+
+

भोलि नेपालमा पाँच फिल्म रिलिज हुँदै, बक्स अफिस र शोमा पर्नेछ दबाब

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २७ गते १२:३४

काठमाडौं । नेपालमा शुक्रबार पाँचवटा फिल्म रिलिज हुँदैछन् । नेपालको ‘हिजोआजका कुरा’, भारतका ‘डाक्टर जी’, ‘गडफादर’ र ‘कन्तारा’ तथा जापानको ‘वान पिस रेड’ प्रदर्शन हुनेछन् ।

एकैदिन पाँच फिल्म रिलिज हुँदा दर्शकलाई रुचिअनुसार हेर्ने विकल्प खुला भए पनि बक्स अफिसमा भने दबाब पर्नेछ । शो र दर्शक बाँडिंदा रिलिज हुन लागेको नयाँ नेपाली फिल्मलाई पक्कै चुनौती खडा हुनेछ ।

त्यति मात्र होइन, अहिले हलमा राम्रो प्रदर्शन गरिरहेको ‘दुई नम्बरी’ र चल्दै गरेको ‘प्रेमगीत ३’लाई थप चुनौती हुनेछ ।

टेलिभिजनमा ‘हिजोआजका कुरा’ हेरेर हुर्किएको नेपाली दर्शकको जमातलाई फिल्म हिजोआजका कुरा रुचिकर हुनसक्छ । तर ‘मास’ दर्शकलाई यसले कत्तिको अपील गर्न सक्ला भन्ने कुरा चाहिं फिल्मको वर्ड अफ माउथमा निर्भर हुनेछ ।

समीक्षकबाट सकारात्मक समीक्षा प्राप्त गरेको दक्षिण भारतीय फिल्म ‘कन्तारा’लाई ‘केजीएफ २’ का निर्माताले निर्माण गरेका हुन् । विश्वभर नै शुक्रबार लाग्न लागेको कन्तारा साउथ फिल्म रुचाउने र केजीएफका फ्यानलाई रुचिकर हुनसक्छ ।

सलमान खान र चिरञ्जीवी स्टारर फिल्म ‘गडफादर’ भारतमा गत साता नै रिलिज भएपनि एप्पल इन्टरटेनमेन्टले नेपालमा भने भोलि (शुक्रबार)देखि रिलिज गर्दैछ । भारतीय बक्स अफिसमा यसले औसत कमाइ गरिरहेको छ ।

आयुष्मान खुराना स्टारर कमेडी ड्रामा ‘डाक्टर जी’लाई लिएर पनि दर्शकमाझ पर्खाइ छ । विषयगत फिल्म हेर्न रुचाउने गम्भीर दर्शकदेखि कमेडी रुचाउने दुवैथरी दर्शकलाई यसले आकर्षित गर्न सक्छ । यसले पुरुष गाइनोक्लोजिस्टको कथा भन्छ ।

‘वान पिस रेड’ सन् २०२२ मा जापानी बक्स अफिसमा सबैभन्दा बढी कमाउने फिल्म हो । एनिमे सिरिजका फ्यान र दर्शकलाई लक्षित गर्दै नेपाल रिलिज गर्न लागिएको यो फिल्मलाई लिएर तन्नेरीमाझ उच्च पर्खाइ छ ।

अहिले हलमा चलिरहेको ‘२ नम्बरी’ले पहिलो साताजस्तै आफ्नो बक्स अफिस मोमेन्टलाई अघि बढाउन सके, यसले दोस्रो साता पनि कमाइ राम्रै गर्न सक्छ । तर दर्शकीय क्रयशक्ति र शोको दबाब चाहिं बक्स अफिसमा स्पष्ट रुपमा पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?