+
+

नारायणकाजी निकटले यसरी फुत्काए मुख्यमन्त्री भट्टको टिकट

प्रचण्डले पनि डोटी एकीकृत समाजवादीको भागमा परेको भन्दै फेरि प्रदेशसभामा लड्ने तयारी गर्न सुझाव दिएर पठाए । भट्ट ढुक्क भएर फर्किए, तर उम्मेदवारी दर्ता गर्ने दिन डोटीको प्रदेशसभा (ख) मा माओवादी केन्द्रबाट शिवसिंह ओलीले टिकट पाए ।

जनक विष्ट जनक विष्ट
२०७९ असोज २५ गते २०:१६

२५ असोज, धनगढी । पाँच वर्ष सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री रहेका त्रिलोचन भट्ट यस पटक डोटीबाट प्रतिनिधिसभाको उम्मेदवार बन्न चाहन्थे । नेकपा माओवादी केन्द्रले डोटीबाट प्रत्यक्ष र समानुपातिक दुबै तर्फबाट नाम सिफारिस पनि गरेको थियो ।

सत्तारुढ गठबन्धनमा भागबण्डाका क्रममा डोटीबाट प्रतिनिधिसभा सदस्यको टिकट नेकपा एकीकृत समाजवादीका नेता प्रेमबहादुर आलेले पाउने भएपछि भट्ट पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न काठमाडौं नै पुगे ।

डोटीका एक माओवादी नेताका अनुसार प्रचण्डले पनि डोटी एकीकृत समाजवादीको भागमा परेको भन्दै फेरि प्रदेशसभामा लड्ने तयारी गर्न सुझाव दिएर पठाए । भट्ट ढुक्क भएर फर्किए, तर उम्मेदवारी दर्ता गर्ने दिन डोटीको प्रदेशसभा (ख) मा माओवादी केन्द्रबाट शिवसिंह ओलीले टिकट पाए ।

‘२२ गतेको राति १२ बजेसम्म टिकट मुख्यमन्त्रीज्यूकै थियो तर एकाएक खै के भएछ ?,’ मुख्यमन्त्रीका स्वकीय सचिव प्रेम कुँवरले भने, ‘१ बजेपछि उहाँको ठाउँमा शिव ओलीजी लड्ने कुरा आयो । पार्टीले उहाँलाई कसरी टिकट थमाएछ थाहै भएन ।’

टिकट पाउने ओली पनि मुख्यमन्त्री भट्टका स्वकीय सचिव (पीए) हुन् । उनी पार्टीको केन्द्रीय सदस्य र डोटी इन्चार्ज समेत हुन् । भट्ट पनि पार्टीको केन्द्रीय सदस्य नै हुन् ।

ओलीले मुख्यमन्त्री भट्टले आफूलाई सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् । ‘उहाँ (मुख्यमन्त्री) र मैले लामो समयदेखि पार्टीका विभिन्न कमिटीमा बसेर सँगसँगै काम गरेका छौँ । पाँच वर्ष त मैले उहाँको सचिवालयमा काम गरेको छु’, ओलीले भने, ‘उहाँको पार्टी केन्द्रसँग केही कुरा होलान् तर म सँग त्यस्तो केही छैन । चुनावमा उहाँले सहयोग गर्नुहुन्छ भन्ने विश्वास छ ।’

डोटीमा प्रतिनिधिसभा नेकपा एकीकृत समाजवादीले पाएपछि चिन्तित बनेका मुख्यमन्त्री त्रिलोचन भट्ट समानुपातिक पद्धतिबाटै प्रतिनिधिसभा सदस्य बन्न चाहन्थे । उनले पार्टी अध्यक्ष प्रचण्डसँगको भेटमा भनेका थिए, ‘मलाई सुदूरपश्चिमबाट समानुपातिक सूचीको पहिलो नम्बरमा सिफारिस गरिदिनुपर्‍यो ।’

प्रचण्डले समानुपातिक सूचीमा राख्न नसकिने तर फेरि प्रदेशसभा सदस्यको टिकट दिन सकिने बताए । जसरी पनि प्रतिनिधिसभा सदस्य बन्ने होडमा रहेका भट्ट दुवै विकल्प कमजोर भएपछि प्रचण्डको आग्रहअनुसार प्रदेशसभा सदस्यको चुनाव लड्न तयार भएर काठामाडौँबाट फर्किएका थिए ।

स्रोतका अनुसार भट्टलाई प्रदेशसभामा दोहोरिन नदिन सुदूरपश्चिमका अर्का नेता खगराज भट्ट सक्रिय भएका थिए । यसपटक खगराज मुख्यमन्त्री बन्ने योजनासहित डडेल्धुरा (क) बाट प्रदेशसभामा उम्मेदवार बनेका छन् ।

‘पार्टीले फेरि त्रिलोचनलाई टिकट दिँदा चुनाव जितेमा दोस्रो कार्यकाल पनि उनी नै मुख्यमन्त्री बन्छन् भन्ने भय खगराजलाई परेछ,’ माओवादी केन्द्रका एक नेताले भने, ‘यसो हुँदा उनको सक्रियतामा त्रिलोचनको टिकट खोसिएको हो ।’

ती नेताका भनाइमा पार्टीको सुदूरपश्चिम इन्चार्ज खगराज त्रिलोचनलाई जसरी पनि प्रदेशसभामा जानबाट रोक्न चाहन्थे र त्यसमा सफल पनि भए ।

नारायणकाजी फ्याक्टर

शिवसिंह ओली माओवादी केन्द्रमा आउनुपूर्व नारायणकाजी श्रेष्ठले नेतृत्व गरेको नेकपा एकता केन्द्रका डोटी जिल्ला अध्यक्ष थिए । २०६५ सालमा एकता केन्द्र र माओवादीबीचको एकतापछि मात्र उनी डोटीमा नेकपा माओवादी केन्द्रको राजनीतिमा सक्रिय भए ।

२०५७ सालमा अनेरास्ववियुबाट राजनीतिमा प्रवेश गरेका उनी छोटो समयमा प्रगति गर्ने नेताका रुपमा पनि चिनिन्छन् । मुख्यमन्त्री भट्ट माओवादी केन्द्र डोटीको अध्यक्ष हुँदा सचिव भएर काम गरेका ओली पार्टीमा नेता नारायणकाजी श्रेष्ठ निकट मानिन्छन् ।

श्रेष्ठ निकट भएपनि ओलीले यो बीचमा पार्टीको केन्द्रीयस्तरका अरु नेताहरुसँग पनि राम्रो सम्बन्ध बनाइसकेका थिए । उनी आफैं स्वकीय सचिव भएर काम गरेका मुख्यमन्त्रीको प्रदेशसभाको टिकट खोस्न सफल हुनुमा नारायणकाजी फ्याक्टरले काम गरेको डोटीका नेताहरु बताउँछन् ।

‘नारायणकाजी स्वयंले पार्टी अध्यक्ष प्रचण्डसँग सुदूरपश्चिममा मलाई पनि टिकट चाहियो भन्नुभएको रहेछ’, माओवादी केन्द्रका एक केन्द्रीय सदस्यले भने, ‘खगराज भट्ट पक्षको दबाव खेपिरहेका बेला अध्यक्ष कमरेडले पनि ओलीलाई दिएर लाइनका हिसाबले मिलाएको हो भनेर मुख्यमन्त्रीलाई कन्भिन्स गर्न सजिलो हुन्छ भनेर ओलीलाई टिकट दिएजस्तो छ ।’

नेकपा माओवादी केन्द्र प्रदेश अधिवेशनमा अहिलेका अध्यक्ष हरि चौधरीसँग सुदूरपश्चिमका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री मानबहादुर धामीले प्रतिस्पर्धा गरेका थिए । त्यो बेला मुख्यमन्त्री त्रिलोचन भट्ट खुलेरै मानबहादुर धामीको पक्षमा उभिए भने ओली हरि चौधरीको पक्ष्मा उभिए ।

प्रदेश अधिवेशनमा पाएको सहयोगको गुन तिर्न चौधरीले ओलीलाई टिकट दिन भूमिका खेलेको चर्चा पनि पार्टी पंक्तिमा छ ।

‘सुदूरपश्चिममा प्रचण्डको विश्वास पात्र अहिले कोही छ भने प्रदेश अध्यक्ष हरि चौधरी नै हो । शिव ओलीले अधिवेशनका बेला गरेको सहयोगको ऋण तिर्न प्रचण्डलाई कन्भिन्स गरेर टिकट दिलाउनमा उनकै हात छ’ माओवादीका एक नेताले भने ।

माओवादी केन्द्रका सुदूरपश्चिमका अध्यक्ष हरि चौधरी केन्द्रीय नेतृत्वको निर्णयअनुसार नै डोटी (ख) बाट शिवसिंह ओलीले टिकट पाएको बताए ।

‘पार्टीले अहिले शिवसिंह ओलीलाई टिकट दिने निर्णय गरेको हो तर मुख्यमन्त्रीप्रति असन्तुष्ट भएर वा चित्त नबुझेर होइन’, चौधरीले भने, ‘सबै पक्षलाई मध्यनजर गर्दै डोटीमा यस पटक ओलीलाई टिकट दिदा ठीक हुन्छ भनेर पार्टी अध्यक्षकै निर्णयअनुसार उहाँले टिकट पाउनुभएको हो ।’

मुख्यमन्त्री भट्टप्रतिको वितृष्णा

मुख्यमन्त्रीको पाँच वर्षको कार्यकाल पूरा गर्नेमा मधेशसँगै सुदूरपश्चिमका मुख्यमन्त्री पनि एक हो । उनले पूरा कार्यकाल काम गर्न त पाए, तर पार्टीपंक्तिलाई खुशी राख्न सकेनन् । पार्टीका नेता कार्यकर्ताको भावनाअनुसार काम नगरेको, एकलौटी गर्न खोजेको जस्ता कारण देखाउँदै माओवादी भित्र उनलाई हटाउनुपर्ने माग पनि उठेको थियो ।

प्रचण्डले भट्टलाई हटाउँदा सुदूरपश्चिमको मुख्यमन्त्री पद पार्टीको हातबाट गुम्ने हुनाले उनलाई नै कायम राखेको नेताहरु बताउँछन् । तर भट्टसँग विगतदेखि पार्टीको प्रदेश नेतृत्व र विभिन्न जिल्ला नेतृत्व असन्तुष्ट रहेको कुरा भने प्रचण्डबाट छिपेको थिएन । सोही कारणले पनि भट्टलाई पुनः टिकट दिदा चुनाव हारिने डरले नदिएको चर्चा पनि चलेको छ ।

टिकट खोसिएको विषयमा प्रतिक्रिया लिन खोज्दा मुख्यमन्त्री भट्ट सम्पर्कमा आउन चाहेनन् ।

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?