+
+

जसपाका चुनावी घोषणा : बेरोजगार भत्ता बाँड्नेदेखि खाद्यान्नमा आत्मनिर्भर बन्नेसम्म

अनलाइनखबर अनलाइनखबर
२०७९ असोज ३१ गते १५:१४

३१ असोज, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले दुई वर्षभित्र देशलाई खाद्य पदार्थहरूमा आत्मनिर्भर बनाउने भन्दै चुनावी घोषणापत्र जारी गरेको छ । ‘प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन-२०७९’का लागि पार्टीले सार्वजनिक गरेको प्रतिवद्धतापत्रमा अनेकौं महत्वकांक्षी घोषणाहरु छन् ।

नेपाललाई अहिलेसम्म मासु, अण्डा र दूधमा आत्मनिर्भर घोषणा गरिएको छ । तर, दूध तथा दुग्धजन्य पदार्थको आयात रोकिएको छैन । यस्तो अवस्थामा जसपाले

प्रतिवद्धतापत्रमा हाल मूल्य अभिवृद्धि कर (भ्याट)मा जान नपर्ने गरी काम भएको स्थायी लेखा नम्बर (प्यान)मा आधारित कारोबारको थ्रेसहोल्ड २० लाखबाट  ५० लाख रुपैयाँ पुर्‍याउने उल्लेख छ । यस्तै आगामी पाँच वर्षमा १० हजार मेगावाट विद्युत उत्पादन गर्ने प्रतिवद्धता पनि जसपाको छ । जबकी तत्कालै निर्माण सुरु गरेपनि पााचर्षभित्र १० हजार मेगावाटका परियोजना निर्माण गरिसक्न प्राविधिक रुपमा असम्भव जस्तै छ ।

जसपाले बेरोजगार नागरिकलाई राज्यले बेरोजगार भत्ताको व्यवस्था गर्ने घोषणा पनि गरेको छ । पहाडी बस्तीहरूमा यातायातमा लागि केबल कारको विकास गर्ने र सवारी साधन चलाउँदा दुर्घटनाका नाममा हुने हत्यालाई निरुत्साहित गर्न ऐनलाई संशोधन गरेर क्षतिपूर्ति रकम बढाएर दोषीलाई कडा कारवाहीको व्यवस्था गर्ने घोषणापत्रमा उल्लेख छ ।

जेष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य उपचार र धार्मिक पर्यटनको व्यवस्था गर्ने सहित सयौं आर्थिक तथा वित्तीय सुधारका योजना सार्वजनिक भएका छन् ।

जसपाले मुलुकको समावेशी विकास र समतामूलक समृद्धिलाई क्षेत्रगत रुपमा आर्थिक विकास, भौतिक विकास, सामाजिक विकास, संस्थागत विकास एवम् सुशासन, पर्यावरणीय सन्तुलन र विपद् व्यवस्थापन गरी पाँच आयाममा निर्धारण गरी सोही अनुरुप विकासका लागि आधारभूत अर्थनीति अवलम्बन गरिने बताएको छ ।

आर्थिक विकास मुलुकको सबैभन्दा टड्कारो आवश्यकता भएको भन्दै पार्टीले सन् २०१५ मा सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान जारी भइसकेपछि आर्थिक अवस्था परिवर्तन नै राजनीतिको मुख्य गन्तव्य हुन पुगेको उल्लेख गरेको छ ।

यस्ता छन् जसपाले गरेका प्रमुख आर्थिक तथा विकासे घोषणा :-

आर्थिक विकास

-सामाजिक बजार अर्थतन्त्रको खाका अनुरुप राज्य र बजारको भूमिकालाई सन्तुलित बनाउने ।

– आर्थिक बृद्धिदर उच्च राख्न पूँजी निर्माण तथा परिचालन, नयाँ प्रविधिको उपयोग र विकासका साथै विभिन्न रूप र स्थितिमा रहेका उत्पादक शक्तिहरूको क्षमता विकास एवम् प्रभाव विस्तारमा जोड दिने ।

-निर्यातभन्दा १० गुणा बढी आयात भइरहेको परिप्रेक्ष्यमा तुलनात्मक लाभ भएका उद्योगको क्षेत्रमा लगानी बढाउन राष्ट्रिय उद्योगीहरूलाई प्रोत्साहन दिने ।

– देशको स्रोत साधनमा आधारित निकासीको अभिवृद्धि गरी बढ्दो व्यापार घाटालाई नियन्त्रण गर्ने ।

– जल, जमिन, जङ्गल, जडीवुुटी र जनशक्ति जस्तो महत्त्वपूर्ण स्रोत साधनहरूको उच्चतम सदुपयोग गरी मुलुकलाई तीव्र आर्थिक विकासको बाटोमा डोर्‍याउनका लागि विकासका पूर्वाधार तयार गर्ने ।

– बिकास योजनाहरू तर्जुमा गर्दा तीव्र आर्थिक वृद्धिका साथै समतामूलक समाज निर्माण गर्न जोड दिने । यसका लागि ५ वर्ष, १० वर्ष र २५ वर्षको योजना तर्जुमा गर्ने ।

– कुल गार्हस्थ उत्पादनको ५० प्रतिशत स्थीर पूँजीको रूपमा विकास गर्ने, पाँच वर्षमा निरन्तर २ अङ्कको आर्थिक वृद्धि हासिल गर्ने र प्रति व्यक्ति आय ५ हजार डलर पुर्याउने ।

– ५ वर्षभित्र निरपेक्ष गरिवीको रेखामुनी रहेका जनतालाई गरिबीबाट मुक्त गर्ने र बहुआयामिक गरिबीको अनुपातलाई एकल अंकमै सीमित गर्ने ।

– उत्पादनको वृद्धि तथा समन्यायिक वितरण, सार्वजनिक खर्चको सन्तुलित विनियोजन, तथा वित्तीय साधनको न्यायोचित बाँडफाँटका आधारमा सामाजिक न्यायको मार्गमा राज्यका सबै कार्य अगाडि बढाउने ।

– देशको प्राकृतिक तथा मानवीय स्रोत-साधनको अधिकतम् उपयोग हुने गरी आर्थिक नीति तर्जुमा गरी समताको सिद्धान्तमा आधारित प्रगतिशील कर प्रणाली लागू गर्ने ।

– देश विकासका लागि बाधक रहेका आर्थिक ऐन, नियमहरू संशोधन गर्ने ।

कृषि तथा भूमि व्यवस्था

– परम्परागत निर्वाहमुखी कृषि अर्थतन्त्रलाई आधुनिक आत्मनिर्भर आौद्योगिक अर्थतन्त्रमा प्रवर्द्धन गर्न कृषिमा आधारित उद्योगको विकासलाई प्राथमिकता दिने ।

– कृषिको वैज्ञानिकीकरण, यान्त्रिकीकरण र व्यवसायीकरण गर्ने । कृषि फार्महरूको विकास गरी दुई वर्षभित्र खाद्य पदार्थहरूमा आत्मनिर्भर हुने ।

– भूमिको उत्पादकत्व बृद्धिका लागि बैज्ञानिक भू-उपयोग नीति लागू गर्नेे र कृषिका लागि जमिनको उपलब्धता सुनिश्चित गर्ने ।

– भूमि सुधारका अहिलेसम्मका आयोगको प्रतिवेदन र कामको समीक्षा गर्दै किसानको हितमा बैज्ञानिक भूमि सुधार लागू गर्ने ।

– कृषि उपजहरूको आयात प्रतिस्थापन गर्न निर्यातमूलक कृषि उपज तथा जडिबुटीहरूको ब्यवस्थित उत्पादन र निर्यात बृद्धिका लागि ठोस काम गर्ने ।

– एक गाउँ, एक उत्पादनको नीति लागू गरी कृषि उत्पादन बढाउने । पालिकाभर कृषिबाली बिमा अभियान संचालन गरी प्रकोपजन्य अवस्थाबाट हुने बाली नोक्सानीको सोधभर्नाको प्रबन्ध गरिनेछ ।

– साना किसान लक्षित कृषि तथा पशुबिमामा अनुदानको व्यवस्था गरिनेछ । प्रत्येक गाउँपालिकाभित्र उत्पादित हुने दूग्ध तथा मासुजन्य पदार्थमा उत्पादनमा आधारित अनुदान दिने नीति अवलम्बन गरिने छ ।

– पशु सेवाका लागि आवश्यक भ्याक्सिन, औषधि तथा अन्य लागतजन्य वस्तुहरुको उपलब्धता सुनिश्चित गरिनेछ । प्रत्येक पालिकाको व्यवस्थापन र संचालनमा प्रत्येक वडाहरुमा कृषि उपज संकलन केन्द्र स्थापना गरी बजारीकरणको संयन्त्र निर्माण गरी संचालन गरिनेछ ।

– राज्यले किसानहरूका लागि आवश्यक सुविधाहरू जस्तै कृषि ऋण, उन्नत मल, बीउ विजन, प्राविधिक शिक्षा, सिंचाइ, कृषि बजारको ब्यवस्था, कृषि सडक आदिको ठोस कार्यक्रम बनाई कार्यान्वयन गर्ने ।

– कृषिसम्बन्धी सम्पूर्ण सेवाहरू आपूर्ति गर्ने कार्यमा सहकारी संस्थाहरूलाई प्राथमिकता दिने र कृषिमा बिमाको ब्यवस्था गरी कृषि पेसामा रहेको जोखिमलाई निराकरण गर्ने ।

– आगामी दुई वर्षभित्र कृषि विकासका लागि नेपालमा रासायनिक मल कारखाना खोल्ने । दुई वा दुईभन्दा बढी किसानहरूको संलग्नतामा चक्लावन्दी गरी सहकारी खेती गर्ने किसानहरूलाई राज्यले प्रोत्साहित गर्ने ।

– गरिबीको रेखामुनि रहेका मुक्त कमैया, हलिया, बाँधा र भूमिहीन किसानहरूलाई बसोवासको ब्यवस्थाका साथै तिनीहरूको जीवनस्तर माथि उठाउन ठोस नीति तथा कार्यक्रम ल्याउने ।

– चालू सिंचाई योजनाहरूको प्रभावकारी कार्यान्वयन गर्ने तथा ५ वर्षभित्र सुनकोशी-कमला, भेरी-बबई, कर्णाली लगायत ठूला नदीहरूबाट पानी डाइभर्सन गरी देशैभरि सिंचाइ सुविधा पुर्‍याउने नीति लिने ।

– कृषि क्षेत्र, वन क्षेत्र, आवास क्षेत्र र औद्योगिक क्षेत्रको रुपमा भूमिको वैज्ञानिक व्यवस्थापन गरी कृषि क्षेत्र र वन क्षेत्रमा पर्ने जमिनलाई अन्य प्रयोजनका लागि गरिने प्रयोगलाई निरुत्साहित गरि उर्वर भूमिको संरक्षण गर्ने ।

– तराई तथा मधेश क्षेत्रका नदी कटान क्षेत्रलाई तटबन्धन गरी नदी उकास भूभागलाई व्यवस्थित रूपमा प्रयोगमा ल्याउन योजना बनाउने ।

– “प्राकृतिक खेती” अन्र्तगत ५ वर्षमा प्रत्येक पालिकाहरुसँग सहकार्य गरी प्राकृतिक खेतीको व्यवस्था गर्ने ।

– मधेश प्रदेश लगायतको कृषि व्यापारको रुपमा रहेको उखु खेतीे बढाउनका लागि वितरण र मूल्य निर्धारणमा विशेष पहल गरी किसानको समस्या समाधान गर्न पहल गर्ने ।

– ५ वर्षभित्र किसानको सिँचाइका लागि बिजुलीको सुविधा निःशुल्क उपलब्ध गराउनका लागी पहल गर्ने ।

– किसानहरुका हकमा कृषिजन्य बस्तुको आयात करको दायरा घटाउने ।

उद्योग तथा विदेशी लगानी

– उद्योग, वाणिज्य र व्यापारको क्षेत्रमा ऐतिहासिक कालदेखि रहेको ज्ञान, सीप र अनुभवका आधारमा आयात प्रतिस्थापन र निर्यात प्रबर्द्धनमूलक उद्योगको विकास हुने गरी औद्योगिक नीति बनाउने ।

– पूँजी, श्रम र उद्यमशीलताको संयोजन, लगानीमैत्री वातावरणको निर्माण तथा नयाँ औद्योगिक क्षेत्रहरूको स्थापना गरी राष्ट्रिय औद्योगिकरणको गतिलाई तिब्रता दिने ।

– राष्ट्रिय हितको सुनिश्चितता गर्दै विदेशी पूँजी, प्रविधि तथा लगानीलाई भित्र्याउने । औद्योगिक विकासलाई तीव्रता दिनका निम्ति देशका विभिन्न ठाउँमा विशेष आर्थिक क्षेत्रको स्थापना गर्ने ।

– कृषि, वन, पर्यटन र जलस्रोत क्षेत्रका उद्योगमा लगानीलाई प्रथमिकता दिंदै वन पैदावार, जडिबुटी प्रशोधन, खनिज र कृषिजन्य उद्योगहरूको विकासलाई योजनाबद्ध रूपले अघि बढाउने ।

– तुलनात्मक लाभ भएका उद्योगको क्षेत्रमा लगानी बढाउन राष्ट्रिय उद्योगीहरूलाई प्रोत्साहन दिने । समावेशितालाई प्रोत्साहित गर्ने उद्योगहरूलाई विशेष सुविधा दिने ।

– कृषि क्षेत्रको दिगोपनका लागि कृषि तथा औद्योगिक विकासमा जोड दिने, स्वदेशी लगानीलाई प्रोत्साहन र वैदेशिक लगानीलाई आकर्षण गर्ने नीति लिने ।

– देशको आन्तरिक स्रोत साधनमा आधारित ग्रामीण लघु उद्योगहरूका साथै घरेलु तथा साना उद्योग ब्यवसायहरूको विकास र प्रवर्द्धनमा जोड दिने ।

– मौजुदा औद्योगिक उत्पादनलाई गुणस्तरीय र प्रतिस्पर्धी बनाउन मझौला उद्योगहरूलाई ठूला उद्योगको रूपमा विकास गर्ने वातावण सिर्जना गर्ने ।

– कृषिजन्य उद्योगहरूमा प्रवाहित हुने ऋणमा लगाइने ब्याजदर कम गरी त्यस्ता उद्योगहरूलाई प्रोत्साहन गर्ने ।

– औद्योगिक दक्ष जनशक्ति उत्पादन गर्नका लागि प्राविधिक शिक्षा दिने तथा श्रम बजार मिल्दो एकीकृत सीपमूलक तालिम कार्यक्रमहरू सञ्चालन गर्ने ।

– ग्रामीण उद्यमशिलताको प्रवर्द्धन गर्दै नेपालका आदिवासी जनजातिहरुको सीप कला र ज्ञानको प्रयोग गरी उत्पादित वस्तुहरुको अन्तर्राष्ट्रियस्तरमा ब्राण्डिङ गर्न ‘मेक इन नेपाल बाइ इन्डिजिनियस् ह्याण्डस्’ वा यस्तै कुनै नारा प्रयोगमा ल्याएर एप मार्फत् बजार विस्तार गर्ने ।

वाणिज्य तथा आपूर्ति

– राष्ट्रिय औद्योगिकरणलाई बढावा दिने गरी ब्यापारलाई विविधीकरण गर्ने । व्यापार र पारवहन क्षेत्रमा पारस्परिक लाभको आधारमा सन्धि गर्न पहल गर्ने ।

– तुलनात्मक लाभका वस्तुहरूको निकासीलाई प्रोत्साहित गर्ने र अन्तर्राष्ट्रिय बजारको प्रवर्द्धन गर्ने ।

– विदेशी बस्तुहरूको अनुचित प्रतिष्पर्धाबाट स्वदेशी बस्तुहरूलाई संरक्षण गरी आयात नियन्त्रण गर्ने ।

– साना तथा मझौला व्यवसायीहरुको हक, हित र सुरक्षाका लागि फरक नीतिगत व्यवस्था गर्ने

– साना व्यवसायीहरुलाई औपचारिक क्षेत्रमा समावेश गर्नका लागि प्रशासनिक सहजताको वातावरण मिलाउने

– हाल विद्यमान स्थायी लेखा -प्यान) मा आधारित कारोबारको थ्रेसहोल्ड २० लाखबाट रु. ५० लाख पुर्याउने र साना व्यापारी व्यवसायीहरुको लेखाप्रणाली तथा व्यवसाय नविकरणलाई सहज र सरल बनाउने

– एकाधिकार, अल्पाधिकार, मिसावट, महंगी, कृत्रिम अभाव, कालाबजारी जस्ता विकृतिहरूको नियन्त्रण गर्न सरकारी उपाय, बजार संयन्त्र र सजग उपभोक्ताहरूको सहकार्य र समझदारीको नीति लिने ।

– दैनिक उपभोग्य बस्तुहरूमा हुने संकटलाई अन्त्य गर्न आपूर्तिको ठोस ब्यवस्था गर्ने ।

– बजारलाई उचित तवरमा नियमन गरी विद्यमान कार्टेलिङ्ग र सिन्डीकेट प्रणालीलाई निर्मूल गर्ने ।

– जनताको दैनिक जीवनलाई सहज बनाउन पेट्रोलियम तथा ग्यासको उत्खननलाई ठोस कार्यरूप दिने ।

– हिमाली भेगका जनताको अत्यावश्यकीय वस्तुहरूको आपूर्तिमा रहेको समस्यालाई ध्यानमा राखी उत्तरी सीमाको थप व्यापारिक नाकाहरू खोल्ने ।

– चीन र भारत जस्तो विशाल अर्थतन्त्र भएका छिमेकीहरूबीचको आर्थिक सम्बन्धबाट फाइदा लिनका लागि नेपाललाई दुईर् देशबीचको पारवहन विन्दुका रूपमा स्थापित गर्ने अर्थ कूटनीति अबलम्वन गर्ने ।

जलस्रोत तथा उर्जा विकास

– जलस्रोत तथा उर्जा विकास देशको स्थायित्व, विकास र समृद्धिको भरपर्दो, महत्वपूर्ण र दिगो आधार भएकाले त्यसका लागि राष्ट्रिय सहमतिका आधारमा एकीकृत राष्ट्रिय योजना र कार्यक्रम तर्जुमा गर्ने ।

– ऊर्जाको विकासलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगका रूपमा महत्व दिनुका साथै लाइसेन्स दिने काममा भइरहेको प्रशासनिक झन्झटबाट मुक्त गर्न एकद्वार प्रणाली लागू गर्ने ।

–   ऊर्जामा आत्मनिर्भर हुनका लागि गाउँ-गाउँमा राष्ट्रिय प्रसारण लाइन नपुगेको स्थानहरुमा वैकल्पिक ऊर्जाका लागि निःशुल्क सौर्य ऊर्जाका लागि आवश्यक प्रबन्ध गर्ने ।

– ऊर्जाको दिगोपनाको सुनिश्चिता र पर्यावरणीय सन्तुलन कायम राख्नका लागि वैकल्पिक ऊर्जाको स्रोतहरुको उपयोगितालाई पनि जोड दिने ।

– ५ वर्षभित्र ऊर्जा शक्तिमा आत्मनिर्भर हुने नीति अवलम्बन गरी जलविद्युतलाई निर्यातको मुख्य उत्पादन बनाई आगामी पाँच वर्षमा १० हजार मेगावाट विद्युत उत्पादन गर्ने ।

– गरिबीको रेखामुनी रहेका जनतालाई घरेलु खपतमा निःशुल्क ऊर्जा सुविधा उपलब्ध गराउने ।

– ऊर्जा विकासका लागि सार्वजनिक, सहकारी र नीजि क्षेत्रको सहकार्यलाई प्रोत्साहित गर्नुका साथै स्थानीय जनताको शेयर/लगानीलाई उच्च प्राथमिकता दिने ।

– ऊर्जा क्षेत्रमा ठूला परियोजनाहरूको विकासका लागि बहुराष्ट्रिय बैंकहरूसँगको सहकार्य तथा राज्य र निजी क्षेत्रको लगानीमा स्थापित पूर्वाधार बैंक, लगानी बोर्ड वा अन्य कुनै संस्थागत व्यवस्था गरी लगानी व्यवस्थापन गर्ने ।

– सरकारका लगानी रहेका संस्थाहरु जस्तैः नागरिक लगानी कोष, कर्मचारी सञ्चय कोष, बिमा कम्पनी आदिमा रहेको कोषलाई विद्युत उत्पादनमा लगाउन प्रेरित गर्नेे ।

– साना तथा मझौला जलविद्युत आयोजनाहरूका साथै सौर्य, आणविक, वास्प/वायु आदि वैकल्पिक उर्जा उत्पादनमा प्राथमिकता दिने ।

– जलाशययुक्त आयोजनाहरूको विकासलाई प्रोत्साहित गर्न सरकारले निश्चित अवधिसम्म कर छूटको सुविधा दिने । त्यस्ता आयोजनाहरूमा नेपालको हितलाई सर्वोपरि राख्दै विदेशी लगानी आकषिर्त गर्ने ।

– नदीप्रणालीमा आधारित उत्तर दक्षिण लोकमार्गहरूमा मध्यम क्षमताको तथा तराईर्/मधेशको पूर्व पश्चिम लोकमार्ग, हुलाकी लोकमार्ग र मध्य पहाडको पुष्पलाल लोकमार्गमा उच्च क्षमताको विद्युत प्रसारण लाईन जडान गर्ने ।

– विद्युतीय सुरक्षाका लागि सहर बजारमा प्रवाहित हुने सम्पूर्ण विद्युत प्रसारण लाइन भूमिगत रूपमा जडान गर्ने ।

पर्यटन क्षेत्रको विकास

– नेपाललाई पर्यटकीय दृष्टिले अन्तर्राष्ट्रिय गन्तब्य केन्द्रको रूपमा विकसित गर्दै यस क्षेत्रलाई रोजगारी र विदेशी मुद्रा आर्जनको स्रोतको रूपमा विकास गर्ने ।

– देशको सांस्कृतिक, जैविक एवम् भौगोलिक विविधतालाई पर्यटनको मुख्य क्षेत्रको रूपमा विकास गर्न आवश्यक बजेटको ब्यवस्था गर्ने र कामलाई तिव्रता दिने ।

– विमानस्थल, हवाई उड्ययन, होटल, ट्राभल एजेन्सी, टे्रकिङ एजेन्सी, राष्ट्रिय निकुञ्ज, हिमाली सडक जस्ता पूर्वाधारहरूलाई व्यवस्थित गर्ने ।

– पर्वतीय तथा हिमाली क्षेत्रमा पर्यटन प्रवर्द्धन गर्नका लागि पूर्वाधार निर्माणमा जोड दिने । त्यस्तै विश्व बजारमा नेपालका हिमालहरुको पर्यटकीय उपयोगिताको प्रवर्द्धन गर्ने ।

– जीर्ण अवस्थामा रहेका पुरातात्विक तथा पर्यटकीय स्थलहरूको जीर्णोद्धार गर्नुको साथै आवश्यक पूर्वाधार निर्माण गरी पर्यटन क्षेत्रको रूपमा विकास गर्न गुरुयोजना बनाई काम सुरु गर्ने ।

– पशुपति मन्दिर, जानकी मन्दिर (जनकपुरधाम), छिन्नमस्ता मन्दिर (सप्तरी), ब्राह्क्षेत्र (सुनसरी), काके्रविहार (सुर्खेत), बागेश्वरी (नेपालगंज), स्वर्गद्वारी (प्यूठान), मुक्तिनाथ, गढीमाई, सलहेश, दिनाभद्री, लुम्बिनीलगायतका क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विश्वबजारमा प्रवर्द्धन गर्ने ।

-भूकम्पबाट क्षति भएको नेपाः उपत्यकाका सांस्कृतिक सम्पदाहरूको पुननिर्माण गर्ने । उपत्यकाका प्राचीन बस्तीहरूलाई नमूना सम्पदा शहरको रूपमा विकास गर्ने ।

– जैविक विविधता र पहिचानमा आधारित पर्यटनको विकास गर्ने । देशव्यापी रुपमा सामुदायिक होमस्टेलाई प्रोत्साहित गर्ने ।

– साहसिक पर्यटन, शिक्षा, स्वास्थ्य, सभा सम्मेलन र खेलकुदलाई पर्यटनको क्षेत्र बनाउन ठोस योजनाका साथ काम सुरू गर्ने ।

– पर्यटन व्यवसायका लागि दक्ष जनशक्ति निर्माण गर्ने । नीजि क्षेत्र तथा विदेशी लगानीलाई आकषिर्त गर्ने ।

– धरान-तुम्लीङ-साल्पा पोखरी हुँदै नाम्चे जाने तेन्जिङ शेर्पा हिलारी ट्रेकिङ रुटलाई ट्रेकिङ ट्रेलको रूपमा विकास गर्नुका साथै हिमाली क्षेत्रमा नयाँ पर्यटकीय स्थलहरूको खोजी गरी नयाँ टे्रकिङ रुटहरू बनाउने ।

श्रम तथा रोजगारी

– विकासका सबै क्षेत्रहरूको मुख्य उद्देश्य मानव विकास र त्यसको मुख्य आधार श्रम नै भएकाले श्रम-संस्कृतिलाई प्रोत्साहित गर्ने ।

– मुलुकमा प्रशस्त रोजगारीका अवसरहरु सिर्जना हुनेगरी आर्थिक नीति तय गर्ने । नागरिकहरूलाई गास, बास र कपासको व्यवस्था गर्न एक परिवार एक रोजगारको नीति अबलम्बन गर्ने ।

– वैदेशिक रोजगारमा जानुअघि कामदारलाई आवश्यक शीपमुलक तालिम दिने व्यवस्था गर्ने ।

– देशको युवा श्रमशक्ति रोजगारीका लागि विदेश पलायन हुनुपर्ने स्थितिको अन्त्य गर्न देशभित्र उत्पादनका क्रियाकलापहरू वृद्धि गर्ने ।

– देशभित्रै रोजगारी सिर्जना गर्नका लागि सहरी क्षेत्रमा रोजगार बैङ्कको स्थापना र शिक्षित बेरोजगारहरूलाई शैक्षिक प्रमाणपत्र धितो राखी स्वरोजगार व्यवसाय गर्न प्रोत्साहित गर्ने ।

– आन्तरिक श्रम कार्यालयमार्फत श्रम नीति तर्जुमा, कार्यान्वयन र कार्यथलोको अनुगमन तथा निरीक्षण गर्ने व्यवस्था गर्ने । श्रम क्षेत्रमा कार्यरत सम्पूर्ण श्रमजीवीहरूको पञ्जीकरणको व्यवस्था गर्ने ।

– सबै श्रमजीवीहरूलाई श्रम ऐनले तोकेबमोजिम पारिश्रमिक र सेवा सुविधा उपलब्ध गराउने, यसको उल्लङ्घघन दण्डनीय हुने व्यवस्था गर्ने ।

– ग्रामीण क्षेत्रमा उपभोक्ता, बचत तथा ऋण, उत्पादन आदि उद्देश्यले सहकारी संस्था खोलेर जनतालाई ग्रामीण स्वरोजगार कार्यक्रममा आबद्ध गर्ने ।

– राज्यले रोजगारी प्रदान नगरेसम्म बेरोजगार नागरिकलाई राज्यले बेरोजगार भत्ताको व्यवस्था गर्ने ।

– सीमान्तकृत तथा लोपोन्मुख समुदायहरूलाई रोजगारीको विशेष व्यवस्था गर्ने । तिनिहरूको परम्परागत पेसा वा व्यवसायको समयानुकुल आधुनिकीरण गर्ने ।

– रोजगारीको क्षेत्रमा महिला-पुरुषबीचका भेदभावसहित हरेक किसिमका भेदभाव दण्डनीय हुने । रोजगारीमा रहेका महिलाहरूका लागि शिशु हेरचाह केन्द्रको व्यवस्था गर्ने ।

– वैदेशिक रोजगारीमा जाने श्रमजीवीहरूमाथि हुने अनियमितता र शोषणलाई समाप्त पार्न ती देेशहरूमा श्रम सहचारीको व्यवस्था गरिनुको साथै राजदूतावासमा एउटा डेस्क राख्ने ।

– वैदेशिक रोजगारीमा हुने ठगीको नियन्त्रणका लागि बैदेशिक रोजगार कानुनमा सुधार गर्ने । वैदेशिक रोजगारीको सेवा तथा कानुनी उपचार कार्यालयहरू जिल्लास्तरमा स्थापना गर्ने ।

– नेपालीहरूलाई रोजगारीमा पठाइने देशहरूसँग श्रम सम्झौता गरी उनीहरूको हकहितको रक्षा गर्ने । विपन्न समुदायलाई वैदेशिक रोजगारीमा प्राथमिकता दिने ।

– देशको अर्थतन्त्रमा ठूलो योगदान पुर्‍याईरहेका वैदशिक रोजगारीमा जानेहरूका लागि तालिम, सहजीकरण र सुरक्षाको व्यवस्था गर्ने ।

– वैदेशिक रोजगारीबाट पूँजी र प्रविधिसहित फर्केका नेपालीहरूलाई देशभित्र व्यवसाय गर्न प्रोत्साहित गर्ने र प्राप्त विप्रेषणको रकमलाई देशको औद्योगिक विकासमा लगानी गर्ने ।

विज्ञान तथा प्रविधि

– आधुनिक विद्युतीय प्रविधिसँग राष्ट्रको विकास प्रक्रियालाई आबद्ध गर्न राष्ट्रिय नीति तर्जुमा गर्ने ।

– समाजमा वैज्ञानिक चेतनाको अभिवृद्धि, परम्परागत प्रविधिको आधुनिकीकरण र क्षमता अभिवृद्धि गर्न विशेष पहल गर्ने ।

– मानव जीवन सहज र उत्पादनमुखी बनाउन विज्ञान र प्रविधिको अध्ययन र अनुसन्धानलाई उच्च महत्व दिने ।

– शिक्षालाई व्यावहारिक र व्यवसायिक बनाउन विज्ञान र प्रविधिको प्रयोगलाई विद्यालय शिक्षादेखि नै विशेष जोड दिने र विश्वविद्यालयसम्म विशेष प्राथमिकता दिने ।

– साना उद्यम, व्यापार, व्यवसाय, कृषिजन्य क्षेत्रलाई प्रविधिमैत्री बनाउन साना प्रविधि (इन्टरमिडियट टेक्नोलोजी) को अन्वेषण, विकास र प्रयोगलाई विशेष प्राथमिकता दिने ।

– मुलुकको सामाजिक आर्थिक रूपान्तरण र आधुनिकीकरणका लागि विज्ञान-प्रविधिको अधिकतम् उपयोगलाई जोड दिने ।

– कम्प्युटर प्रविधिलाई गाउँ गाउँमा विस्तारित गर्ने । प्रविधि क्षेत्रका नवीन सुरुआत -स्टार्ट अप)हरुको प्रवर्द्धन र विकासमा जोड दिने ।

– हरेक व्यक्तिमा मोबाइल र इन्टरनेटको पहुँच पुर्याउने

– विज्ञान प्रविधि प्रज्ञा-प्रतिष्ठानलाई साधन सम्पन्न बनाउने, देशबाट वैज्ञानिक तथा प्राविधिक क्षेत्रका प्रतिभा पलायन रोक्न देशभित्रै अवसरको सिर्जना गर्ने ।

यातायात तथा पूर्वाधार

– यातायात क्षेत्रको एकीकृत विकासका लागि स्थल, जल, हवाई, रेल र केवल कार सेवाको एकीकृत योजना निर्माण गर्ने ।

– सार्वजनिक यातायात सेवालाई सुदृढ र व्यवस्थित गर्ने । सार्वजनिक यातायात संचालन र व्यवस्थापनमा राज्यका लगानी बढाउने ।

– वर्तमान पूर्व-पश्चिम लोकमार्ग लाई स्तरोन्नति गरी ४ लेन बनाउने र काठमाडौँको रिङरोडलाई ५ वर्षभित्र साईकल लेनको समेत व्यवस्था गरी ८ लेन बनाउने ।

– निर्माणाधीन मध्य पहाडी लोकमार्ग र हुलाकी सडकलाई सम्पूर्ण रुपले निर्माण सम्पन्न गर्ने । पुष्पलाल लोकमार्ग र निर्माणकार्य सुरु भएका उत्तर दक्षिण मार्गहरूको निर्माण कार्यलाई उच्च प्राथमिकतामा राख्ने । भित्रि मधेश करिडोरको धरान हेटौँडा लोकमार्गलाई पाल्पाको रामपुरसम्म विस्तार गर्ने ।

– ताप्लेजुङदेखि दार्चुलासम्म हिमाली क्षेत्रको मूलबस्तीलाई जोड्ने गरी हिमाली लोकमार्गको सम्भाव्यता अध्ययन गर्ने ।

– नदी किनारका उपत्यका र नजिकमा पुराना बस्तीहरूलाई आधुनिक सहरको रूपमा विकास गर्न नदीप्रणालीमा आधारित लोकमार्गहरूको निर्माण र विस्तार गर्ने र पहाडी बस्तीहरूमा केवल कारको विकास गर्ने ।

– राजधानीलाई तराई/मधेशसँग जोड्ने तीव्रगतिको बाटोका सन्दर्भमा विस्थापित जनतालाई पुनस्र्थापन तथा न्यायोचित मुआब्जाको व्यवस्था गरी ५ वर्षभित्र निर्माण सम्पन्न गर्ने ।

– गैरन्यायिक सडक विस्तारबाट पीडित जनतालाई पुनःस्थापित गर्ने । सडक विस्तार गर्दा जनताको घरजग्गा अधिकरण गर्नु परेमा सम्बन्धित सरोकारवालाहरूलाई न्यायोचित मुआब्जासहित विकल्पको व्यवस्था गर्ने । ऐतिहासिक सहर बस्तीहरूलाई बाइपास सडक निर्माण गरी संरक्षण गर्ने ।

– सवारी साधन चलाउँदा दुर्घटनाका नाममा हुने हत्यालाई निरुत्साहित गर्न यससम्बन्धी ऐनलाई संशोधन गर्ने र मृतकलाई क्षतिपूर्ति रकम वृद्धि गरी दोषीलाई कडा कारवाहीको व्यवस्था गर्ने ।

– चीनसँग जोडिएका केरुङ नाकाबाट भारत जोड्ने उत्तर दक्षिण रेल मार्ग तथा देशको पश्चिमी भेगमा भारत-चीनसँग व्यापारिक सम्बन्ध जोड्ने मुस्ताङ र डोल्पा नाकासम्म लोकमार्ग निर्माण गर्ने ।

– तराई/मधेशका विभिन्न शहरहरुलाई जोडने गरी पूर्व पश्चिम रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन तयार गरी ५ वर्षभित्र काम अगाडि बढाउने । काठमाडौँका चन्द्रागिरिदेखि धुलिखेलसम्मका आसपासका नगरपालिकाहरूलाई समेटी मेट्रो रेल वा अन्य उपयुक्त बैकल्पिक यातायातको एकीकृत सञ्जाल विकास गर्ने ।

– ऊर्जामा आत्मनिर्भरतासँगै छानिएका सहरहरूमा विद्युतीय सवारी संचालनमा विशेष सहुलियतसहितको व्यवस्था गरी प्रवर्द्धन गर्ने तथा मुलुकका सहरी क्षेत्रहरुमा हाइबि्रड सवारी साधन मात्र चल्ने व्यवस्था गर्ने ।

– हाल संचालनमा आइसकेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा संचालन गरी पोखरा विमानस्थललाई पनि वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा संचालन गर्ने । त्यस्तै अन्तर्राष्ट्रिय हवाई सेवा विकसित गर्ने योजनाका साथ अघि बढेको निजगढ -टाँगीया बस्ती) विमानस्थल निर्माण कार्य आरम्भ गरी पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने ।

– मुलुकका विराटनगर, जनकपुर, नेपालगञ्ज, सुर्खेत र धनगढी विमानस्थललाई क्षेत्रीय विमानस्थलको रूपमा विकास र विस्तार गर्ने ।

-सङ्घीय व्यवस्थाको मान्यताअनुरूप ब्यवस्थित सहरीकरणको योजना निर्माण गर्ने ।

-सांस्कृतिक सम्पदामा प्रतिकूल असर नपर्ने गरी मौजुदा सहरहरूमा सडक, सञ्चार, विजुली, खानेपानी, खाद्यसामग्री आदिको गुणस्तर विकास गर्ने ।

– सहरी विकाससँगै दमकल तथा आवश्यक आधुनिक उपकरणहरूको व्यवस्था गरी सहरी सुरक्षाको व्यवस्था गर्ने ।

– काठमाडौं उपत्यका र तराई/मधेशमा पर्यावरणीय समस्या तथा बढ्दो जनसङ्ख्याको चापलाई नियन्त्रण गर्न पहाडमा निर्माणाधीन सहरहरूलाई वातावरणमैत्री तथा प्रविधियुक्त बनाउनुका साथै त्यहाँ आवास र सहरी सुविधाहरूको प्रबन्ध गर्ने र उपत्यका बाहिर स्यटलाइट सिटीहरू निर्माण गर्ने ।

– देशको सडक सञ्जालमा जोडिएका नयाँ सहरहरू तथा सहरोन्मुख बस्तीहरूमध्ये उपयुक्त केही सहरहरूको छनौट गरी सुविधा सम्पन्न, व्यवस्थित र आकर्षक सहर निर्माण गर्ने ।

– देशको मध्यभागमा रहेको नवलपुर-रामपुर क्षेत्रमा अत्याधुनिक हाइटेक सिटी निर्माणका लागि सम्भाव्यता अध्ययन गर्ने ।

– विकासको पूर्वाधारहरू पुर्‍याउन सजिलो होस भन्नलाई असुरक्षित र छरिएर रहेका ग्रामीण बस्तीहरू सुरक्षित र सुविधासम्पन्न स्थानमा सार्ने वातावरण निर्माण गर्न पर्ति वा खाली जग्गा रहेको स्थानमा व्यवस्थित सहरीकरण र बसोबासको योजना बनाउने ।

– भूकम्पीय जोखिमयुक्त सहरहरूमा हाइरेज एपार्टमेण्टहरू निर्माण गर्न रोक लगाउने ।

– सहरी क्षेत्रका जनताका लागि नगर विकासमार्फत् बहुतले आवास भवनहरु निर्माण गरी आवासबिहीन जनताका लागि सुपथ दरमा व्यवस्थित र सुविधासम्पन्न आवास (फ्ल्याटहरु) उपलब्ध गराउने ।

ग्रामीण विकास

– नेपालको विकासका लागि ग्रामीण विकास आधारशिला हो । त्यसैले नेपालका ग्रामीण बस्तीहरुमा आधारभूत सेवा पुर्याउने लक्ष्य लिइनेछ ।

– हाल बढ्दै गएको गाउँबाट सहर बजारमा बसाईंंसराई गर्ने, पहाडबाट तराईतिर बसाईंसराई गर्ने र देशका अन्य सहरबजारबाट काठमाडौं उपत्यकामा बसाईंसराई गर्ने प्रवृत्तिलाई निरुत्साहित गरी ग्रामीण क्षेत्रलाई आधारभूत रुपमा बस्न लायक बनाइनेछ ।

– ग्रामीण कृषि कार्यक्रम संचालन गरी ग्रामीण क्षेत्रका खाली जमिनमा खेती गर्न प्रोत्साहन गर्ने कार्यक्रम संचालन गरिनेछ ।

– बैज्ञानिक भू-उपयोग नीतिका आधारमा ग्रामीण कृषि विकास कार्यक्रमलाई लागू गरी एकीकृत जग्गा विकास कार्यक्रम सञ्चालन गर्ने ।

– ग्रामीण क्षेत्रको भूगोल र हावापानीसँग सुहाउँदो कृषि उपजको उत्पादनका लागि विशेष पहल गर्ने ।

– कृषिका लागि उपयोगी भूमिमा सहरीकरण गर्ने कामलाई निरुत्साहित गर्ने ।

– ग्रामीण क्षेत्रमा खानेपानी, सडक, ढल निकास, विद्युत, स्वास्थ्य केन्द्र्र आदिको सुविधा पुर्‍याउने काममा तीब्रता दिने ।

सूचना तथा सञ्चार

– मुलुकको सङ्घीय ढाँचाअनुरूप राष्ट्रिय सञ्चारप्रणालीको विकास र विस्तार गर्न ठोस नीति र कार्यक्रम तय गर्ने । सञ्चार क्षेत्रमा नीजि र सामुदायिक क्षेत्रको संलग्नतालाई बढावा दिने ।

– प्रकाशन र छापाहरूलाई जनता र राष्ट्रप्रति जिम्मेवार बनाउनको साथै तिनिहरूको स्वतन्त्रताको प्रत्यभूति गर्ने ।

-रेडियो, टिभी, एफएम, टेलिफोन, ईन्टरनेट, मोबाईल जस्ता विद्युतीय प्रविधिको गुणस्तरमा सुधार गर्न प्राथमिकता दिनुको साथै तिनीहरूलाई देशका सबै भूभाग तथा आम जनताको पहुँचमा पुर्‍याउने ।

– विमानस्थल, अस्पताल, विद्यालय, प्रशासनिक केन्द्र, सभा, भवन आदि स्थानहरूमा निःशुल्क इन्टरनेट -पि|m वाईफाई) सुविधा उपलब्ध गराउने ।

– जनताको सूचनाको हकको ग्यारेण्टी गर्ने, प्रेस स्वतन्त्रता प्रदान गर्ने र पीत पत्रकारितालाई निरूत्साहित गर्दै मर्यादित र जवाफदेही पत्रकारिताको विकास गर्ने ।

– श्रमजीवि पत्रकार ऐनलाई प्रभावकारी कार्यान्वयन गर्ने । स्वतन्त्र र निष्पक्ष प्रेसको विकासमा सहयोग गर्ने ।

– देशमा विद्यमान वहुल संस्कृतिको प्रवर्द्धन गर्न मातृभाषामा प्रचार प्रसार गर्ने ।

– चलचित्र उद्योगको विकास र संवर्द्धन गर्न समयानुकूल राष्ट्रिय चलचित्र नीति निर्माण गर्ने । मातृभाषाहरूमा बनाइने चलचित्रहरूका लागि विशेष सहुलियत दिने ।

सामजिक सुरक्षा

जेष्ठ नागरिक, असहाय, अशक्त, अपाङ्गता भएका व्यक्ति एकल महिला तथा विपन्न एवम् वेरोजगार व्यक्तिहरूलाई सामाजिक सुरक्षाको दायराभित्र ल्याउने ।

– सामाजिक सुरक्षा भत्ताको रूपमा दिइएको वृद्ध भत्ता, एकल महिला भत्ता, लोपोन्मुख समुदाय भत्ता, अस्पतालमा प्रसुति गर्दा दिइने सुत्केरी यातायात खर्च समयानुकूल वृद्धि गर्ने ।

– जेष्ठ नागरिकहरूका लागि जेष्ठ नागरिक हेरचाह केन्द्र स्थापना गरी विशेष कल्याणकारी कार्यक्रमहरू सञ्चालन गर्ने । जेष्ठ नागरिकलाई यातायातमा ५० प्रतिशत छूटको व्यवस्था गर्ने ।

– मानव तस्करी तथा बेचबिखनको अपराधलाई कठोर रूपमा दण्डनीय बनाई कडाइका साथ नियन्त्रण गर्ने । प्रत्येक अशक्त, अपाङ्गता भएका व्यक्तिलाई शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा र रोजगारीको व्यवस्था गर्ने ।

– राज्यका संरचनाहरूको निर्माणलाई अपाङ्ग मैत्री बनाइने । बहिराहरूका लागि सम्बन्धित निकायहरूमा दोभाषेको व्यवस्था गर्ने । साङ्केतिक भाषा, स्पर्श भाषा, ब्रेल लिपिलाई राज्यद्धारा मान्यता प्रदान गर्ने ।

– अल्पसङ्ख्यक, सीमान्तकृत र लोपोन्मुख समुदायका परम्परागत सीपलाई वैज्ञानिकीकरण गर्न विशेष संरक्षणको कार्यक्रम ल्याउने, तिनीहरूको थातथलोको सुरक्षा गर्ने ।

– असहायलाई निःशुल्क न्याय प्रदान गर्ने परिपाटीलाई प्रभावकारी बनाउने ।

– भूकम्प पीडितहरूका लागि सरकारबाट घोषित अनुदान रकम बृद्धि गर्नुका साथै सहजतापूर्वक पाउने वातावरण सिर्जना गर्ने ।

– जेष्ठ नागरिकका लागि निःशुल्क स्वास्थ्य उपचार र धार्मिक पर्यटनको व्यवस्था गर्ने ।

सहकारी तथा गरिबी निवारण

देशका गरिव तथा विपन्न वर्गको जीवनस्तरमा सुधार ल्याउन तथा उनीहरूको सशक्तिकरण गर्न गरिवी निवारण कोषको रकममा शत प्रतिशत वृद्धि गर्ने ।

– गरिबीको रेखामुनि रहेका जनतालाई परिचयपत्र प्रदान गरी खाद्य, शिक्षा, स्वास्थ्य, सीप विकास र रोजगारीको कार्यव|mम बनाउने ।

– भूमिहीन, सुकुम्ावासी, सहरिया गरिब, मुक्त कमैया, अल्पसङ्ख्यक, सीमान्तकृत तथा लोपोन्मुख समुदायका लागि तिनीहरूको थातथलोमा घडेरी उपलब्ध गराउनुका साथै बजारमुखी सामूहिक उत्पादन मार्फत् स्वरोजगार र स्वावलम्बी बनाउने ।

– सहकारी अभियानलाई प्रोत्साहित गर्ने । सहकारीमा हुने बेथिति र वित्तीय अपराधको निगरानी र त्यसको अन्त्यका लागि प्रभावकारी अनुगमन र दण्डको ब्यवस्था गर्ने ।

– श्रमजीवि जनताको उत्थान, गरिबी निवारण, रोजगारीको सिर्जनाका निम्ति सहकारीलाई प्रभावकारी माध्यमको रूपमा अगाडि बढाउने ।

– उत्पादन वृद्धि र उत्पादनका साधनमाथिको समाजिकीकरणका लागि सहकारी अभियानलाई महत्त्वपूर्ण माध्यमको रूपमा विकसित गर्ने ।

– सहकारीको प्रकृति हेरी नमूना काम गर्ने सहकारीलाई पुरस्कारको व्यवस्था गर्ने तथा समाज कल्याणको काममा लागेका सहकारीहरूलाई आवश्यक कर छूट दिने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?