+
+

गोरखामा रामशरण–राजेन्द्रको प्रतिस्पर्धा : हिजो प्रदेशमा अहिले संघमा

गोरखा-१ मा नेकपा एमालेबाट रामशरण बस्नेत र नेपाली कांग्रेसबाट राजेन्द्र बजगाईं उम्मेदवार छन् । उनीहरुले २०७४ को चुनावमा गोरखा–१ (ख) को प्रदेशसभा सदस्यका लागि प्रतिस्पर्धा गरेका थिए । त्यतिबेला माओवादीको समर्थन पाएका बस्नेत निर्वाचित भए भने यसपटक माओवादीको समर्थन बजगाईंलाई छ ।

विकास मरहट्टा विकास मरहट्टा
२०७९ असोज २४ गते १९:०३

२४ असोज, गोरखा । प्रतिनिधिसभा सदस्यका लागि गोरखा क्षेत्र नम्बर १ मा नेकपा एमालेबाट रामशरण बस्नेत उम्मेदवार बन्ने निचित जस्तै थियो । नेपाली कांग्रेसबाट भने चीनकाजी श्रेष्ठ र राजेन्द्र बजगाईंबीच टिकटका लागि चर्को प्रतिस्पर्धा थियो ।

उम्मेदवारी दर्ताको दिन आइतबार बजगाईंले बाजी मारे । यो क्षेत्रमा बस्नेत र बजगाईंसहित ८ उम्मेदवार छन् । मुख्य प्रतिस्पर्धा चाहिँ बस्नेत र बजगाईंको हुने देखिन्छ ।

उनीहरु २०७४ को चुनावमा गोरखा–१ (ख) को प्रदेशसभा सदस्यका लागि प्रतिस्पर्धा गरेका थिए । गोरखामा एमालेको तुलनामा कांग्रेसको संगठन बलियो छ । तर माओवादी केन्द्रसँँग वाम गठबन्धन गरेका कारण एमालेका बस्नेत १६ हजार ६५६ मतसहित निर्वाचित हुँदा बजगाईंले १३ हजार १ मत पाएका थिए । माओवादीको समर्थन भएका कारण बजगाईं यसपटक आशावादी छन् ।

विगतका निर्वाचनहरु र ३० वैशाखको स्थानीय तहको चुनावमा पाएको मतका आधारमा गोरखामा माओवादी केन्द्र र कांग्रेस हाराहारीका दल हुन् भने एमालेको मत केही कम छ । ३० वैशाखको स्थानीय तह निर्वाचनमा स्थानीय तहका वडाका उम्मेदवारले पाएको मतको आधारमा क्षेत्र नम्बर १ मा कांग्रेस पहिलो दल हो ।

कांग्रेस उम्मेदवारले २७ हजार ८४, माओवादी केन्द्रका उम्मेदवारले २५ हजार ४७२ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवारले १४ हजार ४६६ मत पाएका छन् । त्यस्तै जनता समाजवादी पार्टीले २७५४ मत पाएको छ र गोरखामा यो पार्टीको अधिकांश हिस्सा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीमा गएको छ । एकीकृत समाजवादी पार्टीले ७० मत पाएको छ ।

एमाले उम्मेदवार बस्नेतले भने सत्तारुढ गठबन्धनप्रति नागरिकको वितृष्णा रहेकाले आफू निर्वाचित हुने बताउँछन् ।

‘गठबन्धनको सरकार बनेको पनि डेढ बर्ष हुन लागिसक्यो तर जनताले नयाँपन र राहत अनुभूति गर्न पाएका छैनन्,’ उनले भने, ‘हामीले हाम्रो कार्यकालमा जिल्लाको भौतिक संरचनाको विकासमा कुनै कमी राखेको छैन, शिक्षा स्वास्थ्य लगायतका क्षेत्रमा पनि थुप्रै कामहरु गर्‍यौं, जनताले त्यसको मूल्याकंन पक्कै गर्नेछन् ।’

२०७४ सालको प्रदेशसभा निर्वाचनमा निर्वाचित भएपछि बस्नेत गण्डकी सरकारको भौतिक पूर्वाधार तथा यातायातमन्त्री भएका भए । त्यसक्रममा गोरखामा केही विकास निर्माणका योजना पनि ल्याएका थिए । यद्यपि सडक नै नभएको ठाउँमा पुल बनाएको भनेर पछिल्लो समय उनी आलोचित समेत भएका थिए ।

बजगाईं पर्यटन व्यवसायी हुन्, उनी जिल्लामा कम र काठमाडौंमा धेरै बस्छन् । कांग्रेसको १४ औं महाधिवेशनमा जिल्लाबाट महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य निर्वाचित भएका उनी केन्द्रीय सदस्य भने पराजित भए ।

क्षेत्र नम्बर १ को उत्तरी क्षेत्रमा आफू परिचित रहेको र गठबन्धनको उम्मेदवार भएकाले सहज जित्ने बजगाईँको दाबी छ । ‘गठबन्धनका कारण पनि म पहिलेभन्दा बलियो छु’, बजगाईंले अनलाइनखबरसँग भने, ‘पहिलो चुनावमा मेरा एजेण्डाहरु समयमै जनतामाझ पुर्‍याउन सकिन, त्यो क्षेत्रमा समय पनि दिन सकिन । पहिलेका गल्तीलाई सुधार्दै यो पटक आफ्नो भूगोलमा धेरै समय दिन्छु ।’

गोरखा–१ मा १ लाख १५ हजार ३९७ मतदाता छन् ।

लेखकको बारेमा
विकास मरहट्टा

मरहट्टा अनलाइनखबरका गोरखा संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?