+
+

स्थानीय तहको नतिजा देखेर चुनाव लड्न गोरखा आएँ : प्रचण्ड

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज २८ गते १७:५०

२८ असोज, गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गत स्थानीय तहको निर्वाचनको मतपरिणाम देखेर आफूले गोरखामा उम्मेदवारी दिएको बताएका छन् ।

शुक्रबार गोरखाको पाटेचौर स्थित पार्टी कार्यालयमा आयोजित निर्वाचन केन्द्रित अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उनले स्थानीय तह निर्वाचनमा गोरखाका अधिकांश पालिका माओवादीले जितेका कारण पनि आफू गोरखा आउने वातावरण बनेको बताए ।

‘गत स्थानीय तह निर्वाचनको ब्याटलमा तपाईंहरुले जस्तो परिणाम निकाल्नुभयो, म गोरखा आउनुमा एउटा कारण त्यो पनि हो’, उनले कार्यकर्तालाई सम्बोधन गर्दै भने, ‘तपाईंहरु सबै चुनाव हारेको भए म यहाँ आउने वातावरण बन्थ्यो कि बन्दैन्थ्यो ? पालिका हारेको ठाउँमा अध्यक्ष के आउने भन्ने पथ्यो कि !’

परिस्थितिको सुक्ष्म अध्ययन गरेर हेडक्वार्टरको विशेष टिमले गोरखा जान उपयुक्त छ भनेपछि आफू गोरखा आएको प्रचण्डले बताए । ‘विशेष गरी हाम्रो उपाध्यक्ष कम्रेड नारायणकाजी श्रेष्ठ र म बसेर छलफल गर्दा गोरखा जानु नै ठीक छ, रुपान्तरणको निम्ति नयाँ आधार खडा गर्न सकिन्छ भन्ने लाग्यो, गोरखा जानुपर्छ भनेर नेतृत्व तहले पनि भन्यो, तपाईंहरुले पनि आइदिनुपर्‍यो भन्नुभयो सबै तालमेल मिलेको हो’, प्रचण्डले भने ।

पहिले गोरखा–१ बाट नाम सिफारिस भए पनि निर्वाचन क्षेत्र नम्वर २ बाट उम्मेदवारी दिएको उनले बताए ।

‘गोरखा आउनुपर्‍यो भनेर सबैभन्दा पहिले गोरखा–१ बाट सिफारिस आएको हो, १ नम्बरका साथीहरुले बढी भन्नुभएको मैले सम्झिरहेको छु, तर पछि विविध कारणले २ नम्बरमा अलि सजिलो हुन्छ भनेर कमरेडहरुले भनेपछि म २ मा आएको हुँ, तर मलाई १ वा २ नम्बरमा नसोचेर समग्र गोरखा जिल्लामा आएको सम्झिदिनुहोला’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?