+
+

प्राधिकरणले ‘सीसीएस’ चार्जर राख्न ढिलाइ गर्दा उपभोक्ता मारमा

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २४ गते १६:१६

२४ असोज, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले राखेका चार्जिङ स्टेसनमा विभिन्न कम्पनीका गाडी चार्ज गर्न नमिलेपछि ग्राहकहरु असन्तुष्ट बनेका छन् । प्राधिकरणले १४ भदौमा रत्नपार्कस्थित आफ्नै केन्द्रीय कार्यालय  राखेको चार्जिङ स्टेसनमा समेत थुप्रै कम्पनीका विद्युतीय गाडी चार्ज गर्न नमिलेपछि प्राधिकरणको आलोचना भएको छ ।

प्राधिकरणले ‘सीसीएस’ (कम्बाइन्ड चार्जिङ सिस्टम) चार्जर नराख्दा विभिन्न ब्रान्डका ‘सीसीएस चार्जर’ प्रयोग हुने सवारीले प्राधिकरणका ‘चार्जिङ’ स्टेसनबाट सेवा लिन पाएका छैनन् । तर, प्राधिकरणले भने केही दिनमा नै यो समस्या समाधान हुने बताएको छ ।

प्राधिकरणका अनुसार अहिले प्राधिकरणले अहिले चार्जिङ स्टेसनमा ‘जीबीटी’ चार्जर मात्रै राखेको छ । प्राधिकरणको चार्जिङ स्टेसन पूर्वाधार विकास आयोजनाका प्रमुख सागरमणि ज्ञावालीका अनुसार ‘जीबीटी’ चार्जर ठूला बस, माइक्रो, ट्रक, पिकअप तथा केही कम्पनीका कारमा मात्रै प्रयोग गर्न मिल्छ ।

‘हामी केही दिनमा सबै खालका सवारी चार्ज गर्न सकिने गरी सीसीएस चार्जर पनि जोड्दैछौं,’ उनले भने,’सीसीएस चार्जरले जीबीटी चार्जरमा फिट नभएका अन्य साना खालका कारहरु चार्ज गर्न सक्छ ।’

सीसीएस चार्जर जोडेपछि नेपालमा चलिरहेका करिब शतप्रतिशत सवारी चार्ज गर्न मिल्ने उनले बताए । उपभोक्ताले कुन चार्जिङ स्टेसनमा आफ्नो सवारीका लागि उपयुक्त हुने चार्जर छ भन्ने जानकारी ‘एनईए चार्ज’ मोबाइल एपबाट पाउन सक्ने उनले बताए ।

प्राधिकरणले विद्युत् खपत प्रवर्द्धन गर्न तथा विद्युतीय सवारीको प्रयोगलाई बढावा दिने उद्देश्यले चार्जिङ स्टेसन सञ्चालनमा ल्याइएको बताउँदै आएको छ । देशका प्रमुख शहर तथा राजमार्गहरुमा पनि द्रुत सवारी चार्जिङ स्टेसनहरुको स्थापना गरिंदैछ ।

आयोजना प्रमुख ज्ञवालीका अनुसार अहिले ५१ वटा चार्जिङ स्टेसन स्थापनाको योजना छ । त्यसमध्ये रत्नपार्क, साझा सेवा बल्खु, खुर्कोट, सिन्धुलीमाडी, बर्दिबास र चितवनको पारस बसपार्कमा जीबीडी चार्जरसहितको चार्जङ स्टेसन सञ्चालनमा आइसकेको छ ।

‘राजमार्गहरुमा सार्वजनिक विद्युतीय सवारीका लागि जीबीटी चार्जर चाहिन्छन्,’ उनले भने,’साना कारहरुलाई हुने सीसीएस चार्जर युरोपबाट आयात हुन केही समय लागेकाले जडामना केही ढिलाइ भएको छ, अहिले स्सीएम चार्जर पनि नेपाल भित्रिसकेकाले केही दिनमा जोड्छौं ।’

उनका अनुसार यो आयोजना अन्तरगत २६ वटा ‘जीबीटी’ चार्जर २५ वटा  ‘सीसीएस’ चार्जर राख्ने योजना छ ।

चार्जिङ सेवाबारे जानकारी लिन र सेवा प्रि-बुक गर्न ‘एनईए चार्ज‘ नामको मोबाइल एप विकास गरिएको छ । भुक्तानीका लागि एनएसपी (नेशनल सर्भिस प्रोभाइडर) प्रणालीको विकास गरिएको प्राधिकरणले जनाएको छ । एनएसपीमार्फत उपभोक्ताले अनलाइन बुकिङ गर्न सक्नेछन् ।

प्राधिकरणले चार्जिङ स्टेसनको क्षमता ६० किलोवाट डीसी प्लस, २२ किलोवाट एसी क्षमताको चार्जर राखिरहेको छ । यद्यपि १२० किलोवाट डीसीसम्म पनि सिंगल डीसी गनले गाडीहरु चार्ज गर्न सक्ने प्राधिकरणले बताएको छ ।

प्राधिकरणका अनुसार नेपालमा उपलब्ध सवारी साधनहरुमा रहेको व्याट्री क्षमता अनुसार कम्तीमा आधा घण्टादेखि १ घण्टासम्ममा चार्ज पूर्ण हुन सक्छ । चार्ज गर्दा कारहरुमा औसत ७० पैसा, एसयूभीहरुमा ८० पैसा, माइक्रोबसमा ९० पैसा र बसहरुमा एक रुपैयाँ २० पैसा प्रति किलोमिटर खर्च लाग्ने देखिन्छ ।

चार्जिङ स्टेसन सञ्चालकले विद्युतीय सवारी साधनलाई चार्जिङ सेवा दिएवापत महसुल दरमा प्रति किलोवाट घण्टा (युनिट) मा अधिकतम २० प्रतिशतसम्म थप गरी लिन पाउने व्यवस्था रहेको छ ।

प्राधिकरणले बिर्तामोड, दमक, विराटनगर, इटहरी, बेलाका, सुनसरी बसपार्क, लाहान र  बर्दिबासमा पनि चार्जिङ स्टेसन स्थापना गर्दैछ । बनेपा, पथलैया, हेटौंडा, मुग्लिन, धार्के, पोखरा, बर्दघाट, बुटवाल, भैरहवा, चन्द्रौटा, लमही, कोहलपुर, लम्की, अत्तरीया, महेन्द्रनगर र सुर्खेतमा चार्जिङ स्टेसन राखिंदैछ । काठमाडौंको साझा पुल्चोक, हल्चोक र त्रिभवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि चार्जिङ स्टेसन जोडिंदैछ ।

करिब ३७ करोड लागतमा यी चार्जिङ स्टेसन जोडिंदैछ ।  चीनको वाङडेङ डिजिटल इनर्जीले ठेक्का पाएको यो आयोजनामार्फत भेरियसन गरेर थप १२ वटा चार्जिङ स्टेसन पनि जोड्ने तयारी पनि भएको छ । ५ वर्षसम्म ठेकदार कम्पनीले नै यी स्टेसनहरुको मर्मतसम्भार गर्ने छ भने सञ्चालन र व्यवस्थापन प्राधिकरणले गर्नेछ ।

चार्जिङ स्टेसनमा सवारी चार्ज गर्न विकास गरिएको प्रि-बुकिङ प्रणाली अनुसार मुग्लिनमा सवारी चार्ज गर्न चाहानेले काठमाडौंबाट सवारी लिएर हिँडेपछि समय बुक गर्न सक्छन् । चार्जिङ स्टेसनको सबै नियन्त्रण काठमाडौंको कन्ट्रोल रुमबाटै हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?