+
+

फिल्म ‘भगवत् गीता’विरुद्ध सेन्सर र विकास बोर्डमा उजुरी, धर्ममाथि आहत पुर्‍याएको आरोप

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २६ गते १२:०१

काठमाडौं । झरना थापाको आगामी फिल्म ‘भगवत् गीता’ निर्माण नहुँदै विवादमा तानिएको छ । हालै सार्वजनिक भएको फिल्मको टिजर र फिल्मको कथावस्तुप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै हिन्दू जागरण नेपालले सेन्सर बोर्ड र चलचित्र विकास बोर्डमा ध्यानाकर्षण पत्र बुझाएको छ ।

संस्थाले मंगलबार चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीलाई ‘चलचित्रले धार्मिक क्षेत्रलाई आहत पुर्‍याएको’ भन्दै ध्यानाकर्षण पत्र बुझाएको छ । बुधबारै सेन्सर बोर्डमा समेत पत्र बुझाइएको छ । अनलाइनखबरसँग कुरा गर्दै संस्थाका अध्यक्ष रामकृष्ण उपाध्यायले फिल्म ‘भगवत् गीता’को कथावस्तुमा अन्तरजातीइ विवाहसहितका विषय उल्लेख भएकाले त्यसलाई सच्याउन आग्रहसहित पत्र बुझाइएको बताए ।

‘गीतामा अन्तरजातीय र विजातीय भन्ने कुरा छैन । महाभारतमा अर्जुनलाई भगवान कृष्णले दिएको उपदेश यसमा छ,’ उपाध्यायले भने, ‘गीता भन्ने बित्तिकै एउटा इमेज बन्छ । त्यो इमेजलाई आहत पार्ने काम फिल्मले गरेको छ ।’

साथै, संस्थाले धर्मसँग सम्बन्धित कथावस्तुमा आधारित फिल्म बनाउन अनुमति दिनुपूर्व स्क्रिप्ट अध्ययन गर्न तथा धार्मिक क्षेत्रको आधिकारिक संस्थासँग समन्वय गर्न अध्यक्ष केसीको ध्यानाकर्षण गराएको छ ।

पत्र बुझ्दै अध्यक्ष केसीले धर्मसँग सम्बन्धित कथावस्तुमा फिल्म बन्नुपूर्व बोर्डले अध्ययन गर्ने र संस्थासँग समन्वय गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

हिन्दू जागरण नेपालका अध्यक्ष उपाध्यायका अनुसार यसअघि सुर्केथैली खै र गरुड पुराणजस्ता फिल्म तथा माग्ने बुढाको कमेडी शो कमेडी हबमा समेत धर्मलाई आघात पर्ने किसिमले कथावस्तु राखिएको स्मरण गरे ।

हामीले धार्मिक फिल्म बनाएका होइनौं : निर्माता

यसैबीच, ‘भगवत् गीता’का निर्माता सुनिलकुमार थापाले आफूहरुले धार्मिक फिल्म बनाउन नलागेको स्पष्ट पारेका छन् । ‘हामीले धार्मिक कथावस्तुमा फिल्म बनाउन लागेका होइनौं । स्वयं हामी धर्मप्रति संवेदनशील छौं । मेरी छोरी तथा अभिनत्री सुहाना स्वयं कृष्णभक्त हुन्,’ निर्माता थापाले अनलाइनखबरसँग भने ।

उनले अगाडि भने, ‘हामीले भागवद् गीता नभएर भगवत् गीता बनाउन लागेका हौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?