+
+

माओवादीको टिकटमा प्रचण्डपछि वर्षमान हावी

महासचिव भएपछि देव गुरुङको पनि बढ्यो शक्ति

प्रचण्डपछि भने यो पार्टीमा कहिले वर्षमान हावी हुने गरेका छन् भने कहिले जर्नादन । पुन लामो समय उपचाररत रहेका बेला भएको माओवादी केन्द्रको महाधिवेशनताका शर्मा हावी थिए । तर, उम्मेदवार सिफारिसमा शर्माभन्दा पुन हावी देखिए।

रामकुमार डिसी रामकुमार डिसी
२०७९ असोज २५ गते २०:३६

२५ असोज, काठमाडौं । पार्टीहरुभित्र कसको शक्ति कति छ भनेर नाप्न महाधिवेशन, चुनावताका उनीहरुले कति शक्ति अभ्यास गरे भन्ने आधारलाई दृष्टान्त बनाउने गरिन्छ । सबै दलहरुभित्र चरम शक्तिसंघर्ष चल्यो यसपल्ट पनि । नेकपा माओवादी केन्द्रभित्र अध्यक्ष पुष्पकमल दाहाल हाबी रहे पनि उनको एकछत्र भने चलेन ।

टिकट वितरणमा ‘शक्ति होल्ड’ गर्ने नेताहरुमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’पछि वर्षमान पुन र जर्नादन शर्मा देखिए । मुख्य तानातान उनीहरुकै रह्यो । माओवादीले आफ्नो पकड क्षेत्र ठान्ने रोल्पा र रुकुमका यी दुई नेताको शक्तिलाई सन्तुलित गर्दै प्रचण्डले पार्टी चलाउने गरेका छन् ।

प्रचण्डपछि भने यो पार्टीमा कहिले वर्षमान हावी हुने गरेका छन् भने कहिले जर्नादन । पुन लामो समय उपचाररत रहेका बेला भएको माओवादी केन्द्रको महाधिवेशनका बेला शर्मा हर्ताकर्ता थिए ।

तर, मंसिरमा हुन गइरहेको आम चुनावका लागि उम्मेदवार सिफारिसमा शर्माभन्दा पुन हावी भए । चीनबाट उपचार गरि फर्किएपछि सक्रिय हुन थालेका पुनले फेरि  शक्ति बढाउँदै लगेका छन्।

प्रचण्डपछि वरीयतामा वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलगायत नेताहरु रहे पनि टिकट वितरणमा शक्ति अभ्यासका हिसाबले वर्षमान पुन बढी हावी भएको माओवादीका एक पदाधिकारी बताउँछन् । ‘मुख्य भूमिका अध्यक्ष र वरिष्ठ नारायणकाजी श्रेष्ठ हो,’ उनले भने, ‘रहलपहलमा वर्षमान पुन र जर्नादन शर्माको पनि भूमिका रह्यो । जर्नादनभन्दा बढी भूमिका वर्षमानको देखियो।’

शर्मा अर्थमन्त्री भएका कारण भागबण्डा टुंग्याउन सत्ता गठबन्धनले गठन गरेको कार्यदलमा प्रचण्डले महासचिव देव गुरुङ र वर्षमान पुनलाई राखेका थिए ।

त्यस्तै माओवादीले समानुपातिक बन्द सूची तयार गर्न बनाइएको तीन सदस्यीय कार्यदलमा समेत वर्षमान थिए । माओवादीले पाउने प्रतिनिधिसभा र प्रदेशसमा क्षेत्रमा पुन रहेको कार्यदलले नै गठबन्धनमा दाबेदारी प्रस्तुत गरेको थियो । यही कारण पनि टिकट टुंग्याउन उनको भूमिका बढेको माओवादी नेताहरुको भनाइ छ ।

कर्णालीमा समेत वर्षमान हावी

मनऋषि धिताल अर्थमन्त्री शर्माका प्रेस सल्लाहाकार हुन् । लामो समय अष्ट्रेलियामा बसेर अघिल्लो वर्ष नेपाल फर्किएका उनी जुम्लाबाट चुनाव लड्न चाहन्थे ।

युद्धका बेला माओवादीको सञ्चारमाध्यममा काम गरेका धितालले टिकटका लागि अध्यक्ष प्रचण्डलाई समेत ‘कन्भिन्स’ गरेका थिए । त्यही अनुसार आश्वस्त भएर उनी जुम्ला पुगेका थिए । तर, उनको नाममा टिकट पुगेन । अन्तिम समयमा गोमा कुँवरले टिकट पाइन् ।

स्रोतका अनुसार वर्षमान, शक्ति बस्नेत र कालीबहादुर मल्ल लगायतका नेताहरु बसेर अन्तिम समयमा धिताललाई टिकट दिनबाट रोकेका थिए।

कर्णाली प्रदेशमा शर्मा पार्टीभित्र निकै हावी हुने गरेका छन् । त्यही कारण उप-महासचिव शक्ति बस्नेतका नेताहरु शर्माभन्दा पुनसँग मिल्ने गरेका छन् । शर्मालाई रोक्न यसपटक पनि बस्नेतले पुनलाई साथ दिएका छन् ।

शर्मा आफ्नो जिल्ला रुकुम पश्चिममा भने हावी भए । रोल्पामा वर्षमानले कांग्रेसलाई एउटा प्रदेशसभा छोड्दा शर्मा भने कुनै पनि क्षेत्र दिन तयार भएनन् ।

महासचिव भएपछि देव गुरुङको पनि बढ्यो शक्ति

स्याङ्जा-१ (क) बाट माओवादीका स्थानीय नेता शैलेन्द्र घिमिरे चुनाव लड्ने तयारीमा थिए । टिकट पाउनेमा उनी ढुक्क पनि थिए । तर, अन्तिम समयमा माओदी नेता अमृता थापाले त्यहाँको टिकट पाइन् ।

त्यसमा महासचिव देव गुरुङकै भूमिका थियो । गुरुङ लगायतले माओवादी छोड्दा थापा पनि सँगै गएकी थिइन् । विशेषगरी गण्डकी प्रदेश र २०७० मा माओवादी छाडेका नेताहरुलाई टिकट दिलाउन गुरुङ हावी भएको माओवादीका नेताहरु बताउँछन् ।

‘यसपाली अध्यक्षपछि टिकट वितरणमा वर्षमान र देव गुरुङ हावी हुनुभयो,’ माओवादीका एक पोलिटब्युरो सदस्य भन्छन्, ‘महासचिव भएपछि गुरुङ दाइको पनि शक्ति बढ्यो ।’

गुरुङले महासचिव हुनुअघि पार्टीभित्र खासै ‘पावर होल्ड’ गर्न सकेका थिएनन् । शर्मा र पुन दुवैले महासचिवको दाबी नछाडेपछि प्रचण्डले गुरुङलाई अघि सारेका थिए ।

गत ४ भदौमा महासचिवमा दुई सशक्त दाबेदार पुन र शर्मालाई उपमहासचिवमा थन्क्याउँदै गुरुङलाई महासचिव बनाएका थिए । पहिले संसदीय भूमिकामा मात्रै जिम्मेवारी पाएका गुरुङले महासचिव भएपछि अन्य जिम्मेवारी पनि पाउन थालेका छन् ।

महासचिव भएपछि भने गुरुङले महत्वपूर्ण दुई जिम्मेवारी पाए । जसमा भागबण्डा टुंग्याउन सत्तारुढ दलले बनाएको कार्यदल माओवादीबाट नेतृत्व र समानुपातिक सूची टुंग्याउन माओवादीले बनाएको कार्यदलको पनि नेतृत्व पाए । महत्वपूर्ण कार्यदलमा भूमिका पाएपछि टिकट वितरणमा पनि स्वभावैले उनी हस्तक्षेपकारी बन्न सके ।

लेखकको बारेमा
रामकुमार डिसी

रामकुमार डिसी अनलाइनखबरको राजनीतिक व्यूरोमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?