+
+

अवसरको चाङमा ओनसरी, किनारामा जयपुरी

महेश न्यौपाने महेश न्यौपाने
२०७९ असोज २७ गते १०:२३
ओनसरी घर्ती (वायाँ) र जयपुरी घर्ती

२७ असोज, रोल्पा । ओनसरी घर्ती र जयपुरी घर्ती रोल्पाका दुई चर्चित माओवादी नेता हुन् । माओवादी सशस्त्र द्वन्द्वमार्फत् उदाएका उनीहरु शान्ति स्थापनासँगै २०६३ सालमा पहिलो पटक अन्तरिम व्यवस्थापिका संसद छिरे । माओवादी राजनीतिक यात्राका समकक्षी उनीहरुलाई डेढ दशक लामो संसदीय राजनीतिले भने समान अवसर दिन सकेन । ओनसरी अवसरको चाङमाथि रहँदा जयपुरी भने राजनीतिको किनारामा पुगिन् ।

ओनसरी घर्ती २०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा रोल्पाबाट समानुपातिकमा परिन् । सोही अवधी युवा तथा खेलकुद राज्यमन्त्री बनेकी उनी पछि संविधान सभाको उपाध्यक्ष बनिन् । २०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा रोल्पा क्षेत्र नं. २ बाट प्रत्यक्ष निर्वाचन जितेकी उनी संविधान सभाबाट संविधान जारी गरेपछि रुपान्तरित प्रतिनिधि सभाको सभामुख बनिन् । उनी नेपालको पहिलो महिला सभामुख हुन् ।

२०७४ सालमा पुनः रोल्पाबाट समानुपातिक पद्धतीबाट प्रतिनिधि सभा सदस्य बनेकी उनी ४ मंसिर २०७९ मा हुने प्रतिनिधि सभाका लागि पाँच दलीय सत्ता गठबन्धनको तर्फबाट काठमाडौं क्षेत्र नं. २ बाट साझा उम्मेदवार बनेकी छिन् । प्रतिनिधि सभाको पहिलो महिला सभामुख रहेकी उनी नेकपा माओवादी केन्द्रको स्थायी समिति सदस्य समेत हुन् । माओवादी केन्द्रका प्रभावशाली नेता वर्षमान पुनको जीवन संगिनी उनले यसअघि ४ पटक संसद यात्रा गरिसकेकी छिन् ।

जयपुरी घर्ती २०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा रोल्पा क्षेत्र नं. १ बाट निर्वाचित भएकी थिइन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रोल्पा क्षेत्र नं. २ रोज्दा जयपुरीको रोजाइ रोल्पा क्षेत्र नं. १ परेको थियो । नेपाली कांग्रेसका नेता माधव प्रसाद आचार्यलाई झण्डै २० हजारको फराकिलो मत अन्तरले पराजित गर्दै उनी संविधान सभा सदस्य बनेकी थिइन् ।

पहिलो संविधान सभाको उत्तराद्र्धमा छोटो समय महिला तथा बालबालिका मन्त्रालयको जिम्मेवारी पाएकी उनले माओवादी पार्टीमा आएको दुई लाइन संघर्षका कारण मन्त्रालय भने सम्हाल्न पाइनन् ।

२०६९ सालमा तत्कालिन नेकपा माओवादी विभाजन हुँदा उनले मोहन वैद्यलाई रोजिन् । मोहन वैद्य नेतृत्वको पार्टीले २०७० सालको दोस्रो संविधान सभा निर्वाचन बहिष्कार गरेका कारण जयपुरीको संविधान सभा यात्रा पनि रोकिएको थियो । मोहन वैद्यको पार्टी विभाजित गरी नेत्रविक्रम चन्द विप्लवले पुनः अर्को पार्टी बनाएपछि जयपुरी दुवैतिर नलागी तटस्थ बसिन् ।

मोहन वैद्यको पार्टीबाट रामबहादुर थापा बादल सहितको समूह नेकपा माओवादीमा फर्किंदा जयपुरी समेत आफ्ना केही समर्थक सहित सोही पार्टीमा समाहित भइन् । २०७४ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेकपा माओवादी केन्द्रको समानुपातिक सांसद बनेकी उनी सोही अवधिमा प्रतिनिधि सभाको सामाजिक विकास समितिको सभापति भइन् ।

हाल नेकपा माओवादी केन्द्रको स्थायी समिति सदस्य रहेकी घर्ती मंसिर ४ को निर्वाचनमा रोल्पाबाट चुनाव लड्न चाहन्थिन् । जिल्ला पार्टीले उनको नाम सिफारिस पनि ग¥यो । टिकटका लागि नेता वर्षमान पुनसँग लामो समय रस्साकसी गरेकी उनी टिकट नपाएपछि निर्वाचन प्रकृयाबाटै बाहिन पुगिन् ।

सशस्त्र द्वन्द्वमा श्रीमान गुमाएकी उनी पार्टीमा न्याय पाउन नसकेकी महिला नेतृको रुपमा कार्यकर्ताहरुमाझ परिचित छिन् । सहयात्रीहरु अवसरको चाङ माथि बस्दा जयपुरी भने राजनीतिको किनारामा छिन् ।

राजनीतिमा बलियो आड भरोसा नहुँदा उनी किनारा पर्दै जान थालेको पूर्व सांसद लेखनाथ आचार्यको भनाइ छ । ‘पछिल्लो पटक नेपालको राजनीति विकृत हुँदै जाँदा जयपुरी जस्ता महिला नेतृ किनारा लाग्दै जान थालेका हुन्,’ आचार्य भन्छन्, ‘नेपालको समानुपातिक पद्धती श्रीमान्–श्रीमती र नातागोताका लागि हुँदा राजनीतिमा त्याग गरेकाहरु किनारामा पर्दै गए ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?