’मा भने दीपक गुरुङले टिकट हात पारेका छन् । उनी २०७४ सालको निर्वाचनमा पोखरा महानगरपालिका वडा नम्बर १३ को वडा सदस्यमा चुनाव लडेका थिए, पराजित भए ।

उनी तरुण दलका जिल्ला उपसभापति पनि हुन् । कांग्रेस महामन्त्री गगनकुमार थापासँग नजिक उनले अरु आकांक्षीलाई पछि पार्दै प्रदेश सभाकै टिकट हात पारेका छन् ।

उनको प्रतिस्पर्धा एमाले नेता वेदबहादुर गुरुङ ‘श्याम’सँग हुनेछ । श्याम मादी गाउँपालिकाका पूर्वअध्यक्ष हुन् ।

यसैगरी कास्की क्षेत्र नम्बर ३ को ‘क’मा कांग्रेसबाट प्रकाश बरालले टिकट पाएका छन् । जिल्ला खेलकुद विकास समितिको कार्यालय प्रमुख रहेका रहेका उनी कांग्रेस गण्डकीका सभापति शुक्रराज शर्मा नजिक हुन् र गण्डकी पार्टी कार्यालयका प्रमुख सचिव पनि हुन् । उनको प्रतिस्पर्धा एमालेका राजीव पहारीसँग हुनेछ ।

 

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?